परितोषिकाको तीज- भावना परिष्कृत सुनुवार

११ आश्विन २०६९, बिहीबार २१:४० मा प्रकाशित

परितोषिका पहिलो पटक आफ्नो श्रीमान् आरकीडसँग गाउँको घरमा पुग्छिन् । सहरमा जन्मेहुर्केकी उनलाई गाउँलाई राम्रोसँग बुझ्ने र जान्ने रहर थियो । चारवर्षअगाडि गाउँले छोरो आरकीडसँग बिहे भए पनि बल्ल पहिलोपटक उनलाई गाउँमा आउने मौका मिलेको थियो । परितोषिका गाउँ पुग्दा सहरमाझै तीजको रमझम चढिसकेको थियो । सबै तीजमा माइती जाने तरखरमा थिए तर परितोषिका भने माइतीबाट घर आएकी थिइन् । उनको लोग्नेको घरमा पनि नन्द र अमाजूलाई लिन जानुपर्ने कुरा चल्यो । आरकीडभन्दा बाहेक अरु छोरा दुई जना पनि थिए घरमा । सासू रमादेवीले सबै छोरालाई दिदीबहिनी लिन जान आदेश दिइन् ।
यता परितोषिकालाई राम्रोसँग हेरेर बोल्ने कोही पनि थिएन आरकीडको घरमा । ‘न जातै मिल्छ, न भातै मिल्छ…, त्यस्ती केटीसँग बिहे गरेर हाम्रो नाकै काटिस् तैँले । बेक्कारै तँलाई सहर पढ्न पठाएछौँ हामीले’, भन्दै गनगन गरिरहन्थिन् सासू । आरकीडसँग भने बाबु पनि बोल्दैनथे । यस्तो अवस्थामा परितोषिकालाई विगत चार वर्षअगाडिको आफ्नो निर्णयमाथि पछुतो हुन थाल्यो । उनको घरकाले अन्तै बिहे गरिदिने भएपछि उनले आरकीडसँग बिहे गर्ने निर्णय लिएकी थिइन् । त्यस अवस्थामा उनले आरकीडलाई आफूसँग बिहे गर्ने सल्लाह दिएकी थिइन् । आरकीड प्रेमी थियो । उसको परितोषिकासँग माया पनि थियो । तर नोकरी नभएको कारणले चाहेर पनि बिहे गर्न असमर्थ थियो । परितोषिकाको हिम्मत र हौसलाले आखिरमा आरकीड तयार भयो बिहे गर्न । उनीहरुको अचानकको निर्णयले भएको विवाहले दुवैको घरपरिवारमा अशुभ घटनाको रुप लियो । परितोषिका र आरकीडबाहेक कोही पनि खुशी थिएनन् । तर यता परितोषिकाको माइती पक्षले भने केही समयपछि दुवैको सम्बन्धलाई स्वीकारे । आरकीडलाई नोकरी लगाइदिने काममा परितोषिकाका दाइहरुले मद्दत गरे । दुवै जना बिस्तारै सँगसँगै नोकरी गर्दै बाँकी अध्ययन जारी पनि राख्दै गए । आरकीडले परितोषिकालाई घर लान खोज्दा पनि परिवारको असहमतिको कारणले रोकिनु परेको थियो । यसरी चार वर्ष बितेपछि घरमा आरकीडकी हजुरआमा बिरामी परिन् । उनले नाति र नातिनी बुहारी दुवैलाई भेट्ने इच्छा जाहेर गरेपछि बल्ल घर जाने बाटो खुलेको थियो । आरकीडको परिवारले परितोषिकालाई स्वीकार्ने छैनन् त्यति सजिलै भनेर अनुमान नभएको भने हैन उनलाई । ‘मेरै कारणले आरकीडले मसँग बिहे गरेको हो । म नै दोषी छु, उनीहरुको इच्छाविरूद्ध यो घरको बुहारी हुनुमा’ भन्ने सोचिरहन्थिन् परितोषिका ।
उनलाई न त घरकै सदस्यको दर्जा मिल्यो, न त पाहुनाकै । हरकुरामा बेवास्ता र तिरस्कारको अनुभूतिले च्याप्दै लग्न थाल्यो परितोषिकालाई । बिरामी हजुरआमा सकी–नसकी एक–दुई बचन बोल्दा आफूलाई धन्य ठानेकी थिइन् उनले । कम से कम हजुरआमाले त मलाई स्वीकार्नुभयो, आशिष् दिनुभयो भनेर हर्षले आँशु झारेकी थिइन् ।
‘त्यति साह्रो हेँला गरी नहाल, लेखेको कुरा र भागभोगको कुरा हामी मेट्न सक्दैनौँ । के थाहा ? मर्ने बेलामा उनै विजात बुहारीको हातको पानी पो पिउनु पर्ने हो कि !’ बूढीसासूले सासू रमादेवीलाई भनेको कुरा परितोषिकाको कानमा पनि ठोक्किन पुग्यो ।
‘त्यस्तो हुनलाई त बस्नुपर्‍यो नि गाउँमै । हाम्रै चलन लिन सक्नुपर्‍यो । एक त कुल, धर्म, जातभात केही नमिल्ने, अर्कोतिर सहरकी पढेकी बुहारी । मेरो छोरा आरकीडलाई पनि एकोहोरो बनाइसकी । ऊ पनि अब यो गाउँमा बस्ने छैन । बेकार हामीले सहर पढ्न पठाएछौँ’– सासू रमादेवीको यो बचनले परितोषिकाको मनलाई हल्लाएर छोड्यो ।
उनले त्यही बेलादेखि अठोट गर्न पुगिन् कि अब उनी आरकीडको परिवारमा रंगिएर यो गाउँलाई आफ्नो बनाएर छाड्नेछिन् । आखिर त्यो गाउँप्रति अरु गाउँलेहरु सरह आफ्नो पनि केही दायित्व छ, कर्तव्य छ भन्ने कुराको महसुस गर्न थालिन् । गाउँका शिक्षितहरु सहर पस्ने र सहरका शिक्षितहरु विदेश भासिने वर्तमान अवस्थाले देशलाई गाँज्दै लगेको कुराप्रति मनन गर्न थालिन् परितोषिकाले । अब उनी गाउँको संस्कृति, त्यहाँको जीवनलाई बुझ्ने र नजिकबाट जान्ने, त्यसपछि केही आमूल परिवर्तनहरु ल्याउने लक्ष्य र योजना बुन्न थालिन् ।
घरमा उनकी जेठानी वरुणा दिनरात अहोरात्र खटेर घरधन्दा, बालबच्चा स्याहारसुसारदेखि गाईवस्तु, खेतबारी सबैमा खटिई रहन्थिन् । उनी चुपचाप रहन्थिन्, मुखै नखोली कानैले मात्र सुनेर एकोहोरो काम गरिरहन्थिन् । परितोषिकासँग पनि उनी खासै बोल्दिन थिइन् । तर परितोषिका भने हरपल वरुणाको नजिक नै जाने गर्थिन् ।
परितोषिका पाँच बजे उठेर चुलोभन्दा बाहिरको काममा वरुणालाई सघाउँथिन् । वरुणा एक्लै बिहानदेखि साँझसम्म सम्पूर्ण घरधन्दामा अल्झिरहन्थिन् । तीन–तीन जना स–साना वर्षौटे छोरीहरुलाई सम्हाल्नु, स्याहार्नु सजिलो कुरा थिएन । उनका श्रीमान् आदेश नेतागिरी गरेर हिँड्दैमा बेफुर्सदी थिए । कहिल्यै श्रीमतीको लागि समय दिन उनले जानेनन् । फुर्सद हुँदा कि त काली नानीको भट्टी, कि त डल्ले साउको पसलमा दौडन्थे । तास खेल्ने, क्यारेमबोर्ड खेल्ने, बच्चाले झैँ बेलाबखतमा त्रिपासा पनि लडाइहाल्थे । घरमा हुँदा छोरा जन्माउन नसकेकोमा श्रीमतीलाई भकुर्दै कान्छी ल्याउने धम्की दिइराख्थे । सासूससूरा पनि वरुणासँग रूष्ट नै थिए । नातिको अनुहार यिनले त देखाइनन्, तिमी दुई जना त हामीलाई निराश नपार नि’, परितोषिका र अनुष्कालाई सुनाउने क्रममा वरुणामाथि तिखो बाण चलाई रहन्थिन् सासू रमादेवी । अनुष्का त्यही साल बिहे भएकी कान्छी बुहारी थिइन् ।
यस्तैमा तीज आयो । नजिकै घरमा नन्द, अमाजूहरु आउने भए तर बिहे भएदेखि माइती जान नपाएकी वरुणाको लागि तीजको रमझम फेरि पनि आएन । निराश मनले भए पनि परम्पराको नाममा आफूलाई बलि दिने क्रम भने जारी राख्ने भइन् । व्रत बस्ने भइन् । घरमा दरको बेला धेरै जनाको लागि पकवान तयार पार्ने भइन् । स्वास्नीको लागि आफ्नो लोग्ने हुनुको कर्तव्य र दायित्वबोध गर्न नसक्ने निकम्मा लोग्नेको नाममा व्रत बस्ने भइन् । उनको पेट र छाती सधैँ दुखिरहन्छ । बेलाबेला चक्कर आउँछ, पसिना चिटचिट आउँछ । कसैलाई वास्ता छैन यसप्रति । दिनभरि, रातभरि, निराहार व्रत बसेर, बिहान पूजाविधि सकाएर लोग्नेको र सासूको खुट्टा धोएर ढोगी पानी पिएमात्र व्रत तोडिन्छ उनको । गत साल मन्दिरमा लाम लागेर बस्दा घामको रापतापले उनी बेहोस भइछिन् । उनलाई पानी छम्केर ब्युँताए तर पानी पिउन दिएर र कहीँ खाना दिएर व्रत तोड्ने दुस्साहस र ‘अधर्मी काम’ कसैले गर्न सकेनन् ।
परितोषिकालाई अब यो घरमा आएकोमा र यसरी घर पठाउने काममा सहयोग गरेकोमा गंगा आमालाई धन्यवाद दिन मन लाग्छ । उनले त्यही गाउँमा खोलेको स्थानीय रेडियोमा काम गर्ने निर्णय गर्छिन् । नारी जागरणको विषयमा, स्वास्थ्य कार्यक्रम तयार पार्छिन् । गाउँघरको सबै विषयमाथि अध्ययन र अनुसन्धान गरेर उनलाई त्यही गाउँको भएर बस्न मन लाग्छ । उनको यो निर्णयले वरुणाको पनि आत्मबल बढ्न थाल्छ । परितोषिकाको सहयोग र मायाले उनको ओइलिसकेको जीवनमा सञ्जीवनी बुटीको काम गर्छ, मरेको चेतना जागृत हुन्छ । ओइलेको जीवन हराभरा र ताजा लाग्न थाल्छ । वरुणाजस्तै ताप–सन्तापमा परेका नारीहरुको निमित्त परितोषिका चिसो पानी थिइन्, अँध्यारोको ज्योति थिइन् । उनको निर्णयअनुसार नै अब बिस्तारै गाउँ बदलिरहेको आभाष गरे सबैले । रेडियोबाट जनचेतनामूलक कार्यक्रम, नारी समस्या समाधान आदिजस्ता कार्यक्रम चलाउन थालिन् । तीज परम्पराअनुसार सबै महिला मिलेर मान्न थाले । व्रतका दिन पुरूषहरू घरधन्दा सम्हाल्ने भए । वरुणालाई व्रत नबस्न र स्वास्थ्य परीक्षणको लागि सहर लाने कुरामा परितोषिकाले जोड दिन थालिन् । त्यसमा सबै महिलाले साथ दिए । जसको स्वास्थ्य कमजोर छ, उनीहरुले व्रत नबसेको बेस र जो व्रतालु स्वस्थ छन्, उनीहरुले जल र फल सेवन गर्नुमा कुनै आपत्ति छैन । धर्म र संस्कृति समयअनुसार परिमार्जित र परिवर्तन हुँदै जाने कुरा भएकाले आफ्नो अनुकूलताअनुसार मानिसलाई चल्न दिनुपर्छ । गर्भावस्था र बच्चालाई दूध पिलाउने आमाले, वृद्ध आमाबाबुले पनि व्रत नगर्नु र कुनै पनि हालतमा खुट्टा धोएर पानी पिउने नगर्नु । यसबाट आफ्नो आत्मसम्मान खस्किने कुरा छँदै छ । त्योभन्दा पनि ठूलो कुरा मैलो पानी पिउँदा रोगको सिकार बन्नुपर्छ । परितोषिकाले यस्तै सन्देश दिन थालिन् हरेक दिन । उनकी आमा गंगादेवीले पनि धेरै महिलाहरुलाई खुट्टा धोएर पानी नपिउने सल्लाह दिएको याद गरिन् । हो त नि, कहाँ हामी अब चुप लागेर कुरीतिलाई पालना गर्छौँ र ? अब त यसलाई फाल्ने गर्छौँ । स्वास्नीलाई सम्पत्ति ठानेर मनपरी व्यवहार गर्ने, छोरा नपाएको र सन्तान नजन्माएको आरोप लगाई घरबाट निकाल्ने, रक्सीजाँड पिएर घरमा …………….. .

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो

जिन्दगीको परीक्षार्थीलाई मूल ग्रन्थ बेच्दैन सन्दर्भ पुस्तक पनि बेच्दैन केवल गेसपेपर बेच्छ आजको बजार । विद्रोह चेत बोकेर कविता लेख्ने