“मैले नपाएको एउटा सान्निध्य” – पञ्च विस्मृत

२ चैत्र २०६८, बिहीबार ११:४७ मा प्रकाशित

यी चार हरफ शब्द वा दुई तीन पेज भावनाको आदान प्रदानले पनि अस्वभाविक फरक पार्दो रहेछ जीवनमा । जो कोरिन्छन्, साटिन्छन्, पढिन्छन् र अनुभव गरिन्छन् । मनको चञ्चलता जस्तो, अनावश्यक पोखिन खोज्ने मनको उकुसमुकुस जस्तो । सस्तो बहकाव जस्तो पनि । त्यसै खोजिने सान्निध्य । यतिखेर ओंठसम्म पुग्न खोजिरहेछ नाम शोभाको ।

उनी जो साहित्यक स्रष्टा थिइनन्, साहित्यानुरागी थिइन् । कसो कसो साहित्यलार्इ प्रेम गर्ने । अनि साहित्यसँगै जिन्दगीका लेकबेंसी गर्न चाहने । यतिखेर दुई पत्र मेरोसामु छन्— यहीं कुराको साक्षी बक्न ।

उनी जो थिइन् मेरो मन, हृदयमा थिइन् । त्यो सस्तो प्रेम थिएन । प्रेमको छायाँसम्म थिएन तर प्रेम थियो । त्यो प्रेम त्यस्तो पनि थिएन जो अँगालोमा साटिन्छ, चुम्बनमा साटिन्छ र काखभरी घोप्ट्याइन्छ । थियो त वासनाहीन प्रेम, अलौकिक प्रेम जुन कुराको आभास म स्वयम्लार्इ यति नै खेर मात्र भइरहेछ ।

साहित्यले मलार्इ धेरै कुरा दिएको छ । धनसम्पतिले दिन नसक्ने । माया, प्रेम, स्नेह, सद्भाव, आदर— यी कुराहरू धनसम्पतिमा जोखिने वस्तु पनि हैनन् ।

मायाकै प्रतिफल थिए— ती कैयन पत्रहरू जो मेरो नाममा कोरिएका थिए, मेरालागि कोरिएका थिए । त्यतिखेर म मेरो लेखनयात्राको पूर्वार्द्धमा थिएँ । ‘विस्मृत’ भइसकेको थिइन । रेडियो नेपाल क्षेत्रिय प्रशारण केन्द्र धनकुटाको तरङ्गमा म कहिले कविता तरङ्गित हुन्थें, कहिले लघुकथा त कहिले गीतिकथा । तिनैले तानेर ल्याएका थिए मसम्म ती पत्र । ती भावना । ती माया । प्रेम ।

“पञ्च जी,
मेरो अभिवादनलार्इ स्वीकारीदिनु ल !

“मित्र तपाईका लेखरचनाहरू थुप्रै पढ्ने मौका पाएँ । ब्लाष्ट तथा मोफसल आदिमा । सुन्दर लागे । मैले तपाईसँग मित्रता गाँस्न खोज्दा भूल त भएन ? तपाईको साहित्यिक जीवनलार्इ कतै असर त गरेन ? मानिस आफैंमा पूर्ण त कहाँ रहेछ र ? मित्रता पनि त आवश्यक छ हैन र ? तर जे होस्, एकपल्ट चाहीं इच्छा भएर वा नभएर पनि पत्र कोर्नु ल !”

मान्छेहरूले विस्मृत भन्न थालेका थिए मलाइ । यो पत्र आएको थियो सोही नाममा । कैयन पत्रहरूको समूहमा मिसिएको यो पत्र त्यत्ति नै खेर महत्त्वले उच्च त थिएन, यद्यपि अन्य सरह स्थान दिएर फाइलमा चेपें । र जहाँ पुगें साथमै राखें । पछि ‘म मेरो सपना र घण्टाघर’ मा पाठक प्रतिकृयाको रूपमा राखें जुन मेरो कम्प्युटर गरिसकिएको प्रकाशोन्मुख कविता कृति हो । साहित्य पढिन्छ, बोध गरिन्छ र सोको बारेमा बोलिन्छ, लेखिन्छ भने ती बोलाइ तथा लेखाइ एक लेखकका ‘कम्प्लिमेनट’ हुन् भन्ने ममा बोध भयो । सो पत्र महत्त्वको अग्रपङ्तीमा राखिसकेको रहेछु त्यतिञ्जेल । यतिसम्म कि लामो समयपश्चात भए पनि सो पत्रको जवाफ समेत लेखें । पाथीभरा भनेपछि त्यहाँ मेरा एकजना मित्र पढाउँथे । कवि खेमराज शर्माका छोरा । सोही नाम उद्धृत गर्दै म इटहरीमा केही समय बसेको कुरा उललेख गरें । वास्तवमै मेरा मित्र उनकै एक ‘टिचर’ रहेछन् ।
फेरि अर्को पत्र यस्तो थियो—
“मित्र …
पत्रमार्फत नमस्कार ! चाँडै आउँने नयाँवर्षको शुभकामना पनि ।

“विशेष खबर त के नै छ र ! मित्रताको भिक्षा माँगेको थिएँ । मेरो
पत्रलाई स्वीकार गरेर जवाफ पठाउँनु भएकोमा धेरै खुशी लाग्यो । अब हाम्रो मित्रता अझैं गाढा बन्दै जावस् ।
“मित्र, तपाई ‘टिचिङ् प्राक्टिश’ को शिलशिलामा हाम्रै गाउँको स्कूलमा आउँनु भएको रहेछ । ‘खजुम सर’ भनिएको तपाई नै हुनुहुन्थ्यो सायद । मित्र, तपाईले आफूलार्इ साहित्याकाशमा उदाएको सौन्दर्यहीन तारा भन्नुभएको रहेछ । तर तपाई यति राम्रो साहित्य सिर्जना गर्नुहुन्छ, एकदिन सौन्दर्यरूपी तारा बन्नुहुनेछ । समयको प्रतिक्षा गर्नोस् । एकदिन त्यत्र समय अवश्य आउँनेछ । मलार्इ साहित्य असाध्यै मनपर्छ तर लेख्नमा भने त्यति सिपालु छैन । मान्छेले चाहेको सबै कुरा कहाँ पुग्दोरहेछ र !

“अन्तमा मित्र, तपाईको सबै कुरा बुझें । तर, तपाईको मित्रताको साइनो भन्दामाथि उठ्नुपर्नेछ भन्नुको अर्थ के होला ? कृपया झर्को नमानी लेखिपठाउँनु ल । आजलाई यति नै … ।

उही तपाईको साहित्यिक सफलताको कामना गर्ने मित्र
शोभा, इटहरी सुनसरी ।”

यो पत्र भने मैले कारणवस् वर्षौंपछिमात्र प्राप्त गरेको थिएँ । स्वभावतः यहीं नै उनको अन्तिम पत्र थियो जसको जवाफ मैले कहिल्यै दिइन । महत्त्वकासाथ पढें उनको पत्र । एक अपरिचित व्यक्ति त्यसरी एक भावनात्मक मित्रको खोजमा म सम्म आइपुग्दा आफूलाई लघुताभाषको गल्लीबाट उठाएर एकाएक उभ्याएको महसूस गरें ।

जिन्दगीले फड्को मारे जस्तो भयो । खोज्दै आएँ वर्षौंदेखि छाडेको इटहरीलार्इ । एक अङ्ग्रेजी बोर्डिङ् स्कूलमा पढाउँन थालें ।
सँगै उही मित्र अर्थात शोभालार्इ खोज्न थालें, कसो कसो उनकै आँगनीमा त्यसरी । औंला भाँचेर हेर्दा पत्र आदान प्रदान गरेको समय झण्डै पाँच वर्ष पछाडि छाडिएको रहेछ । कल्पना गरें— त्यतिखेर कक्षा नौं मा पढ्दै गरेकी शोभा यतिबेला डिपलोमातिर पढ्दैगरेको हुनुपर्छ । कलिला औंला चलाएर परिपक्व अभिव्यक्तिमा पोखिने उनी अब त पूर्णरूपले परिपक्व भएको हुनुपर्छ । प्रत्यक्ष रूपमा कहिल्यै नभेटेको उनी वा मैजस्तो समयको मारमा परेर बोर्डिङ्को मलजलमा पो हुर्किंदैछिन् कि ? यस्ता अनेक कल्पना गर्दै लेखें—

“शोभा जी,
तपाई कहाँ हुनुहुन्छ अहिले ? अझसम्म चिन्नुहुन्छ भने मलार्इ कृपया … नम्बरमा सम्पर्क गर्नुहोला … ।
पञ्च विस्मृत ”

खाममा राखें त्यसलार्इ तर धेरै दिन ब्यागमा थन्क्याएँ । पोष्ट गर्ने समय नै कहिल्यै मिलेन । एकदिन मेरा एक समकक्षीलार्इ भनें मेरा मित्र फलानोले पढाएको विद्यार्थीसाग भेट्न मन लागिरहेछ । यसरी आफ्नो अन्तरइच्छा प्रथमपल्ट उनीसमक्ष पोखेंको थिएँ । पछि आफूले नै पढाएको बोर्डिङ्की एक शिक्षिकासमक्ष दोस्रो पल्ट पोखें आफ्नो अन्तरइच्छा । उनले अत्यन्तै सहजरूपमा भनिन्— “ए उ ? चिन्छु । करिब दुई तीन साल अघि एसएलसी पास गरेकी हुन् । उनी त क्यान्सर भएर बितिन् … ।”

हठात् भित्र कतै पीडाको गहिरो अनुभूतिभयो र त्यो तरल बन्यो, एकाएक बग्न खोज्ने । जबर्जस्ती दबाएर केहीबेर कुशलताको अभिनय गरें ।
यतिखेर यी हरफहरू कोरिरहँदा भनें— मेरोसामु उनीद्वारा प्रेषित दुई पत्र छन् । बाँकी केही छैन, शून्यता बाहेक । मैले पाउँन चाहेको सान्निध्य चाहनामै सीमित बन्यो । ढिलै भएपनि उनमा हार्दिक श्रद्धाञ्जली !

प्रतिक्रिया
सम्बन्धित खवर

उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान

विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१

चितवन । चितवनकाे भरतपुर महानगर पालिका ५ कैलाश नगरमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ट्याक्टर चालककोमृत्यु भएको छ । आज