वाईसीएलका कोही मालामाल धेरैको बिचल्ली

३ आश्विन २०६९, बुधबार २०:२३ मा प्रकाशित

काठमाडौं, ३ असोज । एक समयको सर्वाधिक चर्चित सङ्गठन ‘वाईसीएल’ बेपत्ता भएको छ । विपक्षीहरूलाई आतङ्कित तुल्याउन एमाओवादीले अस्तित्वमा ल्याएको उक्त सङ्गठनका गतिविधि केही समययता शून्यप्रायः हुंदा मुलुकमा तनाव घटेको महसुस त गराएको छ । तर, लडाकु पृष्ठभूमिका व्यक्तिहरूको ठूलो जत्था एकाएक गायवझैं भइदिंदा त्यसले अनेकौं आशङ्का पैदा गराएको छ । युद्धकालका वास्तविक लडाकुलाई ‘वाईसीएल’का रूपमा ब्यारेकमा राखेर एमाओवादी नेतृत्वले जे–जस्ता उपलब्धि हासिल गर्ने योजना बनाएको भए पनि हिजोका योद्धाहरू अहिले लाखापाखा लाग्ने स्थिति बनेको छ । क्रान्तिका लागि भन्दै ज्यान हत्केलामा राखेका युवाहरूमध्ये केही वैदेशिक रोजगारीमा गएका छन् भने बांकी अधिकांश आफ्नै निजी जीवनमा फर्केर खेतीपाती र विभिन्न व्यवसायमा लागेका छन् । पार्टी नेतृत्वको भूमिकाले वाईसीएलमा आबद्ध युवाहरू सबैलाई निराश तुल्याएको छ । त्यसैले ०५४ सालदेखि पार्टीमा लागेर ‘वाईसीएल’ बनेका सुदन राईले भने, ‘पार्टीले हामीलाई रस निचोरेको कागतीजस्तै बनाएर छोड्यो ।’
खोटाङ सिम्पानीका पैंतीस वर्षीय राईले भने, ‘अहिले पार्टीको सम्पर्कबाट टाढा रहेर आफ्नो व्यवसायमा लागेको छु ।’ ‘पार्टीले हामीलाई वास्ता नगरेपछि हामी पनि किन पार्टी खोज्दै जाने,’ उनले भने, ‘त्यसैले अहिले पार्टी सम्पर्कभन्दा बाहिर बसी आफ्नै काममा व्यस्त भएका हौं ।’
पार्टीमा प्रवेश गरेदेखि नै लडाकुका रूपमा पार्टीमा लागे पनि पछि लडाकुबाट वाईसीएल बनेका राईले भने, ‘पार्टी नेताहरूको निर्देशन र सल्लाहमा वाईसीएल भएं, सुरुमा त फाइदा नै भएजस्तो लागेको थियो, तर बिस्तारै समस्या थपिंदै गए, र हामीलाई पार्टीले टाढा गराउंदै लग्यो ।’
बौद्धमा बस्दै आएका राईले अहिले तरकारी पसल राखेका छन् । ‘यसले बिहान–बेलुकाको खानाको समस्या समाधान गर्न सहयोग पु¥याएको छ,’ उनले भने । गाउंका साथीहरूसंग ऋण खोेजेर तरकारी व्यवसाय गरेका राईको भनाइ थियो, ‘जनमुक्ति सेनाबाट वाईसीएल भएका म मात्र होइन, धेरै साथीको हालत मेरोभन्दा नराम्रो छ । नेताका वरिपरि घुम्ने र उनीहरूकै चाकडी गर्नेहरूले त राजधानीमा राम्रै चकचकी गरेका छन्, नेताको पछि नलागी पार्टी र क्रान्तिमा लागेकाहरूचाहिं सुकुम्बासीको अवस्थामा छौं ।’
गुल्मीका पूर्वसभासद् एवम् वाईसीएल नेता चन्द्रबहादुर थापा सागरको नेतृत्वमा वाईसीएलको जिम्मेवारी सम्हाल्दै आएका राईले अहिले सागरले पनि वास्ता गर्न छाडेको बताए । राईले भने, ‘हाम्रो समस्या न वाईसीएलका नेताले सुन्छन् न त पार्टी नेतृत्वले नै, त्यसैले हामी आफैं पार्टीबाट टाढिन बाध्य भएका छौं ।’ यसरी पार्टीको सम्पर्कबाट टाढा रहेर आफ्नो व्यवसायमा लाग्नेहरू वाईसीएल नेता राई मात्र होइन अन्य धेरै छन् ।
वाईसीएलका ललितपुर जिल्ला प्रमुख विश्वासले पनि वाईसीएलमा लागेका साथीहरूको अवस्था दयनीय भएको बताए । ‘वाईसीएलमा लागेका साथीहरू सम्पर्कमा चाहिं हुनुहुन्छ, तर, कहां हुनुहुन्छ र के गर्दै हुनुहुन्छ भन्ने जानकारी छैन,’ उनले भने, ‘साथीहरूको अवस्था दयनीय छ, उनीहरूलाई बिहान–बेलुकाको खानेकुरा जोहो गर्दैमा ठीक छ ।’ धेरै साथी पार्टी कामलाई भन्दा पनि आफ्नो दैनिकी चलाउनका लागि व्यापार–व्यवसायमा लागेको जानकारी पाएका छौं,’ विश्वासले थपे, ‘हामी आफैं पनि समस्यामा रहेकाले पहिलेको जस्तो नियमित सम्पर्क र भेटघाटमा छैनौं ।’
‘धेरै साथी गाउं फर्किएर आफ्नो खेती–किसानीमा लागेका छन्, केही राजधानीमै रहेर विभिन्न रोजगारी गरिरहेका छन्,’ उनले भने, ‘आर्थिक सङ्कटका कारण अहिले हामी सबै छिन्नभिन्न भएका छौं र आ–आफ्नो सोचाइका साथ अघि बढेका छौं ।’ ‘पार्टीको काम पर्दा सम्पर्कमा आउने, नत्र नआउने गर्छौं,’ उनले भने, ‘सुरुमा पार्टीकै मात्र भरपर्दा अहिले समस्या भएको छ ।
म आफैं पनि आर्थिक अभावका कारण विशेष काम परेको बेलामा मात्र पार्टीको सम्पर्कमा जाने गरेको छु,’ उनले भने, ‘अहिले म अर्गानिक खेतीतिर लागेको छु ।’ ‘पार्टीले केही नहेर्ने भएपछि आर्थिक जोहोका लागि त केही न केही गर्नैप¥योे, त्यसैले ललितपुरमा अर्गानिक खेतीको व्यवसाय सुरु गर्न लागेका छौं,’ उनले थपे । आफ्नो ललितपुर नै कार्यक्षेत्र भएकाले ललितपुरमा तरकारी खेती, च्याउ खेती तथा कुखुरापालनको व्यवसाय सुरु गर्न लागेको उनले बताए ।
ललितपुरमा स्वरोजगारका कार्यक्रमहरू पनि अघि सार्न लगिएको उनले बताए । ‘आर्थिक अभावमा अहिले स्वरोजगारको कार्यक्रम अघि बढाउन सकिएको छैन,’ उनले भने, ‘यसका लागि हामीले विभिन्न ठाउंमा भनिरहेका छौं, केही सहयोग पाउनेबित्तिकै त्यो कार्यक्रम अघि बढ्छ ।’
भक्तपुरका वाईसीएल इन्चार्ज हेमन्त चौधरी पार्टीको सम्पर्कबाट बिस्तारै टाढिंदै व्यवसायतिर लागेका छन् । उनले भक्तपुरमै कुखुरापालन, च्याउखेती गरेका छन् । स्रोतका अनुसार अन्य आम्दानीमूलक कामलाई पनि उत्तिकै अघि बढाएका छन् । उनी पार्टीको काम गर्दा खान र लाउन समस्या भएको भन्दै पार्टी कामलाई भन्दा पहिले आफ्नो भविष्य बनाउनुपर्ने भन्दै व्यवसायतिर लागेको बताउंछन् । पार्टीलाई नै हामी चाहिंदैन भने हामीलाई किन पार्टी चाहियो भन्दै उनी व्यवसायतिर लागेका हुन् । त्यस्तै, यसअघिका भक्तपुरकै जिल्ला इन्चार्ज एवम् वाईसीएल उपत्यकाका सहइन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा पनि वाईसीएलको पगरीलाई पूरै त्यागेर समाचार दैनिक पत्रिकाको प्रधानसम्पादक बनेका छन् । तर, अहिले आर्थिक अभावको कारण देखाउंदै सो पत्रिका बन्द गरिएको छ । त्यस्तै, काठमाडांैका इन्चार्ज ज्वालाले पनि व्यवसाय नै सञ्चालन गरेका छन् । उनले पनि खेतीपातीकै काममा हात हालेका छन् ।
वाईसीएल नेता सागर पनि वाईसीएलको नेतृत्वबाट टाढा रहंदै एनजीओतिर लागेका छन् । उनी बेरोजगार युवा सङ्घ नेपाल खोली त्यसको अध्यक्ष बनेका छन् । उनले सम्पूर्ण बेरोजगार युवालाई संगठित गर्ने र रोजगारीका लागि राज्यलाई दबाब दिने भन्दै संघ स्थापना गरेका हुन् । रोजगारीका लागि राज्यलाई दबाब दिन आफूहरू त्यस अभियानमा लागेको उनको भनाइ थियो । पहिलेजस्तो अहिले वाईसीएलमै सक्रिय नभएको जानकारी गराउंदै उनले भने, ‘वाईसीएलका साथीहरू सम्पर्कमा छन्, उनीहरू काम पर्दा आउंछन् नत्र आफ्नै काममा व्यस्त रहन्छन् ।’
‘आमनेपाली जसरी नै बसेका छन् वाईसीएलका साथीहरू पनि अहिले त्यसरी नै बसेका छन्,’ सागरले भने, ‘वाईसीएलका पूर्वनेता दीपशिखालाई लक्षित गर्दै वाईसीएलमा लागेको साथीहरूले तपाईंले जे काम गर्नुभएको छ, उनीहरूले पनि त्यस्तै गरेका छन् ।’ उनले सबै वाईसीएलले आफ्नो जोह आफैं गरेको जानकारी गराउंदै भने, ‘साथीहरूले जीविकोपार्जनका लागि विभिन्न व्यवसाय गरिरहेका छन्, यो राम्रो कुरा हो ।’
स्रोतका अनुसार उपत्यकामा खटिएका वाईसीएलका कार्यकर्ताहरू राजधानीका विभिन्न टोलको फोहोर संकलन गर्ने र त्यसबापत घरधनीहरूसंग पैसा लिने गरेका छन् । वाईसीएलका एक नेताले भने, ‘अहिले साथीहरू अत्यन्तै कष्टपूर्ण जीवन बिताइरहेका छन्, र उनीहरू बिस्तारै पार्टीको सम्पर्कबाट टाढिंदै गएका छन् ।’ माओवादी स्रोतका अनुसार उपत्यकामा पार्टीको पूर्णकालीन वाईसीएल कार्यकर्ता तीन सयभन्दा बढी छन् । उनीहरू विभिन्न स्थानमा सामूहिक कोठा लिएर बसेका छन् । कतै आक्रमण गर्न जानुप¥यो, कसैको पैसा उठाउनुप¥यो, विरोध प्रदर्शन गर्नुप¥यो भने ती वाईसीएलका कार्यकर्ता सामूहिक रूपमा जाने गर्छन् । वाईसीएलका एक नेताले भने, ‘पार्टीको होलटाइमर वाईसीएल पनि छन्, तर तिनीहरूलाई कुनै वास्ता नगर्दा अपराधका घटना बढ्न सक्ने सम्भावना देखिएको छ ।’ उनले थपे, ‘यसबारेमा हामीले पार्टी नेतृत्वलाई पनि जानकारी गराएका छौं तर, कुनै प्रतिक्रिया आएको छैन ।’
एमाओवादीबाट अलग हुंदै वैद्य समूहको नेपाल कम्युनिस्ट पार्टी–माओवादीमा लागेका वाईसीएल नेता तथा कार्यकर्ताचाहिं नयां पार्टीको सङ्गठन विस्तारमा लागेका छन् । वाईसीएलनेतृ उमा भुजेलले भनिन्, ‘वाईसीएलमा लागेका साथीहरूको आर्थिक अवस्था दयनीय भए पनि उनीहरू यतिबेला पार्टीका काममा लागेका छन् ।’ अयोग्य भनिएका लडाकु, स्वेच्छिक अवकाश रोजेका लडाकुहरूलाई सङ्गठित गराउने क्रम जारी रहेको भुजेलको भनाइ थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ । माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय