माओवादीले बामपन्थी आन्दोलन धमिल्यायो – प्रकाश अधिकारी, (महासचिव नेकपा संयुक्त माक्र्सवादी)

२ आश्विन २०६९, मंगलवार १९:१० मा प्रकाशित

० नेपालको माक्र्सवादी तथा वामपन्थी आन्दोलनको अवस्था कस्तो देखिरहनुभएको छ ?
– माक्र्सवादी दृष्टिकोणले भन्नुपर्दा नेपालको माक्र्सवादी आन्दोलन अझै परिपक्व भइसकेको छैन भन्नुपर्ने हुन्छ । विगतदेखि वर्तमानसम्मको परिवेश नियाल्दा नेपालमा वामपन्थी प्रभावमा विकास भएको देखिए पनि सूक्ष्म रूपले अध्ययन–विश्लेषण गरी हेर्दा धेरै कमी–कमजोरी बांकी नै छन् ।
० माक्र्सवादी आन्दोलन सफल हुनका लागि जातीय आन्दोलनचाहिं चर्किनुपर्ने हो ?
– त्यस्तो त होइन ।
० प्रचण्डजीहरूले त त्यसैको अगुवाइ गरिरहेका छन् त ?
– त्यसमा धेरै ‘मिसलिड’ भएजस्तो हामी महसुस गरिरहेका छौं । नेपाल धेरै जातजाति मिलेर बनेको राष्ट्र भएकाले जातजातिको अधिकारहरू सुरक्षित गर्नुपर्ने सवाल छन् । तर, जातजातिका अधिकारलाई जुन ढङ्गबाट उठाइएको छ, वर्गीय दृष्टिकोण बिर्सिएको ढङ्गबाट जो उठाइएको छ– यो गलत छ, गलत दृष्टिकोणबाट आएको छ ।
० तपाईंहरू सही लाइन या दृष्टिकोण लिने तर पार्टी ठूलोचाहिं प्रचण्डजीहरूको हुने, यस्तो किन भएको होला ?
– यस्तो कहिलेकाहीं हुंदोरहेछ । माक्र्सले पनि यसबारे भन्नुभएको छ र लेनिन आफू सही हुंदाहुंदै कैयनपटक आफैं पछि पर्नुभएको छ । तर, नेपालको वामपन्थी टे«न्ड हेर्दा स्थायी रूपले बलियोचाहिं कुनै पनि पार्टी भएको देखिंदैन, कहिले को बलियो कहिले को ठूलो देखिंदै आएको छ । वास्तविक दृष्टिकोणको कमी या बुझाइमा गडबडीका कारणले यस्तो अवस्था रहेको हो ।
० माओवादीले आफूलाई नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह दाबी गरिरहेको छ, तपाईं यो दाबीसंग सहमत हुनुहुन्छ कि हुनुहुन्न ?
– यो कुरासंग म सहमत छैन । यो दाबी यथार्थमा आधारित छैन । मूलप्रवाह भनेपछि सम्पूर्ण रूपबाट, सम्पूर्ण धारबाट देशको स्थितिलाई वास्तविक विश्लेषण गरेर गरिएको हुनुपर्छ, तर एमाओवादीले आफ्नो सङ्गठनको देखावटी स्वरूपको आधारमा यो दाबी गरिरहेको छ । यसरी मूलधार दाबी गर्दैमा हुने कुरा होइन । समाजमा बढेका विकृति–विसङ्गतिलाई चर्को नारामा ढालेर यो आकार पाएको हो उसले, नारा आकर्षक दिंदैमा कसरी मूलधार पक्रिएको मान्ने ?
० नेपालको सन्दर्भमा कम्युनिस्ट आन्दोलनको भविष्यचाहिं कस्तो देख्नुहुन्छ त ?
– नेपालमा वर्गीय दृष्टिकोण रहेसम्म कम्युनिस्ट आन्दोलन त उठिनै रहन्छ । यसर्थ यहां कम्युनिस्ट आन्दोलनको भविष्य छ । समाजमा शोषणको अन्त्य नभएसम्म यो जागृत रहने भएकाले नेपालमा कम्युनिस्ट आन्दोलन अझै व्याप्त हुने नै देख्छौं हामी । तर, कम्युनिस्ट आन्दोलनलाई यहां बद्नाम गराउने कोसिस भएको पनि पाइन्छ, जो चिन्ताको विषय हो ।
० बद्नाम गराउन सबभन्दा ठूलो भूमिका कसले निर्वाह गरेको छ ?
– कम्युनिस्टहरूबाटै या कम्युनिस्टकै नाममा विभिन्न विकृति–विसङ्गति भित्रयाइने प्रवृत्ति बढेको छ । शोषण–उत्पीडन एकातिर छ, जनताका माग र आकाङ्क्षा अर्कोतिर छ, समाजले खोजेको परिवर्तन एकातिर छ तर कम्युनिस्ट आन्दोलनका नाममा विभिन्न ढङ्गबाट गरिने क्रियाकलाप अर्कोतिर छ । ठूला भनिएका कम्युनिस्ट पार्टीहरू माओवादी एमाले दुवैबाट यस्तो विकृतिजन्य क्रियाकलाप भइरहेका छन् । हिजो एमालेले गरेको गल्ती आज एमाओवादीले पनि दोहो¥याइरहेको छ । एमालेले भन्दा चर्कोसंग आशा र सपना देखाएर एमाआवादीले त झन् ठूलो विकृति फैलाइरहेको छ । उसले त नाटक पनि चर्कै गर्न जानेको छ, जांचबुझ आयोग भनेर पार्टीभित्रै सम्पत्ति छानबिनको नाटकसमेत गरेको छ एमाओवादीले त । उसकै कार्यकर्ताले औंल्याइरहेका छन् कि एमाओवादी नेतृत्व र तल्ला तहका पनि भ्रष्टाचार व्याप्त छ भनेर । यसरी कम्युनिस्ट आन्दोलनलाई बद्नाम गराउने काममा उनीहरूले नै अगुवाइ गरिरहेका छन् ।
० यस्तो परिवेशमा भविष्य के त कम्युनिस्ट आन्दोलनको ?
– गल्ती गर्नेले त त्यसैअनुसारको सजाय भोग्नैपर्छ, ढिलोचांडो भोग्छ नै । यस हिसाबमा कुनै चरण या बिन्दुमा नेपाली कम्युनिस्ट आन्दोलनले रामै्र धक्का खान्छ नै । त्यो हामीलाई राम्रोसंग ज्ञान छ । धक्का नखाएसम्म को असल, को खराब छुट्टिनै पनि गाह्रो छ ।
० संविधानसभाको विघटनपछि संवैधानिक र राजनीतिक रूपले पनि परिस्थिति निकै सङ्कटपूर्ण बनेर देखापरेको छ, वर्तमान सङ्कटको सबभन्दा उपयुक्त निकासको बाटो के हुनसक्छ तपाईंको दृष्टिमा ?
– ०६२÷०६३ को जनआन्दोलनको कर्म या भावनामा कुनै कोणबाट पनि कुठाराघात गरिनुहुंदैन । जनआन्दोलनकारी शक्तिहरूबीचको सहमति अपरिहार्य छ सङ्कटनिकासका लागि । तर, सहमतिका नाममा दुईदलीय, तीनदलीय या चारदलीय सहमति खोजिने प्रवृत्ति देखिएको छ, यसले झन् समस्या पैदा गर्न सक्छ । जनताको भावना सम्बोधन गर्न नसक्ने सहमति केको सहमति ? त्यो त दलहरूको स्वार्थसिद्धि गर्ने माध्यम मात्रै बन्न पुग्छ । अहिले यस्तै देखिएको छ । जनसहमतिको आवश्यकता छ अहिले दलीय सहमतिभन्दा पनि ।
० जनताको भावनाचाहिं कस्तो छ, के चाहन्छन् जनता यतिखेर ?
– दुई वर्ष जो अवधि दिइएको थियो संविधानसभाका लागि, थप दुई वर्ष दिएर पनि संविधान बन्न नसकेकोले अब पुनस्र्थापनाको कुनै औचित्य छैन भन्ने सिद्ध भएको छ र जनभावना पनि यही हो । संविधानसभाको पुनस्र्थापना समस्याको समाधान होइन । किनकि जनइच्छाअनुसारको काम त्यसले गरेकै छैन । मुलुकलाई त्यो भारी बोकाउन खोज्नु उल्टो दिशामा चल्न खोज्नु मात्र हो ।
० नयां निर्वाचनको कुरा निकै गरिन्छ, अबको निर्वाचन संसद्को कि संविधानसभाको हुनुपर्ला ?
– निर्वाचन त संविधानसभाकै हुनुपर्छ । आन्दोलनको माग संविधानसभाका लागि थियो, तसर्थ संविधान बनाउनु अपरिहार्य छ, त्यसका लागि संविधानसभा नै चाहिन्छ । संसद्बाट कुनै आयोग बनाएर संविधान बन्न सक्दैन, जनताको म्यान्डेट त्यो होइन । तर, अब त्यसको सदस्यको सङ्ख्या के–कति हुने भन्नेमा चाहिं सहमति खोजिनुपर्छ । सङ्ख्या घटाइनुपर्छ र स्वच्छ चुनाव हुने वातावरण निर्माण गरिनुपर्छ । त्यसपछि ताजा जनादेशमा गएपछि जनताले जे अभिमत दिन्छन् त्यसैअनुरूप अघि बढ्नुपर्छ ।
० तपाईंको पार्टीको अबको कार्यदिशाचाहिं के हुन्छ नि ?
– वर्तमान परिवेशमा हाम्रो पार्टीको भर्खरै पोलिटब्युरो बैठक सकिएको छ र केन्द्रीय समितिको बैठक पनि २९, ३०, ३१ गते बस्दै छ । संविधानसभाका लागि ताजा जनादेशमा जाने र महंगी तथा भ्रष्टाचार व्याप्त छ, सुशासन र राष्ट्रियताको हत्या भएको अवस्था छ, समग्रमा देश गम्भीर मोडमा उभिएको छ । यी मुद्दाहरूलाई लिएर जनतालाई जागृत गराउन आन्दोलन गर्ने नीति नै हामी अख्तियार गर्नेछौं ।
० यस्तै आन्दोलनको कुरा त माओवादी वैद्य पक्षले पनि गरेको छ, कार्यगत एकता गर्ने सोच त छैन उनीहरूस.ग ?
– वैद्यजीहरूको आन्दोलन बेग्लै प्रकारको छ । एकप्रकारले एमाओवादीकै नेचर हो उहांहरूको पनि । पुराना रट लगाएर हिंड्नुको कुनै तुक छैन । तर, मह.गी भ्रष्टाचारका सवालमा कार्यगत एकता हुन पनि सक्छ– त्यस्तो बारबन्देज नै लागेको कुरा त होइन । कतिपय उहांहरूले उठाएका सवाल हामीलाई मान्य छैन, जस्तो कि जातीय सङ्घीयताको पक्षधर हो उहांहरू हामी त्यस्तो चाहन्नौं । जात मात्रै पहिचान होइन यो देशको, धेरै कुरा छ, त्यसको आधारमा सङ्घीयता हुनुपर्छ भन्छौं हामी ।
० तपाईंहरूको सङ्घर्षको लक्ष्य डा. भट्टराईको सरकारको विस्थापन हो ?
– त्यति मात्रै त होइन । बाबुराम भट्टराईको सरकार विस्थापनले मात्र समस्या समाधान हुंदैन । सिस्टम बस्नुपरयो, सुशासन कायम हुनुपरयो देशमा । त्यस हिसाबमा हुनुपर्छ अबको आन्दोलन ।
० तपाईंहरूले उठाउने आन्दोलनमा जनताले साथ देलान् भन्ने कति विश्वास छ ?
– पूरै विश्वास छ । निराश भएका छन् जनता तर हामीसंग होइन यी ठूला भनिएका दलको प्रवृत्तिसंग । त्यसैले हाम्रो आन्दोलन साथ दिनेछन् जनताले । जनताले दलहरूबीचमै पनि विकल्प खोजेका छन्, हामी विकल्प हुन सक्छौं जनताको चाहना बोल्नका लागि ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ, १९ बैशाख । विश्वमा कोरोना माहामारीका कारण नेपाल लकडाउन भएको १ महिना भन्दा बढी भइसक्यो । यो एक महिनाको

निरोज कुमार थापा, काठमाडौँ, १० असार । सबै मानिसहरु आफ्नो कर्ममा सफल हुन्छन् भन्ने छैन । तर निरन्तरको लगाव, कामप्रतिको

पर्यटन प्रवद्र्धनका लागि सन् २०१७ बाट हरेक वर्ष हिमालय ट्राभल मार्ट आयोजना हुँदै आएको छ । यसवर्ष पनि जुन ६

निरोज कुमार थापा, काठमाडौँ, ६ बैशाख ।  नेपालमा होमस्टेको इतिहाँस लामो छैन। यो अभियानले गति लिएको एक दशक पनि भएको