दुई वर्षमै भारतसंग पांच नाकाबाट रेलसेवा

१६ आश्विन २०६९, मंगलवार ०७:१८ मा प्रकाशित

काठमाडौँ, १४ असोज । भारतसँग जोडिएका पाँचवटा सीमावर्ती क्षेत्रमा आगामी दुई वर्षभित्रमा रेलसेवा सञ्चालन गर्ने लक्ष्यका साथ द्रुत गतिमा काम अघि बढाइएको छ । भारत–नेपाल सहयोगअन्तर्गत भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराउने करिब २१ अर्ब भारतीय रूपैयाँको लागतमा रेलमार्ग निर्माणको काम अघि बढाइएको हो ।
विभिन्न पाँच नाकाबाट निर्माण थालिने १८३ किलोमिटर रेलमार्ग निर्माणमा भारतीय पक्षसँग सहयोग एवम् समन्वय गर्न सरकारले रेलवे विभाग गठन गरिसकेको छ । अघिल्लो वर्षको असारमा गठन भएको विभागले भारतीय प्राविधिक तथा अन्य सम्बद्ध अधिकारीहरूसँग निकट सम्पर्कमा रहेर दुईवर्ष भित्रै परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ जग्गा अधिग्रहण, मुआब्जा वितरणलगायत काम गरिररहेको छ । दुई वर्षअघि राष्ट्रपतिको भ्रमणका बेला भारत सरकारले अनुदानमा जयनगर–जनकपुर–विजलपुरा–बर्दिवास, जोगवनी– विराटनगर, पानीट्याङ्की–काँकडभिट्टा–जलपाइगुडी, नेपालगन्जरोड–नेपालगन्ज र नौतनवा–भैरहवा रेलमार्ग निर्माण गर्ने प्रतिबद्धता जनाएअनुरूप परियोजनाले गति लिएको हो ।
पहिलो चरणमा जनकपुर–विजलपुरा–बर्दिवास र जोगवनी–विराटनगरखण्डको काम सम्पन्न गरिनेभएको छ । परियोजनाअन्तर्गत जनकपुर–विजलपुरा–बर्दिवासखण्डमा जग्गा परेकालाई मुआब्जा वितरण भइरहेको तथा अन्य प्रक्रियागत काम दसैँपछि पूरा गरी भारतीय पक्षलाई जग्गा हस्तान्तरण गरिने रेलवे विभागका महानिर्देशक रामकुमार लम्सालले बताउनुभयो । विराटनगर–जोगवनीखण्डको सबै काम पूरा गरी भारतीय पक्षलाई जग्गा हस्तान्तरण गरिसकिएको जानकारी दिँदै उहाँले जनकपुर–विजलपुरा–बर्दिवास मार्गको ठेक्का व्यवस्थापन गर्न भारतलाई अनुरोध भइसकेको उल्लेख गर्नुभयो । ‘उक्त खण्डमा भूमि व्यवस्थापनलगायत व्यवस्थापकीय कार्य आगामी तीन महिनाभित्रमा सम्पन्न हुनेछ’– परियोजना क्षेत्रका किसानले बर्खेबाली भित्र्याउने वित्तिकै भारतीय पक्षलाई जग्गा हस्तान्तरण गरिने जानकारी दिँदै महानिर्देशक लम्सालले भन्नुभयो ।
भोली १७ गते बुधबार काठमाडौं आउने भारतीय प्राविधिक टोलीले पूर्व–पश्चिम र उत्तर–दक्षिण रेलमार्गले पनि उपयोग गर्न मिल्ने गरी बर्दिवासमा एकीकृत ‘जक्सन’ निर्माणको कार्यलाई अन्तिम रूप दिने उहाँले बताउनुभयो । पहिलोचरणमा दुईवटा नाकाको काम समाप्त भएपछि दोस्रो चरणमा बाँकी तीन स्थानको कार्यलाई पनि युद्धस्तरमा अघि बढाउने प्रतिबद्धता भारतीय पक्षले व्यक्त गरेको उहाँको भनाइ छ ।
नेपालीभूमिमा रेलसेवा विस्तार गर्ने उद्देश्यले भारतका जोगवनी र जयनगरमा लिक बिछ्याउनेलगायत काम भइरहेको छ । यहाँस्थित भारतीय दूतावासका प्रवक्ता पियुष श्रीवास्तवले १७ किलोमिटर लामो जोगवनी–विराटनगरमा लिक राख्ने प्रयोजनका लागि ठेकेदारको नियुक्ति भइसकेको बताउनुभयो ।
भारतमा मात्र नभइ विश्वका विभिन्न मुलुकमा रेलसेवा विस्तारमा लामो अनुभव हासिल गरेको प्रख्यात भारतीय कम्पनी इर्कोनलाई केन्द्र सरकारले तोकिएको अवधिमा परियोजना पूरा गर्न सम्झौता गरिसकेको उहाँले उल्लेख गर्नुभयो । केही साताभित्रै नेपालतिर पनि काम गर्ने जानकारी इर्कोनले आफूलाई दिएको बताउँदै उहाँले परियोजना निर्माणमा नेपालको रेल्वे विभागका साथै कार्यक्षेत्रमा स्थानीय नेपालीबाट पाएको सहयोगको प्रशंसा गर्नुभयो ।
पाँचवटै नाकामा दुईवर्षपछि सञ्चालन हुने ‘ब्रोडगेज’ रेलसेवाबाट दुवै देशका जनताको आवागमन तथा मालसामानको ढुवानी सरल हुनाका साथै आयात प्रतिस्थापन एवम् निर्यात् प्रवद्र्धनमा उल्लेख्य योगदान पुग्ने अपेक्षा सरकारले गरेको अर्थसचिव कृष्णहरि बाँस्कोटा बताउनुहुन्छ । राष्ट्रपतिको भ्रमणका बेला सीमा क्षेत्रका पाँच स्थानबाट नेपालमा रेल सेवा विस्तार गर्नेसम्बन्धी सम्झौतापत्रमा तत्कालीन मन्त्रीहरू एसएम कृष्णा र शरत्सिंह भण्डारीले १६ फेब्रुवरी २०१० मा हस्ताक्षर गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार