नेपालमा ‘डकैती’ धन्दामा संलग्न भारतीय अपराधी पक्राउ

६ आश्विन २०६९, शनिबार १०:०५ मा प्रकाशित

काठमाडौं, ६ असोज । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले भारतको विहार समस्तीगन्ज चकमेसी थाना चोकका विजय गुप्तालाई डल्लुबाट पक्राउ गरेको छ । काठमाडौंमा डकैत गर्न भारतदेखि भाडामा अपराधी झिकाएर समूह नै परिचालन गर्नेगरेको अभियोगमा गुप्ता पक्राउ परेका हुन् । विभिन्न ठाउँको ‘स्केच’ तयार पारी गुप्ताले डकैत गर्ने गरेको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट मात्रै ७५ लाख रुपियाँ बराबरको धनमाल डकैत गरी भारत लगिसकेको गुप्ताको साथबाट बौद्धस्थित निमा लामाको अन्नपूर्ण कार्पेटमा डकैत गर्न तयार पारेको ‘स्केच’ समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । ‘स्केच’मा दीपक झा र अरुण झा भनी उल्लेख छ भने त्यसको तल कार्पेटको ग्राउन्ड फ्लोरको सम्पूर्ण स्केच उतारिएको छ । स्केचको एकातर्फ ‘इन्ट्रान्स’ लेखिएको छ भने अर्कोतर्फ ‘एक्जिट’ लेखिएको छ । प्रहरीका अनुसार ‘इन्ट्रान्स’ लेखिएको स्थानबाट डाका समूह कार्पेट उद्योगमा प्रवेश गर्ने र ‘एक्जिट’ लेखिएको ठाउँबाट डाँका गरेपछि सुरक्षितसाथ निस्कने भनिएको हो । त्यसको तल्लो पंक्तिमा रंगशाला, त्रिपुरेश्वर, थापाथली चोक, नर्भिक अस्पताल, प्रसूतिगृह देखिने गरी अर्को स्केच तयार गरिएको छ । ‘स्केच’बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । डकैत गर्ने स्थानको छनोट गुप्ता आफैंले गर्ने र गोप्य तवरले रेकी गर्ने गरेको पाइएको छ । सबै कार्य पूरा भएपछि हतियारसहित भारतबाटै डाका समूह झिकाएर गुप्ताले डकैती गर्थे ।
प्रहरीका अनुसार ३ साउनमा गुप्तासहितको समूहले गोगंबुस्थित धौलागिरि सुनचाँदी पसल सञ्चालक हेमबहादुर सेन्चुरीलाई लुट्न खोजेका थिए । सेन्चुरीले प्रतिकार गरेपछि उनीहरू गोली फायर गरी भागेका थिए । प्रहरीका अनुसार उक्त योजना सफल भए उनीहरू १५ दिनभित्र बौद्धस्थित लामाको कार्पेट उद्योगमा डकैत गर्ने योजनामा थिए । गुप्ताबाट बरामद ‘स्केच’ त्यहीबेला तयार गरेको पाइएको डिएसपी श्रेष्ठले बताए । गुप्ता समूहले २० असारमा सीतापाइला–२ स्थित राजेन्द्र श्रेष्ठको घरबाट नगद तथा सुनचाँदीका गहना गरी १५ लाख रुपियाँबराबर डकैत गरेको थियो । गत १० माघमा टेकुस्थित प्रकाश अग्रवालको घरबाट पनि ४० लाख रुपियाँ र सुनका गहना डकैत गरेका थिए । केही वर्षअघि गुप्ता अग्रवालकै पसलमा कामदार थिए । प्रहरीका अनुसार उक्त समूहमा रमेश ठाकुर, रञ्जितकुमार सिंह, संजोग पाल, थर नखुलेका दीपक, राजीव, गोरख र मनि सिंह छन् । त्यसमध्ये ठाकुर, कुमार सिंह र पाल पक्राउ परिसकेका छन् । उनी सबै भारतीय नागरिक हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर