पदाधिकारी मालामाल, खेलाडीमा हाहाकार

१० आश्विन २०६९, बुधबार १०:२१ मा प्रकाशित

श्रीविक्रम भण्डारी/ काठमाडौं, १० असोज । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ तथा राष्ट्रिय खेलकुद परिषद् कर्मचारी सङ्घले नेपाली खेलकुदको स्थायित्व र दिगो विकासका लागि राखेप संरक्षक प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पांचबुंदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा मुलुकको खेल क्षेत्रको उत्थान र दिगो विकासका लागि खेलकुदलाई नेपालको मूल कानुन संविधानमा सम्बोधन गर्नुपर्ने, हाल खेलकुदमा देखिएको विकृति र विसङ्गति हटाउन खेलकुदमा राजनीतिक हस्तक्षेप र गैरखेलाडीको नियुक्ति बन्द गरी खेलकुदका सम्पूर्ण संरचनागत अङ्गहरूमा खेलाडी र खेलकर्मीलाई नै खेलकुदको जिम्मा दिनुपर्ने, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) बाट आउने आर्थिक सहयोगलाई पारदर्शी बनाउन नेपाल ओलम्पिक कमिटीको हरहिसाब सार्वजनिक गर्नुका साथै सम्पूर्ण आर्थिक कारोबारको अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने, ओलम्पिक कमिटीको विषयमा सर्वोच्च अदालतको फैसला अक्षरशः कार्यान्वयन गर्नुपर्ने, अन्तर्राष्ट्रिय जगत्मा मुलुकको प्रतिनिधित्व गर्न नेपाल ओलम्पिक कमिटी हुंदाहुंदै व्यक्तिगत स्वार्थ पूर्तिका लागि कानुनविपरीत अवैधानिक तवरले डोटी जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको तथाकथित राष्ट्रिय ओलम्पिक कमिटीलाई यथाशीघ्र खारेज गरी सम्बन्धितलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने उल्लेख गरिएको छ ।
खेलाडी सङ्घको तर्फबाट अध्यक्ष दीपक विष्ट र कर्मचारी सङ्घको तर्फबाट नारायणदेव राणाले ज्ञापनपत्रमा हस्ताक्षर गरेका थिए । सोको बोधार्थ युवा तथा खेलकुद मन्त्रालय, गृह मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्लाई पनि दिइएको छ । ज्ञापनपत्र ग्रहण गरेपछि प्रधानमन्त्री भट्टराईले सबै माग जायज भएकोले मागप्रति सरकार संवेदनशील भएको बताउंदै खेलकुदमा भित्रिएको प्रदूषणलाई हटाउनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री भट्टराईले साधन र स्रोतले भ्याएसम्म सरकार र आफ्नो व्यक्तिगत तर्फबाट खेलकुदको प्रवद्र्धन गर्न लागिपरेको बताउंदै अन्तर्राष्ट्रिय सहभागितामा गैरखेलाडीको लरको जाने चलन समाप्त गर्नुपर्ने बताउनुभयो ।
खेलाडी सङ्घका अध्यक्ष दीपक विष्टले खेलाडी र प्रशिक्षकलाई आएको रकममा हिनामिना हुनु दुःखपूर्ण भएको बताउंदै ज्ञापनपत्र अध्ययन गरी चांडोभन्दा चांडो सरकारले निर्णय गर्नुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा राखेप सदस्यसचिव युवराज लामा, नेपाल ओलम्पियन सङ्घका पदाधिकारी, ओलम्पियन खेलाडीलगायतको उपस्थिति रहेको थियो ।
यसअघि खेलाडी र कर्मचारी सङ्घले विभिन्न राष्ट्रिय खेल सङ्घका पदाधिकारी, खेलाडी, प्रशिक्षक, खेलप्रेमीलगायतको उल्लेख्य सहभागितामा बृहत् रयाली आयोजना गरेको थियो । रयाली दशरथ रंगशालादेखि सुरु भई विभिन्न भागको परिक्रमा गरी पुनः दशरथ रंगशालामै आएर सभामा परिणत भएको थियो । सो अवसरमा कर्मचारी सङ्घका अध्यक्ष नारायणदेव राणाले सदस्यसचिव युवराज लामालाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा नेपाल ओलम्पिक कमिटीको विवादलाई यथाशीघ्र कानुनसम्मत ढङ्गले स्थायी समाधान गर्नुपर्नेलगायत माग गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव लामाले खेलाडीको रगत चुस्नेलाई पाखा लगाउने यो अभियानमा परिषद्को ऐक्यबद्धता रहेको बताउंदै यो अभियानले परिषद्लाई नीतिगत निर्णय गर्न ऊर्जा मिलेको बताएका थिए । सदस्यसचिव लामाले खेलाडीको मागलाई अब बस्ने परिषद्को बोर्ड बैठकमा राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कर्मचारी सङ्घका अध्यक्ष राणाले मोबाइल प्रकरणले सम्पूर्ण खेलाडीका साथै मुलुकलाई लज्जित तुल्याएको बताएका थिए । खेलाडी सङ्घका अध्यक्ष विष्टले खेलाडीलाई शोषण गर्नेविरुद्ध आजदेखि नै आन्दोलनको सुरुआत भएको उदघोष गर्दै यो आन्दोलन खेलकुदको धमिरालाई हटाउन गरिएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत मुम्बइ इन्डियन्स विजयी भएको छ । शनिबार राति सम्पन्न खेलमा मुम्बइले

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । प्रतियोगितामा पहिलो जित हासिल

नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच हुने त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार