नमस्ते

३ चैत्र २०६८, शुक्रबार १५:१५ मा प्रकाशित

पुण्यप्रसाद खरेल

नमस्ते गर्दा–गर्दा थाकिसकेको छ कृष्णे अचेल । उसलाई उचाल्दा–उचाल्दै आफ्नै हातको जोडनी पनि खिइसकेका होलान्जस्तो लाग्छ । पुलिसदेखि अफिसरसम्म, साधारण मसलेदेखि ठूलठूला व्यापारीसम्म, चिया व्यापारीदेखि ठूलठूला हुटेलवालासम्म, सामन्तदेखि उसका नोकरसम्म सबका–सबलाई ऊ नमस्ते गर्छ । उसका गाउँको मास्टर बाबुलाई समेत ऊ नमस्ते गर्न चुक्तैन । कहिले–काहीँ ऊ सोचविचार गर्छ —“उसलाई नमस्तेले के दिएको छ ? नमस्तेबाट उसले कसकसबाट के–के पाएको छ ? पुलिसले लात्तेभकुन्डो पारेकै छ । अफिसर साहेपले रामभेँडाजस्ता आँखाले उसलाई दागाधरेकै छन् । व्यापारी र हुटेलवालाले उसलाई पाँच पैसा पर्ने चीजलाई छ पैसा भनेकै छन् । मास्टर बाबुले उसको छोरोलाई फेल गरिदिएकै छन् ।”
कृष्णेको जीवन छोटकरीमा भन्ने हो भने आजसम्मको जीवननै नमस्तेको जीवन भने हुन्छ । उसले आफ्नो मेलो कहिल्यै ढुक्कसँग काम गरिरहन पाएन । नमस्ते गर्न बीचबीचमा अल्मलिनु प¥योप¥यो । उसले धानको धोक्रो सुमुसुमु साहूका घरसम्म पु¥याउन समेत पाएन । बाटामा दस–बीस चोटि नमस्ते गर्न अल्मलिनु प¥यो–प¥यो । उसले जुठा हातले, सफा हातले, फुर्सद—बेफुर्सद सबै समयमा जहिलेसुकै नमस्ते गर्नुपर्छ । नमस्ते गर्ने ड्युटीमा खटिएको मान्छेजस्तै सतर्कसाथ नमस्ते गर्नुपर्छ । त्यसैले कहिलेकहीँ कसैलाई नमस्ते गर्न चुक्यो भने ऊ आफूलाई ठूलो कर्तव्यबाट चुकेको भनेर ठूलो पछुताउमा पर्ने गर्छ । ऊ आफू आफ्नो महत्त्वपूर्ण कर्तव्यबाट उसले कहिल्यै सिन्कोबराबर पनि अधिकार प्राप्त गरेन । अधिकारप्राप्त नहुने कर्तव्य पूरागर्न चाहन्छ ऊ इमान्दारी बनेर सधैँ ।
बजारको छेउमा घर भैदिनु नै यो उसको निमित्त अभिसाफ हो । सानो बजार, थोरै हाकिम, थोरै व्यापारी, थोरै गण्यमान्य । पहिला–पहिला त सबैसँग चिन–जान गर्न ऊ तम्सन्थ्यो आफूसँगको कोसेली नमस्ते चढाएर, तर ‘बिटाका बिटा’ कोसेली खानेका सामू उसको नमस्तेको भाउ कतिन्जेल र कस्तो नै हुन्छ र ?
त्यसैले प्रत्येक पल्टको नमस्तेको ठीकअगाडि ऊ अचेल धर्म–सङ्कटमा पर्छ ।
‘नमस्ते–समस्ते नगर्ने अबदेखि ! नमस्ते गर्दा कतिले त फर्काउनसम्म फर्काउँदैनन् भने कतिले त उल्टो बिरालाले मुसी भेटेको ठान्दा रहेछन् । झन् कति त उनीहरूका जोरीपारिका सामुन्ने मैले नमस्ते गरिदिंदा मपाइँ बन्दारहेछन् !’– ऊ सोच्तछ, ‘फेरि नगर्दा पनि बाँच्न पाइएला र ? छोरालाई स्कुलमा पढाउन पाइएला र ?’ आफ्नो बाटाभरि तगारो देख्छ ऊ ।
‘कति बहादुर छ नमस्ते ? कति खतरा छ नमस्ते ?’ नमस्ते नगर्दा रिसायो भने नि ? डाक्टरले ओखती दिंदैन, कारिन्दाले काम गरिदिंदैन । कसरी बाँच्न सक्नु तगाराका कुकुरहरूका सामुन्ने ? उसको सोचाइ अलिक गहिराइतिर जान खोजेको हुन्छ ।
यस्तो नमस्तेको चेपमा परेको कृष्णे नराम्रो बिमारले पथारो परेको छ अचेल । ऊ बिमारले डाँडामा पुगेको जुनझैँ भएको छ । अब उसलाई बाँच्ने आशा छँदैछैन । उसले डाक्टरलाई बोलाउन पठाएको छ, महँगो फीस तिर्ने कबोल गरेर । डाक्टर फिस धुत्नलाई आउँदैछ औषधीको ब्याग बोकेर । कृष्णेले दोबाटैमा डाक्टरलाई आफ्नो घरतिर आउँदै गरेको देख्यो । ऊ फेरि धर्मसङ्कटमा प¥यो । “नमस्ते गरुँ–… … नगरुँ–… … गरुँ–… नगरुँ–… उसको सङ्कट त्यतित्यति ठूलो हुँदै गयो जतिजति डाक्टर नजिक हुँदै आयो । “मरिहालिन्छ, अब किन नमस्ते गर्नुप¥यो र ? मरेपछि त त्यसलाई नमस्ते नगरे पनि के बिग्रन्छ र ? …. तै बाँचिन्छ कि ? उससँग तै बचाउने शक्ति भएको औषधी छ कि ? … नमस्ते गरुँ कि ? …” उसको सङ्कट चरम विन्दुमा पुगिसक्यो । डाक्टर आइपुग्न लागिसक्यो । ऊ निदाएझैँ हुन कोशिस ग¥यो । बिउँझेझैँ हुँदा नमस्ते गरिहाल्नुपर्ला भनेर निदाएन । ऊ टोलाएको–टोलाएकै भयो । उसका मनमा सैयौँ द्वन्द्वहरूको संग्राम भयो । डाक्टर आइपुग्यो । कृष्णेले नमस्ते गरेन । आफूलाई बाँच्न नसक्ने नै उसले निधो गरेछ । ऊ चट्पटाउन लाग्दा डाक्टरले झन्डै नमस्ते फर्कायो । ऊ नियालिरहेको थियो । उसलाई ठूलो भूल गरेको जस्तो, डाक्टरको भयङ्कर अपमान गरेको जस्तो भान भयो । डाक्टर आएर नारी छाम्न खोज्दा उसले आफ्नो नारी भगायो । अब उसलाई डाक्टरले –‘कहीँ बिष त दिंदैन ?’ शङ्का भयो । औषधी–उपचार गरेर डाक्टर फर्कियो ।
अन्तिम घडीको मधौरु कृष्णे सिरानीमा टाउको अड्याएर दोबाटोमा आँखा लगाइरहेको थियो । जिल्ला कार्यालयको खरदार फिर्दै गरेको देख्यो । खरदार साहेबले पुलुक्क (नमस्ते मागेझैँगरी) कृष्णेतिर हेरे । कृष्णेलाई उनीतिरै हेरेर सुतिरहेको देखे । कृष्णे बिचरा ! नमस्ते गर्ने शक्ति नै थिएन, त्यसैले खरदारलाई नमस्ते गर्न चुक्यो । सधैँ नमस्ते गरिरहेको आज सकेन । आज उसलाई आफूले जीवनमा सबैभन्दा ठूलठूला पाप गरेको जस्तो ठूलठूला अपमान गरेको जस्तो लाग्यो । आफू निभ्न लागेको बत्तीले यस्तो अन्तिम घडीमा सन्तानको जरामा मल हालेर मर्नुपर्ने ! आफूले विष हालेको जस्तो लाग्यो । डाक्टरलाई नमस्ते गरेन । खरदारलाई नमस्ते गरेन । अब उसले आफू नबाँच्ने कुरा पनि थाहा पायो । उसका आँखा अललिन खोज्दै गरेको उसलाई थाहा छ, तर आज उसका पेटमा चिसो साप पस्यो । उसले सोच्यो –‘अब मेरा छोरालाई कसैले मुद्दा हाल्यो भने मेरो छोरो हार्छ । मेरा छोरालाई अन्याय हुन्छ । मेरो छोरो अब छेरौटीले पनि मर्न सक्छ । उसलाई डाक्टरले ओखती दिंदैन ।’
उसलाई डाक्टरलाई, खरदारलाई घरमै बोलाएर सैयौँचोटि नमस्ते गर्न मन लाग्यो । उसको मनमा अब छोरालाई के–के न हुने हो भन्ने मात्र लागिरह्यो । उसका ओठहरू चलेका जस्ता देखिए शायद उसको मुखबाट धेरै पश्चाताप पूर्ण रूपमा ‘नमस्ते ! नमस्ते !!… …. नमस्ते नमस्ते !! … भन्दै गर्दैछझैँ । उसको अनौठो चाला देखेर उसको छोरो, स्वास्नी भेला भए । रुन लागे । बिचरा कृष्णे ! आफूभित्रको हुटहुटीलाई मुखमा ल्याएर, जिन्दगीको आखिरीमा आएको शरीरको शक्तिलाई मुठ्ठी कसेर एकत्रित गर्दै जोडले चिच्यायो “नमस्ते डाक्टर साहेप … … न..म..स्ते … …. .. न .. म … स्ते … डाक्टर … सा… हे.. प न म स्ते … (डङ्ग्रङ लडेर) .ख … र … दा … र … सा … हे ……. !

२०३५|६|२|२

साभार
द्वन्द र धुवा (कथा संग्रह ) बाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसेर साहित्य लेखनमा सक्रिय नेपाली स्रष्टा सुकृति शर्माले नयाँ कथासंग्रह ‘सत्र पुष्प पत्रहरु’बाट ५ हजार

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको