ठग सिंहको थप पोल खुल्यो, भुवन केसीकी पत्नीलगायत थुप्रै युवाबाट करोडौं ठगी

१६ भाद्र २०६९, शनिबार १३:०९ मा प्रकाशित

काठमाडौं, १६ भदौ । ठगी अभियोगमा चार दिनअघि पक्राउ परेका मनोजबहादुर सिंहको गोप्य कोठामा प्रहरीले शुक्रबार छापा मार्दा राणाकालीन र शाही दरबारको सजावटमा प्रयोग गरिने वन्यजन्तुका आकर्षक अंग, मूर्ति, पुरातात्विक तरबार, चुप्पी लगायत सामग्री फेला परेको छ । कोटेश्वरको एक घरमा रहेको कोठामा गोप्य सामग्री रहेको सूचनाका आधारमा पुगेको केन्द्ररीय अनुसन्धान ब्युरोका अधिकारीले ८६ वटा पासपोर्टसहित वन्यजन्तुका अंग र पुरातात्विक सामग्रीको भण्डार फेला पारेका हुन् । पूर्व राजपरिवारको नाममा ठगी गर्दै आएका उनको कोठाबाट प्रहरीले प्रहरीको भर्ना, नियुक्तिपत्र, तत्कालीन राजदरबार सचिवालयको छाप लगायत नक्कली सामग्रीसमेत बरामद गरेको बुझिएको छ । वैदेशिक रोजगारीमा पठाउने र सेना तथा प्रहरीमा भर्नाको प्रलोभन दिएर ठगी गरेको अभियोगमा तीन दिनअघि सिआइबीद्वारा सिंह पक्राउ परेका थिए ।
सुरुमा साढे पांच करोड ठगी गरेको देखिएका उनको पक्राउसंगै ठगी रकम र ठगिनेको संख्यासमेत बढ्दैछ । सिआइबी अधिकारीका अनुसार हालसम्म उनको फन्दामा करिब चार सय जना परेको र उनीहरुबाट १० करोड ठगी गरेको देखिएको छ ।
ब्युरोको प्रारम्भिक अनुसन्धानमा उनले प्रलोभनमा पारेर पांच करोड २३ लाख रकम ठगी गरेको खुलेको थियो । सिंहले दरबारका उच्चपदस्थ अधिकारीसंग राम्रो सम्बन्ध रहेको भन्दै विदेशमा रोजगारीका लागि जान चाहने युवा र सरकारी तहमा जागिर खाने प्रयासमा रहेका युवालाई प्रभावमा पारेर रकम असुल्ने गरेका थिए । हालसम्म प्रहरीले पाएको विवरण
अनुसार बेलायत पठाइदिन्छु भन्दै उनले २२ जनासंग प्रतिव्यक्ति ४ देखि आठ लाखसम्म लिएका छन् ।
सिंहले नेपाल प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर ३२ जनासंग प्रतिव्यक्ति ५० हजारदेखि ८० हजारसम्म लिएका छन् भने नेपाली सेनामा जागिर लाइदिन्छु भन्दै उनले १२ जनासंग प्रतिव्यक्ति ५० हजारदेखि ३ लाखसम्म असुलेको विवरण ब्युरोले फेला पारेको छ । बेलायतको नक्कली भिसा दिएर कुलदेव चौधरीसंग पांच लाख असुल्नुका साथै उनले अन्य १६ जनासंग पांचदेखि १२ लाखसम्म लिएको तथ्य पनि ब्युरोले फेला पारेको छ ।
तुलसी चौधरीसंग बेलायतका लागि भन्दै २४ लाख रकम लिएको खुलेको छ ।
जजिर्या पठाउने प्रलोभन देखाएर मानबहादुर राईमार्फत अन्य दुई युवासंग उनले ११ लाख लिएका थिए । मीनबहादुर कार्की र सुनिल कार्कीसहित २० जनालाई बेलायत पठाइदिने भन्दै उनले एक करोड ५१ लाख असुले । राजकिशोर महतोसहित १५ जनालाई प्रहरी प्रहरी जवान पदमा जागिर लगाइदिन्छु भन्दै ३५ लाख र राष्ट्रि अनुसन्धान विभागमा काम लगाइदिन्छु भन्दै ६ जनासंग प्रहरी निरीक्षक पदका लागि भन्दै ३६ लाख प्रहरी सहायक निरीक्षक पदका लागि भन्दै २० लाख असुलेको विवरण ब्युरोले फेला पारेको छ । नेपाल प्रहरीको प्रहरी जवानकै लागि भनी खड्क चौधरी लगायत ६ जनासंगबाट १२ लाख रकम असुलेको विवरण खुलेको छ ।
नायक भुवन केसीकी पूर्व पत्नी सुस्मिता केसीमार्फत उनले १० लाख ठगी गरेको अनुसन्धानमा देखिएको सिआइबी अधिकारीले बताए । उनले युवालाई उच्चतहका सरकारी अधिकारी र दरबारका अधिकारी आफ्नो सम्पर्कमा रहेको विश्वास दिलाउन तत्कालीन राजदरबार सचिवालयको नाममै कार्यक्रमको निमन्त्रणापत्र पठाउने, दरबार, उच्चतहका सरकारी अधिकारी, सेना र प्रहरीका उच्चपदस्थ व्यक्तिलाई पार्टी दिई रकम असुलेकालाई समेत सहभागी गराउने गरेको अनुसन्धानमा खुलेको छ । उनले बिदेसिने र जागिर पाउने आशामा आफ्नो सम्पर्कमा आएकालाई विश्वासमा पार्न सहयोगीमध्ये कसैलाई बडीगार्ड त कसैलाई सैनिक उच्च अधिकृत बनाउने गरेका थिए ।
ठगीका लागि तत्कालीन राजदरबारको निजी सचिवालय र पूर्व राजपरिवारका सदस्यको नामसमेत प्रयोग गर्ने गरेको खुले पनि राजदरबारका सदस्यसंग उनको सम्पर्क भने खुल्न सकेको छैन ।
श्ुक्रबार बरामद ८६ थान पासपोर्ट, वन्यजन्तुको अंग र पुरातात्विक मूर्ति र हतियारका आधारमा सिंह पुरातात्विक सामग्री खरिदबिक्रीमा सक्रिय अन्तर्राष्ट्रिय गिरोहका सदस्यसमेत रहेको आशंका प्रहरीको छ ।
ब्युरोका डिएसपी जगदिश पोखरेलका अनुसार शुक्रबार उनको गोप्य डेराबाट विभिन्न देशको नक्कली भिसा लागेको पासपोर्टसंगै प्रहरीमा नियुक्तिका कार्ड, पूर्व महाराजाधिराज सचिवालय निर्मल निवास लगायत ६ वटा छाप, दुई वटा पुरातात्विक देखिने तरबार, १० वटा चक्कु, चाबुक, गणेश, शिव लगायत पित्तलको मूति, दुई वटा जरायोको पूर्ण शरीर, २ वटा टाउको, चितुवा र रतुवाको छालासमेत फेला परेको छ । डिएसपी पोखरेलले प्रारम्भमा ठगी अभियोगमा ल्याइए पनि अब उनीमाथि किर्ते र वन्यजन्तुको समेत मुद्दा लगाउने तयारी गरिएको बताए ।
४० वर्षिय मनोजको स्थायी ठेगाना वीरगन्ज, पर्सा वडा नम्बर १५ भए पनि उनी ललितपुर इमाडोलमा बस्दै आएका थिए । विभिन्न व्यक्तिलाई विदेश पठाउने, सरकारीस्तरको विभिन्न तहको जागिर लगाइदिने प्रलोभन देखाएर मोटो रकम ठगी गरेको सूचनाका आधारमा ब्युरोबाट खटिएको टोलीले गत मंगलबार उनलाई इमाडोलबाट पक्रेको थियो । मनोज राजसभा स्थायी समितिका सदस्य हिमालयनबहादुर सिंहका छोरा हुन् । बाबुको दरबारसंगको सम्पर्कलाई दुरुपयोग गर्दै ठगी गर्न थालेपछि उनलाई परिवारले ६० सालमा छुट्याइदिएको थियो । सहज रुपमा पैसा कमाउन उनले आफूलाई दरबारनिकट व्यक्तिका रुपमा परिचय गराउंथे भने सहयोगीमाझ उनको परिचय राजासापको थियो ।
प्रहरीले उनका सहयोगी अजय महर्जन, सरोज महर्जन र जेपी कुमाललाई नियन्त्रणमा लिए पनि उनीहरु नै सिंहबाट ठगिएको खुलेको छ । उनले अजयबाट ६६ लाख, सरोजबाट ४ लाख र जेपीबाट समेत चार लाख लिएको खुलेको छ । उनको सम्पर्कमा रहेका तीन जना जर्नेलको नाम खुलेको छ भने उच्च तहका प्रहरी अधिकृतसमेत उनको नियमित सम्पर्कमा रहेको देखिएको छ । ती अधिकारीहरुको नाम प्रहरीले खुलाएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका