समायोजनमा महिला लडाकुलाई उपेक्षा, ‘पहिले बन्दुक बोक्यौँ, अहिले बच्चा’

२२ भाद्र २०६९, शुक्रबार ०७:२७ मा प्रकाशित

दुर्गालाल केसी, २२ भदौ । दाङ शान्तिनगरकी बिन्दु केसी पांच वर्षअघि रोल्पाको दहवनस्थित शिविर पस्दा बन्दुक बोकेर पसेकी थिइन् । घर फर्कंदा उनी बच्चा बोकेर फर्किन् । ‘पांचवर्षे शिविर बसाइको उपलब्धि नै यही अढाई वर्षको छोरा हो,’ सेक्सन उपकमान्डर केसीले भनिन्, ‘समायोजनमा पर्ने अवस्था नदेखेपछि स्वेच्छिक अवकाश रोजेर घर फर्किएं ।’ देशका लागि लड्ने भन्दै सानैमा घर छोडेकी केसीलाई आजभोलि गाउंघरमा युद्ध र शिविरका उपलब्धिबारे बारम्बार सोधिन्छ । ‘देखाउने उपलब्धि यही छोराबाहेक अरू केही छैन,’ उनले भनिन्, ‘पढ्ने बेला बन्दुक बोकियो, पढाइ छुट्यो, भविष्य बिग्रियो । उपलब्धि यो भयो भन्ने केही छैन । नेताहरूलाई सत्तामा पठाइयो । आफूलाई त केही न केही ।’ शिविर बसाइका क्रममा चार वर्षअघि कम्पनी उपकमान्डर रुकुम अर्माका गम्भीर ओलीसंग केसीको विवाह भएको थियो । सेनामा जान नपाए पनि उनलाई त्यति पश्चात्ताप र दुःख छैन । ‘युद्धमा बाँचियो । कति साथीहरू आंखाअगाडि ढलेका थिए । कमसेकम हामी जिउंदै घर फर्कन त पाएका छौँ,’ उनले भनिन् । त्यतिबेला हामीले नलडिदिएका भए र नेताहरू नबांचेका भए कसरी प्रधानमन्त्री र मन्त्री हुन पाउंथे र ?’ श्रीमान् जागिरे भइसकेपछि घर सम्हालेर बस्ने उनको योजना छ । कम्पनी उपकमान्डर दाङकी समीक्षा थापालाई पनि तीन वर्षको छोरो नै युद्ध र शिविरको उपलब्धिजस्तो लागेको छ । यस्तै सेक्सन उपकमान्डर चितवनकी विनिता श्रेष्ठ पनि अहिले एक वर्षको बच्चा हुर्काउनमै व्यस्त छिन् । बच्चाकै कारण उनले दुई वर्षदेखि सेनाको नियमित कवाज र अभ्यास गर्न छोडिसकेकी थिइन् । त्यही कारणले उनले सेना समायोजनमा जाने योजना बनाउन पाइनन् । दहवन शिविरमा बस्न थालेपछि केसी, थापा र श्रेष्ठजस्ता धेरै महिला लडाकुले विवाह गरे । कतिले लडाकु साथीसँग त कतिले शिविरबाहिरका स्थानीयसंग । विवाह गरेका महिला लडाकुमध्ये धेरैका बच्चा जन्मिसकेका छन् । बच्चा भएकै कारण अधिकांश महिला लडाकु स्वेच्छिक अवकाश रोज्न बाध्य भए । अवकाश रोजेकी घोराही– ८ मंगलेरीकी शारदा आचार्य विवाहको एक वर्षपछि श्रीमान्लाई शिविरमा छोडेर घरतिर लागिन् । पांचौँ डिभिजनअन्तर्गत दीर्घ स्मृति बिग्रेड सङ्क्राममा प्लाटुन सहकमान्डर आचार्य श्रीमान् बलप्रसाद नगरकोटीले समायोजन रोजेपछि एक्लै घर फर्केकी हुन् । हुम्ला र रोल्पाका लडाइँमा दायाँहात र खुट्टामा गोली लागेपछि उनी घाइते जीवन बिताइरहेकी छिन् । ‘घाइते अवस्थामा समायोजनमा पर्ने सम्भावना नदेखेपछि मैले अवकाश रोजेँ । घाइते हातखुट्टाले कसरी घर धान्ने भन्ने चिन्ता छ । घाइते नभएको भए म पनि श्रीमान्संगै समायोजनमा जान्थेँ,’ उनले भनिन् । रुकुम स्यालापाखाकी चेतना बाठा पनि घाइते छिन् । रुकुम खाराका आभास बाठासंग विवाह गरेकी चेतना श्रीमान् पनि घाइते भएकाले बांकी जीवनप्रति निकै चिन्तित छिन् । आभासले युद्धमा बायाँखुट्टा गुमाएका छन् भने चेतनाको बायाँखुट्टामा रड हालिएको छ । अपाङ्ग भएकाले दुवैजनाले अवकाश रोजे । उनीहरू अहिले घोराहीमा भाडाको कोठामा बसिरहेका छन् । ‘अपाङ्ग अवस्थामा रुकुमका डांडाकांडामा काम गरिखान गाह्रो हुने भएपछि दाङमै बसेका छौँ,’ चेतनाले भनिन्, ‘शिविरबाट निस्किँदा ल्याएको १० लाखले एउटा सानो घडेरी किनेका छौँ, तर घर बनाउने पैसा नभएकाले भाडामा बसिरहेका छौँ । आयस्रोत केही नभएकाले कसरी जीविका चलाउने भन्ने चिन्ता छ । किनेर खांदा भएको पैसा सबै सकिन थाल्यो ।’ अर्की घाइते लडाकु सल्यान दमाचौरकी सीता केसी पनि दृष्टिविहीन श्रीमान् लालबहादुर ओलीका साथ घर फर्केकी छिन् । दुवैजना घर फर्कंदा पनि उनको मुहारमा कुनै उमङ्ग छैन । ‘युद्धमा श्रीमान्का दुवै आंखा गुमेका छन् । मेरो शरीरका विभिन्न भागमा गोलीका छर्रा छन् । गरिखान नसकिने अवस्थामा घर फर्किएका छाँै । एउटा छोरा छ, बाँकी जीवन कसरी चलाउने भन्ने समस्या छ ।’ सल्यानमा गएर जीविका चलाउन कठिन हुने देखेपछि सीतादम्पती दाङको डुरुवामै थोरै जग्गा किनेर बसेका छन् । ‘दृष्टिविहीन श्रीमान् र बच्चाको सबै जिम्मेवारी मेरै कांधमा छ । म अशक्त अवस्थामा कसरी यत्रो भार थेगौँ ? पार्टीले न गरिखाने न मरिजाने अवस्थामा पु¥याइदियो,’ उनले भनिन् । युद्धका बेला भएका घाइते हुन् या अन्य १० वर्षसम्म युद्ध लडेर पनि अन्त्यमा फेरि उही बालबच्चा हुर्काउने र घर सम्हाल्ने गृहिणीकै रूपमा घर फर्कनुपरेकोमा उनीहरू दुःखी छन् । ‘के सोचिएको थियो के भयो । घरगृहस्थी नै गर्नु थियो भने त्यति जोखिम किन उठाउनुपथ्र्यो होला र ? अहिले सम्झिँदा दुःख लाग्छ,’ उनीहरूको भनाइ छ । शिविर बसेलगत्तै ०६३ फागुन ६ गते दाङको सङ्क्रामस्थित शिविरमा एकैसाथ २७ लडाकु जोडीले विवाह गरेका थिए । लडाइँको व्यस्त जीवनबाट एक्कासि शिविरमा बस्दा सबैजसो अविवाहित लडाकुको चाहना विवाह भएको थियो । विवाह भएका सबैजसोले बच्चा जन्माइसकेका छन् । त्यही बच्चाका कारण महिला लडाकु समायोजनमा जान सकेनन् । घाइते तथा अपाङ्ग श्रीमान् भएकाहरू श्रीमान्को स्याहार गर्न र घरगृहस्थीको जिम्मेवारी सम्हाल्नकै लागि भए पनि अवकाश रोज्न बाध्य छन् । आफंै घाइते अपाङ्ग भएकाहरू पनि घर फर्केका छन् । ‘श्रीमती अपाङ्ग भएका पुरुष लडाकुले भने श्रीमतीको स्याहार गर्न भनेर अवकाश रोजेका छैनन् । हामी महिलाले मात्रै युद्धअघिकै समाजमा फर्कनुपरेको छ,’ सीताले भनिन् । पांच वर्षअघि दहवन शिविरमा विवाह गरेका रुकुम सांखका शशांक पाण्डे र रोल्पा घर्तीगाउंकी शान्ति बुढा पनि चेक बुझेपछि बिछोडिए । यसको कारण हो अढाई वर्षकी छोरी । ‘शान्ति छोरी लिएर घर गइन् । म सेनामा जा“दै छु । विवाहपछि पहिलोपटक छुट्टिँदै छौँ,’ कम्पनी सहकमान्डर पाण्डेले भने, शान्तिप्रक्रिया सफल होस् भनेर बाध्यताका यी विकल्प रोजेका छाँै । यो बाध्यताको छनोट हो ।’ शान्तिले भनिन् ‘यसरी बिदा हुन त पटक्कै मन थिएन । देश र जनताका लागि भनेर पढाइ छोडेर युद्धमा लागियो । अहिले त्यो योगदानलाई पैसामा साट्न खोजियो ।’ महिला भएकै कारण अवकाश रोज्नुपरेकोमा उनलाई दुःख छ । महिला लडाकु यसरी निराशा, पीडा, अशक्त शरीर, बालबच्चा र घरगृहस्थीको बोझ बोकेर घर फर्केका छन् । उनीहरूलाई अधिकतम सेनामा समायोजन गर्न कतैबाट पनि गम्भीरता देखाइएन । सेना समायोजन विशेष, प्राविधिक तथा सचिवालयजस्ता समितिहरूमा पनि महिला सहभागिता भएन । माओवादी लडाकु शिविरका माथिल्लो तहको कमान्डरमा पनि महिलाले स्थान पाएनन् । लडाकु समायोजनमा महिलाका लागि कुनै छुट्टै व्यवस्था गरिएन । सुरुदेखि नै महिला लडाकुको सङ्ख्या घटाउंदै लगियो । सुरुमा अनमिनले ३२ हजार दुई सय ५० लडाकु दर्ता गरेको थियो । कतिपय सन्दर्भमा माओवादी नेतृत्वबाट युद्धका क्रममा महिला लडाकुको सङ्ख्या ४० प्रतिशत रहेको दाबी गरिएको थियो, तर अन्तमा त्यो सही सावित भएन । ०६० सालको अन्त्यसम्म महिला लडाकुको सङ्ख्या ३५ प्रतिशतको हाराहारीमा रहे पनि कतिपयलाई पार्टी राजनीति त कतिपयलाई भ्रातृ सङ्गठन योङ कम्युनिस्ट लिग (वाईसीएल) मा लगियो । प्रमाणीकरणमा आइपुग्दा महिला लडाकुको सङ्ख्या करिब पाँच हजार मात्र थियो । प्रतिशतका हिसाबले यो सङ्ख्या १५.५० प्रतिशत मात्र हो । प्रमाणीकरणका क्रममा १९ हजार ६ सय दुईजनालाई वास्तविक लडाकु घोÈणा गरियो । तीमध्ये तीन हजार आठ सय ४६ महिला थिए । प्रमाणीकरणमा १९.६२ प्रतिशत महिला मात्र ‘योग्य’ ठहरिए । विशेष समितिमातहतको सचिवालयको तथ्याङ्कअनुसार तीमध्ये दुई सय ८५ अनुपस्थित देखिए । उपस्थित तीन हजार पाँच सय ६१ मध्ये पनि तीन हजार पाँच सय ४२ जनाको मात्र वर्गीकरण गरियो । वर्गीकरण गरिएकामध्ये एक हजार २९ महिलाले मात्र समायोजन रोजेका थिए भने बांकी दुई हजार पाँच सय १२ जनाले स्वेच्छिक अवकाश रोजेका थिए । समायोजन रोजेकामध्ये पनि अधिकांशले अझै समायोजनको निश्चितता नदेखेपछि अवकाशको मनस्थिति बनाएका छन् । राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत सहभागिताको कुरा भइरहंदा लडाकु समायोजनमा भने यसको खिल्ली नै उडाइएको महिला लडाकुको गुनासो छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका