यू–१९ विश्वकप क्रिकेट : नेपालको सर्मनाक पराजयका लागि दोषी को ?

५ भाद्र २०६९, मंगलवार २२:५० मा प्रकाशित

श्रीविक्रम भण्डारी /काठमाडौं, ६ भदौ । विगतको इतिहास पल्टाउंदा उमेर समूहमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको प्रस्ट रूपमा देखिन्छ । यही प्रदर्शनकै कारण अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल उदीयमान राष्ट्रको रूपमा झुल्किएको थियो । छोटो समयमा गरेको उत्कृष्ट प्रदर्शनले दक्षिण एसियाली राष्ट्रमा बंगलादेशपछि नेपालको नाम अग्रपङ्क्तिमा आउंथ्यो । तसर्थ क्रिकेटका पण्डितहरू भन्ने गर्थे, ‘नेपालले छिट्टै अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेल्ने मान्यता पाउनेछ ।’ त्यो समयमा नेपालले अन्तर्राष्ट्रियस्तरमा गरेको प्रदर्शनलाई आधार मानेर भन्ने हो भने उक्त कथन स्वाभाविकै पनि थियो । त्यसबेला नेपालले क्रिकेटमा भर्खरै उदाउंदै गरेका राष्ट्रलाई मात्र नभई टेस्ट खेल्ने राष्ट्रलाई समेत पराजित गरेर सनसनी फैलाएको थियो । नेपालको यो सफलताले राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत चर्चा कमाएको थियो । जुन नेपाली क्रिकेटका लागि सकारात्मक पाटो बनेको थियो ।
तर, अहिले समयले कोल्टे फेरेकोे छ । वर्तमान अवस्थामा राष्ट्रिय क्रिकेट टिमले कुनै कमाल देखाउन सकेको छैन भने उमेर समूहमा पनि नेपालको प्रदर्शन निराशाजनक बन्दै गएको छ । आशा होइन, विश्वास गरेको उमेर समूहमा पनि नेपालले लज्जाजनक प्रदर्शन गरेपछि अहिले नेपाली क्रिकेटको भविष्यमा समेत प्रश्नचिह्न लागेको छ । उमेर समूहलाई हतियार बनाएर अन्तर्राष्ट्रिय क्रिकेटको सिंढी चढ्दै आएको नेपालले अब के नाकले उमेर समूहमा दाबी प्रस्तुत गर्ला, त्यो सोचनीय बनेको छ । विगतमा नेपालले उमेर समूहमा गरेको प्रदर्शन र पाएको सफलतालाई विश्लेषण गर्दा सत्यताको सतहमा पुग्नु अति आवश्यक हुन्छ । यहां सत्य तीतो हुने भए पनि वास्तविकतालाई भने कदापि बिर्सन सकिंदैन । अन्डर–१९ मा अन्डर–२५ का खेलाडीले खेल्नु नै नेपालको सफलताको राज थियो । अन्डर–१९ खेल्ने बेला नै २० वर्ष उमेर नाघिसकेका खेलाडीले त्यसपछि चार, पांचपटक अन्डर–१९ समूहबाट क्रिकेट खेलेर नेपाललाई सफलता दिलाएका थिए । यसको उदाहरणका लागि सबैभन्दा बढी अन्डर– १९ का कप्तान बनेका विनोद दासलाई लिन सकिन्छ । स्मरणीय छ, दास अन्डर–१९ का चार–पांच संस्करण खेलेपछि मात्र उनको उमेर यसका लागि अयोग्य भएको थियो ।
एसीसी यू– १९ इलिट कप र विश्व यू–१९ छनोट चरणका दुवै प्रतियोगितामा उपविजेता बनेर नेपालले आईसीसी यू–१९ विश्वकपमा आफ्नो स्थान सुरक्षित पारेको थियो । छनोट चरणमा गरेको उत्कृष्ट प्रदर्शन र विगतमा यू–१९ विश्वकपमा प्रभावशाली प्रदर्शन गरेकै कारणले यसपटक पनि त्यस्तै प्रदर्शनको विश्वास गरिएको थियो । तर, विडम्बना, यसपटक नेपाल पूर्णरूपमा असफल भएको छ । अस्ट्रेलियामा सञ्चालन भइरहेको विश्वकप क्रिकेटमा नेपालले फितलो, निराशाजनक प्रदर्शन मात्रै नभई सर्मनाक पराजय भोगेको छ । लिग चरणका तीनवटै खेलमा नेपाल नराम्रोसंग पछारिन पुगेको छ । नेपाल आयोजक अस्ट्रेलियासंग दुई सय १२, इंग्ल्यान्डसंग एक सय २७ र आयरल्यान्डसंग १४ रनले पराजित भएको थियो । लगातार तीन खेलमा सर्मनाक पराजय भोगेपछि क्रिकेटमा नेपालको छवि नराम्रोसंग धुमलिन पुगेको छ ।
जसले गर्दा आगामी विश्वकपमा छनोट हुने नेपालको विश्वासमा समेत तुषारापात भएको छ । समूह चरणका खेलमा नेपालले अस्ट्रेलियालाई कडा चुनौती दिने, आयरल्यान्ड र इंग्ल्यान्डमाथि विजय हासिल गर्ने अनुमान गरिएको थियो तर अहिले यो दिवास्वप्नमा परिणत भएको छ । नेपाल आयरल्यान्डबाहेक अस्ट्रेलिया र इंग्ल्यान्डका सामु मुसो सावित भएको छ । यसरी उमेर समूहमा पनि नेपालको चुनौती र दाबी भविष्यका लागि चिन्ताको विषय बनेको छ ।
अहिले उमेर समूहमा नेपालको दयनीय प्रदर्शनले नेपाली क्रिकेट कतातिर मोडिरहेको छ सोझै अनुमान लगाउन सकिन्छ । शिखर चुम्ने बेलामा अधोगतितर्फ उन्मुख हुनुले कस्तो खाले सन्देश दिन खोजेको हो त्यो सोचनीय बनेको छ । राष्ट्रिय टिमका कप्तान पारस खड्काका शब्दलाई नै सापटी लिने हो भने पनि नेपाली क्रिकेटले सोचेअनुरूप फड्को मार्न सकेको छैन । क्रिकेटको विकास र विस्तारका लागि सरकार र सम्बन्धित निकाय नेपाल क्रिकेट सङ्घले आधारभूत आवश्यकतासमेत पूर्ति गर्न सकेको छैन । जबसम्म सरकारले क्रिकेटको विकासका लागि लगानी गर्दैन र अन्तर्राष्ट्रियस्तरका भौतिक पूर्वाधारहरूको निर्माण हुंदैन तबसम्म नेपाली क्रिकेटको स्तरमा सुधार नआउने कप्तान खड्का दाबी छ । सीमित साधनस्रोतका बाबजुद पनि नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको दाबी गर्दै खेलाडीले नियमित प्रशिक्षण र त्यीह किसिमको सुविधा पाए योभन्दा निकै राम्रो प्रदर्शन गर्ने बताएका छन् । पहिले र अहिलेको क्रिकेटको तुलना गर्न नमिल्ने र अहिलेको क्रिकेट निकै प्रतिस्पर्धात्मक भएकोले नेपालको तयारी पनि सोहीबमोजिम हुनुपर्ने कुरा जोड दिएका थिए ।
यू– १९ विश्वकपमा लगातारकोे पराजयपश्चात् नेपाल प्लेट च्याम्पियनसिपमा धकेलिएको छ । अब नेपालले आफ्नो समूहमा असफल भएका आठवटा टिमसंग प्रतिस्पर्धा गर्नेछ । कुनैबेला उत्कृष्ट प्रदर्शन गरेर प्लेट च्याम्पियनसिपको उपाधि जितिसकेको नेपालले यो प्रतियोगितामा कस्तो प्रदर्शन गर्छ त्यो हेर्न लायक भएको छ । वर्तमान अवस्थामा नेपालको प्रदर्शनको चर्चा गर्दा कान खुम्च्याउने अवस्थामा छ । नेपाल ब्याटिङ, बलिङ र फिल्डिङमा निकै कमजोर सावित भएको छ । अझ कप्तान पृथु बास्कोटाले शून्यलाई पछ्याउन नछोडनु दुर्भाग्य बनेको छ । पृथु पछिल्ला चार खेलमा शून्यमा आउट भएर नेपाली टिमका लागि बोझ सावित भएका छन् । पृथुको आउट अफ फर्मको सोझो प्रभाव नेपाली टिममा पनि परेको छ । ओपनिङ ब्याट्सम्यानद्वय सागर पुन र नरेश बुढाऐर चल्न नसक्नुले पनि नेपालको पारी सस्तोमा नै सिमटिने गरेको छ । अस्टे«लियासंगको आफ्नो पहिलो खेलमा रन बटुल्न नसकेका सागर र नरेश इंग्ल्यान्डसंगको खेलमा शून्यमा आउट भएर नेपाली टोलीका लागि टाउकोदुखाइ बनेका छन् । यस्तो अवस्थामा प्लेट च्याम्पियनका खेल पनि नेपालका लागि सुखद रहलान् भन्न सकिंदैन ।
वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको प्रदर्शन र मापडण्डलाई आत्मसात् गर्ने हो भने दुवैमा नेपाल ‘फेलियर’ सावित भएको छ । पहिलो कुरा नेपालले नामअनुसारको प्रदर्शन गर्न सकेको छैन भने दोस्रो नेपालको स्तरियता नेपाल सुहाउंदो मात्रै छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न सुहाउने नेपालसंग साधन र स्रोत नै छैन । यस्तो अवस्थामा नेपालले हाल अस्ट्रेलियामा सञ्चालन भइरहेको यू–१९ विश्वकपमा गरेको प्रदर्शनलाई त्यति खराब मान्न सकिंदैन । यसर्थमा कि कोदो रोपेपछि कोदो नै फल्छ । त्यहां धानको आशा गर्नु मूर्खताबाहेक केही हुंदैन । कोदोकोे फसल गर्ने क्यानले काट्ने बेलामा धान भित्रयाउन खोज्ने रणनीतिको परिणाम हो यो । यस्तो परिणाम आउनुमा खेलाडीहरूभन्दा क्यानका पदाधिकारी दोषी छन् । अझ क्रिकेटमा माओवादीको प्रवेशपछि चलेको राजनीति खेलले क्रिकेट संरचनालाई समेत ध्वस्त भएको छ । चाकरी, चाप्लुसी, गुण्डा र कमान्डरहरूले क्रिकेट चलाउन थालेपछि यो दुर्दशा हुनु स्वाभाविकै हो । हेर्दै जाऊं, यो त सुरुवात मात्रै हो, भोलि नेपाल भुटानसंग पराजित भयो भने पनि कुनै आश्चर्य मान्नुपर्ने छैन । त्यसैले यहां रामराम भन्नु नै उचित होला ।

प्रतिक्रिया
सम्बन्धित खवर

इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत आजको दोस्रो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले पञ्जाब किङ्सलाई ६

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत मुम्बइ इन्डियन्स विजयी भएको छ । शनिबार राति सम्पन्न खेलमा मुम्बइले

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । प्रतियोगितामा पहिलो जित हासिल