बोरामा नेपाली नोट ल्याउंदै डलर चीनतिर

१५ भाद्र २०६९, शुक्रबार ०९:४१ मा प्रकाशित


काठमाडौं, १५ भदौ । राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकमा राष्ट्रको ढुकुटीमा विदेशी मुद्राको सञ्चिति यतिबेला हालसम्मकै सबैभन्दा बढी छ । तर, अमेरिकी डलर नेपाल भित्रिने क्रममा भने ह्रास आएको छ । आशा गरिएअनुरुप पर्यटक आगमन उल्लेख्य नरहेको र नगदको साटो कार्डबाट भुक्तानी हुने क्रम बढेपछि डलर भित्रिने क्रममा सुस्ता आएको राष्ट्र बैंकको भनाई छ ।
यसरी ढुकुटीमा विदेशी मुद्राको सञ्चिति देखिए पनि नगद अमेरिकी डलर मुलुक भित्रिने क्रम घटेबाट माग हुने बित्तिकै बैंकबाट डलर पाइन छाडेको छ । अभाव नै भएको होइन तर अधिकांश बैंकले डलरमा धेरै नगद साट्न छाडेका छन् । राष्ट्र बैंकले डलर साट्ने बाणिज्य बैंकका सम्बन्धित शाखा प्रमुखलाई बोलाएर ५ सय डलरसम्म नगदमा दिन र सोभन्दा बढी माग भए ट्राभलर्स चेक वा अन्य विकल्पबाट भुक्तानी गर्न भनेको छ । राष्ट्र बैंकले पनि माग भएअनुसारको डलर भुक्तानी नदिनुमा मुलुकभित्रै दुरुपयोग बढेको हुन सक्ने आशंका बैंकलाई हुनु पनि एक कारण रहेको बैंकका एक प्रमुख कार्यकारी अधिकृतले खुलासा गरे ।
तर, नगदमा डलरको अभाव हुने क्रम क्षणिक मात्र रहेकोले छिट्टै समाधान हुने राष्ट्र« बैंकका प्रवक्ता भाष्करमणिा ज्ञवालीको भनाई छ । अब पर्यटन सिजन सुरु हुने र त्यसपछि डलर भित्रने क्रममा बढोत्तरी आउने उनको धारणा छ । डलर सटहीमा आएको समस्याका सन्दर्भमा उनले आवश्यक पर्ने डलर बैंक वित्तीय संस्थाले उपलब्ध गराइरहेका र बैंकबाट नपाइए राष्ट्र बैंकको बैंकिङ कार्यालयबाट लिन सकिने जनाए ।
यसै वर्षबाट राष्ट्र बैंकले जतिपटक विदेश भ्रमण गर्दा पनि २५ सय अमेरिकी डलर लान पाउने व्यवस्था गरेको छ । अघिल्लो वर्षसम्म यस्तो रकम दुई पटक मात्र लैजान पाइन्थ्यो । यसका साथै व्यापार प्रवद्र्धन गर्न, सभा, सम्मेलनलगायतमा जाने नागरिकलाई ५ हजार डलरसम्म लैजान पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । सामान आयात गर्दा पनि साट्न पाइने अमेरिकी डलरको सीमा बढाइएको थियो । यसले गर्दा पनि डलर अभावजस्तो हुन पुगेको बताइन्छ ।
डलर अभाव भएको हल्ला चल्न थालेपछि राष्ट्र बैंकले विदेश पढ्न वा घुम्न जानेलाई सम्बन्धित मुलुककै मुद्रा साट्न राष्ट्र बैंकले अनुरोध गरेको छ । राष्ट्र बैंकले फुटकर नगद डलरबाहेकको अन्य रकम ट्राभलर्स चेक वा अन्य कार्डबाट लैजान पनि जानकारी गराएको छ । राष्ट्र बैंकले तोकिएकै विनिमय दरमा विदेशी मुद्रा साट्न सकिने र आवश्यक पर्दा उपलब्ध हुन नसक्ने अवस्था नरहेको उल्लेख गरेको छ ।
यसै सन्दर्भमा मुलुकभित्र रहेको नगद अमेरिकी डलर अवैध रुपमा चीन जान थालेपछि समस्या देखिएको राष्ट्र बैंककै एक अर्को स्रोतको कथन छ । आधिकारिक रुपमा बोल्न नमिले पनि खासाका व्यापारीले नगद डलर लैजाने क्रम बढेपछि केही समस्या देखिएको सुत्रको भनाई छ । खासाका व्यापारीले नेपाली मुद्रामै सामान बिक्री गर्छन् तर चीनमा नेपाली मुद्रा नचल्ने भएकाले उनीहरुले यसलाई साट्नुपर्छ । चीनबाट बोरामा नेपाली रुपैयां ल्याएर बिक्री गरी अमेरिकी डलर लैजाने क्रम बढेपछि बजारमा असर परेको हो । अमेरिकी डलर चीन लैजाने क्रममा पक्राउ परेका केही व्यक्तिबाट यस्तो काममा संगठित गिरोहको संलग्नता रहेको पनि भेटिएको छ । नेपाली मात्र नभएर चिनियां नागरिक पनि अमेरिकी डलर ओसार्न प्रयोग हुने गरेको प्रहरीले बताउंदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको

काठमाडौँ। नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब रुपैयाँ ऋण उपलब्ध

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ