नेपालमा थारुहरुको सांस्कृतिक पर्व माघी

२९ पुष २०७७, बुधबार १३:०१ मा प्रकाशित

थारुहरू नेपालको तराई क्षेत्रको पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका विभिन्न २० जिल्लामा विशेषतः भित्री मधेसमा छरिएर बसोबास गरेका छन् । यतिखेर कैलाली, कञ्चनपुरका थारू बस्तीमा माघी पर्वको सुरु भैसकेको छ । थारू समुदायको सबैभन्दा ठूलो पर्व माघीको तयारीले गाउँघरमा रौनक बढाएको छ । हरेक वर्ष पुसको अन्तिम दिनबाट माघ २ गतेसम्म थारू समुदायले माघी पर्व मनाउने गरेका छन् ।

माघी थारू समुदायको सबैभन्दा ठूलो पर्व भएकाले धुमधामका साथ मनाउन साताअघि नै उनीहरुको तयारी हुने गर्छ । दुई चार दिनअघिदेखि काम छाडेर खानपीन मात्र गर्छन् । ढिक्री माघीमा खाने महत्वपूर्ण परम्परागत परिकार हो । यो चामलको पिठोबाट बनाइन्छ । माघीमा प्रत्येक घरमा ढिक्री, अण्डीको चामलको रोटी र बंगुरको मासु अनिवार्य पाक्ने गरेको छ । मासु, ढिक्रीजस्ता परिकार सालको पातबाट बनाइने दुना र टपरीमा राखेर खाने गरिन्छ ।

मसान्तको दिन रातभर भाले नवासुञ्जेल दारु पिउदै नाचगान गर्ने चलन पनि छ, हिजोआज पुरानो त्यो चलन कम हुँदै गएको छ । कतिपय ठाउँमा खोलामा पानी जमाई दहमा नुहाउने चलन पनि छ । यसलाई उनीहरू नयाँ वर्षको रूपमा मान्ने गर्दछन् । यही अवसरमा उनीहरूले आफ्ना मुखिया (बरघर) चुन्ने गर्दछन् । उनीहरू परम्परागत संस्था बरघर प्रणालीमा अनुशासितरूपमा बस्ने गर्दछन् । यिनीहरूले माघीको साथै अन्य विभिन्न पर्वहरू समयानुसार मनाउँछन् ।

कैलालीका थारुहरुले सामुहिक तवरले सबै गाउँले मिलेर चैत र भदौमा पूजा गर्ने गर्दछन् । यीनीहरु काली, भगवती, गोरया आदि देवीहरुको पूजा गर्दछन् । महादेवलाई भैरवको रुपमा पूजा गर्दछन् । घोडालाई दाङका थारुहरुले इष्टदेवताको रुपमा मान्दछन् । नेपालमा थारुहरुको कुल संख्या १७ लाख ३७ हजार ४७० (२०६८) संख्या छ भने आजभन्दा करिब ५० वर्षअघि ४ लाख ९५ हजार ८८१ (२०२८ को जनगणना अनुसार) थियो ।

नेपालको तराई भूमिमा बसोबास गर्नेहरुमा थारु प्रमुख जाती हो । नेपालको अन्य भूभागमा भन्दा कैलाली,बर्दिया, कञ्चनपुर र दाङमा थारुहरुको जनसंख्या अत्याधिक छ । थारू समुदायको आफ्नै भाषा, संस्कृति, रहन–सहन, रीतिरिवाज तथा इतिहास रहेको छ । सप्तरीतिरको थारु भाषमा मैथिलीको मिश्रण पाइन्छ भने बारातिरकोमा भोजपुरी र बाँके, बर्दिया कैलालीतिरकोमा अबधी भाषाको मिश्रण पाइन्छ । थारु भाषाको लिपी छैन, देवनागरि लिपी नै प्रयोग गर्ने गरिन्छ । यीनीहरु बिहानको खाजालाई कलुवा, दिउँसोको खानालाई मिंझिनी र साँझको खानालाई बेरी भन्दछन् ।

थारुहरुको घर प्रयाः सफा नै हुन्छ । सरकारले जनगणना लिंदा पूर्वीया र पश्चिमा थारूलाई डंगौरा थारू तथा पश्चिम नेपालकै अर्को समूहलाई राना थारू गरी जम्मा २ समूहमा मात्र थारू भाषालाई वर्गिकरण गरेको देखिन्छ । तर भाषा सम्बन्धमा अध्ययन गर्नेहरूका अनुसार थारू भाषाका विभिन्न भेद छन् । भाषा विज्ञानका अनुसार प्रत्येक दश कोशको फरकमा एउटै भाषामा पनि फरक पर्दै जान्छ । त्यसको अनुसार थारू भाषामा पनि परिवर्तन देखा पर्नु स्वाभाविकै हो । थारू–नेपाली–अंग्रेजी शब्द कोशको सम्पादन समेत गरेका गोपाल दहितले थारू भाषालाई ९ भाषिकामा वर्गिकरण गरेका छन् ।

साझ प्रकाशनले २०३० सालमा प्रकाशित गरेको पुस्तक सबै जातको पूmलबारीमा समाजशास्त्री डोरबहादुर विष्टले थारूहरू विशेषतः दक्षिणको थार मरुभूमिबाट आएको हुनाले थारू नाम रहन गएको हो भनेका छन् । थारूहरूको बसोबास रहेको तराईको क्षेत्रलाई थारूवान वा थरुहट भन्ने चलन उहिलेदेखिकै हो । थारूहरूको स्थान विशेष अलग नाम, थर, भाषा र सभ्यता छन् । थारू भाषा भारोपेली परिवारअन्तर्गत पर्दछ । मेचीदेखि महाकालीसम्म फैलिएका तराईका विभिन्न जिल्लामा बसोबास गर्ने थारूहरूले प्रयोग गर्ने भाषा थारू भाषा हो ।

थारू नामका आधारमा एउटै जाति भए पनि भाषिक र सांस्कृतिक दृष्टिकोणले एकापसमा भिन्नता रहेको पाइन्छ । मेचीदेखि महाकालीसम्म थारूहरूको ५०औं किसिमका थर रहेको पाइन्छ । यीमध्ये राना थारु, बाँतर थारु, मोरङ जिल्लामा बसोवास गर्ने थारूहरूलाई मोरङ्गिया, कोशीनदीको तटमा बस्नेलाई खौसिया (कौशिया) भनिन्छ । त्यस्तै, अन्य थारुका थरहरूमा बोटे, महतो, मर्दनिया, बाँठ, सुनाहा, खुनाहा, राजी, कुचिला (कूच विहारी), दंगारिया, डंगवडिया, राजहटिया, कठरिया, चितौनिया, लालपुरिया, डंगौरा, लामपुछुवा, गच्छदार, सुनादा, महन्थ, मझौरा, भगत, रौतार र सोलरिया आदि हुन् ।

त्यसैगरी दाङदेखि पश्चिम कञ्चनपुरसम्मका थारू थरहरूमा दहित, कुशुम्या, सतगौंवा, चमार, राना, डंगौरा, कठरिया, करिया मघरिया आदि रहेको छ । थारुहरुको ठाउँ अनुसार यीनीहरुको थर थपघट भैरहेको हुन्छ । जस्तो बारा जिल्लाका थारुहरुमा दोनवार (दनुवार), कोचिया, लम्पोसवा (लम्पुछवा), रौतार, मझिऔर, कठरिया भन्ने थरहरु छन् । क्रुक नामक सोधकर्ताले भारतमा थारुहरुका ७३ वटा उपसमूह फेला पारेका थिए भनी एलआर सिंहले आफनो पुस्तक तराई रिजनको पृष्ठ ११३ मा उदृत गरेका छन् ।

समाजशास्त्री डोरबहादुर विष्टले पनि थारुहरु ३२ समूहमा हुन्छन् भनी पिपुल अफ नेपालमा उल्लेख गरेका छन् । दाङ जिल्लाको एक गाउँमा दङौरा थारुहरुमा जम्मा १० किसिमका समूहहरु फेला पारेका थिए । तीनमा घरगुरुवा समूह, वरिन समूह रहेको २०३१ सालमा द्रोणप्रसाद रजौरेले दाङ उपत्यका राप्ती अंचलका थारुहरु शिर्षकमा लेखेका थिए । दङौरा थारुहरुको मूल थलो दाङ उपत्यका हो ।

यसर्थ थारू सांस्कृतिक सम्पदाले सम्पन्न जाति हुन् । उनीहरूको आख्यान परम्पराले नेपाली साहित्य पनि समृद्ध भएको छ । उनीहरूको आफ्नै भेषभूषा, गरगहना, परम्परागत शैली छ । थारूहरू प्रकृतिपूजक हुन् । उनीहरू वनदेवीलगायत वनका अनेक प्रेतात्माहरू र देवीदेवताहरू मान्दछन् ।

उनीहरू विशेष गरी जंगलको छेउछाउमा र नदी किनारमा बस्न रुचाउँछन् । जंगलको छेउछाउ बस्ने भएकाले प्रायः पशुपालन व्यवसाय गर्ने गर्दछन् । उनीहरूको प्रमुख पेशा भने कृषि नै हो । पहिले पहिले थारूहरू कमैया, कमलहरीका रूपमा काम गर्नु परेको अवस्था थियो । तर अहिले उक्त प्रथा हटिससकेका छ ।
(लेखक बडुवाल कैलाली काँग्रेसका नेता हुन्)

प्रतिक्रिया
सम्बन्धित खवर

एक ठाउँको रहनसहन र परम्परा अर्को ठाउँको लागि नौलो त लाग्छ नै ! यस्ता केही चालचलन पनि हुन्छन् । जुन

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ ।

नेपाल जस्तो मुलुकमा राष्ट्रिय समाचार समिति (रासस)को भावी दिनमा पनि अन्यत्रभन्दा महत्व बढ्छ । पहिलो कुरा, समाचार समिति राष्ट्रको ‘प्रेष्टिज

दूध, मासु, अन्डा, उन, श्रम आदिका लागि जनावरहरूलाई घरमा पाल्ने कामलाई पशुपालन भनिन्छ । पशुपालन जनावर वा पशुपक्षी पाल्ने पेसा