राष्ट्रपतिशासन लाग्नुपर्छ : मनीषा कोइराला

१३ भाद्र २०६९, बुधबार ०७:०१ मा प्रकाशित


बलिउड र कलिउड चलचित्र दुनियांकी ख्यातिप्राप्त नायिका मनीषा कोइराला जति चलचित्रको विषयबाट चर्चामा रहन्छिन् त्यत्तिकै नेपाली राजनीतिमा कोइराला परिवारको राजनीतिक उत्तराधिकारी र व्यक्तिगत जीवनमा आउने उतारचढावको कारण पनि चर्चामा रहने गर्छिन् । फिल्म करियरपछि राजनीतिमा आउने सम्भावनालाई जीवितै राखेकी मनीषा पछिल्लो समयमा काठमाडौंमा छिन् । प्र्रस्तुत छ, उनीसंग गरिएको कुराकानी :
० तपाईं अहिले केका लागि काठमाडौं आउनुभएको ?
– भाइ सिद्धार्थ र बुहारीले राजधानीमा सुशीला आमाको सम्झनामा स्थापना गरेको सुशीला आर्टस् एकेडेमीको उद्घाटन समारोहमा सहभागी हुन नेपाल आएकी हुं । सुशीलदा र राजेश हमालसहितका व्यक्तित्वहरूको उपस्थितिमा सो एकेडेमीको उद्घाटनसमेत भइसकेको छ ।
० नेपालको राजनीतिलाई कसरी हेर्नुभएको छ ?
– नेपालको राजनीति अझै पनि सङ्कटको भुमरीमै रुमल्लिरहेको छ । दलहरूबीच अझैसम्म पनि सहमति हुन सकेको छैन । नेपाल जसरी सहमति, सहकार्य र एकताको बाटोबाट अगाडि बढ्नुपर्ने हो त्यसरी अगाडि बढ्न सकेको छैन यसले मलाई चिन्तित बनाएको छ । सचेत नेपाली नागरिकको हिसाबमा मुलुकको राजनीतिप्रति चासो राख्नु स्वाभाविक नै हो ।
० तपाईं पनि राजनीतिमा आउने तयारीमा हुनुहुन्छ ?
– म अहिले नै राजनीतिमा आउंछु भनेर यकिनका साथ भन्न सक्दिनं । तर, मैले अहिले पनि कलिउड र बलिउडमा अभिनय र नेपालमा समाजसेवाको कार्य गरिरहेकी छु । तर, भविष्यमा म समाजसेवाकै बाटोबाट राजनीतिमा पनि आउन सक्छु, यसलाई नकार्न भने सक्दिनं । तर, अहिले नै यतिबेलाबाट म राजनीतिमा आउंछु भनेरचाहिं भन्न सक्ने अवस्थामा छैन । अहिले मैले बलिउड र कलिउडमा धेरै काम गर्न बांकी नै छ । म केही चलचित्रहरूमा काम गरिरहेकी छु । नेपाली सिनेमा उद्योगलाई पनि सहयोग गर्नुपर्नेछ । अझै केही समय म सिनेमा क्षेत्रमै रहन्छु, तर अन्तमा राजनीतिमा आउंदिनं नै भनेरचाहिं भन्न सक्दिनं ।
० कोइराला परिवारको उत्तराधिकारीको रूपमा राजनीतिमा तपाईं आउनुपर्छ भन्ने जनमत र दबाब त छ नि, होइन ?
– कोइराला परिवारको उत्तराधिकारी को बन्ने भन्ने कुरा अहिले गर्भमै छ । कोइराला परिवारमा उत्तराधिकारी बन्न योग्य एकसेएक व्यक्तित्व हुनुहुन्छ । राजनीतिमा उत्तराधिकारीको कुरा पनि हुंदैन । जो योग्य छ, दक्ष र अनुभवी छ, ऊ नै सफल हुन सक्छ । कोइराला परिवारको मान्छे भएको भरमा म उत्तराधिकारी बन्न चाहन्न । कोइराला परिवारको नेपाली राजनीतिमा ठूलो योगदान, त्याग र तपस्या छ, कृष्णप्रसाद कोइरालादेखि बीपी, मातृका, गिरिजाप्रसाद कोइराला र अहिले सुशीलदाले ठूलो योगदान दिनुभएको छ । नेपालमा प्रजातन्त्रका लागि तीन–तीनपटक क्रान्तिको नेतृत्व गरेको परिवार हो, कोइराला परिवार ।
० अहिले नेपालका नेताहरूमा सबैभन्दा मन पर्ने नेता को हो ?
– अहिले सबैलाई स्वीकार्य हुने नेताको रूपमा राष्ट्रपति डा. रामवरण यादवलाई मात्रै देखेको छु ।
० किन रामवरण यादव ?
– उहां एकदमै बौद्धिक, इमानदार हुनुहुन्छ । प्रजातन्त्रप्रति उहांको निष्ठा, त्याग र समर्पण छ । उहां अहिले मुलुकको अभिभावकको रूपमा पनि रहनुभएको छ । मुलुकको संरक्षकको रूपमा उहांको अहिलेसम्मको भूमिकाबाट म सन्तुष्ट छु ।
० नेपालमा राष्ट्रपतिशासन आउंछ भनेर सङ्केत गर्नुभएको हो ?
– मुलुकमा दलहरूले सहमति गरेर राजनीति मिलाउन सकेनन् भने अब एउटा मात्रै प्रयोग बांकी छ, राष्ट्रपतिशासनको रूपमा । प्रजातन्त्र, कम्युनिस्ट, निरङ्कुशता सबै शासन नेपाली जनताले हेरिसकेका छन्, अब राष्ट्रपति शासन मात्रै हेर्न बांकी छ । तर, नेपालमा राष्ट्रपति शासन पनि सफल हुन सकेन भने फेरि विकल्प के भन्ने गम्भीर प्रश्नचाहिं हामी सबैको सामु रूपमा रहेको छ ।
० नेपालमा राष्ट्रपतिशासन लागू हुने आधारहरू छन् ?
– राष्ट्रपतिशासन लगाउने वा नलगाउने त्यो राष्ट्रपतिको स्वविवेकको कुरा हो । यो मेरो चाहना हो कि नेपालमा अब राष्ट्रपतिशासनको प्रयोग गर्न बांकी छ । त्यो भएको म हेर्न चाहन्छु र नेपाली जनता पनि त्यो हेर्न चाहन्छन् भन्ने मेरो बुझाइ हो । त्यसका लागि एक्लै राष्ट्रपतिले पनि केही गर्न सक्नुहुन्न, त्यसका लागि दल र जनताको सहयोग चाहिन्छ । सबैको साथ रहे नेपालमा राष्ट्रपतिशासन सफल हुनसक्छ ।
० राष्ट्रपतिशासन कहिलेसम्म आउने अनुमान गर्नुभाको छ ?
– परिस्थिति यसरी नै अगाडि बढ्दै गयो र दलहरूले समस्याको समाधान गर्न सकेनन् भने मेरो विचारमा कुनै पनि बेला राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपतिशासन अगाडि बढाउनु हुनेछ ।
० त्यसो भए नेपालको सङ्क्रमण छिट्टै अन्त्य हुने देख्नुभएको छैन ?
– हुनुपर्छ । सबै राजनीतिक दलहरू मिलेर नेपाललाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्छ । सबै दृष्टिले राम्रो हाम्रो नेपाललाई अगाडि बढाउन सबैको सहयोग अपरिहार्य छ । सबै शक्ति मिलेर देशको मुहार फेर्नुपर्छ ।
० तपाईं र सम्राट दाहालको सम्बन्धविच्छेद भएकै हो ?
– व्यक्तिगत विषयमा म धेरै कुरा गर्न चाहन्न । मैले अहिले यो विषयमा मिडियासंग कुरा गरेकी पनि छैन ।
० तपाईं र सम्राट दाहालको सम्बन्ध राम्रो नभएर कुरा गर्न नचाहनुभएको हो ?
– अहिले कसको सम्बन्ध कोसंग कस्तो छ, धेरै नकोट्याउनुहोस् । म अहिले जे छु, सन्तुष्ट छु, खुसी छु, मैले जे गरेकी छु एकदमै राम्रो गरेकी छु ।
० तपाईं पारिवारिक जीवनबाट सन्तुष्ट हुनुहुन्छ ?
– एकदमै सन्तुष्ट छु । म असन्तुष्ट हुनुपर्ने र गुनासो गर्नुपर्ने कुनै कारण नै छैन ।
० पति सम्राटको विषयमा तपाईंको कुनै गुनासो नभएकै हो ?
– भए पनि नभए पनि म तपाईंसंग भन्न चाहन्न ।
० सम्राटजीसंग डिभोर्स त भयो नि ?
– मैले अहिलेसम्म डिभोर्स गरें वा गरिनं भनेर केही पनि भनेको छैन, त्यसलाई तपाईं आफ्नो ढङ्गले व्याख्या गर्नुस् । यो विषय नितान्त मेरो पारिवारिक कुरा हो, अहिले म परिवारसंगै छु । मेरोबारेमा पछिल्ला समयमा जति कुराहरू आएका छन् त्यसमा धेरैचाहिं प्रोपगाण्डा पनि छन् । कुरा नबुझी नै समाचारहरू बनेका छन् ।
० भारतीय सञ्चारमाध्यममा त डिभोर्सको धेरै कुरा आयो नि ?
– कहांबाट ल्याए, कसले कसरी लेखे त्यो आफ्नो ठाउंमा छ । तर, मेरो र सम्राटजीको सम्बन्ध कस्तो छ त्यो तपाईंहरूले निकट भविष्यमा आफैं थाहा पाउनुहुनेछ । त्यसबेला म आफंै तपाईंलाई बोलाएर अन्तर्वार्ता दिउंला ।
० तपाईं अब नेपाल बस्नेगरी आउनुभएको हो ?
– होइन, म नेपाल आइनै रहेकी छु । ६ महिना नेपालमा बस्छु, ६ महिना भारतमा बस्छु । चलचित्रका लागि भारतमा बसेर काम गर्छु । समाजसेवाका लागि नेपालमा आउंछु ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ, १९ बैशाख । विश्वमा कोरोना माहामारीका कारण नेपाल लकडाउन भएको १ महिना भन्दा बढी भइसक्यो । यो एक महिनाको

निरोज कुमार थापा, काठमाडौँ, १० असार । सबै मानिसहरु आफ्नो कर्ममा सफल हुन्छन् भन्ने छैन । तर निरन्तरको लगाव, कामप्रतिको

पर्यटन प्रवद्र्धनका लागि सन् २०१७ बाट हरेक वर्ष हिमालय ट्राभल मार्ट आयोजना हुँदै आएको छ । यसवर्ष पनि जुन ६

निरोज कुमार थापा, काठमाडौँ, ६ बैशाख ।  नेपालमा होमस्टेको इतिहाँस लामो छैन। यो अभियानले गति लिएको एक दशक पनि भएको