विपक्षी दलहरुलाई राष्ट्रपतिबाट हातलाग्यो निरासा

१७ आश्विन २०६९, बुधबार १४:२७ मा प्रकाशित

काठमाडौं, १७ काठमाडौं । राजनीतिक दलका प्रमुख नेताहरूलाई शीतलनिवासमा बोलाएर गत आइतबार राष्ट्रपति डा. रामवरण यादव अलिक गम्भीर र कठोर ढंगले प्रस्तुत हुनुभएपछि एमाओवादी अध्यक्ष प्रचण्ड दुई साताभित्र सहमति गर्ने वचन दिएर उम्किएका छन् । बैठकमा राष्ट्रपतिले आफूलाई कांगे्रसको राष्ट्रपति भनेकोमा आपत्ति जनाउंदै जिम्मेवार मानिसले यसप्रकारका अनर्गल कुराहरू बोल्न नहुने बताएपछि प्रधानमन्त्री बाबुराम भट्टराई कुनै प्रतिवाद नगरी मौन बसेका थिए । स्मरणीय छ, भट्टराईले राष्ट्रपति कांगे्रसको भएकोले प्रधानमन्त्री पनि कांगे्रसलाई छोड्न नसकिने सार्वजनिक अभिव्यक्ति दिंदै आएका थिए । बैठकमा राष्ट्रपति गम्भीर रूपमा प्रस्तुत भएपछि प्रधानमन्त्री बैठक छोडेर बाहिरिएका थिए । प्रचण्डले दुई साताभित्र सहमति गर्ने बताएपछि स्थिति सम्हालिएको थियो । तर, प्रचण्डका कुरामा विश्वास भने सहभागी नेताहरू कसैले पनि गरेका छैनन् । राष्ट्रपतिको कडा आग्रहपछि दलहरूको बैठक बस्ने क्रम बढेको छ । तथापि कुनै ठोस सहमति बन्ने कुरामा भने विश्वास गर्न सकिने आधारहरू विकास भएका छैनन् ।
आइतबार दलका नेताहरूसमक्ष राष्ट्रपति अलिक गम्भीर रूपमा प्रस्तुत हुनुभए पनि उहांले ठोस कदम चाल्ने कुनै सङ्केत दिनुभएन । बरु दलहरूले आफूलाई के गर्नुपर्ने हो सो भन्न उहांले आग्रह गर्नुभयो । दलहरूको इच्छाविपरीत आफूले केही नगर्ने बताएर राष्ट्रपतिले आफ्नो निरीहता प्रकट गर्नुभएको छ । दलहरूको चाहनाभन्दा बाहिर गएर केही नगर्ने स्पष्ट संकेत राष्ट्रपतिले दिनुभएपछि सत्तापक्ष आश्वस्त हुन पुगेको छ भने प्रतिपक्षीहरू उहांको कुराबाट निराश भएका छन् । राष्ट्रपतिले आफ्नो भूमिकासमेत दलहरूलाई जिम्मा दिनु त भयो तर राष्ट्रिय महत्वका कुनै पनि विषयमा सहमति बनाउन नसक्ने दलहरू राष्ट्रपतिलाई सक्रिय तुल्याउन सहमत होलान् भन्ने आशा गर्न सकिंदैन । राष्ट्रपतिलाई अग्रसर हुन प्रतिपक्षीहरूले बारम्बार आग्रह गरिरहेका भए पनि सत्तापक्ष राष्ट्रपतिको कुनै पनि भूमिकालाई निषेध गर्न चाहन्छ । त्यसैले राष्ट्रपतिलाई उहांको अग्रसरताका निम्ति सबै दल एकमत भएर आग्रह गर्न असम्भव मानिन्छ । वास्तविकता यस्तो हुंदाहुंदै पनि राष्ट्रपतिले आफ्नो भूमिका के हुनुपर्ने हो सोबारेमा एकमत भई राय–सुझाव दिन आग्रह गर्नुलाई हास्यास्पद र बेतुकको मानिएको छ । उहांको यस किसिमको आग्रहलाई निराशाजनक र टिठलाग्दो ठानिएको छ । राष्ट्रपतिबाट मुलुकलाई वर्तमान संकटबाट निकास दिने कुनै कदम नचालिने अब स्पष्ट भएको छ । राष्ट्रपतिको अभिव्यक्तिले उहां राजनीतिक दलहरूको बन्दी बन्नुभएको पुष्टि गरेको छ । एक समय संविधानसभाले मुलुकलाई सहज निकास दिने आशा गरिएको थियो । तर, संविधानसभा खासखास दलका सीमित नेताहरूको बन्दी बनेका कारण अन्ततः स्वाभाविक मृत्युवरण गर्ने अवस्थामा पुगेको थियो । संविधानसभा दिवंगत भएपछि धेरैले राष्ट्रपतिबाट निकासको निम्ति ठोस कदम चालिने विश्वास गरेका थिए । राष्ट्रपतिसमेत दलका नेताहरूको बन्दी बन्नुभएपछि अब मुलुकले संकटबाट तत्काल मुक्ति नपाउने सम्भावना बढेको छ ।
राष्ट्रपतिबाट कुनै ठोस कदम चाल्नका निम्ति अन्तर्राष्ट्रिय समुदाय, नेपाली सेना, राजनीतिक दल र नेपाली जनताको ठूलो हिस्साले साथ दिनुपर्ने अवस्था छ । अन्तर्राष्ट्रिय समुदाय अहिलेसम्म राष्ट्रपतिको अग्रसरताका पक्षमा देखिएको छैन । नेपाली जनता राष्ट्रपतिप्रति सकारात्मक भए पनि स्वयम् राष्ट्रपति जनताप्रति विश्वस्त हुन सक्नुभएको देखिंदैन । नेपाली सेनाको भूमिकाप्रति समेत राष्ट्रपतिमा विश्वास नरहेको बताइन्छ । सबै दलहरू एक भएर राष्ट्रपतिलाई सक्रिय गराउन लागिपर्ने सम्भावना त झन् छंदै छैन । त्यसैले गत जेठ १४ गतेयताको राष्ट्रपतीय भूमिका केवल बसियिबांलो गर्ने प्रकारको देखिएको छ । तर, विगत चार महिनादेखि एउटै कुरा (सहमति गर) भन्दै आउनुभएका राष्ट्रपतिले थप अरू कति महिनासम्म यिनै कुरा दोहोरयाइरहनुहोला– जिज्ञासाको विषय बनेको छ । राष्ट्रपतिलाई यसरी निरीह तुल्याउन अन्तर्राष्ट्रिय समुदायको विशेष भूमिका रहेको बुझिएको छ । शक्तिशाली मुलुकहरु अहिलेसम्म बाबुराम भट्टराईकै पक्षमा देखिएका छन् । उनीहरूले बाबुरामको विकल्पमा प्रधानमन्त्री बन्ने उपयुक्त पात्रसमेत नदेखेको बताइन्छ । सहमतिको सरकार पनि भट्टराईकै नेतृत्वमा बन्नुपर्ने चाहना शक्तिराष्ट्रहरूको रहेकोे छ । त्यसैले परिस्थिति जतिसुकै प्रतिकूल भए पनि प्रधानमन्त्री भट्टराई आफू सुरक्षित रहेको विश्वासमा छन् र अनिश्चितकालसम्म सत्तामा रहिरहने विश्वासमा उनी रहेका छन् । तर, सोमबार र मंगलबार भएका दलहरूको बैठकमा विपक्षीहरूले सरकार परिवर्तनको विषयलाई जोडदार रूपमा उठाएका छन् । राष्ट्रिय सहमति बनाउने हो भने प्रधानमन्त्री पदबाट बाबुराम भट्टराईको बहिर्गमन हुनैपर्ने कुरालाई उनीहरूले पहिलो र अनिवार्य सर्तका रूपमा अघि सारेका छन् । उता एमाओवादी पार्टी, मधेसी मोर्चा र प्रधानमन्त्री भट्टराईले भने प्याकेजमा सहमति हुनुपर्ने अडान कायम राखेका छन् । यसरी दुवै पक्ष अडानमा कायम रहने हो भने दलहरूबीच सहमति बन्न असम्भव छ । निरीह बन्नुभएका राष्ट्रपति डा. रामवरण यादव कहिलेसम्म यी सब दृश्य टुलुटुलु हेरेर शीतलनिवासमा बसिरहनुहोला– आमनेपालीले प्रतीक्षाका साथ हेरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले