‘तपाईं आईजीपी, न्यायाधिश या आयु्क्त के बन्ने ?’

५ भाद्र २०६९, मंगलवार १३:४९ मा प्रकाशित

काठमाडौं, ५ भदौ । तपाईं आईजीपी हुनु योग्य हो कि विभिन्न निकायका आयुक्त वा न्यायालयको न्यायाधिश ? यस बाहेक पनि अन्य कुनै विशिष्ट पदमा राजनैतिक नियुक्ति लिनु छ वा सरुवा बढुवा गराउनु छ । यदि त्यस्तो केही छ भने नारायण दाहाल नाम गरेका व्यक्तिलाई भेट्नुस् । काम त बन्ला–नबन्ला तर उनले तपाईंलाई पक्कै पनि भन्ने छन् कि ‘म पक्कापक्की गर्छु’ भनेर ।
यति भनीसकेपछि तपाईंमा चासो जाग्न सक्छ कि को हो त त्यो नारायण दाहाल भनेको व्यक्ति ? जसले आईजीपी बनाउन सक्छ, न्यायाधिश या विभिन्न संवैधानिक निकायका आयुक्त समेत बनाउन सक्ने विश्वास दिलाउंछ । वास्तवमा नारायण दाहाल नाम गरेका व्यक्ति पौने तीन करोड नेपाली नागरिक मध्ये धेरै हुन सक्लान् । करिव एघार वर्ष सशस्त्र संघर्ष गरेर शान्ति प्रक्रिया मार्फत् सत्ता आरोहण गरेको दल नेकपा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्डका भाई जो विघटित संविधान सभाका सभासद् उनको नाम पनि नारायण दाहाल हो । उनले सम्म आईजीपी, न्यायाधिश या आयुक्त बनाउने भनेको भए केही पत्याउने आधार हुन सक्थ्यो । तर, जसले पछिल्लो समयमा आईजीपी पनि बनाउन सक्छु, न्यायाधिस या विभिन्न निकायका आयुक्त पनि बनाउने मेरो तागत छ भन्दै हिंड्ने गरेको छ, त्यो व्यक्ति भने खासै त्यस्तो कुनै पनि खाले शक्ति भएको व्यक्ति होइन, उ काठमाडौं गोठाटार स्थायी घर भई गौशाला वरपर बस्ने परिचित दलाल नारायण दाहाल हो । जसले पुतलीसडक चोकबाट डिल्लीबजारतर्फ जाने बाटो नजिकै वर्षाैदेखि दलालीका लागि एउटा फ्ल्याट नै भाडामा लिएका छन् । जहाँ यौनधन्दा समेत चलाउने गरिएको वरपरका वासिन्दा आशंका गर्ने गर्छन् ।
बाह्र–पन्ध्र वर्ष अघिसम्मको अति सामान्य व्यक्ति यी पछिल्ला दिनमा धनाढ्य मात्रै होइन, आफूलाई शक्ति सम्पन्न ठान्ने गर्दछ । नारायण दाहाल नाम गरेको त्यो व्यक्तिले गरेको सफलता प्रति डाह होइन, उसले गरेको सफलताका लागि प्रशंसा गर्नु पर्दछ । किनकि,, मानवसंग यस्ता क्रियाकलाप गर्न बुद्धी भएर मात्र पुग्दैन, जुक्ति चाहिन्छ । त्यो ती नारायण दाहालसँग छ । वास्तवमा त्यस्तै जुक्ति प्रयोग गरेर सामान्य आर्थिक हैसियतका उनी हिजोआज करोडौंपति बनेका छन् । जुत्ताको तलुवा खिइने गरी हिँडेर समाचार संकलन गर्ने पत्रकार, लेख्दालेख्दा औँलाका कापामा ठेला उठेका पत्रकारलाई दैनिक गुजारा गर्न हम्मेहम्मे भइरहेका बेला विगतमा त्योभन्दा बढी समस्या झेलीरहेका व्यक्ति यसरी करोडौंपति हुन सक्नुको रहश्य के हो त ?
गर्न त नारायण दाहालले के गरे, कसलाई कुन हैसियतमा पुराए ? त्यो पत्तो भएन । तर, उनले धेरैलाई प्रलोभनमा पारेका छन्, कयौंबाट नाजायज फायदा लुटेका छन् । विगतमा बौद्ध क्षेत्रका टिवेटीयन शरणार्थीलाई ब्ल्याकमेलिंग गर्थे उनी । कतिपय टिवेटीयन शरणार्थीलाई त पुलीसले सोधपुछका लागि डाकेको भन्दै आफैंले बनाएको योजना अनुसार प्रहरीलाई नै डाक्न पठाएजस्तो गर्ने र मोटो रकम असुलेर केु पनि आफूले नै मिलाइदिएजस्तो गरी आफैं धामी आफैं बोक्सीको काम पनि दलाल दाहालले गर्ने गरेको उनलाई नजिकबाट चिन्नेजान्नेहरु बताउँछन् । दाहालसँग नक्कली नागरिकता, राहदानी र सवारी चालक अनुमतीपत्र बनाइदिने केही प्रहरी र सम्वन्धित कार्यालयका केही कर्मचारी समेतको साँठगाँठ रहेको बताइन्छ । दाहालमाथि यस्ता आरोप लगाइरहँदा उनीमाथि व्यक्तिगत दुस्मनी भएजस्तो पाठकलाई पर्न सक्छ, त्यो विल्कुल होइन कि नारायण दाहाल भन्ने व्यक्ति स्थानीय होइन, राष्ट्रिय दलाल हो । उ तत्कालै कांग्रेसको ठूलै नेताका रुपमा आफूलाई प्रस्तुत गर्न सक्छ र तत्कालै एमाले या माओवादीको नेताकै स्वरुपमा पनि उभिन सक्छ । कांग्रेसमा कोइराला परिवारसंग तस्वीर सेसन गरेर होस् या माओवादीका सुप्रिमो प्रचण्डसंग तस्वीर खिचाएरै किन नहोस्, उ राष्ट्रिय शक्तिका रुपमा उभिन चाहन्छ, त्यो अरुलाई ठिक लागोस् या नलागोस् ? दलाली त्यस्तो व्यक्तिले गर्दछ, जो चलाख छ । बस ! त्यो जुक्ति छ, नारायण दाहालसंग ।
दुई चारजना न्यायाधिशलाई मन शान्ति चढाएकै कारण दाहालको आर्थिक हैसियतले कोल्टे फेरेको हो । जानकारका अनुसार कहिले डान्स, कहिले दोहोरीमा न्यायमूर्ति (?) सँगै झुल्कीन्छन् उनी । त्यस्तैखाले न्यायामूर्ति (?) को सहयोगमा शक्तिकेन्द्रसँग निकट बन्ने मौका पाएका दाहाललाई तब मात्र माथि भनिएका काम गर्ने साहस जुटेको हो । कहिले कुन प्रहरीका उच्च अधिकारीको कार्यकक्ष या निवासमा भेटीने, कहिले तारे होटलका लवी र महंगा रेष्टुरेन्टमा ‘भीआईपी’ भनाउँदासँग झुल्कीने नारायण दाहाललाई यतीबेला भने यती व्यस्त छन् कि आईजीपीका प्रतिस्पर्धा गर्नेहरु, न्यायाधीश बन्ने चाहना राख्नेहरु र संवैधानिक अंगमा नियुक्ति लिन खोज्नेहरुले भेट्नका लागि समय माग्दा पनि दिन सकिरहेका छैनन् ।
कुनैबेला प्रहरी प्रधान कार्यालय परिशर प्रवेशमा तत्कालीन प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेलले रोकै लगाएका थिए भने वर्तमान प्रहरी महानिरीक्षक रविन्द्र प्रताप शाहले पनि आफ्नो नाम विभिन्न ठाउँमा जोडेको पत्तो पाएपछि सम्वन्ध विच्छेद गर्दै खरेलशैलीले नै निषेधका लागि आदेश दिएको जानकारीमा आएको छ । यदाकदा मौसमी पत्रिका निकालेर आफूलाई पत्रकारसमेत भन्न रुचाउने राष्ट्रिय दलाल नारायण दाहालले कांगे्रस सत्तामा आउंदा कोइराला परिवार (गिरिजाप्रसाद, सुजाता) लगायतसंग गरेको फोटो सेसन देखाएर धेरैलाई प्रभावमा पार्ने र यतीबेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्डसंग गरेको पारिवारिक फोटो सेसन देखाएरै कयौंलाई भ्रममा पारेको बुझिएको छ । हिजोका दिनमा आलुचिउरा खाजा खाने हैसियतका उनी आजका दिनमा तारे होटल या महंगा रेष्टुरेन्टमा झुल्कीने मात्रै होइन, करोडौंपति कुन हैसियत या योग्यता वा क्षमताले बनेका हुन् ? खोजी हुनै पर्ने अवस्थामा पुगेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न सकिने ‘मेरो कित्ता’ को शुभारक्भ गरेका छन्

भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ । पश्चिम