सुरक्षा -विधान आचार्य

११ आश्विन २०६९, बिहीबार २१:३९ मा प्रकाशित

बेलुका साढे छ बजेको थियो होला, नेहाको साथीले फोन गरेर घरबाहिर सडकमा आउन भन्यो । फुत्त निस्कन लागेकी थिई, आमाले सोधिन, यतिबेला कता जान लागेकी ? ‘साथीले फोन गरेको, कलेजको के प्रोग्राम छ रे, त्यसको कागत लिन आऊ भनेर बोलाको छ ।’ आमाले आँखी भौँ तानेर सोधिन ‘कस्तो साथी हो ?’ नेहाको कन्सिरी तातेर आयो – ‘ए बाब्बा, कलेजमा सँगै पढ्ने साथी हो’; ‘भैगो जाऊ’ – आमाले उदारता देखाएर भनिन – ‘विवेकलाई पनि साथी लिएर जाऊ’ ।
नेहाको पारा झन् चड्यो – “अठार वर्षकी दिदीलाई साथी दिन एघार वर्षको भाइ ? क्यै परेमा म बरु आफ्नो रक्षा आफै गर्न सक्छु, भाइ सक्छ?” आमासित बाझी ऊ । “कस्तै भए पनि केटो भनेको केटो हो, लिएर जा !! तेरै सुरक्षाका लागि भनेको । ” – आमा फेरि पडकिइन् ।

यो सबै तमासा विवेक हेरिरहेको थियो । आमाको जिद्दी ऊ जान्दथ्यो, दिदीको तर्क सधैँ हार्थ्यो । अनि दिदीसित गएर दिदीले केटासित कुरा गरिन्जेल छेउमा उभिएर कुर्नु उसको काम हुन्थ्यो । त्यस दिन पनि गयो । अगाडिको मोडमा दिदीको साथी मोटरसाइकलमा आयो । दिदीलाई केही किताब र लिफलेटजस्तो केही दियो । दिदीको काँधमा हात राखेर – ‘ल त बाई’ भनेर गयो ।

विवेक त्यतिन्जेल पर्खालको भित्तामा अडेस लगाएर उभिएको थियो । त्यत्तिबेला उसको साथी समीप साइकल लिएर खेल्दै आयो । केटो न हो, विवेक पनि बुरुक्क उफ्रेर उसको साइकलमा पछिल्तिर बस्न गयो । साइकल ढल्पलायो । समीपले भन्दै थियो – “म डबल लोड गर्न सक्दिन है !!” हेर्दा हेर्दै साइकल लड्यो, साइकलसित समीप र विवेक पनि पछारिए । समीपले त एक हातले भित्तोमा समात्न भ्यायो, तर विवेकको भने कुहिनो बजारियो, साइकल र समीप पूरै उसै माथि परे । विवेकको कुइनोमा घाउ भयो, रगत आयो ।

नेहा दौडिदै भाइ भएतिर आई, घाउ देखेर गाली गरी – “तँलाई किन त्यसको साइकलमा चढन परेको नि, हेर घाउ बनाएर ? फेरि भाइलाई नहेरेको निहुँमा घरमा गएर मैले नै गाली खाने त होला नि ? गधा मोरो !!” विवेक झन् रुन थाल्यो, उभिँदा गोडा पनि खोच्यायो । गोड़ामा पनि घाउ भएको हुन सक्थ्यो । नेहाले भाइलाई काँधमा राखेर सहारा दिँदै घरतिर गई । नभन्दै गोडामा पनि चोट लागेछ, हिँड्दै जाँदा रगत आयो ।

घरको ढोकामा पुगेर एक हातले भाइलाई सम्हाल्दै अर्को हातले अफ्ठ्यारो गरी ढोका खोल्न लाग्दा आमाले माथिबाट देखिन् । साँझ झमक्क थियो, लोडशेडिँग पनि थियो, आमाले त्यो विवेक हुन सक्ला भन्ने सोच्दा पनि सोचिनन । एक तला माथिबाटै अनायास उनका मुखबाट प्रश्न आयो – “यो कसलाई लिएर आएकी ??” नेहाले जवाफ दिई – “यो तपाइँले पठाउनु भएको मेरो ‘सुरक्षा’ हो, ल सम्हाल्नुस आफै – दुई तीन ठाउँमा चोट लगाएर आएको छ !” आमाले आँखी भौँ उचालेर नेहालाई एकछिन पुराण सुनाइन र नेहाको ‘सुरक्षा’लाई स्याहार गर्न थालिन ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो

जिन्दगीको परीक्षार्थीलाई मूल ग्रन्थ बेच्दैन सन्दर्भ पुस्तक पनि बेच्दैन केवल गेसपेपर बेच्छ आजको बजार । विद्रोह चेत बोकेर कविता लेख्ने