विपक्षीको आन्दोलन तिहारपछि मात्रै, भीषण सङ्घर्षको तयारी

१० आश्विन २०६९, बुधबार ०७:३८ मा प्रकाशित

काठमाडौं, १० असोज । प्रतिपक्षी कांग्रेस, एमाले, नेकपा–माओवादीलगायतका दलहरूले तिहारपछि सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने तयारी गरेका छन् । दशैंअघिबाटै सुरु गरिने आन्दोलनलाई तिहारपछिबाट सशक्त बनाउने र त्यही आन्दोलनको मैदानबाटै एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकार हटाउने योजना रहेको छ ।
प्रधानमन्त्री भट्टराई पदबाट नहटेसम्म सत्तारुढ दलहरूसंग कुनै संवादसमेत नगर्ने र उनीहरूले वार्ता र संवादका सबै कार्यक्रम तत्कालका लागि स्थगित भएको जनाउंदै अब आन्दोलनले नै सबै कुराको छिनोफानो गर्ने विश्वास लिएका छन् । सरकारले वार्ता र सहमति प्रक्रियालाई सत्ता लम्ब्याउने रण्नीतिका रूपमा मात्र उपयोग गरेका आरोप लगाउंदै विपक्षी दलहरूसंग सहमति हुनका लागि पहिले प्रधानमन्त्रीले पद त्याग गर्नुपर्ने सर्त अघि सारेका छन् ।
‘सरकारविरुद्ध आन्दोलन अनिवार्य देखियो,’ एमाले नेता प्रदीप ज्ञवालीले भने, ‘आन्दोलनको स्वरूप र कार्यक्रमबारे छलफल गर्न ११ गते बिहीबार विपक्षी दलहरूको संयुक्त बैठक बस्दैछ ।’ बैठकले आन्दोलनका कार्यक्रमबारे छलफल गर्नुका साथै जिम्मेवारी पनि बाडफांड गरिनेछन् ।
स्रोतका अनुसार आन्दोलनको नेतृत्व कांग्रेस, एमाले र नेकपा–माओवादीका शीर्ष नेताले संयुक्त रूपमा लिनेछन् भने अन्य दलका नेताहरूले हैसियतअनुसारको जिम्मेवारी जनाउने छन् । उनीहरूले आन्दोलनका लागि कसरी धेरै मानिसलाई सडकमा उतार्ने, आन्दोदनका कस्ता कार्यक्रम ल्याउंंदा प्रभावकारी बन्छ भन्नेबारे आफ्नो पार्टीमा छलफल गरी बिहीबारको बैठकमा लिखित धारणा राख्ने र सोहीअनुसार कार्यक्रम तयारी गरी आन्दोलनमा उत्रने तयारी दलहरूले गरेका छन् ।
राजधानीकेन्द्रित आन्दोलनको पहिलो कार्यक्रमअन्तर्गत विशाल विरोध प्रदर्शन, धर्ना, घेराउजस्ता कार्यक्रम हुने भएका छन् । त्यस्तै, दोस्रो चरणको कार्यक्रममा चक्काजाम गर्ने, सरकारी कार्यालय तालाबन्दी गर्ने, कर्मचारीहरूलाई काममा नजान उर्दी जारी गर्नेजस्ता छन् । त्यसैंगरी चौथो चरणको कार्यक्रममा उपत्यका बन्द तथा नेपाल बन्दका कार्यक्रम गरिने र त्यति गर्दा पनि भट्टराई सरकार नहटे आनिश्चितकालीन आमहड्ताल गर्ने आन्दोलनका कार्यतालिका बनाउने तयारी दलहरूले गरेका छन् ।
‘आन्दोलनमा जानुअगावै सरकारले राजीनामा दिएर सहमतिका ढोका खोल्न विपक्षी दलहरू सरकारलाई आग्रह गर्दछन्,’ एमाले नेता प्रदीप ज्ञवालीले भने, ‘यदि सरकार अटेर गरेर पदमै बसिरहे आन्दोलनको विकल्प देखिन्न ।’ आन्दोलनमा बन्द प्राथमिकतामा नरहेको पनि उनले बताए । ज्ञवालीले भने, ‘हाम्रो आन्दोलनका कार्यक्रम भनेको जनतालाई समस्या नपर्ने गरी विशुद्ध सरकारविरोधी मात्र हुनेछ ।’
नेकपा–माओवादीका नेता सीपी गजुरेलले भट्टराई सरकार नढलुन्जेल आन्दोलनका कार्यक्रम निरन्तर जारी रहने बताए । आन्दोलन देशव्यापी हुने जानकारी गराउंदै गजुरेलले भने, ‘आन्दोलनले राष्ट्रिय समस्या समाधान गर्नेछ, त्यसैअनुसार आन्दोलनका कार्यक्रमहरू तय हुनेछन् ।’ पुरानै विधिमा आन्दोलन सुरु गरिने भए पनि यसपटकको आन्दोलन अलिक पृथक खालको हुने गजुरेलको भनाइ थियो ।
‘वर्तमान सरकार राष्ट्रिय सहमतिका निम्ति बाधक रहेकाले तत्काल हट्नुपर्ने सबै विपक्षी दलहरूको साझा निष्कर्ष छ,’ गजुरेलले भने, ‘वर्तमान सरकार हटेर राष्ट्रिय सहमतिको सरकार गठन हुनु राजनीतिक निकासको पहिलो बिन्दु हो ।’
‘सत्तामा बसेर एमाओवादीले वार्ताका नाममा भुल्याउने र ढांट्ने काम मात्रै गरेको र मोर्चाका नाममा मुलुकमा राजनीतिक विभाजनको अभ्यास गरिरहेको देखिन्छ,’ कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, ‘सहमतिलाई झुक्याउने र ढांट्ने काममा उपयोग गरी भाग्ने एमाओवादी नेतृत्वको सरकारलाई सडकबाटै हटाउनुपर्ने अवस्था आएकोले आन्दोलनमा जाने भएका हौं ।’ उनले आन्दोलन शान्तिपूर्ण तर, सरकारका लागि घातक हुने जानकारी दिए ।
राजनीतिक निकासका विषयमा दलहरूबीच पछिल्लोपटकको छलफलले नयां निर्वाचनमा जाने सहमति गरे पनि सत्तारुढ एमाओवादी र मधेसी मोर्चाले चुनावसम्मै मोर्चाबन्दी गरेर जाने सहमति गरेपछि विपक्षी दलहरूले पनि मोर्चाकै स्वरूप दिएर आन्दोलनमा जाने भएका हुन् । विपक्षी दलहरूमा कांग्रेस, एमाले, नेकपा–माओवादीका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, राष्ट्रिय जनशक्ति पार्टी, मधेसी जनअधिकार फोरम नेपाल, राष्ट्रिय मधेस समाजवादी पार्टी, राप्रपा, नेकपा संयुक्त, माले, राष्ट्रिय जनमोर्चा, चुरेभावर पार्टी, राष्ट्रिय समाजवादी पार्टी, सद्भावना आनन्दीदेवी र नेकपा मसाल छन् ।
यसैबीच सरकारले पनि प्रतिपक्षी दलहरूको आन्दोलनको कडा प्रतिवाद गर्ने तयारी गरेको छ । विपक्षी दलहरूको भन्दा सत्तारुढ दलहरूको मोर्चा ठूलो र शक्तिशाली रहेको भन्दै उनीहरूले सहमतिका नाममा विपक्षी दलहरूसंग नझुक्ने औपचारिक निर्णयसमेत गरिसकेका छन् । सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले भने, ‘हामी विपक्षी दलहरूस“ग झुक्दैनौं, बरु उस्तै परे प्रतिकारमा जान्छौं ।’ ‘सरकार वार्ता र सहमतिबाटै सबै समस्या समाधान गरौं भन्ने पक्षमा रहे पनि विपक्षी दलहरू एजेण्डाबिना नै सरकारविरोधी आन्दोलनमा जाने भन्नेपछि सरकार पनि चुप लागेर बस्दैन,’ सञ्चारमन्त्री यादवले भने, ‘उनीहरूको आन्दोलनको प्रतिकार गर्न सरकार तयार छ, सरकार पनि चुप लागेर बस्दैन ।’ सङ्घीयतासहितको संविधान निर्माणमा विपक्षी दलहरू सहमत भए मात्र आफूहरूले सरकार छाड्ने पनि उनको दाबी थियो । यसअघि सत्तारुढ दलहरूको मोर्चाले निर्वाचनका लागि दबाब दिन भन्दै प्रमुख सहरमा जनसभा गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो ।
राष्ट्रिय सहमतिको सरकार निर्माण्ँ गरी निर्वाचनको संवैधानिक एवम् कानुनी प्रबन्ध फुकाउनेतिर छलफल गर्नुपर्ने बेलामा सरकार नै जनदबाब सिर्जना गर्ने भन्दै आफ्नै ढङ्गले अघि बढ्न थालेपछि विपक्षी दलहरू चिढिएका हुन् । उनीहरूले राष्ट्रिय सहमतिको सरकार नबन्दासम्म निर्वाचन हुन नसक्ने निचोडमा पुगेर आन्दोलनका कार्यक्रममा जाने निष्कर्ष निकालेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । फेला परेकोमा काठमाडौँ उपत्यकामा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने नेकपा एमाले (नेपाल-खनाल पक्ष) का चार जना सांसदहरूलाई कारबाही