होस्टेल बसेका विद्यार्थी ड्रग्सको कारोबार र सेवनमा

१५ भाद्र २०६९, शुक्रबार १०:१२ मा प्रकाशित

काठमाडौं, १५ भदौ । लागूऔषधका प्रयोगकर्ता र बिक्रेता खोज्दै हिँडेका प्रहरी मध्यबानेश्वरको एउटा होस्टलको विद्यार्थीको कोठामा झट्ट पस्दा पुस्तक, नोटबुक, कलम, डायरीजस्ता शैक्षिक सामग्रीको साटो ड्रग्स देखेर छक्क परे । २१ विद्यार्थी बस्ने नवजीवन होस्टलका विद्यार्थीले होस्टलका भान्सामा रहेका थाललाई ब्राउन सुगर तताउने भाँडो र पन्युलाई चरेस तान्ने साधन बनाएको जानकारी पाएपछि प्रहरी हैरान नबन्ने कुरै भएन । पढ्ने बहानामा निजी होस्टल बसेका युवाले त्यसैलाई दुर्व्यसनको थलो बनाएका खुलासा भएको जानकारी दिंदै लागूऔषध प्रयोगकर्ता खोज्न र्‍यान्डम अप्रेसन चलाए पनि अहिलेसम्म यस्तो रहस्य खुलेको नखुलेको एसपी शेरबहादुर बस्नेतले बताए ।
नवजीवनमात्र होइन, राजधानीका अन्य होस्टलमा रहेका विद्यार्थी पनि दुर्व्यसनको कुलतमा रहेको र उनीहरुले आफू बस्ने कोठालाई अखडा बनाएको सूचनाका आधारमा प्रहरीले अप्रेसन थालेको हो । कुलतमा फसेका किशोरले बुद्धनगरको ग्लोबल ब्वाइज होस्टललाई पनि दुर्व्यसनको थलो बनाएको प्रहरीले पाए। बोर्डसमेत नराखी सञ्चालित ब्वाइज होस्टेलमा बस्ने विद्यार्थीमाझ अध्ययनको विषय भन्दा नेपालगन्जको ब्राउन सुगर चर्चाको विषय बनेको प्रहरी अधिकारी बताउँछन्। एसपी बस्नेतका अनुसार युवा लक्षित अप्रेसनमा प्रहरीले १७ जनालाई पक्राउ गरेको थियो। होटल, रेस्टुरेन्टलगायतमा पक्राउ परेका युवाले दिएको जानकारीका आधारमा प्रहरी निजी होस्टलसम्म पुगेको थियो।
प्रारम्भमा झुक्याएको हो कि भन्ने लागे पनि त्यहाँ पुगेर हेर्दा अखडा नै भेटियो। भान्छामा रहेको थाल हेर्दा तताएको ब्राउनसुगरको दागै देखिएको र पन्युमा समेत ब्राउन सुगरका दाग भेटिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए । प्रहरीका अनुसार नवजीवनमा बस्दै आएका हुम्लाका भीमबहादुर ऐडीले युवालाई ब्राउन सुगरको आपूर्ति गर्दै आएका रहेछन्। उनले ग्लोबल होस्टलका रोहित पुनलाई सहयोगी बनाएको अनुसन्धानमा खुलेको छ। ऐडी होस्टलमा बसेर ओभरसियर पढ्दै गरेका विद्यार्थी हुन् भने पुन होटल व्यवस्थापनमा अध्ययन गर्छन्।
प्रहरीले पाएको जानकारीअनुसार आफ्नो समूहका सदस्यबाहेकका अपरिचितलाई उनीहरुले ब्राउन बेच्दैनथे । एसपी बस्नेतले भने, ुसुरक्षित कारोबारका लागि परिचितलाई मात्रै बिक्री गर्ने र होस्टलमा लगेरसमेत खुवाउने गरेको अनुसन्धानमा देखियो।ु पुरानो मेलम्ची कार्यालयसँगै रहेको नवजीवनमा बाहिरबाट समेत दुर्व्यसनी गएर ब्राउन सुगर खाने गरेको त्यहीँका विद्यार्थीबाट खुलेको अनुसन्धान अधिकारीले बताए। प्रहरीले नियन्त्रणमा लिएका १४ जनालाई सम्झाएर अभिभावकको जिम्मा लगाएको छ भने पक्राउ परेका ऐडीसँग ९ ग्राम र पुनसँग पाँच ग्राम ब्राउन सुगर फेला परेकाले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको छ ।
नवजीवनका सञ्चालक लक्ष्मी श्रेष्ठले सुरुमा खासै केही नभएको भन्दै पन्छाउने प्रयास गरे पनि होस्टलका विद्यार्थी लागुऔषधसहित पक्राउ परेको र होस्टललाई नै ड्रग्सको अखडा बनाएको बताएपछि बल्ल उनले नियमित अनुगमन गर्दागर्दै पनि विद्यार्थीहरुले झुक्याएको अभिव्यक्ति दिएका थिए ।
उपत्यकाका करिब ८० भन्दा बढी निजी होस्टल छन्। निजी विद्यालयसँगको सम्झौता र कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरेको भरमा यस्ता होस्टल चलाउने अनुमति दिइन्छ। तिनको अनुगमन कसले गर्ने भन्ने प्रस्ट व्यवस्था नै छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले देशभर दैनिक ११ हजारसम्म कोरोना भाइरस संक्रमित पुग्‍नसक्ने प्रक्षेपण गरेको छ ।मंगलबार स्वास्थ्य पत्रकारहरुसँगको