गम्भीर भएकै हुन् त दलहरु ? : चैत–बैशाखमा नयां निर्वाचनको तयारी

१५ भाद्र २०६९, शुक्रबार २२:३० मा प्रकाशित


काठमाडौं, १५ भदौ । राष्ट्रपति रामवरण यादवले संविधानसभा पुनःस्थापना कि निर्वाचन भन्नेमा निश्चित भएर सहमतिबाट अघि बढ्न दलहरुलाई सुझाव दिएपछि दलहरुको छलफल यसअघि संविधान निर्माणका विषयमा विवादित बनेका विषयहरुमा केन्द्रित हुन थालेको छ । शुक्रबार बिहान नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको निवासमा भएको बैठकमा शासकीय स्वरुप र संविधान निर्माणका मुद्दामा प्रारम्भिक छलफल भएको र शनिबार हुने बैठकमा सबै दलहरुले आ–आफ्ना दलका कार्ययोजना प्रस्तुत गर्ने योजना बनाइएको छ ।
जे कारणले संविधानसभा विघटन भएको थियो तीन महिनापछि दलहरुले संविधानसभाका तिनै एजेण्डाहरुलाई छलफलको प्रस्थानबिन्दु बनाएका छन् । यसबीचमा विपक्षी दलहरुले सरकारको राजीनामालाई मुख्य एजेण्डा बनाएका थिए भने सत्ता गठबन्धन दलहरुले सबै कुराको प्याकेजमै सहमति हुनुपर्ने अडान राख्दै आएका थिए । दलहरुको आजको बैठक संविधानसभा पुनस्र्थापना कि नयां निर्वाचनमा जाने भन्ने कुरामा केन्द्रित हुने अनुमान लगाईएको थियो भने राष्ट्रपति रामवरण यादवले बिहिबारको भेटमा नेताहरुलाई सबैभन्दा पहिला गन्तव्यको प्रस्थानबिन्दु पहिल्याउन आग्रह गरेका थिए । तर, नेताहरुले त्योभन्दा पहिल्यै गएको जेठ १४ अघि संविधान निर्माणमा देखिएका गतिरोधको समाधान गर्नुपर्नेमा जोड दिंदै छलफललाई अघि बढाएका हुन् ।
बैठकमा भएको छलफलबारे नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल भन्छन्– ‘संघीयता, शासकीय स्वरुपको मुद्दा, प्रदेशहरु केको आधारमा कसरी कति बनाउने भन्ने कुरामा नै हाम्रो यतिबेलाको छलफल जारी छ ।’ नेता पौडेलका अनुसार संविधानका विवादित मुद्दासंगै राष्ट्रिय सहमतिको सरकार गठन गर्ने विषयलाई पनि संगसंगै हल गरिनेछ । अनि मात्र संविधानसभा पुनस्र्थापना कि नयां निर्वाचन भन्ने विषयले प्रवेश पाउनेछ । एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले भने शनिबार बस्ने बैठकमा सबै दलले आ–आफ्ना धारणा पेस गर्ने काम गरिसकेपछि छलफल विस्तृत र गम्भीर रुपमा अघि बढ्ने बताए ।
बैठकमा सहभागी एक नेताका निकटवर्ती सुत्रले जनाएअनुसार दलहरुबीच आगामी चैतको अन्तिम साता या बैशाखको पहिलो सातासम्ममा नयां निर्वाचन गराउने विषयमा आम सहमति बनाउन दलहरुले गृहकार्य सुरु गरेका छन् । निर्वाचनको प्रत्यक्ष विधिबाट चुनाव जित्ने सभासदहरुको टोली बनाएर संविधान निर्माण गर्ने सैद्धान्तिक सहमति बनेको सुत्रको कथन छ । निर्वाचनअघि नै सबै दलको सहमतिमा प्रधानमन्त्री चयन गरिने समझदारी भएको समेत बताइएको छ ।
तर, चार–चार वर्षको छलफल र प्रयासबाट सम्भव नभएका मुद्दालाई दलहरुले कसरी र अब कति दिनभित्र पार लगाउलान् भन्ने प्रश्नहरुचाहिं स्वभाविक रुपमै टड्कारो देखिन्छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका