राष्ट्र बैंक एमालेको मुख्यालयमा परिणत

२७ भाद्र २०६९, बुधबार ०६:३९ मा प्रकाशित

काठमाडौं, २७ भदौ । नेपाल राष्ट्र बैंकको नेतृत्वमा युवराज खतिवडाको नियुक्तिपश्चात् केन्द्रीय बैंक इतिहासको सबैभन्दा बढी राजनीतिक चलखेलबाट गुज्रिरहेको छ । एमालेको नाममा निम्नस्तरदेखि उपल्लोस्तरसम्मका कर्मचारीलाई मनपरि गर्न गभर्नर खतिवडाले नै छुट दिएको अधिकांश कर्मचारी र बैंकरहरूले बताउन थालेका छन् । बैंक तथा वित्तीय संस्था नियमन विभाग, बैंक सुपरीवेक्षण विभाग र विकास बैंक सुपरीवेक्षण विभागमा एमाले कार्यकर्तालाई सरुवा गरेर विगत दुई वर्षदेखि बैंकिङ क्षेत्रमा उपद्रो मच्चाइएको एकथरी कर्मचारीले सप्रमाण बताइरहेका छन् । उता उक्त भनाइलाई स्वीकारेर चलनचल्तीका बैंकरहरूले समेत आफूहरू जोगिनका लागि राष्ट्र बैंकका एमाले कार्यकर्ताको अनावश्यक आग्रहलाई बाध्य भएर ग्रहण गर्ने गरेको बताएका छन् ।
स्रोतका अनुसार राष्ट्र बैंक एमाले कमिटीको प्रपञ्चमा गभर्नरले पछिल्लो दुई वर्षदेखि बैंक सुपरीवेक्षण विभागमा स्नातक पास गरेका निर्देशकलाई पार्टीको मुन्सीको रूपमा राखेका हुन् । पार्टीका लागि आर्थिक र अन्य सहयोग जुटाउने कार्यमा खटाइएका निर्देशक अर्जुनबहादुर अधिकारी यतिखेर एमालेइतरका बैंक तथा वित्तीय संस्था र तिनका बैंकरमाथि प्रहार गर्ने कार्यनीतिमा व्यस्त देखिन्छन् । आफूलाई गभर्नर खतिवडाको वारेस भन्दै अधिकारीले राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा आफूअनुकूलका निर्णय गराउन बाध्य पारेको प्रमाण जुटाउंदा पनि बैंक नेतृत्व कानमा तेल हालेर बसेको अवस्थाले बैंकभित्र एमालेकरणलाई प्रश्रय दिइएको पुष्टि भएको छ ।
प्राइम बैंक लिमिटेडका अनुसार अधिकारीले आफ्नी छोरी सम्पदा अधिकारीलाई हालै उक्त बैंकमा म्यानेजमेन्ट ट्रेनीमा जागिर खुवाएका छन् । जनताका छोराछोरीलाई जागिर खुवाउन पारदर्शी प्रणाली अपनाउन उपदेश दिने गभर्नरले अधिकारीले अख्तियारको दुरुपयोग गरेर छोरीलाई आफूमातहतका बैंकमा दबाब दिएर जागिर खुवाउनुको के अर्थ लाग्छ ? त्यसैगरी नियमविपरीत अधिकारीले यसअघि डेपुटी गभर्नरले प्रयोग गर्दै आएको गाडी हांक्ने गरेका छन् । बैंकको नियमअनुसार निर्देशक तहका कर्मचारीहरू तीनजनाले संयुक्त रूपमा एउटा गाडी प्रयोग गर्नुपर्छ । तर, अधिकारीले आफ्नो घर बालुवाटारबाट टाढा परेको जिकिर गर्दै हैसियतभन्दा बढी मूल्यको गाडी र तोकिएको परिमाणभन्दा बढी तेल प्रयोग गर्दा पनि व्यवस्थापनले आंखा चिम्लिदिएको छ ।
त्यस्तै डेपुटी गभर्नर महाप्रसादका भक्त तथा एमाले कार्यकर्ता उपनिर्देशक श्यामकृष्ण दाहालले पनि सोही विभागमा बसेर श्रीमतीलाई प्राइम बैंकमा जागिर खुवाएका छन् । बैंक सुपरीवेक्षण विभागमा बसेर वाणिज्य बैंकमा नातेदारलाई जागिर खुवाउनुले केन्द्रीय बैंकका उच्च कर्मचारीको करनी र कथनीमा रहेको फरकलाई पुष्टि गर्छ । दाहालले पनि अनावश्यक दबाब दिएर हालै मात्र प्राइम बैंकको गठ्ठाघर शाखामा श्रीमतीलाई असिस्टेन्ट ट्रेनीमा जागिर खुवाएको यथार्थ बाहिर आइसकेको छ । घरनजिकैको शाखामा श्रीमती कल्पना दाहाल (कोइराला) लाई कुनै हालतमा जागिर दिनुपर्ने अन्यथा बैंकलाई विभिन्न कोणबाट असहयोग गर्ने चेतावनी दिएपछि दाहालकी श्रीमतीलाई जागिर खुवाउनुपरेको व्यथा हालै मात्र प्राइम बैंकको प्रकट गरेको बताएको थियो । लामो समयसम्म बैंक सुपरीवेक्षण विभागमा रहेका दाहाल श्रीमतीलाई जागिर खुवाएपछि हालै बैंकको कानुन महाशाखामा सरुवा भएका छन् । केन्द्रीय बैंकको आचारसंहिता, नियम, विनियम र ऐनविपरीत छाडा ढङ्गले आफूखुसी मनपरी गर्ने एमालेनिकट कर्मचारीमाथि कारबाही नगरेसम्म केन्द्रीय बैंकमा एमालेकरण स्वयम् गभर्नर खतिवडाको आडमा मौलाएको पुष्टि हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द

काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडले साधारण शेयर बिक्रीका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आज जारी

तनहुँको बन्दीपुर गाउँपालिकाको संस्थागत स्वमूल्याङ्कन नतिजा सार्वजनिक भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुको संस्थागत क्षमता