दाउदको नाममा धम्क्याउने प्रहरी फन्दामा

९ आश्विन २०६९, मंगलवार ०९:२५ मा प्रकाशित

काठमाडौं, ९ असोज । मुम्बई अन्डरवर्ल्डका नाममा विभिन्न चिकित्सक, बैंकर्स र व्यवसायीसँग रकम माग्दै हत्या गर्ने धम्की दिएपछि प्रहरीका सबै अनुसन्धान निकाय चनाखो भए। कहिले मोवाइल एसएमएस त कहिले इमेल र फेसबुकबाट मुम्बई अन्डरवर्ल्ड काठमाडौं शाखा भन्दै रकम माग्नेको खोजीमा प्रहरीको प्रतिआतंकवाद निर्देशनालय, केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय प्रहरी अपराध महाशाखासँगै नुवाकोट र नेपालगन्जका प्रहरीसमेत खटिए। निरन्तर धम्कीपछि केही व्यवसायीले सुरक्षित हुन नेपाल नै छाडे। केही बैंकर्सले घर जानै छाडेर अन्यत्रै बस्न थाले। तीन महिनापछि ब्युरोले धम्की दिने व्यक्तिलाई गौरीघाटको एक घरबाट पक्राउ गरे।
सागर बजगाईं नामका ती व्यक्ति अनुसन्धानका क्रममा मुम्बई अन्डरवर्ल्डको डी कम्पनिका सदस्य नभएको पुष्टि भयो। उनले डी कम्पनीका नाम सुनेका मात्र रहेछन्। व्यवसायीलाई त्रसित बनाउन उनले भारतको प्रभावशाली दाउद इब्राहिमको संगठन डी कम्पनीको नाम लिएको खुल्यो।
प्रहरीका एक अनुसन्धान अधिकारीका अनुसार बजगाई काठमाडौंमा बसेर उदय नेपालको बजार व्यवस्थापकको काम गर्दै आएका थिए। सोही क्रममा सम्पर्कमा आएका व्यक्तिहरुलाई उनले इमेल, एसएमएस र फेसबुकमार्फत मुम्बई अन्डरवर्ल्डको नाम लिएर धम्क्याउने गरेका थिए। डी कम्पनीको नाम सुनेलगत्तै व्यवसायीसमेत त्रसित थिए। उनले तीन महिनादेखि विभिन्न बैंकका बैंकर्स, हाइड्रोपावरका सञ्चालक, चिकित्सक, म्यानपावर सञ्चालकलगायत १५ जनालाई फोन र एसएमएस गरेर धम्क्याउँदै २५ देखि ३० लाखसम्म रकम माग्दै आएका थिए। उनी रकम नदिए अपरहण र हत्या गर्छु भन्दै धम्क्याउँथे। पत्रिकाको बजार व्यवस्थापकको काम गर्दै आएका उनले केही महिना ग्लोबल बैंकमा समेत काम गरेका थिए। पत्रिकामा काम गर्दा विज्ञापनका लागि सम्पर्क बनाएका व्यक्तिहरुलाई नै उनले आफ्नो धम्कीको निशाना बनाएका थिए। सार्वजनिक कार्यक्रमहरुको सहभागी पुस्तिकामा उल्लेख फोन नम्बर र इमेल आइडी संकलन गरेर उनले बैंकर्स र हाइड्रोसञ्चालकलाई धम्क्याउँदै आएको अनुसन्धानमा खुलेको छ।
एसएमएसमार्फत धम्क्याउन उनले अर्काको नागरिकताको फोटोकपी प्रयोग गरी मोबाइलको सिम लिएका थिए। तीन महिनाअगाडि उनले त्रिपुरेश्वरको मेघा बैंकमा सन्तोष खनालको नागरिकता फेला पारे। त्यसैको फोटोकपी गरेर उदय नेपाल नामको पत्रिकामा काम गर्ने भानुभक्त ढुंगानाको तस्बिर प्रयोग गरेर नेपाल टेलिकमको टेकु शाखाबाट सिम निकालेका थिए। उनी त्यही सिममार्फत व्यवसायीलाई एसएमएस गर्थे।
एसएमएसमा उनले मुम्बई अन्डरवर्ल्ड ग्रुप, काठमाडौं लेखेर धम्क्याउने गर्दै आएका थिए। उनले हाम्रो बैंकका सिइओ कपिल ढकाललाई एसएमएस गर्दै १६ लाख रकम मागेका थिए। रकम नदिए बैंकअगाडि नै हत्या गर्ने धम्की उनले दिएका थिए। नेपाल टेलिकमको वेभ एसएमएसमार्फत समेत उनले धम्क्याएको खुल्यो।
चिकित्सक र म्यानपावर व्यवसायीलाई धम्क्याउन उनले फेसबुकमा गणेश लामा नामको फेसबुक एकाउन्ट खोलेर म्यासेज पठाउँदै आएका थिए। फेसबुक प्रोफाइलमा तस्बिर भने गणेश र महादेवको राखेका थिए। फेसबुकमार्फत अमेरिकामा बस्ने केही नेपालीलाई धम्क्याउँदै रकम माग्ने गरेका थिए। इमेलमार्फत धम्क्याउन उनले जिमेलमा मेल आइडी खोलेका थिए। उनले कुनै व्यापारी र व्यवसायीसँग रकम लिन भने नसकेको अनुसन्धानमा खुलेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको नेतृत्व गर्नेहरु राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास

काठमाडौं । सत्ता समीकरणबारे नेपाली कांग्रेस र माओवादी केन्द्रसँग वार्ता चलिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले