काठमाडौं उपत्यकाको ऐतिहासिक इन्द्रजात्रा सुरु

१२ आश्विन २०६९, शुक्रबार ०९:४७ मा प्रकाशित

काठमाडौं, १२ असोज । काठमाडौंका राजा जयप्रकाश मल्लको पालादेखि सुरु भएको उपत्यकाको महत्त्वपूर्ण मानिने इन्द्रजात्रा सुरु भएको छ । बिहीबार हनुमानढोका दरबार परिसरको कालभैरवको विशाल मूर्तिअगाडि इन्द्रध्वजासहितको ३२ हाते लिंगो ठड्याएर यो ऐतिहासिक जात्रा आरम्भ गरिएको हो ।
परम्पराअनुसार लिंगोमा इन्द्रध्वजा राखी सांस्कृतिक बाजागाजा, ब्यान्डबाजा, पञ्चैबाजाका साथ लिंगो ठड्याइएको थियो । तर, ठड्याएको करिब १५ मिनेटपछि नै प्राविधिक गडबडीका कारण लिंगो ढलेपछि दर्शकको भागदौड मच्चिएको थियो भने ढलेको लिंगोलाई पुनः ठड्याइएको थियो । लिंगो ठड्याएपछि सैनिकको टुकडीले बन्दुक पडकाई हर्ष बढाई गरेको थियो । त्यस अवसरमा किलाघः टोलका ज्यापू समुदायले परम्परागत देवीनाच प्रस्तुत गरेका थिए । राजधानीदेखि करिब १० माइल पूर्वमा पर्ने नाला भन्ज्याङको सल्लरी वनबाट तानेर ल्याइएको उक्त लिंगोलाई गत आइतबार भोटाहिटीदेखि बाजागाजाका साथ तानेर त्यहाँ पुर्‍याइएको हो ।
इन्द्रजात्राको आरम्भसंगसंगै हनुमानढोकामा दरबारसँगै सुनको मोलम्मा लगाइएको श्वेतभैरवको विशाल प्रतिमा पनि प्रदर्शनका लागि राखियो । मरुटोलस्थित काष्ठमण्डप र सिंल्यं सत्तलको बीचमा अग्लो डबली बनाई त्यसमाथि खटमा इन्द्रको मूर्तिलाई डोरीले बाँधेर प्रदर्शनका लागि राखिएको छ ।
जात्रामा ज्यापू महागुठीले धिमेबाजाको तालमा नचाउने एक धुःन्या प्रदर्शन, ज्यापू समुदायमा प्रयोग हुने सामग्रीको प्रदर्शन, नेवारी खानाका परिकारहरूको स्टलका साथै भक्ति संगीत कार्यक्रमको आयोजना गर्‍यो । त्यस्तै इन्द्रचोकमा रहेको किराँती राजा यलम्बरको शिर भनिने आकाशभैरवको मूर्तिलाई पनि मन्दिरको बाहिर खट बनाएर विभिन्न प्रकारका रंगीचंगी फूलले सिंगारेर राखिएको छ ।

इन्द्रजात्रालाई रमाइलो बनाउन बिहिबारदेखि नै राजधानीमा विभिन्न ठाउँमा मजिपातका मजिपाःलाखे, हल्चोकका सवभकु (आकाश भैरव), किलाघःका पुलु किसी (ऐरावत हात्ती), भक्तपुरका महाकाली नाच, किलाघका देवीनाचका साथै कुमारीघर अगाडि त्रैलोकनारायण मन्दिरमा विष्णुको दस अवतार प्रदर्शन सुरु भएको छ । इन्द्रजात्राकै क्रममा भोली शनिबार हनुमानढोका दरबार गद्दी बैठक अगाडि एक विशेष समारोहमा जीवित देवीदेवताका रूपमा शाक्य जातका एक बालिका कुमारी र दुई बालकलाई गणेश र भैरव (कुमार) का रूपमा बेल्लाबेग्लै रथमा राखी तल्लो टोलहरूमा, आइतबार माथिल्लो टोलहरूमा र असोज १७ गते नानीचाया भनी वसन्तपुरदेखि प्याफल, नरदेवी, किलागल, भेडासिङ, इन्द्रचोक मखन भई पुनः वसन्तपुर नै पुर्‍याएपछि रथजात्रा समाप्त हुन्छ । त्यसै दिन राति ९.४७ बजेको शुभसाइतमा लिंगो ढाली तानेर वाग्मतीमा सेलाउन लगेपछि इन्द्रजात्रा महोत्सव समाप्त हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न

काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ

काठमाडौं । पूर्व महाराज ज्ञानेन्द्र शाहले भारतका गृहमन्त्री अमित शाहसँग भेटघाट गरेका छन् । उनी दुई दिनअघि भारतको हरिद्वारमा जारी

डाका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले सत्ताइस वर्षपछि शुक्रबार पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला