राष्ट्रपति छन् कि छैनन् ? – राजेश ढुंगाना

१० आश्विन २०६९, बुधबार ०८:५९ मा प्रकाशित

यतिबेला नेपाली राजनीतिको केन्द्रीय विषय भनेको राष्ट्रपतिले असफल भइसकेको अन्तरिम संविधान र त्योभन्दा पनि असफल भएको राजनीतिको गांठो फुकाउन पाउने वा नपाउने ? भन्ने रहेको छ । दुवैतर्फका आ–आफ्ना तर्क होलान् । तर, परिस्थिति के हो भने– कहीं कतै कुनै तर्कले काम नगरेको । त्यसैले राष्ट्रपतिबाट कुनै कदम चालिनुपर्दछ कि त्यसो गर्नुहुंदैन भन्ने कुरालाई कहां के लेखिएको छ वा कहां के लेखिएको छैनमा खोज्नु भनेको निरपेक्ष कुरा हुन जान्छ । कुनै पनि कुराको हल सापेक्षतामै खोजिनुपर्दछ ।

यसो हो भने, पहिलो कुरा संविधानसभाको अकाल मृत्युसंगै दलहरू असफल भइसके । दोस्रो, समग्र राजनीति असफल भयो । तेस्रो, मुलुक चलाउने मूल कानुन पनि असफल भयो । संगसंगै दलहरूबाट सहमतिपूर्वक निकास निस्कने कुरा पनि असम्भवप्रायः देखिइसक्यो । जसका कारण मुलुक हरक्षण सङ्कटग्रस्त भइरहेछ । यसो हुनु भनेको राष्ट्र सोझै अराजकतातर्फ जानु हो । गृहयुद्धतर्फ जानु हो । असफल राष्ट्र हुनेतर्फ जानु हो । र, अन्ततः छिन्नभिन्न भएर राष्ट्रियता नै समाप्त हुनु हो । त्यसैले राष्ट्रपतिले कदम चाल्नुपर्दछ वा पर्दैन ? यिनै माथिका गम्भीर सन्दर्भबीचमा खोजिनुपर्दछ ।
उदेकलाग्दो कुरा के छ भने नेपालका तथाकथित विद्वान्हरूसमेत राष्ट्रपतिले के गर्नु हुन्छ र हुंदैन भन्ने कुरा व्यवहारतः मरिसकेको अन्तरिम संविधानका प्रावधानहरूमै खोजिरहेछन् । भूतपूर्व भइसकेको संविधानमा अब समाधान नखोज्दा हुन्छ । सोझो हिसाबले भन्नुपर्दा मुलुकमा यतिबेला संविधान छैन । त्यसैले अर्को संविधान नआएर निर्वाचन नहुन्जेलसम्म वर्तमान राष्ट्रपति मुलुकका एक मात्र सञ्चालक भएको कुरा कसैले चाहे पनि नचाहे पनि स्वीकार्नैपर्दछ । आवश्यकताको सिद्धान्त र परिस्थितिको तकाजाले राष्ट्रपतिले केही कदम चाल्न जरुरी मात्र होइन ढिला पनि भइसक्यो । चाहे त्यो बाधा–अड्चन फुकाउ गरेर नयां सरकार बनाउन होस् वा सोझै राष्ट्रपति शासन लागू गर्न । नत्रभने उनी पनि राष्ट्रमा आउने दुष्परिणामको निमित्त इतिहासमा दलशरूझै दोषी हुनेछन् ।
वास्तवमा अहिलेसम्म राष्ट्रपति के हेरेर बसेका छन् ? विवेकशील जनता त्यसैमा छक्क परेर बसेका छन् । मुलुकका प्रथम राष्ट्रपति यति हुतिहाराजस्तो देखिनु दुर्भाग्यपूर्ण हो । विवादमा आइने डर पालेर गर्नैपर्ने कर्तव्यबाट पलायन हुनु सोझै गैरजिम्मेवारी हो । त्यसैले सानो विवादबाट त राष्ट्रपति बच्लान् । तर, ठूलो कर्तव्यबाट चुक्दै छन् ।
यदि राष्ट्रपति पनि यसैगरी लस्याङफस्याङ गरिरहने हो भने राष्ट्रका लागि के छ त उपाय ? भन्न लजाउनु र डराउनुपर्ने कुरा रहेछ– अब मुलुकले एउटा सकारात्मक तानाशाह खोज्न सक्छ । जब छनोट साम्यवादी तानाशाही र गैरसाम्यवादी तानाशाहीको बीचमा हुन्छ त्यहां जनताले गैरसाम्यवादी तानाशाही स्वीकार्नेछन् । जायज–नाजायज भन्ने कुरा परिस्थितिजन्य हुन्छ । देश नै छिन्नभिन्न हुने स्थिति आएपछि यदि त्यसलाई बचाउन कथित लोकतन्त्रलाई नै बलि नदिई हुन्न भने के गर्ने त ? यसो भनिरहंदा एउटा प्रजातन्त्रवादीको आस्था धरापमा पर्नसक्छ भन्ने जान्दाजान्दै पनि पंक्तिकारले खुला रूपमा राष्ट्रका सामु यो प्रस्ताव राखेको हो । एउटा सरकार दिन नसक्ने लोकतन्त्र, एउटा संविधान दिन असफल लोकतन्त्र के काम ? यी त ठूला कुरा भए । जनतालाई रोजगार दिन नसक्ने लोकतन्त्र, सामान्य सुशासन दिन नसक्ने लोकतन्त्र, दलहरू स्वयम् नै मूल्य–मान्यतामा रहन नसक्ने लोकतन्त्र के काम ? जनताका यी र यस्ता प्रश्नहरूको जवाफ दिन जरुरी छ, नभए अहिलेका राजनीतिक दलहरू र त्यसको नेतृत्वलाई ‘भष्म’ हुनबाट कसैले रोक्न सक्ने छैन ।
अब राष्ट्रपतिले पनि दलहरूसंगै भष्म हुने हो कि होइन– त्यो राष्ट्रपतिले सोचे हुन्छ । तर, एउटा कुराचाहिं के हो भने उहांले चाल्ने कदम केवल एउटाबाट लिएर अर्कालाई सत्ता दिने मात्र हुनुहुन्न । यसो गर्नु भनेको गुन्दु्रकको झोलमा जात फाल्नु हुनेछ । कदम नै चालिसकेपछि दूरगामी सकारात्मक परिणाम आउने गरी कदम चालिनुपर्दछ । यसो गर्दा राज्य पुनर्संरचना र शासकीय स्वरूपको निर्धारणजस्तो कुरा केही दलहरूको बलमिच्याइंबाट निर्धारण नगरी जनमतसङ्ग्रहद्वारा नेपाली जनताले प्रत्यक्ष गर्न पाउनुपर्दछ । सोझै जनताबाट यी विषय निर्धारण नगर्ने हो भने केहीकाल विद्रोह नहोला । तर, अन्ततः जनताले त्यो संविधानलाई पनि भत्काउनेछन् र त्यो संविधान बनाउनेहरूलाई पनि ।
फेरि पनि भन्नैपर्ने हुन्छ– मूर्ति होइन राष्ट्रपति । मूर्ति भए शीतलनिवासमा नराखेर पशुपति वा कुनै मन्दिरमा राखिएको हुन्थ्यो । चार वर्षदेखि यही कुनै मन्दिरमा नराखिएकै प्रमाणका आधारमा पनि यसले चटपटाउंदछ र चटपटाउनु पनि पर्दछ भन्ने सिद्ध हुन्छ । तर, खोइ त राष्ट्र डुब्न लागेको बीभत्स दृश्य राष्ट्रपतिले देखेको ? कि दलहरू र उनमा केही फरक छैन ? प्रश्न गम्भीर भएर आइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका

जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडाकी मायाकुमारी विष्टको कक्षा ८ मा पढ्दा पढ्दै सामाजिक सञ्जाल फेसबुकमा एक युवकसँग चिनजान भयो ।

विगतमा घैयाको भाउमा जाने अदुवाले अहिले राम्रै मूल्य पाउन थालेपछि कर्णालीका अदुवा किसान मख्ख छन् । प्रतिकिलो रु पाँच–१० मा

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मृगेन्द्र शिखरबाट राजधानीको सभ्यताको स्रोत वाग्मती प्रकट भएको छ । यो स्थल अहिले गोकर्णेश्वर नगरपालिकाको भौगोलिक