निर्बाचननै राजीनितिक गतिरोधको एक मात्र निकाश हो: एमाले बरिष्ठ नेता माधब कुमार नेपाल

१६ भाद्र २०६९, शनिबार २३:३९ मा प्रकाशित

दुइ साता लामो अमेरिका भ्रमणमा आउनु भएका एमाले बरिष्ठ नेता माधब कुमार नेपाल २०४७ मा बनेको संबिधानका मस्यौदाकार पनि हुनुहुन्छ । बिद्रोह गरि रहेको माओबादीलाई देल्लीमा बाह्र बुदे सम्झौता गराउन पनि उहाको ठुलो भूमिका रह्यो । उहाँले दलहरु बिचको जारी गतिरोध अन्त्यको लागि पटक पटक संवादको प्रयास मात्र गर्नु भएन संबिधान सभाको अवसान पछी पुन माओबादी संग दलहरुको संवाद सुरु गर्ने अग्रसरता पनि लिनु भयो । सादा जिबन, सरल प्रस्तुति र चिन्तन मनन गर्न रुचाउने नेता नेपाल यति बेला अमेरिका भ्रमणमा हुनुहुन्छ । दर्जनौ नेपाली मुलका संघ संस्थाहरुद्वारा आयोजित कार्यक्रममा सहभागी हुनु अमेरिका भ्रमणमा रहनु भएका एमाले बरिष्ठ नेता माधब कुमार नेपालसंग देशको संकट पूर्ण अवस्था र अबको राजनीतिक निकाश के हो भन्ने आम नेपाली जिज्ञाशाको जवाफ खोज्न सम्पादक पुरुषोत्तम ढकालले लामो कुराकानी गरेका थिए, एमाले बरिष्ठ नेता माधब कुमार नेपालसंगको सोहि कुराकानी यहाँ प्रस्तुत गरिएको छ :

संबिधान सभाको पटकौ म्याद थप र त्यस पछी भएको अबसानले दलहरु मुलुकलाई राजनीतिक निकाश दिन पूर्ण रुपले असफल भएको भन्दा अतियोक्ति नहोलानी ?
राजनीतक दलहरु असफल भएकै हुन्, दुई बर्षमा संबिधान बनाउने जिम्मेवारी पुरा गर्न हामी असफल भएकै हौँ । संबिधान सभा असफल हुनुनै यसको प्रमाण हो । पटक पटक म्याद थप्दा पनि संबिधान बनाउने जिम्मेवारी पुरा गर्न नसक्ने दलहरुले आत्म आलोचना गर्ने पर्छ ।

 

संबिधान सभाको अवसानसंगै भारतीय सद्भाव र सहयोगमा माओबादीसंग गरिएको १२ बुदे सम्झौतानै गलत थियो पनि एक थरि विश्लेषण संग तपाई सहमत हुनुहुन्छ ?
देल्ली सम्झौता गलत थिएन । माओबादी लाइ मूल धारमा ल्याउने काम देल्ली सम्झौताकै परिणाम हो । माओबादी हत्या हिंसाले आक्रन्त देश शान्तिको बाटोमा अग्रसर हुदैछ त्यो पनि देल्ली सम्झौताकै परिणाम हो । उपलब्धि पनि भएकै हुन् र ति उपलब्धिहरुलाई संस्थागत गर्ने काममा हामी नेताहरु चुक्यौ र पनि धेरै ठुला ठुला उपलब्धि भएका छन् त्यसलाई नजर अन्दाज गर्न हुन्न ।

माओबादीसंग भएको १२ बुदे देल्लि सम्झौता केवल राजा बिरुद्दको आन्दोलनका लागि भएको एकता थियो तर फरक सिद्दान्त बोकेका दलहरु बीच मूल बिषय राज्यको पुनर्संरचना, राज्यको शासकीय स्वरूप जस्ता बिषयमा सहमति भएको थिएन जसको कारण संबिधान सभाको अवसान भयो र दलहरु संग अहिले पनि कुनै निकाश छैन भन्ने अर्को खाले विश्लेषण पनि छनी ?
बिगतमा के गरे राम्रो हुन्थ्यो भन्नु भन्दा पनि अब के गर्न सकिन्छ मूल बिषय त्यो हो र मुलुकलाई निकाश दिने मार्ग देल्लि सम्झौताले प्रशस्त गरेको छ मात्र यति हो दलहरु संबिधान बनाउन असफल रहे यसको मुख्य कारण माओबादीको सत्ता क्याप्चर गर्ने खराब नियतले संबिधान निर्माण गर्न सकिएन र संबिधानसभाको अवसान भयो जुन सार्है दुखद घटना भयो जसले मुलुकलाई थप अन्योल तर्फ धकेल्यो ।

माओबादमा बिश्वास गर्ने सशस्त्र बिद्रोह गर्दै आएको शक्ति जो बिजय उन्मुख छ र संसदीय प्रजातन्त्रमा बिश्वाशनै गर्दैन तेस्तो शक्ति यहांहरुले चाहे जस्तो संबिधान बनाउन सहमत नहुनु लाई दोष दिएर तपाईहरु आफ्नो असफलता लुकाउदै हुनुहुन्छ नि ?
माओबादी शान्ति र संबिधान प्रति प्रतिबद्द रहेन, संसदीय प्रजातन्त्र प्रति प्रतिबद्द रहेन जसको कारण मुलुकले निकाश पाउन सकेन । आज पनि बाबुराम जी सरकारमा बसेर सत्ता क्याप्चरको सपन देख्दै हुनुहुन्छ र माओबादी नेतृत्व यस्तै भावनाले ग्रसित छ र समस्याको मूल जड पनि यहि हो । संसदबादी दल बिशेष गरि एमाले स्पष्ट छ कित माओबादीले भन्नु पर्यो हामी संसदीय प्रजातन्त्र मान्दैनौ जंगल फर्किन्छौ होइन भने शान्ति र संबिधान प्रति प्रतिबद्द रहदै १२ बुदे सम्झौता इमान्दार तरिकाले पालना गर्नु पर्यो समस्याको निकाश एक मिनेटमा निस्कन्छ । हरेक पल्ट सम्झौता गर्यो, सहमति गर्यो अनि धोका दियो, लाग्छ माओबादी भनेकै धोका दिनेहरुको जमात हो । बोलीको ठेगान नभएको माओबादी ब्यबहारकै कारण संबिधानसभाको अवसान भयो र मुलुक थप राजनीतिक जटिलता तर्फ उन्मुख भैरहेको छ ।
नेपालका प्रमुख राजनीतिक दलहरु बीच संवाद र छलफल सुरु भएको छ,जारी संवाद र छलफलको निष्कर्ष अर्थात् अबको राजनीतिक निकाश सम्बिधानसभा पुनर्स्थापनाकी संसदीय निर्बाचन ?
संसदीय निर्बाचननै जारी अन्योलबाट मुलुकले निकाश पाउने बाटो हो । निर्बाचित संसदले सबिधान सभाको काम गर्ने र सहमति हुन नसकेको संघियताको बिषयमा जनमत संग्रह द्वारा निर्णय गर्न गरि समस्याको निकाश खोज्न सकिन्छ । संगै स्थानीय निकायको निर्बाचन गरेर देशलाई गति दिन पनि सकिन्छ त्यस कारण संबिधान सभाको समेत काम गर्ने गरि संसदीय निर्बाचन गर्नुनै एक मात्र निकाशको बाटो हो ।

माओबादी अध्यक्ष प्रचण्ड सम्बिधान सभा पुनर्स्थापना भनि रहनु भएको छ तर तपाईहरु भने संसदीय निर्बाचन भनि रहनु भएको छ यसैगरी सहमति खोज्ने नाउँमा कति बर्ष मुलुकलाई गुमराहमा राख्ने ?
पुनर्स्थापन केका लागि पहिला औचित्य पुष्टि गर्नु पर्यो । बिबादको मूल जड संघियताको बिषयमा दलहरु सहमत हुन् नसकेकै कारण संबिधान सभाको अवसान भयो फेरी संबिधान सभा पुनर्स्थापन केका लागि ?
मूल बिषय राज्यको पुनर्संरचना, राज्यको शासकीय स्वरूप जस्ता बिषयमा दलहरुबीच मतान्तर कायमै छ भने भने अर्को तर्फ यहाँहरु बाबुराम सरकार बर्खास्त गर्न राष्ट्रपति लाई गुहारी रहनु भएको छ यस्तो अवस्थामा सुरु भएको संवाद र छलफल निकाश निकाल्ने कुरामा तपाई कति आशाबादी हुनुहुन्छ ?
बाबुराम सरकार सहमति र संबिधान जारी गर्न असफल भयो, उहाँकै पालामा रातो रात संबिधान सभाको अवसान भयो । उहाँ खाली सत्ता टिकाउने खेलमा लाग्नु भयो । भएका सहमतिसम्झौता दिन दिनै तोड्नु भयो । यो कुरामा स्वयं माओबादी अध्यक्ष प्रचण्ड समेत सहमत हुनुहुन्छ । बाबुराम सरकार हटाउने कुरामा माओबादी समेत संवाद र छलफलमा बसेको छ । यति बेला मूल बिषय राज्यको पुनर्संरचना, राज्यको शासकीय स्वरूप जस्ता बिषयमा समेत सहमतिको नयाँ प्रयास सुरु भएको छ ।
सम्बिधान सभा पुनर्स्थापना वा संसदीय निर्बाचन भन्ने बिषय भन्दा फरक सर्बपक्षीय सहभागितामा सर्बपक्षीय सम्मेलन अर्थात गोलमेच सम्मेलन मार्फत राजनीतिक निकाश खोज्ने प्रस्ताब पनि आइरहेका छन् ?
परिवर्तनमा मुख्य भूमिका खेलेका दलहरु बीच निकाशको प्रयास स्वरूप तेस्तो खालको छलफल गर्न सकिन्छ । सर्व पक्षीय छल फल पनि गर्न सकिन्छ । तर गोलमेच सम्मेलन भनेर स्थितिलाई बिगार्दै गोलमाल र भाडभैलो अवस्थामा अब मुलुकलाई लानु हुदैन ।

 

प्रसङ्ग बदलौ, संघियताको बिषयमा यहाँ जहाँ जहाँ घुम्दै हुनुहुन्छ त्यहाँ त्यहाँ त्यहाँ चर्को बिरोधको सामना गरि रहनु भएको छ र संघियाताकै कारण मुलुक टुक्रने अवस्था निर्माण भएको छनी ?
केन्द्रिकृत साशन प्रणालीले देश आजको अवस्थामा पुग्यो, सामाजिक असमानता रह्यो त्यस कारण संघियता जरुरि छ तर आत्म निर्णयको अधिकार र जातीय संघियता भने हुनु हुदैन जसले देशलाई विखण्डित पारोस । सबै भाषा र जातिको समान अबसर र सहभागितामा हुने संघियताले देश बिखन्डन हुदैन बरु देशको द्रुततर बिकाश हुन्छ ।

दलहरु असफल हुनु, बिदेशी शक्ति राष्ट्रहरुमध्य चाइनाले मुखै फोरेर संघियता चीनको सुरक्षा हित बिपरित भएको बताउनु, भारतले आत्म निर्णय सहितको एक मधेश चाहानु, युरोप र अमेरिकाले जातीय संघियताको लागि ठुलो धनराशी उपलब्ध गराउनु यस्तो अवस्थामा देश पूर्ण रुपले बिखण्डनको बाटोमा जादैत छैन ?
नेपालको भाग्य र भविष्यको मालिक नेपाली जनता हुन् । यहाँ कस्तो साशन प्रणाली अपनाउने, कस्तो संबिधान बनाउने भन्ने कुरा नेपाली जनताले निर्णय गर्ने कुरा हो । बिदेशी मित्रहरुले यो कुरा बुझ्नु जरुरि छ । हामी असफल भएकै कारण बिदेशीहरुले चलखेल गरेका हुन् तर बिदेशी मित्रहरुले अर्को कुरा पनि बुझ्नु जरुरि छ कि नेपालको हितमा दिने सुझाव र सल्लाह मात्र नेपाली जनतालाई पाच्य हुन्छ । हामी बिदेशी हस्तक्षेप संग सचेत हुनु जरुरि छ यो देश हित बिपरित छ, सबैलाई चेतना हुनु पर्यो ।

तपाईहरु नालायक भएरै देशले यो दुर्दिन बेहोरेको भन्दा तपाइलाई आपत्ति छैननी ?
सबै दल र नेता नालायक भएकै कारण यस्तो अवस्था आयो भन्ने कुरामा म सहमत छैन । हो हामी समयमा संबिधान जारी गर्न असफल रह्यौ । तर दल र नेता नालायक नै भए भन्ने नकारात्मक सोच राख्नेहरुले एतिहासिक उपलब्धि तिर पनि ध्यान दिन जरुरि छ ।

 

अब कति बर्ष देश अनिर्णयको बन्दि रहला के छ तपाईहरुसंग निकाश ?
ब्यक्ति होस् वा राष्ट्र दुबैको जिवनमा सफलता अनि असफलता घटी रहने घटना हुन, यो असफलात बाट सिक्दै र मुल्यांकन गर्दै हामीले छिट्टै निकाशको बाटो पहिल्याउनु पर्छ । ढिलै सहि पुन: संवाद र छल-फल सुरु भएको छ आशा गरौ छिट्टै निकाश निस्कने छ ।

 

आम नेपाली जनता तपाईहरुको कुरै सुन्न चाहदैनन्, तपाईहरुलाई देख्ने बित्तिकै घृणा भावले हेर्छन र दुखि मनले सराप्छन तै पनि तपाईहरु तिनै जनताको नाउँमा राजनीति गरि रहनु भएको छ, मनमा घृणा भाव आउदैन, आफुले गरेको राजनीति प्रति पश्चाताप लाग्दैन ?
पार्टी र नेताहरुको साख गिरेको छ । निराशा र नकारत्मक सोच हावी भएको छ । विश्व ब्यापी रुपमा पोलिटिक्स डर्टी खेलको रुपमा चित्रित भएको छ । तर हामीले राणा शाशन,पंचायत र राजा ज्ञानेन्द्रको अन्त्य गर्न सफल भयौ। हाम्रो भाग्य र भविष्यको आफै मालिक बनेर राजनीतिक समस्याको दिर्घकालिन समाधान खोज्ने अबसर पनि प्राप्त  गरेका छौ यसलाई सकारात्मक पाटोको रुपमा लिनु पर्छ । केहि हुदै नभएका होइनन प्राप्त उपलब्धिलाई संस्थागत गर्ने तर्फ लाग्नु पर्छ ।

 

जव नेपालमा नयाँ राजनीतिक प्रक्रिया सुरु भयो तब संसार भरका नेपाली जाति भाषा र बर्णको नाउँमा विभाजित भएका छन्, जहाँ जहाँ नेपाली छन् त्यहाँ झगडा कलह र बैमनश्यता छ, तपाइहरुलाई आत्मा ग्लानी हुदैन नेपाली जातिको यो दुर्दिन र दुरावस्था देख्दा ?
जस्तो संस्कार सिकेको छ त्यस्तै व्यवहार देखाउने हो मान्छेले । बिदेशमा बस्ने नेपालीहरु जाती भाषा र बर्णको नाउँमा विभाजित भएको देख्दा दुख लाग्छ । बिकशित देशमा बस्ने नेपालीहरुले देखाउने व्यवहार आम नेपालीको लागी प्रेरणा दायक हुनु पर्ने हो तर नकारत्मक सोच भएका मान्छे जहाँ पुगे पनि यस्तै हुदो रहेछ । तर सबै त्यस्ता छन् भनेर विश्लेषण गर्नु पनि गलत हुन्छ । कतिपय अवस्थामा देशको चिन्ताले पनि यस्तो अवस्था ल्याएको हुन सक्छ ।

अब के हुन्छ ?
अहिले फरक फरक कोणबाट फरक फरक विचार आइरहेका छन् । आखिर सबैको चासो र चिन्ता भनेको संबिधान बनाउने हो तर माओबादीले संबिधान सभाको पुनर्स्थापना भनेर हलो अड्काउने काम गरिरहेको छ । उसले बुझ्नु जरुरि छ जुन कारणले संबिधान बनेन सोहि बिषयमा सहमति नभई अर्थात् संघियताको असहमति रहेको बाँकि बिषयमा सहमति नभई केका लागि संबिधान सभाको पुनर्स्थापना गर्ने ? ठिकै छ अन्तरिम संविधानको बाधा अड्काउ फुकाउन निश्चित समयको लागि संबिधान सभाको पुनर्स्थापना पनि गर्न सकिन्छ तर संबिधान निर्माणको काम गर्ने गरि संसद्को निर्बाचन गर्नुनै मुलुकलाई दिर्घकालिन निकाश दिने बाटो हो । बाकी रहेका सहमति हुन नसकेका मुद्दामा निर्बाचित संसदले निरुपण गर्न सकेन भने त्यस्ता बिषयमा जनमत संग्रह पनि गर्न सकिन्छ ।अहिले सुरु भएको छलफल र संवाद पनि यिनै बिषयमा केन्द्रित छ र छिट्टै माओबादी सहितको साझा सहमतिमा राष्ट्रिय सरकार बनाएर संसदीय निर्बाचनमा जाने अधिक सम्भावना देख्दछु म ।

प्रतिक्रिया
सम्बन्धित खवर

लामो इतिहास बोकेको राजतन्त्रलाई ठूलो सङ्घर्ष गरी पाखा लगाएर जनताको पोल्टामा सत्ता सुम्पिएको दाबीसँगै राजनीतिक दलहरू अधिक मात्रामा लोकतन्त्रको नारा

० वैशाख १२ को भूकम्पपछि मुलुकमा आइपरेको विपत्तिबाट पार पाउन नेपाली सेनाले प्रधानमन्त्री राहत कोषमा २४ करोड प्रदान गरेको छ,

० भूकम्प कहिले आउँछ भन्नेबारेमा यकिन गर्न त सकिँदैन भनिन्छ, तर भूगर्भीय अवस्थितिका आधारमा यसपटक नेपालमा आएको भुइँचालो कति सम्भावित

राष्ट्रिय प्रजातन्त्र पार्टीको असन्तुष्ट पक्षले संस्थापन पक्षमाथि पार्टी फुटाउन खोजेको आरोप लगाउँदै आएको छ । महाधिवेशनको म्यान्डेट लत्याएर पूर्वअध्यक्ष सूर्यबहादुर