मेरो मनको देवकोटा

३ मंसिर २०७७, बुधबार १३:५५ मा प्रकाशित

सयपत्री र गोदावरीको मौसम त्यसै रमाइलो छ । घाँसिलो मैदानमा शीतको थोपा मोतीझैँ टल्किन्छ पहिलो किरणमा र नील गगनमा पङ्ख फिँजाएर रमेका छन् चरीहरू । फाँटहरूमा पहेँलपुर सुन फलेको छ । हरिया पहाडहरू मुस्कुराएका छन् । सुकिला हिमालका टाकुरामा हिउँ थपिन थालेको छ । यो चाडबाडको मौसम सबैका अनुहारमा खुसियाली छाएको छ ।

बत्तीको झिलिमिली र आँगनमा देउसी–भैलो छ । लक्ष्मीपूजा गरिसकेपछि विक्रम संवत् १९६६ कात्तिक २७ साँझ ९ः५४ बजे अमरराज्यलक्ष्मीदेवीको कोखबाट नेपाली साहित्यकाशमा एक चहकिलो नक्षत्रको उदय हुन्छ । लक्ष्मीको प्रसाद भनेर स्वागत गरे परिवारले ।
प्रतिभाका प्रसुन फक्रिन थाल्छन् शरदको आगमनसँगै । सिर्जनाका बहुरङ्गी फूलहरूले ढकमक्क यसै मौसम बाली थन्काउने बेला हो किसानको । समृद्धि र शुभलाभको याम । धन–कुवेरको भण्डारमा लक्ष्मी प्रवेश गर्दै गरेको साँझ नेपाली साहित्यको भण्डार भर्न सरस्वती पुत्र लक्ष्मीप्रसाद देवकोटाले धरतीमा पाइला टेके । प्रतिमाको कोसेली बोकेर सृष्टिको रचनाकारले पठाएको हुनुपर्छ सिर्जनाको फूलबारी सजाउन । नेपाली साहित्यको स्वर्णयुग सुरु हुन्छ उनको अगमनसँगै । युग अँध्यारो थियो । निरङ्कुशताको सिक्रीले बाँधिएका थिए नेपाली हातगोडाहरू । शिक्षाको उज्यालो प्रकाश छिर्न दिइएको थिएन देशभित्र । तिर्मिरताको प्रताडनाबाट पीडित थिए झोपडीहरू । चेतनाको दियो जल्न बाँकी थियो पाखापखेरातिर । अँध्यारो रातको चहकिलो नक्षत्र बनेर आएको थियो एउटा बालक । छोटो जीवनकालमा चेतनाको मसाल बाल्यो र इतिहास रचेर गयो । संयोग वा आकस्मिक नियमितता जे भए पनि मेरो विद्यालयका प्रधानाध्यापक २०१६ भदौको अन्तिम साता काठमाडौँ पुगेका थिए । देवकोटाको असामयिक निधनको खबरले उनी पनि दुःखी भएछन् । अन्तिम श्रद्धाञ्जली दिन आर्यघाट पुगेको कुरा फर्केर आएपछि हामी कक्षा ५ का विद्यार्थीलाई सविस्तार वर्णन गरे । १३ वर्षको मैले उतिबेलै देवकोटालाई मनमन्दिरमा सजाएको थिएँ । उतिबेलाको गुरुवचन मेरो मनमा गढ्यो । कहिले बिर्सन सकिनँ ।

मेरो मनको देवकोटा । मेरो आस्थाको धरोहर । मेरो मनमा गडेका देवकोटाप्रति मेरो उच्च सम्मान छ । त्यसो त नेपाली साहित्याकाशका सबै नक्षत्रहरूप्रति उत्तिकै सम्मान छ तर पनि किन–किन मेरो मनको सिंहासनमा सधैँ देवकोटा बसेको पाउँछु । मेरो गुरुले कलिलो दिमागमा देवकोटाको स्वच्छ छवि रोपिदिएर होला म देवकोटासित उति बेलादेखि नै परिचित छु ।

केही समयपछि विद्यालयको पुस्तकालयमा देवकोटाको जीवनी पुग्यो । पुस्तक मोटै थियो । लेखकको नाम भुलेँ । तर, त्यो पुस्तक गहिरो गरी पढेँ । पढ्दापढ्दै कति ठाउँमा भावुक बनेर रोइदिएको भुलेको छैन । एक दिन नेपाली पढाउने समयमा गुरुले लक्ष्मी निबन्धसङ्ग्रह बोकेर आउनुभयो । हाई ! हाई !! अङ्ग्रेजी भन्ने निबन्ध रोचक ढङ्गले वाचन गरेर सुनाउनुभयो । त्यस्तै, अरू एक÷दुई निबन्ध पनि वाचन भयो । मैले उतिबेलादेखि नै देवकोटा खोज्न थालेँ । देवकोटा पढ्न थालेँ । लक्ष्मी निबन्धसङ्ग्रहले गहिरो प्रभाव पा¥यो । मुनामदनले सानैमा धेरैपटक रुवायो । पछि देवकोटालाई आद्योपान्त पढेँ । केही सिक्न खोजँे अलिकति बुझेँ ।

सफल स्रष्टाले वर्तमानको मात्रै गीत गाउँदैन । भविष्यको बाटो देखाउँछ । देवकोटा स्वप्नदर्शी थिए । सपना देख्न सिकाए गुरु बनेर । बिन्दास बनेर झोक्राए सुदूरक्षितिजलाई नियाल्दै । विस्फारित नयन निकै परसम्म सोझिरहन्थ्यो । समयको विरुद्ध उभिएर विद्रोह गर्न सिकाए । कैयौँ बारबन्देज र सीमा भत्काइदिए परम्पराका । सिङ जुधाउन पछाडि परेनन् मै हँु भन्नेहरूसित ।
कल्पनाको उडानमात्रै होइन वस्तुगत धरातलमा उभिएका थिए देवकोटाका भावनाहरू । सुदूरभविष्यसम्म देख्न सक्थे उनले । श्रमको सम्मान गर्थे । विवेकका पारखी थिए । उडानको अन्तरआत्माबाट उनका भावना यसरी प्रस्फुटन भएका थिए ः
के हो ठूलो जगत्मा ? पसिना विवेक
उद्देश्य के ? लिनु उडी छुनू चन्द्र एक ।

उनी एक आरोही थिए र सधैँ उचाइ चुम्न चाहन्थे । सगरमाथाको चुचुरो चुमिसकेपछि पनि उनको मन साँखुम भएन । अनि मनको भाव यसरी पोखे :

पृथ्वीको यो विजय सकिँदा, एक सिँढी उचाली
आत्मालाई मनुजहरूको चन्द्र ताक्ने प्रणाली
होला अर्को सुरु जगत्मा काल कोल्टो लिएर
नेपालीकै विजयी भरमा विश्व उठ्ने छ हेर ।

उनको यो अग्रचेतना उनको मृत्युपश्चात् लगत्तै यथार्थमा अनुवाद भयो ।
देवकोटा पढ्दाको मजा अलग्गै हुन्छ । देवकोटाको साहित्यमा सत्य, न्याय र यथार्थ छ । समाजको यथार्थ चित्र कोर्न रसिक पारखी प्रतिभाले मात्रै सक्छ । यान्त्रिकता र औपचारिकता कतै भेटिएन देवकोटाको सिर्जनामा । रचना कालजयी छन् । वर्तमान बोल्छ । आँत उधिनेर उजागर गर्न सक्ने चातुरी प्रतिभा देवकोटामा भेटिन्छ । चम्पा उपन्यास पढिसकेपछि उन्ताका चम्पाले बेहोरेको बुहारीको बुहार्तन अहिले पनि मध्यम वर्गीय परिवारमा जीवितै देखेँ ।

देवकोटाको काव्यभित्र छिर्दा विषयवस्तु, मर्म, भाव, प्रस्तुति र शैलीले मलाई पगालिदिन्छ । शाकुन्तलभित्र छिरेपछि काव्यकलाको सरिताभित्र छालमा तैरिएको पत्तै हुँदैन । शब्द चयन र संयोजनको वैशिष्ठता अद्भुत लाग्छ । देवकोटाको लेखनी सलिल सरिताभित्र कञ्चन भाव तरङ्गिणी बनेर कल्पनाकाशमा पौडी खेलेकी हुन्छिन् । स्वस्थ कल्पनाका सर्जक हुन् देवकोटा । बेलगाम दौडिन्छ देवकोटाको लेखनी । तीन महिनामा शकुन्तला महाकाव्य लेखेँ भन्दा नाक खुम्चाउने कविहरूलाई दस दिनमै सुलोचना हातमा थमाएर आफ्नो पहिचान बनाएका थिए । ‘अस्वस्थ कल्पनाले मानिस पागल हुन्छ स्वस्थ कल्पनाले बन्छ कवि’ भन्न पछि पर्दैनन् । पागल कवितामा आफैँ पागल बनिदिन्छन् । पागल बन्न सोख छ स्वस्थ काल्पनिक संसारमा ।

विद्रोहको गीत गाए, सुतेको संसार व्युँझाउन । लोकलय र लोकभाकामा मुनामदन खण्डकाव्य रचेर सामाजिक परिवर्तनको विगुल फुके ।
क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छँुदैन
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।

भन्दै भेदभाव र उचानिचाको परम्परामाथि धावा बोले । भौतिक सम्पत्तिले मात्रै सुखी हुन सकिँदैन भन्ने सन्देश दिँदै ः
हातको मैला सुनको थैला के गर्नु ? धनले
साग र सिस्नु खाएको बेस आनन्दी मनले ।

यो जीवन दर्शन हो– देवकोटाको । चेतनाको लहर फैलाए सामाजिक परिवर्तनका लागि । युगको प्रतिनिधि कलमले विचार रोप्यो ढुङ्गाको अक्षरमा । चन्द्रागिरिको भञ्ज्याङमा उभिएर यात्री कविता को¥यो र सिर्जनाको नवीन वहार ल्याइदियो नेपाली साहित्यको इतिहासमा ।
आँसु, पसिना र अभावका निर्भmरिणी बनेर बगेका छन् देवकोटाका रचनाहरू र ढकमक्क फुलेका छन्– प्रतिभाका कुमिदिनीहरू । बादलमा बुट्टा भरेर सजाइदिन सिपालु थिए उनी । ल्हासाको सुन बेकार बनाइदिए मदनको । भौतिक सम्पत्तिले मात्रै सुखी हुन सकिँदैन भन्ने सन्देश दिँदै ः

हातको मैला सुनको थैला के गर्नु ? धनले
साग र सिस्नु खाएको बेस आनन्दी मनले ।
सुनको भोक थिएन । न त भोगको सोख नै । तर, नुनको सोझो गर्न चुकेनन् देशको । वीणाको भङ्कारमा लठ्याइदिए युगलाई । कलममा जादु थियो । जुनसुकै बेला बगिदिन्थ्यो बेरोकटोक । युगको प्रतिनिधि थिए । इतिहासका निर्माता थिए । विचारका वहाक र
स्वप्नद्रष्टा थिए ।

चन्द्र र मङ्गललाई भेट्न चाहे । नौलाखे तारा टिपेर पोल्टाभरि सजाउने रहर साँचे । चन्द्रमासित मितेरी गाँसेर बस्ती बसाउन आतुर छ कविमन । पूर्णेको साँझ बगैँचातिर शीतल तापेर पूर्वी क्षितिजमा नियाल्दा एकैचोटि हाँसिदिन्छन् चन्द्रमा र मङ्गल । अनि कविलाई ताजुब लाग्छ ः
चन्द्रमाले यो जाति
माथि डाक्छ ?
मङ्गलले के नवआवादी
यसको लाग्छ ?
बन्ला हृदय कि ? सीमा नाघ्छ ?
अहो ! मलाई ताजुुब लाग्छ

यो उद्गार एक सचेत स्वप्नद्रष्टाको हो । एक अग्रगामी चेतनाले मात्रै देख्न सक्छ अलिपरको कुरा । प्रकृतिको गीत गाउने धेरै थिए । सिर्जनाको खेलो गर्ने कम थिएनन् तर सीमा नाघेर अन्तरीक्षको उडान भर्ने उनीमात्रै थिए । अहिले विज्ञानले उत्खनन गर्न थालेको छ– मङ्गल र चन्द्रमाको । चौडा छाती बोकेर जन्मेछ तीर्थमाघव देवकोटा । लक्ष्मीको उज्यालो अनुहार कहिले देख्न पाएन विचराले ! लक्ष्मीप्रसाद भनेर उसको नामको अपमान भयो । सरस्वतीको वरदान थियो यथार्थमा । सधैँ सरस्वती नाचिन् उसको नजरमा । समयको वायुपङ्खी चढेर उडान भर्न उनले नै सिकाइन् । राष्ट्रका लागि न्यौछावर गरिदियो आफ्नो प्रतिभा र ऊर्जाशील क्षमतालई । पाँच दशक बितेको पत्तै भएन ।

पौरखी प्रतिभाले आफ्ना लागि केही साँचेन, केही राखेन । सडकमा पोखियो र आफूभित्रको सबै खन्याइदियो नेपाली साहित्यको झोलीमा । हात थाप्नेलाई नाइँ भनेन साँहिला बाजेले । सधैँ खोजी हुन्थ्यो कलम र कापीको । धनदौलत, ऐश–आरामको खोजी गर्ने फुर्सद भएन । उदात्त उँचो विचार हुनेहरूको मन रित्तो हुँदैन विचार र विवेकको धनी थियो तीर्थे । त्यसैले भन्छ ः
गरिब भन्छ सुखको मनझैँ धनी
मिल्दैन संसारभरि कतै पनि
विलाशको लालस दास छैन म
मीठो छ मेरो रसिलो परिश्रम

श्रमको संसारमा रम्नेलाई धनको लालच हुँदैन । तीर्थे कहिले दुःखी भएन । कसैसित गुनासो गरेन । साहित्य साधनाको आफ्नै संसार बनायो । आफ्नै संसारमा रमायो ।

पागलहरूको बस्ती बसाउन खोज्यो एउटा पागलले । पागल उत्पादन गर्ने कारखाना खोल्यो कीर्तिपुरको डाँडोमा । लाखौँ पागल उत्पादन भैसके त्यहाँबाट । कति नक्कली पागलहरू विदेशतिर पलायन भए । सक्कली पागलको खोजीमा टोलाइरहेछ उदासिन अनुहार लगाएर ।
देवकोटाको गणित आफ्नै छ । हिसाब–किताब आफ्नै छ । उसको गणितमा एकबाट एक घटाउँदा एकै बाँकी रहन्छ । न्युटनको फूलबारीमा स्याउ तल झर्छ । देवकोटाको बगैँचामा पाकेको अम्बा अन्तरीक्षतिर जान थालेको छ माथितिर । अरूको पकेट छाम्ने सद्दे मान्छेको गणित देखेर लजाउँदै छ– देवकोटा । इतिहासको यो विडम्बना देखेर लाज मर्नुभएकोे छ । सद्दे मान्छे गन्हाउन थालेको छ । त्यसैले मलाई पनि पागल हुने रहर जागेको छ– आजभोलि ।

मलाई पनि देवकोटा जस्तै सच्चा पागल बन्न मन लागेको छ सद्देहरूको माझमा । मलाई पनि बहुलठ्ठी र गधा हुन मन छ । गधाले अरूलाई दुःख दिन जानेन । सबै सहिदिन्छ चुपचाप । भोकै तिर्खै हिँड्यो कति दिन । गुनासो गरेन कतै पनि । अरूको बारीमा पसेर पेट भरेन । पसिना बगाउँछ । गधाको पसिना पिएर मोटाएका छन् मालिकहरू । गधाको पनि मन छ, मुटु छ । कोर्राको चोटले उसलाई पनि दुख्छ । गधा लालची छैन । चौरमा आफ्नै मुख चरेर बाँचेको छ । त्यसैले मलाई गधालाई ढोगिदिन मन छ ।
ऊ भाग्यमानी, हामी अभागी ­। ऊ पागल, हामी सद्दे । अल्पायुमै शिखर चुमेर ढल्यो । हामी बाँचेर पनि आधारशिविर देख्न सकेको छैनौँ ।

इतिहास रचेर छोड्यो उसले । युगको प्रतिनिधि बनेर आफ्नो सालिक आफैँ ठडायो । एक स्वतन्त्र सेनानी बनेर उभियो युगको सारथि बनेर । मसाल बोकेको एउटा सर्जक एउटा साधकी सिर्जनाको उपहार टक्र्याउँदै गयो । स्रष्टाको संसारमा जूनकीरीको पिलपिल पछ्यायो उज्यालोको खोजीमा । चेतनाको चारै ढोका खोल्यो र आखिर चन्द्रमालाई छोइछाड्यो । चन्द्रमाको उडान भरे पनि माटो बिर्सेन कहिल्यै पनि । गुन बिर्सेन मातृभूमिको ।
कसले सुन्छ ? कसले सुन्छ
मातृभूमिको माटो रुन्छ ।
……………………….
कविको भाखा !
एउटा भीम कुहुन्छ !
मतृभूमिको माटो रुन्छ ।
भन्ने चेतावनी दिएर ढल्यो । चितामा चढिसकेपछि पनि अनुभव पस्कँदै ः
रहेछ संसार निशा समान
आउन ज्यँुदै रहदानी ज्ञान
……………………………..
जन्मे म यो स्वर्ग विषे पलाएँ
आखिर भै खाक त्यसै बिलाएँ ।
भन्ने अन्तिम सन्देश दिएर छाड्यो । कालजयी एउटा पागल महाकवि बनेर सधैँका लागि बिदा भयो । तर, नेपाली साहित्याकाशमा सधैँका लागि ध्रुवतारा बन्यो ।
मेरो मनको देवकोटा । मेरो आस्थाको धरोहर । मन–मन्दिरमा सजाइराखेको छु मेरो प्रण, मेरो प्रेरणा । आज लक्ष्मीपूजाको झिलिमिली साँझ श्रद्धाञ्जलीको एक थुङ्गा सयपत्री ।
(लेखक साहित्यकार हुनुहुन्छ ।)

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका