ओलीलाई काउन्टर गर्ने तयारीमा रावल, बैठकमा चर्काचर्की हुने पक्का

४ कार्तिक २०७८, बिहीबार १७:२४ मा प्रकाशित

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको अभिव्यक्ति दिएपछि उपाध्यक्ष भीम रावलले काउन्टर गर्ने तयारी गरेका छन् । ओलीको अभिव्यक्तिप्रति तिब्र असन्तुष्टि जनाउँदै रावलले यस्तो तयारी गरेका हुन् ।

पार्टीलाई एकताबद्ध बनाएर लैजान गरिएको सहमति कार्यान्वयन गर्नुपर्ने भन्दै रावलले ओलीको अभिव्यक्तिले दुर्घटना हुनसक्ने संकेत गरेका छन् । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा ओलीले अब १० बुँदे भनिरहनुको अर्थ नभएको बताएका थिए ।

ओलीले भनेका थिए, ‘१० बुँदेको केजाति एकतारे बजाएर भजमन गोविन्दम् गरिरहन आवश्यक छैन । एक ठाउँ मिलेर, एकताबद्ध भएर अगाडि बढौं न खुरुक्क ! अब कति बजाउने ट्याङट्याङ ?,’ उनले भने । माधव नेपाल फर्केर आउलान् भनेर १० बुँदे सहमति गरिएकाले उनी अर्कै पार्टी बनाएर गएपछि त्यसको औचित्य नरहेको ओलीको आशय थियो । ‘अब के १० बुँदे, १० बुँदे ? हाम्रो पार्टी, हामीले बनाएको पार्टी अलिअलि साथीहरूले बाटो बिराउनुभएको होला । फर्केर आउने काम गर्ने सिद्धियो त ! माधव नेपालसँग झुक्किएर गएका बाटो बिराएका पनि फर्क भनिरहेका छौं त,’ उनले भने ।

ओलीले पार्टीमा फर्किनेलाई योग्यताअनुसार जिम्मेवारी दिने बताएका थिए । अरू नेताहरू पार्टीमा फर्किन मिल्ने तर नेपाललाई भने बाटो नरहेको उनको भनाइ थियो ।

अध्यक्ष ओलीको उक्त अभिव्यक्तिको १० बुँदे सहमति गरेर एमालेमै रहेका नेताहरूले विरोध गरेका छन् । १० बुँदे सहमति गर्ने कार्यदलका संयोजकमध्येका एक उपाध्यक्ष रावलले संस्थागत भइसकेको विषयमा विवाद उत्पन्न गर्न नहुने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘१० बुँदे सहमति ‘एकतारे’ होइन, पार्टी एकता बचाएर देशहितका लागि बजाइएको ११ तारे बिगुल हो । यसको धुन संस्थागत भइसकेको छ । सबैले ठन्डा दिमागले सुन्नु स्वास्थ्यका लागि लाभदायक छ ।’

अध्यक्ष ओलीले दिएको अभिव्यक्तिबारे १० बुँदे गर्ने एक स्थायी कमिटी सदस्यले बिहीबारको बैठकमा कुरा उठ्ने बताएका छन् । पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा अध्यक्षको अभिव्यक्तिले बेलाबखत समस्या उत्पन्न गरेको उनको भनाइ छ ।

‘अध्यक्षले बेलाबखतमा बोल्दै गर्नुभएको छ, यस्ता कुरा । १० बुँदे धेरै ठाउँ कार्यान्वयन भइसक्यो । सुदूरपश्चिममा अलिकति समस्या छ,’ ती सदस्यले भने, ‘पार्टी चौतर्फी घेराबन्दीमा परिरहेको बेलामा सकेसम्म एकतामा समस्या आउने खालका अभिव्यक्ति कतैबाट पनि आउनु उपयुक्त होइन । जतिसक्यो मिलाएर लैजानमा ध्यान दिनुपर्नेमा त्यस्तो देखिएको छैन ।’

१० बुँदेमा एमाले २०७५ जेठ २ गतेको अवस्थामा फर्किने उल्लेख छ । उक्त सहमतिअनुसार सुदूरपश्चिम प्रदेश संयोजकको जिम्मेवारी रावलले पाउनुपर्ने हो । तर १० बुँदे सहमतिपछि पनि सुदूरपश्चिम प्रदेशको इन्चार्ज माओवादीबाट एमालेमा गएका लेखराज भट्टलाई दिइएको छ । उक्त विषयमा रावलले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

विधान महाधिवेशनपछि एमालेको स्थायी कमिटी बैठक बिहीबार ३ बजे बस्दै छ । बैठकमा विधान महाधिवेशनको समीक्षा, वडा र पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशनलगायत एजेन्डा छन् ।

रावललगायतक नेताहरूले काउन्टर गर्ने भएपछि पार्टी बैठकमा चर्काचर्की हुने पक्का भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसले ६ वटा प्रदेशमा प्रथम अधिवेशन सम्पन्न गरेको छ । सोमबार बिहानसम्म प्रदेश १, वागमती, गण्डकी, लुम्बिनी,

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्को कार्यकाल पार्टीको नेतृत्व गर्ने चाहना व्यक्त गरेका छन् । अब देउवासँग भिड्ने को

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निरत्साहित नहुन पराजित भएका उम्मेदवारहरुलाई आग्रह गरेका छन् । एक अपिल जारी

काठमाडौँ ।नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका आकांक्षी ४ नेता छलफलमा जुटेका छन् ।  पौडेल निवास बोहराटारमा सभापतिका आकांक्षी