‘परिस्थिति काबुबाहिर जाने त्रासले सहमति’

११ भाद्र २०६९, सोमबार ०६:४६ मा प्रकाशित

काठमाडौं, ११ भदौ । संविधानसभाको अवसानसंगै अन्योलमा फस्न पुगेको राजनीतिको निकास निकाल्ने गरी आपसी छलफललाई सोमबारदेखि तिब्रता दिन सत्तारुढ र विपक्षी दलका नेताबीच सहमति भएको छ । केही दिनयता सार्वजनिक मञ्चहरुबाट एकअर्कालाई राजनीतिक सहमतिको बाधकका रुपमा चित्रित गर्दैआएका उनीहरु केही साताको अन्तरालपछि आइतबार सांझ वार्ताको एउटै टेबलमा बसेका थिए । राजनीतिक परिस्थिति आफूहरुको हातबाट बाहिर जान थालेको आभास गरेर गम्भीर पहल लिन सहमति गरेको सहभागी नेताहरुको भनाई छ ।
आजको बैठकका सहभागी विपक्षी दल कांग्रेसका नेता मिनेन्द्र रिजालले दुबै पक्षले परिस्थिति काबुबाहिर जान लागेको महसुस गरेको बताए । यतिका दिन बैठक नबसेको परिवेशमा बैठक हुनु मात्र पनि सकारात्मक कुरा बनेको उल्लेख गर्दै रिजालले परिस्थिति आफ्नो वशमा राखिराख्न पनि सोमबारदेखि छलफल र संवादलाई सुचारु बनाउदै अघि बढ्ने सहमति भएको बताए ।
यसैगरी सत्तारुढ दल एनेकपा माओवादीले पनि आइतबारको बैठकलाई सकारात्मक रुपमा लिएको छ । उक्त दलका उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले दलहरुबीच बढ्दै गएको आरोप–प्रत्यारोपको श्रृंखलालाई नियन्त्रण गर्ने र तत्काल छलफलको क्रमलाई सुचारु तुल्याउने सहमति भएको जानकारी दिए । सहमतिको विकल्प छैन भन्नेमा सबै सहमत बन्नु सकारात्मक भएको उनको भनाई छ ।
नेताहरुको यस कथनले दलहरुबीच अविश्वास कति गहिरिएको रहेछ भन्ने प्रस्ट्याउंछ । आइतबारको बैठकमा यो कुरा प्रष्टै देखिएको थियो । आफूहरुले सत्ता पक्षतर्फ अविश्वासको औंला उठाएको स्वीकार गर्दै एमालेका नेता भीम रावलले विगतमा राजनीतिक दलहरुबीच एकदमै सुमधुर सम्बन्ध विकास भएको थियो तर त्यस कालखण्डमा भएका सहमतिहरु कार्यान्वयनमा नआउनु दुर्भाग्यपूर्ण रहेको बताए । सत्तामा रहेका दलहरुले गठबन्धन बनाएर अरु दललाई विस्थापित गर्न खोजिएकोमा गुनासो व्यक्त गर्दै उनले ‘कांग्रेस–एमाले संघीयताविरोधि हुन्, यिनीहरुको भण्डाफोर गर्नुपर्छ’ भन्दै एमाओवादीका शीर्ष नेताहरुले ठूलो स्वर गर्नुको मतलब के हो भन्ने प्रश्न उठाए । सोमबारदेखि नै सेना समायोजनको विषयलाई गति प्रदान गर्न विशेष समितिको बैठकहरु सुचारु गरिने सहमति भएको खुलासा पनि उनले गरे ।
यसरी, दलहरु सहमतिमा पुगेका भए पनि सहमतिमा पुग्ने तर फेरि विवादमा उत्रने श्रृंखला चलिरहेको सन्दर्भबीच पछिल्लो सहमतिलाई पनि आशंकाको दृष्टिले हेर्न भने छोडिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका