लागूऔषध किन्न टेलिकमको तार चोर्ने पक्राउ

१४ बैशाख २०७८, मंगलवार ०८:२१ मा प्रकाशित

विर्तामोड । मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–७ को नयाँ बसपार्क क्षेत्रमा नेपाल टेलिकमको केबुल तार चोरी भएपछि विगत एक सातादेखि पूर्वीनाका काँकडभिट्टाका १५० टेलिफोन अवरुद्ध भएका छन् भने इन्टरनेट सेवा बन्द छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालका अनुसार नेपाल टेलिकमको केवल तार चोरी गर्ने गिरोहका दुई जना भारतको पानीट्याङ्कीबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मेचीनगर–६ का १६ वर्षीय एक किशोर र भारत पानीट्याङ्कीका २१ वर्षीय सञ्जु वर्मन रहेका छन् । आइतबार राति पानीट्याङ्कीबाट पक्राउ गरेर दुवैलाई हाल इप्रका काँकडभिट्टाको हिरासतमा राखिएको छ ।

तार चोरीमा लामो समयदेखि गिरोह सक्रिय रहेको हुँदा अरु व्यक्तिहरुको खोजी कार्य तीव्र पारिएको दाहालले बताउनुभयो । शनिबार राति काँकरभिट्टामा फेरि ७५ मिटर तार चोरी भएपछि प्रहरीलाई अभियुक्तको खोजतलासका लागि अनुरोध गरिएको नेपाल टेलिकम कार्यालय काँकरभिट्टाका प्रमुख श्यामकुमार अधिकारीले बताउनुभयो । गत माघयता मेचीनगरमा ३०० मिटरभन्दा बढी केबुल तार चोरी भइसकेको छ । इँटाभट्टा र धुलाबारी क्षेत्रमा समेत विगतदेखि केबुल तार चोरीका घटना भइरहेका छन् ।

तार चोरी भएसँगै त्यसक्षेत्रका १५० वटा ल्यान्डलाइन र इन्टरनेट सेवा अवरुद्व हुँदा उपभोक्ताहरु आक्रोशित भएका छन् । “न टेलिफोन चल्छ, न इन्टरनेट नै”, मेचीनगर–६ का पूर्णबहादुर राईले भन्नुभयो, “आफन्तसँग फोन र भिडियो कलमा कुरा गर्न पाएका छैनौँ, केटाकेटीहरुले अनलाइनमा पढ्न पनि पाएका छैनन् ।” तार चोरी गर्ने गिरोहलाई तत्काल पक्राउ गरी कारवाही गर्न र टेलिकमले सेवा चाँडो चालु गर्न राईले माग गर्नुभयो । इमेलमा आएका महत्वपूर्ण डकुमेन्ट हेर्न र पठाउन नपाइएको सामुदायिक विकास मञ्चका अध्यक्ष सोमराज ढकालले बताउनुभयो ।

हाल पक्राउ परेका दुवैजना लागूऔषध सेवनकर्ता रहेको प्रहरीको भनाइ छ । गिरोहले रातमा तार चोरी गरेर भारतको पानीट्याङ्की बजारमा लगी बिक्री गर्दै आएको पाइएको छ । त्यस्तो तार प्रतिकेजी रु एक हजारका दरले बिक्री हुने गरेको छ । कुलतमा फँसेका युवाहरु तार चोरीमा संलग्न हुने गरेको र त्यही धन्दाबाट आर्जित रकमले लागूऔषध खरिद गरेको पाइएको हुँदा अभिभावकसमेत छोराछोरीको आचरण निगरानीमा लाग्नु पर्ने देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन भदौ १६ बाट गर्ने भएको छ । यो निर्धारित मितिभन्दा ९ दिन ढिलो

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। पाँच पूर्वप्रधानमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई पार्टीको बैठकबाट मात्र होइन, महान्यायाधिवक्तामार्फत धम्क्याएको बताएका छन् । उनीहरूले शनिवार

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५)