डा. महतहरुलाई किनारा पारेर सिटौलाको चंगुलमा कसरी परयो कांग्रेस ?

२७ भाद्र २०६९, बुधबार ०७:३२ मा प्रकाशित

काठमाडौं, २७ भदौ । नेपालको प्रजातन्त्र र नेपाली कांग्रेसलाई संकटग्रस्त तुल्याउने मुख्य योजनाकार मानिएको नेपाली कांग्रेसका मनोनीत महामन्त्री रहेका झापाका कृष्ण सिटौलाको विचार र योजनाअनुरूप चल्ने तत्परता लिएर नेपाली कांग्रेसले सबैलाई चकित पारिदिएको छ । कांग्रेसको चालू बैठकमा सिटौलालाई राजनीतिक प्रतिवेदन तयार गर्ने जिम्मेवारी मिलेपछि यसरी सबै चकित पर्नुपर्ने अवस्था सिर्जना भएको हो । नेपाली कांग्रेसमा पार्टी सभापति सुशील कोइराला वैचारिक रूपले स्पष्ट र इमानदार नेताको कोटिमा पर्नुहुन्छ भने उपसभापति रामचन्द्र पौडेल एक विचारकका रूपमा पहिले नै स्थापित नेता हुनुहुन्छ । विगत केही वर्षयताको भूमिकाले कांग्रेसका नेता डा. रामशरण महतलाई पनि सुस्पष्ट विचारका कटिबद्ध नेताको रूपमा स्थापित गरेको छ । डा. महतको भूमिकालाई नेपाली कांग्रेसको कार्यकर्तापंक्तिले मात्र नभई देशका सबै प्रजातन्त्रपे्रमीहरूले समेत सराहना गर्ने गरेका छन् । उता झापाका सिटौलाको भूमिका भने विगत सात वर्षदेखि नै माओवादीपरस्त र प्रजातन्त्र प्रतिकूल रहंदै आएको छ । हिजो गिरिजाप्रसाद कोइराला राजनीतिको केन्द्रबिन्दुमा रहनुहुंदा उहांको अशक्तता र बुढ्यौलीको फाइदा उठाउंदै सिटौलाले कांग्रेसलाई माओवादीको थाङ्नामा सुताउने भूमिका निर्वाह गरेका थिए । कांग्रेसले दिएको जिम्मेवारीमा रहेर हरदम माओवादीको भविष्यप्रति चिन्तित रहने सिटौला गृहमन्त्री हुंदा हतियारसहित पक्राउ परेका माओवादीलाई छुटाउन प्रहरीमाथि अवाञ्छित दबाब दिने, माओवादीबाट कुटिएका कांग्रेस कार्यकर्तालाई न्याय नदिने, बरु अराजकता र आतंक मच्चाउन माओवादीलाई छुट दिने काम भएको थियो । त्यस्तै ०६३ साल असार २ गते मध्यरातमा गिरिजाप्रसाद कोइरालालाई आठबुंदे सम्झौता गर्न बाध्य तुल्याएर राजनीतिक रूपमा माओवादीलाई सहज वातावरण बनाइदिने काम गरेका सिटौलाले गत वैशाखमा डा. बाबुराम भट्टराईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन अन्तिम तयारी हुंदा पनि अनेक षड्यन्त्र गरेर त्यसलाई भांजो हाल्ने काम गरेका थिए । यदि वैशाखमा अविश्वास प्रस्ताव ल्याइएको भए बाबुराम सरकार विस्थापित भई प्रजातान्त्रिक र वाम गठबन्धनको नयां सरकार निर्माण हुने निश्चित थियो । एमाओवादी कुनै न कुनै तरिकाले जेठ १४ को अड्चन पार गर्न चाहन्थ्यो र जेठ १४ पछि संविधानसभा नरहे पनि आफ्नो सरकारले चाहिं निरन्तरता पाइरहने विश्वासमा थियो । त्यसनिम्ति बाबुराम–प्रचण्डले सिटौलालाई प्रयोग गरेका थिए र उनी माओवादीको सहजताका लागि उपयोग हुंदै थिए । यसरी सधैं माओवादीको हितैषी भूमिकामा रहेका सिटौलालाई राजनीतिक प्रतिवेदन तयार गर्न दिएर कांग्रेसले देश, प्रजातन्त्र र आफ्नै निम्तिसमेत थप संकट निम्त्याउने काम गरेको ठानिएको छ ।
राजनीतिक प्रतिवेदन नै तयार गर्नु थियो भने नेता रामचन्द्र पौडेल त्यसका लागि उपयुक्त पात्र हुनुहुन्थ्यो । पौडेलले नगर्नुभएको अवस्थामा सुस्पष्ट भूमिकामा रहनुभएका प्रभावशाली नेता डा. रामशरण महतलाई नै जिम्मेवारी दिइएको भए पनि त्यसलाई अति उपयुक्त मान्न सकिन्थ्यो । नेता महत जस्तोसुकै जटिल परिस्थितिमा पनि आफ्ना अडानमा कायम रहने र प्रजातान्त्रिक मूल्य–मान्यतासंग कहिल्यै सम्झौता नगर्ने व्यक्तिका रूपमा स्थापित भइसक्नुभएको छ । उहां आफ्नो निजी हितका लागि कुनै छलछाम र कपट नगर्ने नेताका रूपमा पनि चिनिनुहुन्छ । पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्ने क्रममा डा. महत अहिलेसम्म कहीं कतै चुक्नुभएको पनि छैन । त्यसैले डा. महतले राजनीतिक प्रतिवेदन तयार गर्ने अवसर पाउनुभएको भए त्यसबाट देश, प्रजातन्त्र र काङ्गे्रसले लाभ लिनसक्ने निश्चित थियो । झापाका सिटौलालाई प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिएर कांग्रेसले गम्भीर भूल गरेको छ । सिटौलाकै भावनाअनुसार तयार भएको प्रतिवेदनअनुरूप चल्ने हो भने कांग्रेसले बचेखुचेको साख पनि गुमाउने चिन्ता थपिएको छ । कांग्रेस यसरी सिटौलाको चंगुलबाट मुक्त हुन किन नसकिरहेको हो यो अध्ययनको विषय बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको