विकट गाउँमा फोर जी सेवा

५ फाल्गुन २०७७, बुधबार १६:०८ मा प्रकाशित

हिमाली जिल्ला सोलुखुम्बुमा फोर जी सेवा पुनः सञ्चालनमा आएको छ । जिल्लामा निर्माण हुने ३८ वटा फोर लेग टावरमध्ये छ वटा पुनःसञ्चालन भएको नेपाल टेलिकमको कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

कार्यालयका प्रमुख दिनेशचन्द्र पन्थीका अनुसार सोलुदूधकुण्ड नगरपालिकाको पत्ताले, सोताङ गाउँपालिकाको सोताङ र थुलुङ दूधकोशी गाउँपालिकाको काङ्गेलमा बिहीबार बेलुकीबाट सो सेवा सञ्चालन भएको हो ।

यस्तै सोलुदूधकुण्ड नगरपालिकाको सल्लेरी, फाप्लु र खुम्बु पासाङल्हामुको स्याङबोचेमा यसअघि नै यस किसिमको सेवा सञ्चालन भइसकेको टेलिकमले जनाएको छ । क्याम्जे, डाँडाखर्क र गुदेलमा पनि केही दिनभित्रमा सेवा सञ्चालन गर्ने गरी काम भइरहेको कार्यालय प्रमुख पन्थीको भनाइ छ ।

उता छिमेकी जिल्ला खोटाङमा २८ वटा फोर लेग टावरमध्ये चार वटा सञ्चालनमा आएको छ । जिल्लाको दिक्तेल, रुपाकोट र मझुवागढी नगरपालिकाअन्तर्गत देवीस्थान, दिक्तेल बजार र खोटेहाङ गाउँपालिकाको सिमपानी र जन्तेढुङ्गा गाउँपालिकाको चिसापानीमा सेवा सञ्चालन भएको छ ।

यस्तै केपिलासगढीको बाक्सिला, हलेसी तुवाचुङको च्यास्मिटार, दिक्तेल रुपाकोटको बाम्राङ, बुइपा, दोर्पाआले, दिप्रुङको बतासे, डाँडागाउँ, साकेला गाउँपालिकाको बाँझेच्यान डाँडा र मात्तिम विर्तामा २० दिनभित्रमा सेवा पुनः सञ्चालन हुने गरी काम भइरहेको बताइएको छ ।

यता ओखलढुङ्गा जिल्लामा पनि फोर जी सेवा सञ्चालन भएको छ । कूल २५ वटा फोर लेग टावरमध्ये छ वटाबाट फोर जी सेवा सञ्चालन भएको टेलिकम शाखा कार्यालयले जनाएको छ । सिद्धीचरण नगरपालिकाको वीरेन्द्र पार्क, तलुवा, ओखलढुङ्गा बजार, कमेरेडाँडा, रुम्जाटार र मोलुङ गाउँपालिकाको रामपुरमा सेवा शुरु भएको हो । साथै अन्य टावरमा एन्टिना राख्ने कामसँगै लिङ्क मिलाउने काम भइरहेको पन्थीको भनाइ छ ।

हङ्कङस्थित चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसन (सिसिएसआई) ले रेडियो एक्सेस नेटवर्क (-यान) एवं जेडटिइले सामग्री जडानको काम गरिरहेको छ । अहिले नेपालमा टेलिकमका सक्रिय फोर जी प्रयोगकर्ता ३० लाख नाघेको टेलिकमले जनाएको छ ।

पहिला नेट चलाउनकै लागि आधा घण्टा हिँडेर इन्टरनेट भएको स्थानमा पुग्नुपर्ने बाध्यता हटेको भन्दै सेवाग्राही हर्षित भएका छन् । गाउँगाउँमा फोर जी सेवा पुनः सञ्चालन भएसँगै अग्लो डाँडा चढ्नुपर्ने, टाढाटाढा हिँडेर जानुपर्ने बाध्यता हटेको थुलुङ दूधकोशी गाउँपालिका–४ जुबुका सुजन खत्रीले बताउनुभयो ।

घरबाहिर भएकाले बुबाआमासँग भिडियो कुराकानी गर्न पाएको भन्दै सामाजिक सञ्जालबाट खुशी व्यक्त गरेका छन् । जिल्लाको विकट गाउँ माप्यदूधकोशीमा रहनुभएका आमासँग ललितपुरबाट भिडियो कुरा गर्नुभएको भन्दै चन्द्र घिमिरेले सामाजिक सञ्जाल फेसबुकमार्फत पहलकर्ता सबैलाई धन्यवाद दिनुभयो । विगतका दिनमा मोबाइलमा नेटवर्क खोज्न हिँड्नपर्ने माप्यदूधकोशीमा फोर जी सेवा शुरु भएपछि स्थानीयवासी दङ्ग परेका छन् ।

यस्तै खोटाङ जस्तो विकट जिल्लामा फोर जी सेवा सञ्चालन भएसँगै घरैमा बसेर सामाजिक सञ्जालको माध्यमबाट विश्वका विभिन्न क्षेत्रलाई नजिकैबाट नियाल्न सकिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका कविराज रिजालको भनाइ छ । केही महिना अगाडि नै ७७ ओटै जिल्लामा फोर जी विस्तार भइसकेको टेलिकमले घोषणा गरिसकेको थियो ।

टेलिकमको फोर जी विस्तारको कूल लागत रु १८ अर्ब ७१ करोड रहेको टेलिकमले जनाएको छ । नेपाल टेलिकमको फोर जी सेवाको पहुँच हालसम्म ६१५ स्थानीय तहमा पुगेको छ भने देशैभर फोर जीको पहुँच पु¥याउने गरी २०७५ पुसमा सम्झौता भई काम अगाडि बढाएको थियो ।

नेपाल टेलिकमले गत पुस मसान्तसम्ममा दुई हजार ९५५ स्थानमा पाँच हजार १७६ ओटा बिटिएस टावरमार्फत फोर जी सेवा उपलब्ध गराएको छ । कोभिड–१९ का कारण काममा केही ढिलाइ भए पनि अहिले भने द्रुतगतिमा काम भइरहेको टेलिकम कार्यालयका प्रमुख पन्थीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विगत् १० महिनादेखि श्रीलंका कारागारमा रहेका २६ नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलंकास्थित नेपाली दूतावासले जनाएको छ

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

सिड्नी । अष्ट्रेलियाले पहिलो पटक गुगल र फेसबुकले समाचार सामाग्री राखेबापत सम्बन्धित समाचार संस्थालाई पैसा तिर्नु पर्ने कानुन पारित गरेको