राष्ट्रपति र प्रधानमन्त्रीबीच किन बढ्यो तनाव ? (विश्लेषण)

२४ भाद्र २०६९, आईतवार २२:४७ मा प्रकाशित

काठमाडौं, २४ भदौ । लम्बिंदो राजनीतिक संक्रमणका दुई राजनीतिक शक्तिकेन्द्र राष्ट्रपति र प्रधानमन्त्री कार्यालयबीच फेरि तनाव बढेको संकेत दिनेगरी प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपति रामवरण यादवप्रतिको असन्तुष्टि सार्वजनिक गरेका छन् । सरकारले पठाएका अध्यादेश राष्ट्रपति कार्यालयले जारी नगरेको सन्दर्र्भमा उनले आफ्नो असन्तुष्टि पोखेका हुन् । तर, राष्ट्रपतिका एकजना सल्लाहकारले सरकारले पठाएका चारवटा अध्यादेशबारे अध्ययन भइरहेको जनाएका छन् ।
प्रधानमन्त्री भट्टराईले राष्ट्रपतिप्रतिको आफ्नो असन्तुष्टि निकै सतर्कतापूर्वक व्यक्त गरेका छन् । राष्ट्रपति र उनको कार्यालयको नामै नलिए पनि भट्टराईको निशानाचाहिं प्रष्टै थियो । काठमाडौंको एउटा कक्याम्पसको कार्यक्रममा प्रधानमन्त्री भट्टराईले भने– ‘तपाईंहरुले धेरै आशा, अपेक्षा र विश्वास मबाट राख्नुभएको हो, तर यस्तो बेलामा सरकारको नेतृत्व गर्नुपरेको छ जतिबेला सबैतिरबाट मेरा हातखुट्टा बांधिएका छन् । ती कामहरु गर्नका निम्ति अध्यादेशको सहारा लिनुपर्छ, अध्यादेश जारी गर्ने ठाउंमा तपाईंहरुलाई थाहै छ कि विभिन्न प्रकारका अवरोधहरु छन्, मैले चाहंदैमा ती अध्यादेशहरु जारी हुन सकेका छैनन् ।’
सरकारले चारवटा अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएको करिब दुई हप्ता भयो । राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालका अनुसार ती अध्यादेशहरुको अध्ययन भइरहेको छ । ‘कतिपय संरचनाका आमूल परिवर्तन गर्ने खालका अध्यादेशहरु जारी गर्नुअघि धेरै कोणबाट त्यसलाई हेर्नुपर्ने हुन्छ, यसैका लागि समय लागेको हो’, सल्लाहकार दाहालको भनाई छ । प्रधानमन्त्री भट्टराईले बजेट ल्याउन नपाउनुका साथसाथै लामालामा प्रक्रिया पूरा गर्नुपर्ने प्रावधानलाई पनि आफूलाई काम गर्न नदिने वाधकका रुपमा प्रस्तुत गर्दै यसबाट आफूलाई निकै पीडा भएको गुनासो गरे ।
पछिल्ला केही दिनयता राष्ट्रपति आफ्नो बाटोमा वाधक बनेको प्रधानमन्त्री र उनको पार्टी एकीकृत माओवादीको बुझाई छ । यसबीच राष्ट्रपति र सरकारबीचको अदृश्य तनाव पटक–पटक प्रकट हुने गरेका छन् ।
राज्य सञ्चालनमा केही मर्यादाहरु निर्धारित गरिएका हुन्छन् । यो मर्म नबुझेर प्रधानमन्त्री आफू र आफ्नो पार्टीले जे सिफारिस गरे पनि राष्ट्रपतिले गर्नैपर्ने मानसिकता प्रदर्शन गरिरहेका छन् । राष्ट्रपति सेरमोनियल हुन्, सरकारले जे अह्राए पनि गर्नैपर्छ भन्ने सोच सर्वसत्तावादको द्योतक हो । राज्यका दुई उच्च निकायबीच चलेको यस्तो शीतयुद्धले भने मुलुकमा अनिष्टकै संकेत गरिरहेको अस्वीकार गर्न सकिन्न ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ । माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय