पत्रकारितामा महिलाः दायित्व र चुनौति

५ चैत्र २०६८, आईतवार १७:१५ मा प्रकाशित

– शोभा न्यौपाने
दुई बर्ष अगाडि नै बिदा गरेको रेडियो पत्रकारिताको याद बारम्बार आइरहँदा अहिले पनि लाग्छ, त्यही पेशामा फर्केर जाउँ । पत्रकारितामा एउटा बेग्लै खालको रमाइलो छ, चर्चा छ, नाम छ र संतुष्ठि छ । त्यत्ति हुँदाहुँदै पनि त्यहाँ चुनौतिको दाँजोमा वृत्तिविकासका अवसरहरु ज्यादै न्यून छन् । “तिमी जहाँ छौ, ठिक छौ ” साथीहरु भन्छन् – “नेपालमा पत्रकारिता गरेर काम छैन । त्यसमा पनि महिलाहरु त नलागेकै जाती ।” ठूला चुनौति र न्यून अवसर भन्दा पनि यी र यस्ता खालका भनाइहरु महिलालाई पत्रकारिताबाट टाढा राख्ने घातक कारणहरु हुन् । ती भनाईका पनि जायज आधारहरु छन् । विविध कारणले पत्रकारिता पेशाप्रतिको आम धारणा सकारात्मक हुन सकेको छैन । अति कम पारिश्रमिक, ज्यादै सबेर वा अबेरसम्मको कार्य गर्नुपर्ने बाध्यता र ज्यानै समेत गुमाउन सकिने किसिमका चुनौतिहरु यो पेसामा छन् । नियालेर हेर्ने हो भने यो भन्दा जोखिमपूर्ण र कठिन धेरै काममा महिलाहरुको सहभागिता देखिन्छ । कतिपय निकृष्ट श्रमभन्दा पत्रकारिता कहाँ हो कहाँ श्रेष्ठ छ । तैपनि एउटा सिमित अवधिपछि पारिवारिक जिम्मेवारी वा राम्रो अवसर भन्दै महिला पत्रकारहरु पलाएन हुने गरेको यथार्थ नेपाली पत्रकारिता जगतमा विद्यमान छ ।
पत्रकारितामा महिला
विश्व परिवेशलाई हेर्ने हो भने युरोप अमेरिकामा उन्नाइसौं शताब्दितिरै देखि महिला पत्रकारहरुले राम्रो छाप छोडेको पाईन्छ । “विमेन इन दि नाइन्टीन्थ सेन्चुरी” का लागि विश्व विख्यात मार्गरेट फुलर सन् १८४० तिर नै “न्यूयोर्क ट्रिब्युन” का लागि युरोपियन सम्वाददाता थिईन् । उनले राल्फ वाल्डो इर्मशन र हेनरी डेफिड थरोजस्ता महान् हस्तिहरुको योगदान रहने गरेको साहित्यिक पत्रिका “दि डायल” को सम्पादन कार्य समेत गरेकी थिईन् ।  तिनताका पत्रकारितामा लाग्ने धेरै जस्तो महिलाहरु या त एकल थिए या परित्यक्ता । परिवार पाल्नका लागि आय आर्जनको श्रोतका रुपमा जीवनको पछिल्लो चरणमा पत्रकारितामा छिरेका भएता पनि तिनले दिएको योगदान अविष्मरणीय छ । एनी रोयल पत्रकारिता पेशाामा छिर्दा ५५ बर्षकी थिइन् । श्रीमान्को निधनपछि उनका परिवारले आफुलाई नअपनाएपछि उनी उक्त पेशामा आएकी थिईन् । वासिङ्गटनबाट प्रकाशित हुने “पाउल प्राइ” र “दि हन्टर्स” नामका पत्रिकाहरुमा सन् १८३० र ४० को दशकमा उनले घोटाला लगायतका सामन्ती प्रथाका विकृतिहरु विरुद्ध कलम चलाइन् । युद्धकालिन नर्स मेरी क्लिमरले पत्रकारिता पेशामा आएपछि वासिङ्गटनबाट सिधै अमेरिकी कंग्रेसको रिपोटिङ्ग गरेकी थिईन् ।
नेपालको सन्दर्भ
नेपाली पत्रकारिता क्षेत्रमा पहिलो पटक सम्पादकका भुमिकामा देखिएकी साधना अधिकारीदेखी “वेभ म्यागाजिन” की सम्पादक रुविना दत्तसम्म आईपुग्दा पनि महिला पत्रकारको उपस्थिति र प्रभाव चित्त बुझ्दो गरी सुध्रेको पाईदैन । आज पनि पत्रकारिता पेसाको उच्च स्थानमा पुरुषकै प्रधानता पाईन्छ चाहे त्यो सम्पादकीय होस् वा अन्य कुनै विशिष्ट बिट ।  नेपाल पत्रकार महासंघकी सचिव यशोदा तिम्सिना समग्र महिला पत्रकारहरुकी गौरवमयी प्रतिनिधि पात्र हुन् । प्रथम समाचार वाचिका रमा सिंह आज पनि जनमानसमा उत्तिकै प्रिय छिन् । रेडियो पत्रकारितामा मण्टेश्वरी राजभण्डारी एउटा स्थापित नाम हो । टेलिभिजन कार्यक्रमहरुमार्फत् आवाजविहीनहरुको आवाज सुनाउन प्रयत्नशील आरती चटौत महिला, अपाङ्गता भएका व्यक्ति लगायका बर्गहरुमा प्रिय छिन् । कला, साहित्य, स्वास्थ्य र संस्कृतिका विविध पक्षहरुलाई रेडियो कार्यक्रममार्फत् उजागर गर्ने सिल्भिया राजोपाध्याय नेपाल भाषीहरुमाझमा चर्चित छिन् । यद्यपि समग्रमा नेपाली सञ्चार माध्यमहरुमा महिला पत्रकारको भुमिका अपेक्षाकृत कमजोर छ । रेडियो टिभिका आरजे र भिजेहरुलाई लिने हो भने मनोरञ्जनात्मक पाटोमा  महिला उपस्थिति उल्लेख्य छ । पत्रकारिताको पाटोबाट हेर्दा समाचार संकलन र वाचन बाहेकका क्षेत्रमा त्यो संख्या न्यून छ ।
भाषाको प्रयोगमा लापरबाही
कार्यक्रम उत्पादक÷प्रस्तोता समेतले भाषाको प्रयोगमा उत्तिकै संवेदनशील हुनु जरुरि छ जत्ति समाचार संप्रेषणमा । आचार संहिताले भन्छ – “काम गर्ने तौरतरिका र भाषाको प्रयोग सम्बन्धमा सावधान रहनु, नम्र र सभ्य भाषाको प्रयोग गर्नु ।” नेपाली आम संचारमा हेर्ने हो भने मनोरञ्जनात्मक कार्यक्रममा संचालक केटा वा केटी जो भए पनि छेउ न टुप्पोका भलाकुसारी, टुटेफुटेका अंग्रेजी र लापरवाह किसिमको लवज हाबी भएको पाईन्छ । बहस प्रकारका कार्यक्रमहरुमा चर्को स्वर गर्नू र औंला उठाई÷उठाई कसैलाई गलाउने वा धज्जी उडाउने किसिमका प्रश्न सोध्नु नै मुल उद्धेश्य ठानिन्छ । आफुलाई पत्रकार भन्ने व्यक्तिले नै आचारसंहिता उल्लंघन गरेको कुरा उसलाई कसले सोध्ने ?
सामाजिक दायित्व
सफल पत्रकार हुनका लागि मुखपृष्ठमै समाचार आउनुपर्छ भन्ने छैन । राजनीतिक वा सनसनीपूर्ण खबर दिनु मात्र पत्रकारको काम होइन । एकातिर पत्रकारले मानवता, मानव अधिकार र अन्तराष्ट्रिय सम्बन्धहरुको सम्मान गर्नु पर्दछ भने अर्कातिर पत्रकारका काँधमा समाज रुपान्तरणको सामाजिक दायित्व पनि हुन्छन् । अपाङ्गता भएका व्यक्तिहरु, असहाय, अशक्त, महिला, बालबालिका र पछाडि पारिएका बर्गको उत्थान र विकासतर्फ सहयोग पुग्ने खालका सूचना र विचारहरु प्रवाह गर्नु पत्रकारको धर्म पनि हो र दायित्व पनि ।
हो, यो सामाजिक दायित्व निर्वाहको पाटोमा महिला पत्रकारहरुको राम्रो योगदान रहनसक्छ । हुन त पुरुषको आधिपत्य रहेका विटहरुमा महिला पत्रकारहरुले आफ्नो उपस्थिति र प्रभाव देखाउन सके भने पनि पत्रकारितामा महिलाका मुद्धाहरु, तिनका सरोकारहरु र जीवन कहानीहरु अलग्गै किसिमले आउन सक्छन् । पत्रकारितामा महिला (पात्र हुन् वा पत्रकार) को परिभाषा फेरिन सक्छ । यतिखेर म सोचिरहेछु – नायिका संचिता लुईंटेलको दोश्रो गर्भाधानको विषय कुनै महिला पत्रकारले उठाएको भए त्यो बच्चा जन्मेको सात महिनामा चार महिनाको गर्भ बोकेको भन्ने त्यही कोणबाट आउँथ्यो वा सुत्केरी भएको तीन महिनामै गर्भ बोकाउने श्रीमान् निखिलको कोणबाट ? अथवा उनको संवेदनशीलता र ईच्छाको कदर गर्दै त्यत्ति छिट्टै त्यो समाचार बनाइने नै थिएन कि ?
एउटा साप्ताहिक रुपमा निस्कने पत्रिकामा केही समय अघि एक बदनाम मोडेल÷नायिकाको अन्तवार्ता थियो – पुरुषहरु फेरिरहन्छु र तिनलाई उपभोग गर्दै मन अघाएपछि छोडिदिन्छु भन्ने मनसाय सहितको । मैले बुझ्न सकेको छैन – त्यो अन्तवार्ताको उपलब्धि पाठकलाई के ? त्यसले सामाजिक दायित्वको र पत्रकारिताको कुन चाँही धर्म पालना ग¥यो ? जनताको सूसुचित हुने अधिकारसंग त्यो जोडिएको पक्कै छैन नत त्यसले महिला अधिकार संरक्षणमा भुमिका नै खेल्न सकेको देखिन्छ ।
संचार माध्यममा महिला मानव अधिकार
अस्ति भर्खर १०२ औं अन्तर्राष्ट्रिय महिला दिवस आयो र गयो पनि । महिला अधिकारका ठूला ठूला कुरा त्यसदिन गरिए । नेपालमा सरकारी तहबाट ¥याली आयोजना गरियो, दुई चार वटा पुरस्कार घोषणा गरिए । महिला अधिकारका विषयमा केही सामाग्रीहरु प्रकाशन÷प्रशारण पनि गरिए । त्यसको भोलिपल्ट मेरी एक सहकर्मीले टेबुलमा एउटा हप्ते पत्रिका राखिदिंदै भनिन् –महिलाले अधिकार पाएनन् भन्नेहरुले यो पत्रिका हेरुन् । वास्तवमा त्यो पत्रिकामा ब्लो अप लगायत अधिकांश पानामा लगभग नाङ्गा फोटाहरुले भरिएको थियो । पत्रकार आचार संहितामा स्पष्ट लेखिएको छ – “घृणा, भय वा उत्तेजना फैलाउने नग्नता वा तस्विर प्रकाशन÷प्रशारण गर्न हुँदैन ।” तर यौन उत्तेजना, हिंसा वा अपराध भड्काउने खालका ब्लोअप र अन्य तस्विरहरु प्रकाशित भएकै छन् । त्यस्तै किसिमका भाषा शैलि प्रयोग भएकै छन् । अनलाईन खबरहरुको हालत त्यस्तै छ । यसको अनुगमन र मुल्यांकन गर्ने कसले ?
सामाजिक दायित्व निवार्हमा महिला पत्रकारको भुमिका
सामाजिक र विशेषगरी महिला सम्बद्ध मुद्धा र सरोकारहरुमा महिला पत्रकारको न्यायसंगत भुमिका रहन सक्छ । सन् १९९२ मा अन्ना क्यन्डलेनले “पुलित्जर पुरस्कार” पाइन् । र, त्यो मुखपृष्ठको रिपोर्टिङ्गका लागि होइन भित्रि पृष्ठका लागि लेखिएको पारिवारिक जीवन सम्बन्धी विश्लेषणका लागि थियो । दैनिक जीवनका स–साना कुराहरु उठान गरेर पनि ठूला परिणाम ल्याउन सकिन्छ । फाल्गुण २९ गते बबरमहलको बाटोमा हिंडिरहँदा मोटरसाइकले कुल्चेर भाँचिएको दृष्टिविहीन त्रिलोचन पोखरेलको सेतो छडीले नेपाली संचारमा ठाउँ पाएन । यसअधि भएका यस्तै घटनाहरु पनि उसरी नै वेवास्ता भएर गए । तर त्यो एउटा खबरले पनि त दृष्टिविहीन मैत्री आवागमनका लागि ठूलो भुमिका खेल्न सक्छ । सरकारलाई त्यसका लागि घच्घचाउन सक्छ, सवारी चालकलाई सचेत बनाउन सक्छ । यी झिनामसिना कुराहरु उजागर गरेर महिला पत्रकारहरुले समाजमा रुपान्तरणमा महत्वपूर्ण योगदान दिन सक्छन् ।

महिला पत्रकारहरुको पलायनका मुख्य कारणहरु
महिला पत्रकारहरुको भुमिका र कार्यक्षमता  दुबैलाई सशक्त बनाउनका लागि संचार माध्यम वा संचार गृहको पनि ठूलै भुमिका हुन्छ । अमेरिका र युरोपमा एउटी महिला ५० बर्ष नाघेपछि पनि पत्रकारितामा प्रवेश गरेर राम्रो पहिचान बनाउन सक्छिन् । हाम्रो देशमा किशोरावस्थामा (रुचि वा लहडमा) छिरेका महिलाहरु प्रायः विवाह पछि यो पेशाबाट सन्यास लिन्छन् । पारिवारिक जिम्मेवारी र सहयोग÷असहयोगका कुरा आफ्ना ठाउँमा होलान् तर कार्यस्थलको वातावरणले यसमा निकै असर पु¥याएको हुन्छ । अग्र पंक्तिमा महिलालाई प्रायः आउन दिईदैन– त्यो खालको जिम्मेवारी लिन प्रोत्साहित नगरेर वा नदिएर, सीप÷क्षमता अभिबृद्धिका अवसरबाट वञ्चित गरेर, बाइलाइन नदिएर आदि ।
एउटा घटना संझना आउँछ झण्डै दुई, साढे दुई बर्ष अघिको । कार्यालय जाँदै गर्दा एउटी मित्रले मलाई रिङरोडबाट नै फर्काइन् । भनिन् – आज विशेष सूचना संकलन गर्नुछ, हिंड मसँग । विषय थियो – नेपाली चेलीको कोरियन केटासँग विवाह गराइदिने भन्दै मोटो रकम असुलेर अघोषित चेलीबेटी बेचबिखन गर्नेहरुको पर्दाफास । ती संस्थाहरुमा गएर गुह्य कुरा खोतल्नु बघिनीको दुध दुहुनु जत्तिकै कठिन थियो । हामीले अनेक जुक्ति लगायर ती सूचनादातालाई पत्तै नदिई (सामाजिक हीतका लागि) भनाईहरु टिपोट र रेकर्ड ग¥यौं । ठगिका यथेष्ट प्रमाण जुटाएर हामी फर्कियौं । पछि एउटा नाम चलेको मासिक पत्रिकामा त्यो रिर्पोट छापियो । त्यसको प्रभावले वा ठगिको पर्दाफासका कारण ती ठगहरुको व्यवसाय बन्द भयो । तर दुःखको कुरा – त्यो रिपोर्टमा बघिनीको दुध दुहुने मेरी मित्रको नाम आएन । उनलाई त्यो कार्य लगाउने (संभवत हल्का प्रशोधन गर्ने ) अर्कै बरिष्ठको एकल नाम आयो । पारिश्रमिकको हिस्सा तिनले पाइन् कि पाइनन कुन्नि ? तर पत्रिका हातमा परेको दिन क्रेडिविलिटि नपाएकोमा तिनी खिन्न थिइन् । यस्तै यस्तै कुराहरु हुन् जसले महिलाहरुलाई पत्रकारिता छोड्न र अन्य बाटा रोज्न बाध्य गराउँछन् ।
र , अन्तमा…….
जहाँ चुनौति हुन्छ, त्यहाँ अवसरहरु पनि पक्कै हुन्छ । महिलाका सवालहरुलाई महिलाको संवेदनाअनुकुल र न्यायसंगत हिसावबाट महिला पत्रकारहरुले नै उठान गर्न सक्ने कुरामा दुइमत छैन । यसबाहेक पुरुष प्रधानता रहेका अन्य विटहरुमा पनि महिलाले न्याय गर्न सक्छन् । खोज र अनुसन्धानमूलक क्षेत्र लगायत सामाजिक मुद्धाहरुको विश्लेषणमा पनि महिला पत्रकारहरु त्यत्तिकै सशक्त हुन सक्छन् । विश्व मानचित्रमा त्यो देखिएको छ । मूलधार पत्रकारितामा आफुलाई स्थापित गराउन यो पेसा अंगाल्ने हरेक महिलाले यस क्षेत्रका बारेमा मनग्गे ज्ञान आर्जन गर्नु जति जरुरि छ, उत्ति नै जरुरि छ सधैं आफ्नो कार्यक्षेत्रका बारेमा अपडेट हुनु पनि ।  आफुले पस्कने हरेका सामाग्रीको चौतर्फि प्रभावलाई विचार गर्ने बानी गरेमा पत्रकार (महिला वा पुरुष) को छबी उज्वल बन्दछ । कार्यस्थलमा पाइने न्यायसंगत व्यवहार, सुविधा र अधिकारले महिला पत्रकारहरुलाई चुनौति मोल्दै पत्रकारिता क्षेत्रमा अघि बढ्न प्रोत्साहन मिल्दछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका

जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडाकी मायाकुमारी विष्टको कक्षा ८ मा पढ्दा पढ्दै सामाजिक सञ्जाल फेसबुकमा एक युवकसँग चिनजान भयो ।

विगतमा घैयाको भाउमा जाने अदुवाले अहिले राम्रै मूल्य पाउन थालेपछि कर्णालीका अदुवा किसान मख्ख छन् । प्रतिकिलो रु पाँच–१० मा

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मृगेन्द्र शिखरबाट राजधानीको सभ्यताको स्रोत वाग्मती प्रकट भएको छ । यो स्थल अहिले गोकर्णेश्वर नगरपालिकाको भौगोलिक