उमा थापाको २०७ औ भानुजयन्ती विशेष कविता : पुनर्जन्म हुन्छ भने!

अब त तिम्रो त्यो प्रिय सन्तान 'बधुशिक्षा' पनि यो शताब्दीसम्म आइपुग्दा कताकता वयोवृद्ध भएझैँ लाग्छ, अलि अपूर्ण अनि पक्षपाती भएझैँ लाग्छ।
३० असार २०७७, मंगलवार ०१:३२ मा प्रकाशित

प्रिय भानु!
तिमीलाई २०७औँ जन्मदिनको असीम शुभ कामना!
तिमी नेपालीभाषीहरूका धड्कन अनि
भाषिक एकताका सूत्रधार हौ ।

यदि हुन्छ भने पुनर्जन्म,
तिमी फेरि भानुझैँ बनेर आकाशमा उदाउनु
पुनः ज्ञानरुपी प्रकाश बनेर छाउनु।
अब त तिम्रो त्यो प्रिय सन्तान ‘बधुशिक्षा’ पनि
यो शताब्दीसम्म आइपुग्दा
कताकता वयोवृद्ध भएझैँ लाग्छ,
अलि अपूर्ण अनि पक्षपाती भएझैँ लाग्छ।

भन्छन्,
रवि नपुगेको ठाउँमा कवि पुग्छन्
तर त्यो कवि हृदयले बधुमा मात्र किन कमी देख्यो?
त्यही कमी वरहरूमा किन देखेन?
किन त्यता कविको दृष्टि पुगेन ?
यदि,
यदि हुन्छ भने पुनर्जन्म
लिएर जन्म फेरि यसै धर्तीमा आउनु
आधा आकाश आधा धर्तीको कुरा गर्नु ।
अब ‘वधुशिक्षा’ मात्र होइन ‘वरशिक्षा’ पनि लेख्नु
नारीलाई पाउमा होइन दिलमा बसाउनु।
सौता स्वीकार र सतीका कुरा
निकै पुरातन र नारी अहितमा भएन र?

हरेक विद्यापतिहरूलाई
बधुका साथसाथै वरहरूलाई पनि
मर्यादा र अनुशासनको पाठ सिकाउन लगाउनु
मर्यादा र अनुशासन दुबैका गहना हुन् बताउनु।
विना पुरुष नारी एक्लै बेश्या भइन
हाँस्दैमा कोही बेश्या पक्कै हुँदैन
हाँसो त प्राकृतिक जीवनदायिनी शक्ति होइन र?
विना हाँसो जीवनले के पूर्णता र सार्थकता पाउला र?नारीका हरेक हाँसोमा बेश्यापन देख्नुअघि
पुरुषको दृष्टिकोण र सोचमा परिवर्तन ल्याउनु,
संस्कार र मर्यादाको पाठ उसलाई पनि पढाउनु ,
प्रेम र वासना फरक हुन बुझाउनु ।
त्यसैले,
बधुशिक्षाका केही हरफहरू बदलेर वरशिक्षा लेख्नु,
दुबैलाई समानताको पाठ पढाउनु,
दिव्य उन्मुक्त हाँसो हाँस्न सिकाउनु ।
होइन भने,
के ती साना अवोध बालिकाहरूका
निश्छल निष्कपट र निर्दोष हाँसोमा पनि
बेश्यापन भेटियो र?
त्यसैले लेख्नु,
अर्धनारिश्वरका रहस्यका कथा लेख्नु,
शिव पनि शक्तिद्वारा पूर्ण बन्दछन् ।
पति परमेश्वर भए नारी देवी हुन् बताउनु,
नारीलाई मात्र मर्यादाको पाठ नपढाउनु,
पुरुषलाई पनि मर्यादाको कथा सुनाउनु ।
रावणको पतनको कारणसँगै
वाल्मीकिको नारी सम्मानको गाथा सुनाउनु ।
रामको वीरता र मर्यादाको कथा मात्र होइन
सीताको अग्निपरीक्षा अनि
आत्मसम्मानको गाथा पनि सुनाउनु।।

यदि सम्भव छ भने पुनर्जन्म
लिएर जन्म फेरि यसै धर्तीमा आउनु,
बधुशिक्षा मात्र होइन वरशिक्षा पनि लेख्नु ।
वरबधु दुबैलाई मर्यादा र अनुशासनको पाठ सिकाउनु,
जीवनरथ हाँक्न दुबैले सँगै अघि बढ्नुपर्छ सिकाउनु।।


(यस समाचार सेवाका उपसभापति एवं सर्जक उमा थापाले आफ्नो व्यावसायिक जिन्दगीको लामो कालखण्ड शैक्षिक क्षेत्रमा समर्पण गर्दै नेपाली भाषाको सुक्ष्म अध्यताका रुपमा आफुलाई स्थापित गर्नु भयो र यतिबेला नेपाली भाषामै विद्यावारिधिको तयारी गर्दै हुनुहुन्छ)

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो