कुमारीको परिभाषित प्रेम

२२ पुष २०७७, बुधबार ०४:५९ मा प्रकाशित

अन्तर्राष्ट्रीय डिग्री हासिल गर्ने मेरो सपना पुरा गर्न बुवाले मलाई होटेल व्यवस्थापन पढ्न अस्ट्रिया  पठाउनु भएको थियो। नेपालमा यस विषयको पढाई नै नहुने त थिएन तर आफ्नी एक्ली छोरीको इच्छा पुरा गर्न बुवा बाध्य हुनुभयो। राम्रो विश्वविद्यालयबाट चारवर्षको स्नातक पनि पुरा गरे र अस्ट्रियाकै  एउटा प्रख्यात पाँच तारे होटलको रिसेप्शनमा  प्रशिक्षणार्थीको  लागि आवेदन दिए र तीन महिनाको लागी काम पनि पाए तर बुवालाई भने, “बुवा! मैले फ्रन्ट अफिस म्यानेजरको काम पाए।” बुवा र आमाको खुशीको सीमा रहेन । बिचरा मेरा आमाबुवालाई के थाहा कामको अनुभव नभएका र भाषा समेत राम्रोसंग बोल्न नजान्ने म जस्ता विदेशीले स्नातक त के विध्दावारिधी नै गरे पनि आफ्नो शैक्षिकस्तर अनुसारको काम भन्ने बित्तिक्कै पाउदैनन् भन्ने।

बुवाले खुशी हुदै भन्नुभयो, “ अब राम्रो काम पाइहाल्यौ, नागरिकताको लागि पनि आवेदन दिनु बरु नागरिकता पाएपछि तिमीले जोगाएको पैसाले नेपालमै होटल खोलौला।” कति मीठो र ठुलो सपना मेरो बुवाको तर त्यही परिवेशमा हुर्केकी छोरी म, बुवालाई यथार्थ बुझाउनु कता हो कता, “हस” भनेर आज्ञाकारीता जनाइदिए। विचरा बुवालाई के थाहा तीन महिनाको प्रशिक्षार्थीको तलबले मेरो महिना गुज्रिदैन र मैले अन्य नेपाली वा भारतीयको व्यापार व्यवसायमा अर्को काम खोज्नु पर्छ । नेपाली वा भारतीयको व्यवसायमा काम कहिले ज्यालादारी हुन्छ त कहिले विना दर्ता अवैध जुन जीवन धान्न मात्र काम लाग्छ ।पढाई सकिएको एक वर्ष भित्र स्थायी जागिर पाइन भने मेरो भिसा समेत रद्द हुन्छ तर मेरो बुवा नागरिकताको सपना देख्नु हुन्छ । खैर! सपना देख्न पाउनु बुवाको अधिकार हो, म खोस्न चाहन्न किनकी सपनाको संसारले मानिसलाई यथार्थको सामना गर्न सजिलो बनाउछ ।
पहिलो दिन चिटिक्क परेर काममा गए म तर सोचेजस्तो थिएन,  फ्रन्ट अफिसको सहायक एक महिला थिई। उसले मलाई भनी, “आज धेरै काम छैन, हाउसकिपिंगमा सहयोग चाहिएको छ तिमीलाई मसंग हिंड, म लगिदिन्छु।” सहमति जनाउदै म उसको पछि लागे। त्यो दिन मेरो हाउसकिपरको अफिस पुछ्दै र मिलाउदै बित्यो, एक हप्ता  हाउसकिपिंगमा सहयोग गरेर बितेपछि मलाई नरमाइलो लाग्न थाल्यो।एउटा मनले भन्थ्यो “पुछेरै जीवन बिताउन मैले चारवर्ष मिहिनेत गरेर उच्च श्रेणीमा स्नातक गरेको हो र?” फेरि अर्को मनले भन्थ्यो, “ काम त कामै हो सिक्दै अनुभव बटुल्ने हो।” संगै पढेको एउटी साथी क्लाउडियालाई पीडा सुनाए,”उसले भनी,”गएर ह्युमन रिसोर्स डिपार्टमेंटमा गुनासो गर।” मलाई ह्युमन रिसोर्समा गएर गुनासो गर्ने आंट नै आएन, पन्ध्र दिन त परीक्षणमै छु फेरि भोलीदेखि नआइज भनेर निकाली दियो भने के गर्ने? सोचे बरु यो हप्ता पनि चुपचाप जे भन्छन त्यही गर्छु बरु परीक्षणकाल सकिएपछि जान्छु ।
मन नलागी नलागी काममा गए। फेरि किचनको स्टाफ बिरामी भएकोले ऊ सन्चो नभएसम्म यो हप्ता किचनमा काम गर्नु पर्ने भयो। मन त थिएन गएको हप्ता पुछेर बित्यो, यो हप्ता भाडा माझेर बिताउन तर के गर्ने रहर भन्दा पनि बाध्यताले जित्ने रहेछ । दिउसो लन्चको समयमा स्टाफ कोठामा बसेर एक्लै  खाना खांदै थिए, त्यही होटलमा काम गर्ने एउटा केटा भित्र छिर्यो  र मेरै अगाडी आएर, “म यहां बसौ” भनेर सोध्यो। मैले हुन्छ भनेर टाउको हल्लाए । उसले हास्दै बसेर  “धन्यवाद” भन्यो र मलाई हात दिंदै भन्यो,” म मार्टिन! सेल्स विभागमा काम गर्छु। तिमी को हौ?” मैले हात दिदैं भने, “ म अनिता! रिसेप्शनको प्रशिक्षणार्थी  तर अहिले किचनमा सहयोग गर्दैछु ।” मेरो कुरा सुन्दै ऊ पनि खान थाल्यो। आफ्नै सुरमा खाना खादाखादै मैले उसलाई हेर्न पुगे, अचानक मेरो र उसको आंखा जुध्न पुग्यो। गोरो अनुहार, गाढा खैरो दारी हल्का पालेको मार्टिनका निला आंखासंग मेरो आंखा जुध्दा मनभित्र एककिसिमको तरंग पैदा भयो। अग्लो र मिलेको शरीर भएको मार्टिन कालो सुटमा निकै आकर्षक देखिएको थियो। मेरो विश्रामको समय सकिसकेकोले मैले उसंग बिदा मागे, भोली लन्चमा भेटौला है भन्दै ऊ मुस्कुरायो ।
दुई तीनसम्म मैले मार्टिनलाई भेटिन तर मेरो परीक्षण कालको अन्तिम दिन शुक्रवार काम सकाएर घर जान लागेको थिए, कसैले पछाडीबाट “अनिता नमस्ते” भनेर कराएको सुने। फर्किएर हेर्दा मार्टिन हात जोडेर नमस्ते गरेर बसेको थियो। म अचम्ममा परें कसरी उसले थाहा पायो म नेपाली भनेर र सोधें। उसले मेरो विभाग प्रमुखलाई मेरो बारेमा सोध्दा म नेपाली भन्ने थाहा पाएको कुरा बतायो । सामान्य कुराकानी पछि म घर फर्के तर बाटोभरी मार्टिनका ती दुई निला नशालु आंखाहरु सम्झिरहें।

परीक्षणकाल सकिएपछि म रिसेप्शनमा नै काम गर्न थाले तर सहकर्मीहरु त्यति सहयोगी थिएनन् । मलाई कसैले नगरेको, कसैले नभ्याएको कामहरु जस्तै फोटोकपी गर्ने, फाइल मिलाउने जस्ता सामान्य कामहरु मात्र गर्न दिन्थे । त्यही काममा पनि मलाई रमाइलो लाग्न थालेको थियो किनकी दिनमा एकपटक आकलझुकल मार्टिनसंग कहिले देखादेख हुन्थ्यो त कहिले छोटो कुरा गर्ने मौका मिल्थ्यो। आफ्ना सहकर्मीहरुसंग भएको बेला ऊ मसंग त्यति खुलेर कुरा गर्दैन्थ्यो तर उसको चोर आंखा मेरा आंखासंग पटकपटक जुध्थे ।

एकदिन मार्टिन एउटा सार्है महत्वपूर्ण भेट रहेछ, बिहानै रिसेप्शनलाई खबर गरेको रहेछ, त्यो मानिस आउने बित्तिकै उसलाई फोन गर्नु भनेर। करीब १० बजे त्यो मानिस आयो तर सबै टेलिफोन व्यस्त थिए, मैले मेरो निजी मोबाइल फोनबाट उसलाई खबर गरिदिए। बेलुका मेरो ह्वाट्सअपमा एउटा सन्देश आयो, मैले पढे तर नचिनेको नम्बर जवाफ फर्काइन । पन्ध्र बीस मिनेट पछि फेरि अर्को सन्देश आयो। लेखिएको थियो, “म मार्टिन! तिमीसंग होटलमा काम गर्ने।” मैले बुढी औला देखाएर उत्तर पठाए। त्यसपछि उसले रमाइला ठट्टा, प्रसिद्ध भनाईहरु सन्देश मार्फत पठाउथ्यो त हालखबर हरेक दिन सोध्थ्यो तर कामको अवधिभर निजी मोबाइल फोन चलाउन मनाही थियो। म घर फर्किदा बाटोमा पढ्थे । मलाई मार्टिन मन पर्न थालेको थियो। शुक्रवारको दिन उसले मलाई सन्देश पठायो “आज साँझ समय छ भने म तिमीलाई डिनरको लागि निम्तो दिन्छु “, मैले पनि उसलाई “हुन्छ” भनेर उत्तर पठाए । डिनरको क्रममा उसले मलाई आफुले मनपराएको कुरा राख्यो। उसको कुरामा म मुस्कुराई रहे। त्यस भेट पछि मार्टिन र मेरो भेट  बाक्लिदै गयो । एकदिन भेटकै क्रममा उसले मलाई चुम्बन गर्दै भन्यो,” अनिता! म तिमीलाई माया गर्छु, आई वान्ट टु मेक लभ वीथ यु।” म अलि झस्किए र सोधे,” तिमी मसंग बिहा गर्छौ?” उसले जवाफ दियो,”बिहाको लागि तिमी मेरो लागि उपयुक्त छौ या छैनौ भन्ने कुरा प्रमाणित हुनु जरुरी छ। सबै कुरामा तिमी मेरो लागि उपयुक्त छौ तर विवाह गर्ने या नगर्ने कुरा सेक्समा भर पर्छ।” उसले मलाई प्रस्ट बतायो तर म अन्यौलमा परे किनकी विवाहपूर्व कौमार्यत्व भंग हुनुहुदैन र कौमार्यत्यता भंग भएको केटीको वैवाहिक जीवन दुखदायी हुन्छ भन्ने मान्यतामा हुर्किएको मलाई मार्टिनका सेक्स प्रस्तावले १०० भोल्टको करेन्टको झड्का लाग्न पुग्यो। घर फर्किएर म सोच्न थाले, माया मैले पनि मार्टिनलाई गरेको हो तर प्रेमलाई सेक्ससंग दांजेर मैले हेरिसकेको थिइन। यता मेरो करार सकिदै थियो र उता मार्टिनको दबाव बढ्दै थियो। मेरो भिजा अझै बाँकी थियो, त्यसैले होटलको करार सकिएपछि पनि अर्को काम खोज्ने समय थियो तर मेरो मन अन्यौलमा थियो। मार्टिनसंगको सम्बन्ध पनि बिग्रदै थियो ।

अचानक उसले मेसेज पठायो,” अनिता! म तिमीलाई माया गर्छु। हामीबीचको सेक्स सम्बन्ध राम्रो भएमा बिहा पछि गर्छु। सेक्स हरेक मानिसको जैविक आवश्यकता हो तर तिमीलाई माया गर्दागर्दै अरुसंग सेक्स सम्बन्ध राखेर तिमीलाई धोका दिन पनि सक्दिन र तिमीसंग सेक्स अनुभव नगरी बिहा गर्छु भनेर वाचा गर्न पनि सक्दिन । तिम्रो अन्तिम निर्णयको प्रतीक्षामा छु र  तिम्रो निर्णयलाई सम्मान र स्वीकार गर्छु ।” मार्टिनकै कारण रमाइलो लागेको यो ठाउ फेरि मार्टिनकै कारण नरमाइलो लाग्न थालेको थियो। झन उसको यो मेसेज आए पछि झनै विरक्त लागेर आयो। बुवालाई फोन गरेर जागिर र कामको स्थितिको जानकारी दिए। उहाँ नेपाल फर्किन सल्लाह दिनुभयो र मम्मीको पनि अब बिहा गरेर घरजम बसाउनु भनेर सल्लाह दिन थाल्नु भयो। मैले पनि कुनै विकल्प देखिन र नेपाल फर्किने निर्णय गरें।

नेपाल जाने अघिल्लो दिन मार्टिनलाई मेसेज पठाए, “म नेपाल फर्किदैछु ।” उसले जवाफ पठायो,”शुभयात्रा !” सोचेको थिए, उसले फोन गर्छ, रोक्छ र प्रेमको भीख माग्छ तर उसले अरु केही लेखेन् । अलीअली दुख त लाग्यो तर उसको प्रस्ताव अस्वीकार गर्ने म नै थिए, त्यसैले दुखी हुने ठाउ पनि थिएन ।

बोर्डिंगपास लिएर भित्र छिर्दै थिए दिनेशदाई  पो भेटिनुभयो, “ओहो! बहिनी नेपाल जान लागेको? कति बस्ने? म पनि नेपाल जान लागेको। हेरन बल्लबल्ल कागज बन्यो, फेरि गोरीनी डिभोर्स दिन नमानेर साह्रै सताई। एक हप्ता भो डिभोर्स भएको अब नेपाल गएर बिहे गरेर ल्याउछु। बरु बहिनी होटल म्यानेजमेन्टमा कस्तो छ?” दाईले एकै पटक सबै प्रश्न सोध्नुभयो। दाई अस्ट्रियामा बस्ने नेपाली समुदायको सार्है सकृय मान्छे, मेरो पनि बेला बखतमा नेपाली समुदायसंगको भेटघाटमा दाईसंग भेट हुन्थ्यो। अन्दाजी पैंतालीस वर्षका दाईका गोरीनी भाउजु पट्टी एउटा अन्दाजी दश वर्षको छोरा थियो र नेपालमा पहिलै बिहे गरेकी श्रीमती छ भन्ने सुनेको थिए तर फेरि नेपाल गएर बिहे गर्ने सुन्दा अचम्म लाग्यो र सोधे,” दाई नेपालको भाउजु नि।” दाईले हल्का रुपले भने, “कहाँ बहिनी त्यो गवारलाई यहाँ ल्याउने, अब कागज भइहाल्यो, अब त ब्याचलर पास गरेकी राम्री केटी बिहे गर्छु।”  मनमनै फेरि मार्टिनलाई सम्झिए र उसले भनेको सम्झिए,”अनिता! तिमीलाई माया गर्दागर्दै अरुसंग शारीरिक सम्पर्क गरेर तिमीलाई कसरी धोका दिउ?” र दिनेश दाईले विवाहलाई खेल जस्तै गरेको व्यवहारलाई अनि मार्टिनको प्रेमको परिभाषा हवाई जहाजको यात्रा भरि दाजिरहे। एअरपोर्टमा छुट्टिने बेलामा दिनेशदाईले मेरो बुवाको फोन नम्बर माग्दै भन्नुभयो,”ल अनिता बैनी! मेरो बिहे पक्का भएपछि तिमीसंग स्टुडेन्ट भिसाको लागि सल्लाह गर्नुपर्छ सहयोग गर है।”

नेपाल फर्केको भोलीपल्ट देखि मेरो परिवार र इष्टमित्रलाई मेरो विवाहको चिन्ताले पिरोल्न थाल्यो भने मलाई मार्टिनको यादले। मम्मीले धेरैसंग विवाहको कुरा चलाउनु भयो तर सबै केटापक्षको शंका मेरो चरित्र माथि हुन्थ्यो, हरेकले यही शंका गर्थे, यतिका वर्ष विदेशमा पढेर फर्केकी केटी चोखो होला र? कतिले पीआर र भिसाको व्यापार गर्न खोज्थे । यता मंसगै विवाह गर्न नेपाल आएका दिनेशदाई आफुभन्दा बीस वर्ष कान्छी दुलही भित्राउनु भएछ। यता आफ्नो कौमार्यता र परिवारको इज्जतमा दाग नलागोस भनेर प्रेम लत्याएर स्वदेश फर्केको म यो माँगी विवाह र सामाजिक संरचनाको कारण दिनप्रतिदिन म मानसिक रोगको शिकार बन्दै गएको छु।

बाबा राजेश्वरी थापा
भियना, अस्ट्रिया

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो