लडाकु हराएपछि एमाओवादी चिन्तित

२८ भाद्र २०६९, बिहीबार २०:५० मा प्रकाशित

काठमाडौं, २८ भदौ । स्वेच्छिक अवकाश रोजेका माओवादी लडाकु पार्टी सम्पर्कभन्दा बाहिर गएको र यसले भविष्यमा नराम्रो परिणाम निम्त्याउने निष्कर्ष एकीकृत माओवादीले निकालेको छ । स्वेच्छिक अवकाश रोजेका ब्रिगेडियर कमान्डरहरू नै पार्टीको सम्पर्कमा आउन छाडेपछि माओवादीले यस्तो निष्कर्ष निकालेको हो । ‘माओवादीले अयोग्यताको उपाधि दिएपछि शिविरबाट बाहिरिएका लडाकु पार्टीको सम्पर्कमा नआउनु स्वाभाविकै हो तर, योग्य भएका र पार्टीको सहमतिमा स्वेच्छिक अवकाश रोजेका लडाकु नै पार्टी सम्पर्कमा आउन छाडेपछि पार्टीमा चिन्ता छाएको छ,’ एमाओवादीका एक पोलिटब्युरो सदस्यले बताए ।
‘स्वेच्छिक अवकाश रोजेकामध्ये मुस्किलले पांचदेखि दश प्र्रतिशत लडाकु मात्र पार्टीको सम्पर्कमा आएका छन् होला, बाकी सम्पर्कबाहिर छन्,’ ती सदस्यले भने, ‘पार्टीले तिनीहरूको विवरण संकलन गरी पार्टीको सम्पर्कमा ल्याउने कार्यलाई अघि बढाइएको छ ।’ पार्टीसंग वाईसीएलको पनि सम्पर्कविच्छेद रहेको र अहिले लडाकुहरू पनि पार्टीको सम्पर्कबाहिर भएपछि यसले पार्टीलाई असर गर्न सक्छ ।’
स्रोतका अनुसार स्वेच्छिक अवकाश रोजेका तथा अयोग्य भन्दै शिविरबाट बाहिर निकालिएका कतिपय लडाकु आपराधिक कार्यमा संलग्न रहेको पाइएको छ । प्रहरीको एक गोप्य रिपोर्टअनुसार स्वेच्छिक अवकाश रोजेका लडाकुमध्ये केहीले आपराधिक कार्यको नेतृत्व गरेको पाइएको छ । स्रोतका अनुसार यसबारे प्रहरीले माओवादी नेतृत्वलाई समेत जानकारी गराइसकेको छ । त्यसैगरी एमाओवादीले पार्टीको सम्पर्कमा नआएका लडाकुहरू मोहन वैद्यले नेतृत्व गरेको नेकपा–माओवादीमा गएको निष्कर्ष निकाल्दै ती लडाकुलाई पुरानो पार्टीमा फर्काउने अभियानमा लागेका छन् । एमाओवादी स्रोतका अनुसार पार्टीले पचास प्रतिशतभन्दा बढी लडाकु वैद्यले नेतृत्व गरेको पार्टीमा गएका हुनसक्ने निष्कर्ष निकालेको छ । त्यस्तै, केही लडाकु व्यवसायमा लागेको र केही निष्क्रिय रहेको निष्कर्षसमेत निकालेको छ । लडाकु स्रोतका अनुसार धेरै माओवादी लडाकु विभिन्न व्यवसाय तथा खेती–किसानीमा लागेका छन् ।
एमाओवादी पोलिटब्युरो सदस्य शक्तिबहादुर बस्नेतले पनि स्वेच्छिक अवकाश रोजेका धेरै लडाकु पार्टीको सम्पर्कभन्दा बाहिर रहेको बताए । उनले भने, ‘केही हाम्रो सम्पर्कमा छन्, केहीले सरकारबाट आर्थिक सहायता लिएर विभिन्न व्यवसायमा लागेका छन्, त्यसैले सम्पर्कमा रहन नसकिएको हो ।’ उनले लडाकु पनि पार्टीका विभिन्न जिम्मेवारीमा रहेकाले सोहीअनुसार काम गरिरहेको पनि बताए ।
पार्टीले स्वेच्छिक अवकाश लिएका लडाकुलाई विभिन्न थप जिम्मेवारी दिनेबारे सोचिरहेको जानकारी गराउंदै भने, ‘यसबारे पार्टीले सोचिरहेको छ, र कुनै नयां कार्यक्रम ल्याउने तयारी गरिरहेको छ । अवकाश रोजेका लडाकुमध्ये केही वैद्यले नेतृत्व गरेको पार्टीमा समेत लागेको बताए,’ उनले भने, ‘सबैलाई समेट्न सकिंदैन र भएकालाई समेट्नुपर्छ भन्ने हो ।’
नेकपा–माओवादीका नेता खड्गबहादुर विश्वकर्माले स्वेच्छिक अवकाश रोजेकामध्ये अधिकांश लडाकु आफ्नो पार्टीमा आएको र ती सबै लडाकु संगठन विस्तारमा रहेको बताए । ‘लडाकु कमान्डर पुरानो पार्टीमा छन्, त्यसभन्दा तलका सबै कमान्डर हाम्रो पार्टीमा छन्,’ विकले भने, ‘हामीले स्वेच्छिक अवकाश रोजेका लडाकुलाई मात्र होइन, वाईसीएल, आयोग्य भनिएका लडाकुलगायत सबैलाई समेटेका छौं ।’ विकका अनुसार पार्टीले लडाकुहरूको योग्यताअनुसारको जिम्मेवारी दिएर पार्टी निर्माणको अभियानमा लागेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको