संयुक्त राष्ट्र संघको महासभामा के भन्यो नेपालले ?

नेपाललाई राष्ट्रसङ्घीय प्रधान कार्यालय र कार्यक्षेत्रमा उच्च तहमा समावेश गराउनुपर्ने माग
१२ आश्विन २०७८, मंगलवार ११:५७ मा प्रकाशित

काठमाडौं । नेपालले महामारी, आतङ्कवाद, द्वन्द्व र प्राकृतिक विपत्तिलगायत विविध समस्याले समकालीन विश्वमा सिर्जना गरेको तनाव एवं र विषमपूर्ण परिस्थितिलाई पराजित गर्न लोकतन्त्र र बहुपक्षवादको विकल्प नभएको अभिमत प्रकट गरेको छ।

‘आशाको माध्यमबाट प्रतिरोधका साथ कोभिड–१९ बाट पुनःस्थापना, दिगो पुनःनिर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्र सङ्घलाई पुनःजागृत गराउने’ विषयमा संयुक्त राष्ट्र सङ्घको ७६औँ महासभामा नेपालले जातीय बहुल समाजहरूमा द्वन्द्वका जोखिम एवं तनाव अन्त्य गर्ने उत्तम औषधि लोकतन्त्र र बहुपक्षवाद भएका बताएको हो।

बहुपक्षवादको अपरिहार्यतामा नेपालको अटल विश्वास रहेको र त्यसको केन्द्रमा संयुक्त राष्ट्र सङ्घ रहेको बताउँदै परराष्ट्रमन्त्री डा। नारायण खड्काले विश्वमा समझदारी र सहयोग बढाउन, विश्ववासीको साझा भविष्य सुनिश्चित गर्न तथा साझा हित प्रवद्र्धन बहुपक्षवादबाटै हुने धारणा व्यक्त गरे।

सङ्कटलाई अवसरमा, निराशालाई आशामा र जोखिमलाई प्रतिकारमा रुपान्तरण गर्नुपर्ने बेला आएको बताउँदै उनले सहयोग, एकता र आपसी विश्वासको धरातलमा सुदृढ, समावेशी र परस्पर सम्बद्ध बहुपक्षीय प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिए।

‘हामीले सेवा गर्ने जनता र बस्ने पृथ्वीका लागि हामीले हाम्रो कर्तव्य गर्नैपर्छ’, नयाँ शिराबाट विश्वका नेताहरूले यो धर्ती र यसका बासिन्दाका खातिर आफ्नो कर्तव्यबाट विमुख नभई काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री खड्काले भने।

नेपालको विश्वदर्शन ‘सबैसँग मित्रता कसैसँग छैन शत्रुता’ सिद्धान्तअनुसार बनेको, राष्ट्र सङ्घको वडापत्रका उद्देश्य र सिद्धात, असंलग्नता, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मूल्यमान्यता नै नेपालको परराष्ट्र नीतिका आधार भएका उनले बताए।

त्रिसट्ठी वर्षभन्दा लामो समयदेखि नेपालले शान्ति, सुरक्षा र स्थिरतालाई बढावा दिन संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापनाको कार्यमा निरन्तर योगदान दिइरहेको तथा सबैभन्दा ठूलो सङ्ख्यामा सेना योगदान गर्ने देशमध्येको नेपाललगायत देशलाई राष्ट्रसङ्घीय प्रधान कार्यालय र कार्यक्षेत्रमा उच्च तहमा समावेश गराउनुपर्ने नेपालको पुरानो माग रहेको मन्त्री खड्काले राखे।

‘अल्पविकसित एवं भूपरिवेष्टित देशको रूपमा नेपालको विकासका संरचनात्मक चुनौती अद्वितीय छन्। सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति गर्ने हाम्रो योजनालाई अवसरका रूपमा लिएर त्यस निम्ति संरचनात्मक रूपान्तरण गर्न तथा लामो समयदेखिको त्यो राष्ट्रिय आकाङ्क्षालाई सहज, दिगो र अपरिवर्तनीय बनाउन प्रतिबद्ध छौँ’, परराष्ट्रमन्त्री खड्काले भने।​

हरितगृह ग्यास उत्सर्जनमा नेपालको नगण्य हिस्सा रहे पनि जलवायु परिवर्तनको चपेटामा आफ्नो मुलुक पनि परेको वास्तविकता सुनाउँदै उनले सन् २०३० सम्ममा उत्थानशील जलवायु विकास पथ र सन् २०५० सम्ममा शून्य उत्सर्जनका लागि नेपालको प्रतिबद्धता दोहो-याए।

अल्पविकसित र भूपरिवेष्टित विकासशील देशहरूलाई भूमण्डलीकरणबाट लाभान्वित गराउन उनीहरूका संरचनात्मक अवरोध हटाउँदै भरपर्दो र दिगो वित्तीय सहायता, साझेदारी र प्रविधि हस्तान्तरण आवश्यक भएको बताउँदै उनले जारी सङ्कटलाई बहाना बनाएर बाह्य विकास सहायताको प्रतिबद्धताबाट पछि हट्न नहुनेमा जोड दिए।

विश्व व्यापार सङ्गठन विधिमा आधारित अन्तर्राष्ट्रिय व्यापार सङ्गठन मात्र नभएर विकासशील देशहरूलाई अन्तर्राष्ट्रिय तहबाटै व्यापारका निम्ति अधिक सहयोगका साथै प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धिमा सहायता गर्ने निकाय हुनुपर्ने तर्क मन्त्री खड्काले गरे।

आप्रवासन समस्या जटिल बन्दै गएको सन्दर्भ सुनउँदै उनले ‘हामी सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि ‘ग्लोबल कम्प्याक्ट’को प्रभावकारी कार्यान्वयन आह्वान गर्दछौँ र आप्रवासी कामदारहरूको सुरक्षा र हितका निम्ति अझ बलियो अन्तर्राष्ट्रिय व्यवस्थामा जोड दिन्छौँ’ भने।

अति कम आय भएका देशहरूमा खोप असमानताको गहिरो प्रतिकूल सामाजिक–आर्थिक प्रभाव परेको, खोपलाई जनताको जीवनको हितका लागि सार्वजनिक सामग्रीका रूपमा घोषणा गरिनुपर्नेमा जोड दिँदै परराष्ट्रमन्त्री खड्काले सङकटको समयमा आशालाई पुनर्जागृत गर्न जरुरी भएको बताए।

उनले भने, ‘कोभिड–१९ बाट उत्पन्न चुनौतीलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायसहित संयुक्त राष्ट्रसङ्घीय प्रणालीलगायत र सबैलाई, सबै ठाउँमा खोपको न्यायोचित र न्यायोचित पहुँच सुनिश्चित गर्न भएका प्रयासहरूको नेपाल सराहना गर्दछ।’

मानव जीवन पहिलो प्राथमिकता हुनुपर्ने, कोभिड–१९ खोप प्राप्ति र पहुँचका बाधा र चुनौतीलाई चिर्दै नेपालले आफ्नो कूल जनसङ्ख्याको झण्डै २० प्रतिशतमा खोप लगाउन सफल भएको जानकारी दिँदै उनले आतङ्कवादका सबै रूप र प्रकटिकरणको निन्दा गरे।

उनले समयबद्ध ढङ्गले आम विनासका सबै हतियारको पूर्ण निःशस्त्रीकरणको आह्वान पनि गरे।

परराष्ट्रमन्त्री खड्काले अफगानिस्तान, म्यान्मा, लिबिया, सिरिया, यमन र मध्यपूर्वको स्थितिबारे चिन्ता व्यक्त गर्दै शान्ति, सुरक्षा, र स्थिरताका साथै जनताको मौलिक अधिकार र स्वतन्त्रता सुनिश्चित गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरे।

मानव अधिकारको संरक्षण र प्रवर्धनमा जोड दिँदै मन्त्री खड्काले महामारीका कारण दिगो विकासका लक्ष्य हासिल नेपालको प्रयासमा जटिलता थपिएको यथार्थ पनि सुनाए।

उत्थानशील पुनःप्राप्तिका निम्ति प्रयास भइरहेको र अझ असल एवं सबल निर्माणमा अग्रसर हुँदै दिगो विकासका लक्ष्य प्राप्ति नै नेपालको एक मात्र उद्देश्य भएको उनले बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।अन्ततः एमाले अध्यक्ष केपी ओलीले पार्टीका मै हुँ भन्ने सबै नेतालाई पूर्वमाओवादी नेता रामबहादुर थापा बादलको अन्डरमा रहने गरी

काठमाडौं । विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । बाढी पसेर बन्द भएको विमानस्थल दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल

काठमाडौं । पहिरोका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनःकाठमाडौँ उपत्यकामा कहिले आउँछ भन्नेमा अन्योल कायमै छ । राष्ट्रिय

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि ब्राजिल, इटाली, माल्टा र दक्षिणअफ्रिकाका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्