साहित्य सङ्गमद्वारा विभिन्न सम्मान तथा पुरस्कार घोषणा

९ चैत्र २०७७, सोमबार ०८:४२ मा प्रकाशित

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको घोषणा गरेको छ । साहित्य सङ्गमका अनुसार १० सम्मान तथा १० पुरस्कार प्रदान गर्ने व्यक्तिको नाम सार्वजनिक गरिएको हो ।

मकवानपुरको अग्रणी साहित्य संस्था सङ्गमले रु २० हजार राशिको गोपालप्रसाद रिमाल स्मृति सम्मान काठमाडौँ निवासी कवि तथा नाटककार गोपाल पराजुलीलाई प्रदान गर्ने जनाएको छ । यो सम्मान साहित्यकार गोपालप्रसाद रिमालको स्मृतिमा उहाँको परिवारले स्थापना गरेको सङ्गमका अध्यक्ष निमेष निखिलले जानकारी दिनुभयो । यसअघि यो सम्मानबाट साहित्यकार एवं नाटककार सरुभक्त, अशेष मल्ल, तुल्सी थापा सम्मानित भइसक्नुभएको छ ।

यस्तै पारिजात स्मृति सम्मानबाट डा अरुण उप्रेतीलाई सम्मान गर्ने संस्थाले जनाएको छ । आर्दश टोल विकास संस्था हेटौँडा–१० ले स्थापना गरेको सम्मानको राशि रु १५ हजार ५५५ रहेको छ । साहित्यकार पारिजात निकट रही साहित्यमा सेवा पुर्याएबापत उहाँलाई यो सम्मान प्रदान गर्न लागिएको जनाइएको छ ।

यसैगरी मकवानपुर साहित्य श्री सम्मान अप्सरा तिम्सिना लम्साललाई प्रदान गरिने भएको छ । सङ्गमले उहाँलाई मरणोपरान्त मकवानपुर साहित्य श्रीबाट सम्मानित गर्न लागेको हो । सम्मानपत्रसहित रु १५ हजार ५५५ प्रदान गर्न लागिएको हो । उहाँले साहित्य सङ्गमको उपाध्यक्ष र आँचल साहित्य कला पुञ्ज मकवानपुरको संस्थापक उपाध्यक्ष र अध्यक्ष पदमा रहेर नेतृत्व गर्नुभएको थियो । यो सम्मान साहित्य सङ्गमले स्थापना गरेको हो ।

व्यङ्ग्यकार भैरव अर्यालको परिवारले स्थापना गरेको रु २१ हजार १११ राशिको भैरव स्मृति सम्मान वीरगञ्जका साहित्यकार एवं व्यङ्ग्यकार गणेश लाठलाई प्रदान गरिने भएको छ । यो सम्मानबाट धुर्मुस सुन्तली फाउन्डेसन, राजकुमार लामिछाने, चट्याङ मास्टर, मनोज गजुरेललगायतका स्रष्टा सम्मानित भइसक्नुभएको छ ।

यस्तै सुभद्रादेवी मदन मुडवरी स्मृति सम्मान साहित्यकार राम बर्तोलालाई प्रदान गर्ने जनाइएको छ । मकवानपुरको पालुङ निवासी बर्तौलालाई नगद रु १० हजार राशिसहित सम्मानपत्र प्रदान गरिने जनाइएको छ । हाल अमेरिका निवासी मकवानपुरे साहित्यकार दीपक मुडवरीले मातापिताको स्मृतिमा यो सम्मान स्थापना गर्नुभएको हो ।

श्यामप्रसाद शर्मा स्मृति साहित्य सम्मान मकवानपुरे व्यङ्ग्यकार आरसी रिजाललाई प्रदान गरिने भएको छ । मकवानपुरे साहित्यको संस्थागत विकासमा समेत टेवा पुर्याउँदै आएका रिजाललाई नगद रु १५ हजारसहित सम्मानपत्रले सम्मानित गर्ने सङ्गमका सचिव डिबी बर्तौलाले जानकारी दिनुभयो । यो सम्मान हेटौँडा उपमहानगरपालिका–४ को कार्यालयले स्थापना गरेको हो ।

त्यसैगरी मङ्गलादेवी श्रेष्ठ स्मृति नारी सम्मान महाकाव्यकार मुना अर्याललाई प्रदान गरिने भएको छ । शिक्षा तथा सािहत्यसेवी देव श्रेष्ठले आफ्नी माताको नाममा स्थापना गरेको उक्त सम्मानको राशि रु सात हजार ७७७ रहेको छ । यो पुरस्कार यसै वर्षदेखि प्रदान गर्न लागिएको सङ्गमले जनाएको छ ।

भेषनाथ अधिकारी स्मृति सम्मान साहित्यकार भुवनहरि सिग्देललाई प्रदान गरिने भएको छ । सङ्गमका कार्यसमिति सदस्य विशाल अधिकारी (आशुतोष) ले पिताको स्मृतिमा स्थापना गरेको यो सम्मान काठमाडौँ निवासी सिग्देललाई नगद रु १५ हजार राशिसहित प्रदान गर्न लागिएको हो । यो सम्मानको राशि अघिल्ला वर्षमा रु १० हजार रहेको थियो यस वर्षदेखि यसको राशि रु १५ हजार पुर्याइएको छ ।

यस्तै शेषजङ्ग स्मृति कथा पुरस्कार चन्द्रोदय माविमा अध्ययनरत छात्र उज्ज्वल बराललाई प्रदान गर्ने जनाइएको छ । हेटौँडा–८ मा रहेको चन्द्रोदय माविमा कक्षा १० मा अध्ययनरत बराललाई रु दुई हजार ५०० राशिसहित यो पुरस्कार प्रदान गर्न लागिएको हो । शिक्षासेवी डण्डीजङ्ग शाहले आफ्ना छोराको स्मृतिमा यो पुरस्कार स्थापना गर्नुभएको हो । जिल्लाका माध्यमिक तहमा अध्ययनरत् विद्यार्थीबीच कथा लेखन प्रतियोगितामार्फत उत्कृष्ट एकजनालाई यो पुरस्कार प्रदान गर्ने गरिएको छ ।

यसैगरी कुमारी साहित्य पुरस्कार प्रशन्ना चौलागाईंलाई प्रदान गरिने भएको छ । व्यङ्ग्यकार आरसी रिजालले आफ्नी माताको स्मृतिमा स्थापना गरेको यो पुरस्कारको राशि रु पाँच हजार रहेको छ । यो पुरस्कार जिल्लाका माध्यमिक विद्यालयमा अध्ययनरत छात्राबीच साहित्यका विभिन्न विद्यामा प्रतिष्पर्धा गराई उत्कृष्ट एकलाई प्रदान गरिँदै आएको छ ।

सम्मान तथा पुरस्कार २०७८ वैशाख ११ गते सङ्गमको नियमित सन्ध्यामा आयोजना गरिने विशेष साहित्यिक कार्यक्रममा प्रदान गरिने उपाध्यक्ष अनिता न्यौपानेले जानकारी दिनुभयो । सम्मान तथा पुरस्कार सम्बन्धित स्रष्टाको स्मृतिमा प्रदान गरिँदै आएकोमा कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष एकपटक प्रदान गर्न लागिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल