नयां प्रधानमन्त्रीको खोजी : पालो कस्को ?

१३ भाद्र २०६९, बुधबार ०९:०० मा प्रकाशित


काठमाडौं, १३ भदौ । बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकारलाई अब धेरै लामो समय निरन्तरता दिन मुस्किल हुने भएपछि भट्टराईपछि प्रधानमन्त्री बन्न सक्ने व्यक्तिको खोजी सुरु भएको छ । काङ्गे्रस, एमाले र माओवादीबीच लामो अन्तरालपछि सहमतिको निम्ति यसै साताको सुरुदेखि संवाद प्रारम्भ भएको छ । अहिले नै कुनै सहमति बन्ने स्थिति नभए पनि गत आइतबार बसेको तीन दलको बैठकले सहमति गरेर अघि बढ्ने ‘चिरपरिचित’ सहमति गरेका छन् । प्रजातान्त्रिक शक्तिविरुद्ध जातिवादी र क्षेत्रवादीसंगको मोर्चाबन्दी गर्ने एमाओवादी नेतृत्वसमेत त्यसरी संवादमा आउनुलाई सकारात्मक मानिएको छ । प्रमुख राजनीतिक दलहरूमध्ये नेपाली काङ्गे्रसमा सुशील कोइराला,
रामचन्द्र पौडेल, शेरबहादुर देउवा र डा. रामशरण महतलाई सम्भाव्य प्रधानमन्त्रीका रूपमा लिन थालिएको छ भने कतिपय सन्दर्भमा डा. शेखर कोइराला र डा. सशाङ्क कोइरालाको नामसमेत सम्भाव्य प्रधानमन्त्रीका रूपमा लिने गरिएको छ । नेकपा एमालेमा झलनाथ खनाल र माधवकुमार नेपाल पालैपालो प्रधानमन्त्री बन्नुभएपछि अब केपी शर्मा ओली मात्र प्रधानमन्त्रीका बलवान उम्मेदवारका रूपमा अगाडि आउनुभएको छ । नेकपा माओवादीमा मोहन वैद्य किरण, रामबहादुर थापा बादल र सीपी गजुरेललाई सम्भाव्य प्रधानमन्त्रीका रूपमा हेरिएको भए पनि उक्त पार्टीले मौका पाउंदा रामबहादुर थापा बादललाई नै अघि सार्ने सम्भावना बढी छ । मधेसी मोर्चामा महन्थ ठाकुर सम्मानित नेता भए पनि सम्भाव्य प्रधानमन्त्रीका रूपमा लिने गरिएको छैन । बरु ठाकुरलाई राष्ट्रपति बनाउने झांसा दिंदै विजयकुमार गच्छदारले सम्भावित प्रधानमन्त्रीका रूपमा आफूलाई अगाडि ल्याउने प्रयास गरिरहनुभएको छ । उता एमाओवादीमा भने डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएर एक वर्ष पूरा गरिसक्दा पनि प्रचण्डले भट्टराईलाई स्वाभाविक र सहज रूपमा लिन सकिरहनुभएको छैन । अहिले प्रचण्ड आफैं प्रधानमन्त्री बन्ने तानाबाना बुन्दै हुनुहुन्छ । उहां भट्टराईलाई विस्थापित गरेर सहमतीय सरकार गठन गर्ने र त्यसको नेतृत्व आफैंले लिने कसरत गर्दै हुनुहुन्छ । सहमतीय सरकारको नेतृत्व नेता नारायणमान बिजुक्छेलाई दिइनु उपयुक्त हुने पनि कतिपयको धारणा छ । तर, बिजुक्छे राष्ट्रवादी चिन्तनधाराका व्यक्ति भएको र उहां प्रधानमन्त्री हुंदा माओवादी र अन्य कतिपय शक्तिलाई अप्ठ्यारो पर्न सक्ने भएकोले बिजुक्छेको नाममा दलहरूबीच सहमति बन्नसक्ने सम्भावना अहिलेसम्म देखिएको छैन ।
यसअघि ठूला राजनीतिक दलहरूबीच बाबुराम भट्टराईपछि नेपाली काङ्गे्रसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न अनौपचारिक तवरमा सहमति भएको थियो । तर, ‘रात रह्यो अग्राख पलायो’ भनेझैं समय घर्कंदै जांदा काङ्गे्रसलाई फेरि पनि सरकारको नेतृत्व गर्न नदिने परिस्थिति निर्माण गर्न केही व्यक्ति र शक्ति सक्रिय भएका छन् । एकथरी शक्ति र केही राजनीतिकर्मीहरू अहिले बाबुरामपछि कुनै गैरराजनीतिक व्यक्तिको नेतृत्वमा सरकार गठन गर्न भित्रभित्रै सक्रिय भएका छन् । कुनै पूर्वन्यायाीधश वा नागरिक समाजका कसैको नेतृत्वमा सरकार गठन गर्ने प्रयास उनीहरूबाट भइरहेको छ । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्याय, पूर्वन्यायाधीश कृष्णजंग रायमाझी, पूर्वसभामुख दमननाथ ढुंगाना, अर्थविद् एवम्् पूर्वमन्त्री देवेन्द्रराज पाण्डे, पूर्वनिर्वाचन आयुक्त प्रा.डा. वीरेन्द्रप्रसाद मिश्र, प्रा.डा केदारभक्त माथेमा र जातिवादी नेता पद्मरत्न तुलाधरमध्ये एकजनालाई प्रधानमन्त्री बनाउन सकिने उनीहरूको भनाइ छ । तर, सत्तालाई केन्द्रबिन्दुमा राखेर राजनीति गर्दै आएका राजनीतिक दलहरूले गैरराजनीतिक या हाल प्रत्यक्ष रूपले राजनीतिमा सक्रिय नरहेका व्यक्तिलाई प्रधानमन्त्री स्वीकार गर्नसक्ने सम्भावना ज्यादै कम मात्र छ । त्यसैले जे–जस्ता अभ्यास भइरहेका भए पनि दलहरू अन्ततः दलका नेताहरूमध्ये नै कोही एकलाई प्रधानमन्त्री चयन गर्न राजी हुनसक्ने सम्भावना बढी छ ।
को प्रधानमन्त्री बन्ने भन्ने कुरा बाबुराम भट्टराईको सत्ताबाट बहिर्गमन कुन रूपमा हुन्छ भन्ने कुराले निर्धारण गर्ने देखिन्छ । दलहरूबीच सहमति भएमा सुशील कोइराला, रामचन्द्र पौडेल, शेरबहादुर देउवा वा प्रचण्डमध्ये एकले प्रधानमन्त्री बन्ने अवसर पाउनसक्ने देखिएको छ भने एकले अर्कोलाई निषेध गर्दै नयां सहमति बनेको अवस्थामा पूर्वन्यायाधीश या अन्य कोही गैरराजनीतिक व्यक्तिको नेतृत्वमा सरकार बन्ने सम्भावना छ । यदि दलहरूबीच कुनै प्रकारको सहमति बन्न सकेन र राष्ट्रपति डा. रामवरण यादवले नै विशेष अग्रसरता लिनुप¥यो भने त्यस्तो अवस्थामा गैरमाओवादी कित्ताका कुनै पनि नेताले सरकारको नेतृत्व गर्न पाउने सम्भावना रहन्छ । सरकारको नेतृत्व राष्ट्रपति आफूले लिनुपर्छ भन्ने आवाज जोडदार रूपमा उठिरहेको भए पनि राष्ट्रपति यादव स्वयम् सरकारको नेतृत्व लिन अनिच्छुक हुनुहुन्छ । माओवादीसंग भिडेर अगाडि जानुपर्ने आवश्यकता राज्यले महसुस गरेमा नेकपा एमालेका नेता केपी ओली अगाडि आउनुहुने सम्भावना बढी देखिन्छ । माओवादीले सहज सत्ता परित्याग नगरी बलजफ्ती सत्तामा रहिरहन प्रयास गरेमा ओली या नारायणमानमध्ये एकले सरकारको नेतृत्व पाउने सम्भावना छ ।
प्रधानमन्त्री बाबुराम भट्टराई विभिन्न अध्यादेशहरू जारी गराई सरकारलाई निरन्तरता दिने प्रयासमा हुनुहुन्छ । उहां अहिलेसम्म पदत्याग गरेर सहमतीय सरकार गठन गर्न बाध्यात्मक स्थिति सिर्जना गर्ने पक्षमा देखिनुभएको छैन । डा. भट्टराईले जतिसुकै बल गरे पनि उहां नेतृत्वको सरकारले आगामी कात्तिक मसान्त पार गर्न सक्ने सम्भावना अत्यन्त न्यून छ । कात्तिक मसान्तमा बजेटको चारमहिने अवधि पूरा हुनेछ र पुनः बजेट अध्यादेश आउन दलहरूबीच सहमति बन्नुपर्ने हुन्छ । बाबुरामलाई प्रधानमन्त्रीमा यथावत् राखेर अघि बढ्ने सहमति दलहरूबीच हुन असम्भव छ । त्यसर्थमा वर्तमान सरकारको आयु बढीमा अढाई महिना मात्र छ भन्न सकिन्छ । कात्तिकपछि पनि आफैं पदमा रहिरहन खोजे बाबुराम भट्टराई बेइज्जतीपूर्वक सरकारबाट हट्नुपर्ने अवस्था आउन सक्छ । वर्तमान सरकार कामचलाउ भइसकेको हुनाले अब कुनै पनि दिन राष्ट्रपतिबाट संविधानको धारा ३८(१) अनुसार राष्ट्रिय सहमतिको सरकार निर्माणको निम्ति आह्वान हुन सक्नेछ । राष्ट्रपतिले दिएको समयसीमाभित्र दलहरूबीच सहमति बन्न सकेन भने राष्ट्रपतिकै विशेष अग्रसरतामा नयां सरकार गठनको पहल हुने निश्चित छ । त्यस्तो अवस्था आएमा को प्रधानमन्त्री बन्ने भन्ने कुरा तात्कालिक परिस्थितिले निर्धारण गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल