अवस्था सहज बनेसँगै राहदानी बनाउनेको लर्को

१९ आश्विन २०७८, मंगलवार ०८:१६ मा प्रकाशित

काठमाडौं । पछिल्लो समय राहदानी बनाउनेको भीड बढेको छ । परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभागमा केही समययता राहदानी बनाउनेको लर्को नै देखिन्छ ।

गोरखापत्र दैनिकमा प्रकाशित समाचारअनुसार बिहानै झिसमिसेदेखि नै राहदानी बनाउन लाममा बस्नेको ताँती लाग्ने गरेको छ ।

कोभिड–१९ सङ्कटका कारण विदेश आवतजावत कम भएकाले विगतमा झन्डै दुई वर्ष राहदानी बनाउनेको सङ्ख्या निकै कम रहेको विभागले जनाएको छ ।

अब कोभिड खोप अभियान र कोभिडविरुद्धको सावधानी बढेसँगै अवस्था सहज बनेकाले पनि नयाँ राहदानी बनाउनेहरू बढेको विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए ।

उनका अनुसार वैदेशिक रोजगारीको अवसर र मार्ग दुवै खुलेकाले पनि राहदानी बनाउनेको भीड लागेको हो । उनले भने, ‘दशैँ आसपास प्रायः राहदानी बनाउनेको भीड नै हुन्छ, त्यसमाथि यस पटक कोभिड महामारीको बन्दाबन्दी पनि खुलेकाले बढी भीड देखिएको हो ।’

विभाग नयाँ विद्युतीय राहदानी नेपाल भित्र्याउने तरखरमा रहेका बेला मिति सकिएकै कारण पनि कतिपय नेपाली नागरिक बाध्यतावश हालकै अवस्थामा एमआरपी राहदानी बनाउन आएका छन् ।

आउनेमध्ये विदेशमा रहेका आफन्तको साथमा दशैँ, तिहार मनाउने उद्देश्यका साथ त्यता जान राहदानी तथा अन्य कागजपत्र बनाउन आउने गरेको उनले बताए ।

पुरानो राहदानीको मौज्दात सकिनै लागेका बेला राहदानी बनाउनेको भीड बढेको हो तर भदौयता अझै करिब तीन लाख हाराहारीको मौज्दात रहेकाले समस्या नआउने विभागका प्रवक्ता राजेन्द्र पाण्डेले बताए ।

उनका अनुसार मासिक ५० हजारकै दरले राहदानी जारी भए पनि पुग्ने अवस्था छ । कतिपयले पूरै म्याद नसकीकनै राहदानी बनाउन आउने गरेको उनी सुनाउँछन् ।

विगतका वर्षमा दशैँ तिहारअघि यति धेरै भीड लाग्ने गरेको थिएन । यस वर्ष भने निकै भीड लागेको उनको अनुभव छ । ‘हामीले दैनिक जारी गर्ने भनेको सात सय थान हाराहारीको राहदानी हो तर भीड भने दोब्बर हुने गरेको छ,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

क्यानबेरा । अष्ट्रेलियाले दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ संस्करण भित्रिन नदिनका लागि नाकाबन्दी गर्न सक्ने जनाएको छ । अष्ट्रेलियाका स्वास्थ्य

एजेन्सी । जर्मनीले ठूलो संख्यामा उत्परिवर्तन भएको नयाँ कोभिड–१९ को फैलावट रोक्न दक्षिण अफ्रिकाबाट हुने धेरैजसो यात्रामा प्रतिबन्ध लगाउने निर्णय

विश्व स्वास्थ्य संगठन (डब्लूचओ) ले दक्षिण अफ्रिकामा कोरोनाभाइरसको नयाँ भेरियन्ट तीव्र फैलिरहेको जनाएको छ । नयाँ भेरियन्टका कारण कोरोनाभाइरसविरुद्धको खोप

काठमाण्डौं । अस्ट्रेलियाले पूर्ण खोप लगाएकाहरुलाई डिसेम्बर १ देखि यात्रा छुटको लागि देश प्रवेश गर्न अनुमति दिने भएको छ ।