अनियमित कर्जा लिएर बैंक ठग्न खोज्ने एनबी समूहलाई कारबाही गरिने

१४ भाद्र २०६९, बिहीबार ०९:०५ मा प्रकाशित


काठमाडौं, १४ भदौ । कर्जा दुरुपयोग गरेको आरोपमा एनबी समूहबाट प्रवद्र्धित दुई कम्पनीका सञ्चालक र ऋण दुरुपयोग गर्ने व्यक्तिलाई राष्ट्र बैंकको गुनासो व्यवस्थापन समितिले कारबाहीको सिफारिस गरेको छ । समितिले एनबी समूहको लगानी रहेको वात्रा हस्पिटल र ललितपुर इन्जिनियरिङ कलेजका सञ्चालक एवं ऋणीलाई वित्तीय अपराधअन्तर्गत कारबाही गर्न सिफारिस गरेको हो । समितिमा राष्ट्र बैंक, बैंर्कस, उद्योग वाणिज्य महासंघ र सरकारी प्रतिनिधि छन् । समितिको सिफारिसपछि राष्ट्र बैंक सञ्चालक समितिले अर्थ मन्त्रालय हुंदै प्रहरीर्माफत कारबाही अगाडि बढाउने व्यवस्था छ ।
बैंकबाट लिएको सबै ऋण दुरुपयोग भएको देखिएको र वित्तिय श्रोतको अपारदर्शी प्रयोग गर्नेलाई कारबाही गर्न सिफारिस गरिएको समितिका एक सदस्यले बताए । हस्पिटल र कलेज दुवै संस्था एनबी समूहको हरिसिद्धि इंटा टायल कारखानाको पूर्ण लगानी भएको भगिनी संस्था हुन् । यी कम्पनीले २०६१ मा नेपाल बंगलादेश बैंकबाट १५ करोड रुपैयाँ ऋण लिएका थिए । ऋणको ब्याजसहित बैंकलाई २२ करोड रुपैयाँ भुक्तानी गर्न बांकी छ भने अहिलेसम्म दुवै कम्पनी कागजमा मात्र सीमित छन्, सञ्चालनमा आएका छैनन् । ऋण भुक्तानी नभएपछि बैंकले तत्कालीन सञ्चालकहरुलाई कालोसूचीमा राखेपछि यो मुद्दा गुनासो सुनुवाइ समितिमा पुगेको थियो । गुनासोका आधारमा समितिले गरेको अध्ययनपछि कारबाही गर्ने सिफारिस गरिएको बताइएको छ ।
एनबी समूहले लगानी गरेको कम्पनीमा हरिसिद्धिका तर्फबाट कर्मचारीहरुलाई अस्पताल र कलेजको सञ्चालक बनाइएको थियो । कम्पनी चलाउन सञ्चालकहरुको नाममा बंगलादेश बैंकबाट ऋण लिइएकोे थियो । बैंकबाट लिएको ऋण कम्पनीको खातामा सारिएपछि तत्कालीन सञ्चालकहरुले चलाउन पाएका थिएनन् । गुनासो आएपछि श्रोत दुरुपयोग भए–नभएकोबारे राष्ट्र बैंकले डेढ महिनाअघि अध्ययन निरीक्षण गरेको थियो । लिएको सबै ऋण एनबी समूहमा पुगेको देखिएको स्रोतको कथन छ । पैसा एउटाले लिने र कारबाही अर्कोले भोग्ने देखिएपछि अनुसन्धान गरी वित्तीय अपराध ऐनअन्र्तगत कारबाही अगाडि बढाउन सिफारिस गरिएको हो । समितिले गरेको निर्णय कार्यावयन गर्न अर्थ मन्त्रालय हुंदै प्रहरीलाई निर्देशन दिइन्छ र प्रहरीमार्फत कारबाही अगाडि बढ्ने छ ।
बंगलादेश बैंकले ऋण नतिरेपछि कम्पनीका तत्कालीन सञ्चालकहरु मनोज अधिकारी, रवीन्द्रकुमार घिमिरे, प्रकाशमान श्रेष्ठ, विष्णुबहादुर श्रेष्ठ, सुवर्णदास तुलाधर र किशोरभक्त माथेमालाई कालोसूचीमा राखिसकेको छ । एनबी समूहका अध्यक्ष जीतबहादुर श्रेष्ठ हुन् भने सदस्यमा उनका सहोदर भाइ लक्ष्मीबहादुर श्रेष्ठ र जेन श्रेष्ठ छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ