कर्णालीमा सत्ता हस्तान्तरणमा आनाकानी : गठबन्धन निर्णयको पर्खाइमा माओवादी केन्द्र

७ कार्तिक २०७८, आईतवार १६:२४ मा प्रकाशित

काठमाडौं । कर्णाली प्रदेशमा सहमतिअनुसार नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आनाकानी गरेका छन् ।

गएको वैशाखमा नेकपा (एमाल)ले अविश्वास प्रस्ताव राखेपछि सरकार बचाउन ११ बुँदे सहमति भएको थियो । सहमतिमा एमालेबाट सरकारलाई सहयोग गरेका प्रदेशसभा सदस्यहरूको पद गएर मन्त्री मात्र सीमित भएमा उनीहरूको मन्त्री पद समाप्त हुने समयमा कांग्रेसलाई सत्ता हस्तान्तरण गर्नुपर्ने उल्लेख थियो । एमालेले मुख्यमन्त्री शाहीलाई भोट हालेका सांसदहरूलाई कारबाही गरेपछि ती सांसदहरूले वैशाख १५ गते गैरसांसदका रूपमा मन्त्री पदको शपथ लिएका थिए ।

संविधानानुसार एमालेबाट विशवासको मत दिएर मन्त्री बहाल रहेका मन्त्रीहरूको यही कात्तिक १५ गते पद जाँदै छ । कांग्रेस सोही सहमति कार्यान्वयन हुन्छ भनेर कर्णाली प्रदेशसभामा संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउने तयारीमा थियो । तर, गएको शुक्रबारदेखि शनिबारसम्म नेकपा (माओवादी केन्द्र)ले गरेको कर्णाली प्रदेशस्तरीय बैठकबाट फरक धारणा सार्वजनिक गरिएको छ ।

बैठकका सहभागीहरूले दिएको सुझाव भन्दै सार्वजनिक धारणामा मुख्यमन्त्री शाहीको सरकारलाई पूरा कार्यकाल चल्न दिइनुपर्ने उल्लेख छ । तर, केन्द्रमा सत्ता गठबन्धनका मुख्य तीन दलबीच दुई/दुई प्रदेशमा सरकारको नेतृत्व लिने समझदारी भएको थियो । जसअनुसार कांग्रेसले गण्डकी प्रदेशमा नेतृत्व लिइसकेकाले अर्को एक प्रदेश, माओवादी केन्द्रले लुम्बिनी र सुदूरपश्चिम प्रदेश लिने समझदारी भएको थियो ।

नेकपा (एकीकृत समाजवादी) र कांग्रेसबीचको समझदारीमा प्रदेश नम्बर–१ र वाग्मती प्रदेशमा भागबन्डा मिलाउने भनिए पनि ठोस सहमति भइसकेको छैन । यसैलाई आधार बनाएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीको सत्ता हस्तान्तरण तत्काल नगर्न निर्देशन दिएपछि कर्णाली प्रदेश कार्यसमितिले त्यस्तो धारणा सार्वजनिक गरेको हो ।

माओवादी केन्द्रका नेता तथा पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीका अनुसार माओवादी केन्द्रले त्यस्तै निर्णय नै भने गरिसकेको छैन । “ठोस रूपमा लिखित निर्णय त गरिसकेका छैनौँ, तर त्यसका विषयमा केन्द्रबाट नै आओस् भनिएको हो,” भण्डारीले भने, “यसका विषयमा प्रदेशको सहमति भन्दा सत्ता गठबन्धनको निर्णय नै आइदिए सहज हुन्थ्यो भनेर केन्द्रसँग सुझाव भने मागिएको हो ।” उनका अनुसार प्रदेशको सहमति कार्यान्वयन गर्दा केन्द्रको सहमति नउल्टने गरी कार्यान्वयन गर्ने पक्षमा माओवादी केन्द्र छ ।

उता, कांग्रेसले भने सहमति कार्यान्वयन हुनेमा विश्वस्त रहेको भन्दै सहमतिको इमानदारिपूर्वक पालना नभए त्यसले गम्भीर अविश्वास खडा गर्ने जनाएको छ । “सत्ता हस्तान्तरणको सहमति भएको छ । सहमति पालना गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ,” कर्णाली प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भने, “सहमति कार्यान्वयन भएन र फरक परिस्थिति आयो भने त्यसले माअ‍ोवादी केन्द्रलाई फाइदा गर्दैन ।”

उनले बैठकमा पार्टीका तर्फबाट आउने सुझाव निर्णय हुन नसक्ने भन्दै छलफलमा आउने धारणाभन्दा माओवादी केन्द्रका अबका कदम महत्त्वपूर्ण हुने बताए । “हामी माओवादी केन्द्र र विशेष गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अबको कदमलाई हेरिरहेका छौँ,” शाहीले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसले ६ वटा प्रदेशमा प्रथम अधिवेशन सम्पन्न गरेको छ । सोमबार बिहानसम्म प्रदेश १, वागमती, गण्डकी, लुम्बिनी,

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्को कार्यकाल पार्टीको नेतृत्व गर्ने चाहना व्यक्त गरेका छन् । अब देउवासँग भिड्ने को

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निरत्साहित नहुन पराजित भएका उम्मेदवारहरुलाई आग्रह गरेका छन् । एक अपिल जारी

काठमाडौँ ।नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका आकांक्षी ४ नेता छलफलमा जुटेका छन् ।  पौडेल निवास बोहराटारमा सभापतिका आकांक्षी