एकतन्त्रीय नेतृत्व र स्वार्थ समूहका कारण अवसान उन्मुख गैरआवासीय नेपाली संघ !

२४ पुष २०७७, शुक्रबार ०९:०६ मा प्रकाशित

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विशेष महाधिवेशनका बारेमा पक्ष र विपक्षमा लामो समयदेखि स्वर सुनिँदै आएको छ। संस्थापन पक्ष जसरी पनि कोरोना महामारीकै बेला भर्चुअल जुममार्फत् विधान संशोधन तत्काल पारित गराउन चाहन्छ। संघकै करिब पाँच दर्जन कार्यसमितिकै साथीहरु विस्तृत अध्ययन गरेर पास गरौं भनिरहेका छन्। मलाई जानकारी भएअनुसार दुवै पक्षबीच पटकपटक वार्ता भएका छन्। वार्ता परिणाममुखी भन्दा दाउपेचमा परिणत भएको मैले बुझेको छु। संघ बैठकमै उपाध्यक्षहरू मन केसी, रबिना थापा, अफ्रिका क्षेत्रीय संयोजक रोशन थापा र युरोपका क्षेत्रीय संयोजक नारायण आचार्यलगायतले हतारमा भन्दा विस्तृत छलफल गरी अघि बढाऔं भन्दै पत्रकार सम्मेलनमा बोलेको मैले घरमै बसेर हेरिरहेको थिएँ।

पक्ष र विपक्षमा मत बाँडिँदै जाँदा दिनदिनै मेरो मनमा पीर थपिँदै गएको छ। हामीले आज भन्दा झण्डै १८ वर्षअघि जन्मभूमि छाडेर विभिन्न मुलुकमा बसोबास गर्ने नेपालीलाई एकताको सुत्रमा बाँध्न गैरआवासीय नेपाली संघ स्थापना गरेका थियौं। १८ वर्षअघिको मेरो उमेर र जोसमा डा. उपेन्द्र महतो, भीम उदास, देवमान हिराचन, रामप्रताप थापाले साथ दिएपछि नेपालीले गर्व गर्न सक्ने संस्था जन्माउन पाएकोमा व्यक्तिगत रुपमा म दंग थिएँ। संसारभरका नेपालीलाई समेट्ने संस्था गठनले शरीरमा छुट्टै स्फुर्ति थियो। भर्खर जन्माएको संस्थामा अष्ट्रलियाबाट शेष घले, बेलायतबाट प्रा.डा. सूर्य सुवेदी र नेपालबाट कुलचन्द्र गौतम बसेपछि एनआरएनएले नयाँ उचाई लिनेमा म ढुक्क थिएँ। त्यसपछि क्रमशः धेरै प्रतिष्ठित साथीहरू जोडिँदै जानु भयो। उहाँहरू सवैको नाम यहाँ लिन सम्भव छैन। यो एनआरएनए बेलायतबाट शुरु गर्दा सन् २००३ देखि २००५ मा डा. उपेन्द्र महतो अध्यक्ष हुनुहुन्थ्यो, म सचिव थिएँ। २००५ देखि २००७ मा अर्को कार्यकाल मैले काम गरेपछि म युरोप संयोजकतिर गएँ। अहिले गैरआवासीय नेपाली संघ ८० भन्दा बढी देशमा पुगिसकेको छ।

प्रत्येक दुई वर्षमा जन्मभूमि नेपाल गएर सम्मेलन गर्ने र दशैं तिहार परिवारसँग मनाउँदै नेतृत्व पनि चयन गर्ने परम्परा नै बनिसकेको थियो। १६ वर्षपछि गत वर्ष नवौं सम्मेलनमा एनआरएनए पुग्दा संस्थाका आर्थिक र सांगठनिक प्रतिवेदन पारित नहुने अवस्थामा आयो। विगतमा पूर्व अध्यक्ष महतो र हामीले सोचेको एनआरएनए विस्तारै बदलिँदै जान थालेको आभाष मैले त्यतिबेला पाएँ। लाखौं रुपैयाँ पाँच तारे होटलका अल्कोहलमा खर्च भए। तर, आर्थिक पारदर्शितामा संस्था शून्यमा झरेको महसुस मैले मनमनै गरेँ। म संस्थापक सचिव भए पनि संस्थाभित्र मेरो पहुँच र अधिकार केही छैन। मैले अहिले दिने भएको एक थान सुझाव मात्र हो। सुझाव जहिले पनि ऐच्छिक हुन्छ, त्यो बाध्यकारी हुँदैन। त्यसैले मैले संस्थाका बारेमा सार्वजनिक रुपमै बोल्ने निर्णय गरेर लेख तयार गरेँ। यो लेख तयार गर्दै जाँदा १८ वर्ष अघिदेखि एनआरएनएमा लागेका केही अग्रजहरू बाहेक धेरै नयाँ व्यक्तिहरु छन्।

जीवन्त संस्थामा व्यक्ति आउँछ र जान्छ। संस्थामा एउटा पद्धति हुन्छ। संस्थाका स्थापित मान्यताहरू हुन्छन्। त्यहाँ सामूहिक छलफल हुनुपर्छ। त्यहाँ सामाजिक भावना हुनुपर्छ।

उनीहरू आ–आफ्नो क्षेत्रमा विज्ञ पनि छन्। म जस्ता पुराना व्यक्तिलाई भेट्दा एक थान नमस्कार गर्ने बाहेक संस्थाको परम्परा, संस्कार र एनआरएनए गठनका बारेमा आजसम्म एनसीसीदेखि आइसीसीसम्म कसैले मलाई एक शब्द पनि सोधेको सम्झना छैन। आ–आफ्ना उद्देश्य पूर्तिका लागि ल्याएको प्रस्तावमा समर्थन पाउन बेला–बेलामा केही कुरा सुनाउँछन्। उनीहरुको प्रस्तावमा समर्थन गरे धन्यवादसम्म पाइन्छ। यी घटनाहरुले मलाई एनआरएनए जस्तो संस्था अब एउटा प्रयोगको साधनका रुपमा विकास भैरहेको अनुभव हुन थालेको छ। जब कुनै चिज वस्तुको रुपमा विकास हुन्छ त्यहाँ सामाजिक भावना हुँदैन। खरीद वा बिक्री गर्ने साधन बन्न जान्छ। जसले बढी पैसा तिर्छ, उसैले सामान खरीद गर्छ, बजारको नीति यही हो।

साँझ सुत्ने बेलामा मेरो मनमा यस्तै, यस्तै कुराहरु खेलिरहेको थियो। संघका महासचिव हेमराज शर्माले विवाद बनिरहेको विशेष महाधिवेशनका लागि नयाँ प्रतिनिधिहरू पठाउन गैरआवासीय नेपाली संघका शाखाहरूलाई पत्राचार गरेको विज्ञप्तिको समाचारमा एक्कासी आँखा पुग्यो। अनि मनमा कस्तो–कस्तो नरमाइलो लाग्यो। धेरै साथीहरूले विधान संशोधनका विषयमा विभिन्न कुराहरु उठाएका छन्। सबैलाई समेटेर लैजानु पर्ने बेलायतमा महासचिव शर्माले संस्थागत मान्यता विपरीत एकलौटी ढंगले विज्ञप्ति जारी गरेर के उपलब्धि हासिल गर्लान् र? महासचिव शर्मा पनि पिएचडी गरेकै व्यक्ति हुन्। उनले पनि अध्यापन गराएर जीविकोपार्जन गरेकै छन्। एउटा सम्मानित पेशामा भएका मानिसले अब्बल भएर देखाउनु पर्नेमा नीजि कम्पनी चलाए जस्तो व्यवहार देखाएको गुनासो धेरैले मसँग गरेका छन्। कुनै पनि व्यक्ति अध्ययनशील वा धनाढ्य भएर मात्र पुग्दो रहेनछ, त्यसको व्यवहार नै समाजले जाँच्ने कसी हो। महासचिव शर्माको जीवनमा पनि त्यो लागू हुन्छ जस्तो लाग्छ।

‘जन्म दिने डाक्टर, हत्या गर्ने डाक्टर’
सामाजिक संस्थाका बारेमा मनभित्रका अन्तरविरोध चलिरहेको बेला संघका महासचिव शर्माले पटक–पटक सामाजिक सञ्जालमार्फत् जारी गरेका सूचनाहरू मेरो मानस पटलमा आइरहन्छन्। विधानतः संघको कार्यकारी अधिकार संघका अध्यक्ष र महासचिवमा रहन्छ। तर, पनि संघलाई सामूहिक नेतृत्व प्रणालीमा लग्न त्यहाँ उपाध्यक्षहरू, सचिवहरू, कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता, महिला र युवा संयोजकहरू भएको कार्यकारी सचिवालय बनाएका छौं। त्यहाँ छलफल गरी सबैको भावनालाई समेटेर अघि बढनु पर्नेमा उनले व्यक्तिगत संस्था चलाए जसरी सामाजिक सञ्जालमा सूचना जारी गरेको देखेर मेरो मन थप छियाछिया भयो। अनि सोचें, यो धर्तीमा आमाको कोखबाट बच्चा जन्माउन मद्दत गर्ने पनि एक जना डाक्टर हुन्छ। एउटा आमाले कोखबाट बच्चा जन्माउन सकिनन् भने अप्रेशन गरेर बाहिर संसार देखाउन मद्दत गर्ने पनि डाक्टर हुन्छ। कहिलेकाही गलत औषधी दिएर वा सही उपचार नदिएर बालकालिकाको हत्या गर्ने पनि डाक्टर नै हुन्छ। झण्डै दुई दशक अघि जन्माएको पवित्र संस्था एकपक्षीय निर्णयले दुघर्टना हुने हो कि भनेर अहिले मलाई धेरै चिन्ता लागेको छ।

जीवन्त संस्थामा व्यक्ति आउँछ र जान्छ। संस्थामा एउटा पद्धति हुन्छ। संस्थाका स्थापित मान्यताहरू हुन्छन्। त्यहाँ सामूहिक छलफल हुनुपर्छ। त्यहाँ सामाजिक भावना हुनुपर्छ। संस्थागत मर्यादाहरू उल्लघंन गरिए भने निर्वाचित व्यक्ति नै एकतन्त्रीय बन्न पुग्छ। अनि उसलाई जे मन लाग्यो त्यही निर्णय हुन्छ। अन्ततः संस्थाको अवसान हुन्छ। आज ८० भन्दा बढी देशमा भएको संस्था आगामी दिनमा हेर्दाहेर्दै लाइट बालेर खोज्नु पर्ने अवस्थामा पुग्छ। क्षणिक स्वार्थमा जोडिएका मानिसहरू वा व्यक्तिहरूले आफ्नो स्वार्थपूर्ति गरेर हिँड्लान्। तर, एनआरएनए सामाजिक संस्थाका रुपमा रहिरहन सक्दैन।
(लेखक ढकाल एनआरएनएका संस्थापक सचिव हुन्।)

प्रतिक्रिया
सम्बन्धित खवर

नेपाल जस्तो मुलुकमा राष्ट्रिय समाचार समिति (रासस)को भावी दिनमा पनि अन्यत्रभन्दा महत्व बढ्छ । पहिलो कुरा, समाचार समिति राष्ट्रको ‘प्रेष्टिज

थारुहरू नेपालको तराई क्षेत्रको पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका विभिन्न २० जिल्लामा विशेषतः भित्री मधेसमा छरिएर बसोबास गरेका छन् । यतिखेर

दूध, मासु, अन्डा, उन, श्रम आदिका लागि जनावरहरूलाई घरमा पाल्ने कामलाई पशुपालन भनिन्छ । पशुपालन जनावर वा पशुपक्षी पाल्ने पेसा

एमाले र माओवादी एकीकरण भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यतिबेला तमासा देखाइरहेको छ । नेपाली कांग्रेस हात बाँधेर