पीडितलाई झन् पिडित बनाउंदैछ वैदेशिक रोजगार विभाग

५ भाद्र २०६९, मंगलवार ०८:१८ मा प्रकाशित

काठमाडौं, ५ भदौ । वैदेशिक रोजगार विभागमा गोप्यरुपमा मौलाएको भ्रष्टाचार आजकल खुलमखुल्ला हुन थालेको छ । विभागको अन्तिम स्वीकृति शाखामा प्रतिपासपोर्ट पन्ध्रसयका दरले अवैध रकम नबुझाए श्रमस्वीकृति ननिस्कने व्यवसायी प्रतिनिधिहरुले उल्लेख गरेका छन् । उक्त शाखा विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईको घुम्ने कुर्सीमुनि रहेको विभागको सेतो भवनको भुइतल्लामा रहेको छ ।
करिव दर्जनको हाराहारीमा रहेका कर्मचारीहरुविच अवैध रकम लेनदेनको विषयलाई लिएर विवाद बढ्न थालेपछि शाखा अधिकृति प्रदिप सुवेदीको नेतृत्वमा अवैध रकम उठाउने जिम्मा परेको श्रोतले उल्लेख गरेको छ । त्यसको अलावा कम्प्युटर अपरेटरलाई रकम नबुझाए एक घण्टामा हुने काम तीनदिन सम्म हुँदैन । जसका कारण व्यवसायीहरु रकम दिन वाध्य बन्ने गरेका छन् । कम्प्युटर अपरेटरहरु झपेन्द्र खरेल,दिपेन्द्र यादव र सन्तोष सुवेदी रहेका छन् । उनीहरुले प्रतिव्यक्ति पाँचसयका दरले रकम असुल्ने गरेको श्रोतले उल्लेख गरेको छ । त्यसै गरी विभागले अरवी भाषा ट्रान्सलेट गर्न करारमा नियुक्ति गरेका व्यक्तिले प्रतिफाइल दुइ हजारका दरले अवैध रकम लिएर अरवी भाषामा रहेको भिजा ट्रान्सलेट गर्ने गरेका छन् । खरिदार सुव्वालाई भने एकहजार नघटाइ दिनुपर्ने वाध्यता रहेको छ । दैनिक पाँचसयदेखि एकहजारको हाराहारीमा अन्तिम श्रमस्वीकृति निस्कने गर्दछ । आफ्नै कुर्सीमुनि भएको यस्तो भ्रष्टाचारलाई महानिर्देशक भट्टराइले थाहा पाएका छैनन् भन्नु पानीमाथिको ओभानो हुन खोज्नु मात्रै हो ।
दस लाखदेखि माथि घुस खुवाएर विभाग आएका केही कर्मचारीहरुको भागमा दैनिक पन्ध्र सय, दुईहजारका दरले अवैध रकम आउन थालेपछि घुस दिएको रकम नउठ्ने हो की भनेर शक्तिकेन्द्र धाउन थालेको श्रोतले दावी गरेको छ । दिनभरी आलटाल गरेर समय विताउने, पाँच बजेपछि अवैध रकम लिँदै फाइल सदर गर्दै गर्दा भट्टराईको घुम्ने कुर्सीले भ्रष्टाचारलाई थिचीरहेको विश्लेषकहरुको भनाइ रहेको छ ।
करिव दुईदर्जनको हाराहारीमा फाइलको चलखेल हुँदा महानिर्देशक भट्टराइलाई थाहा नहुने कुरै भएन एक कर्मचारीले उल्लेख गरे । खरिदविक्री गरिएका फाइलमा त प्रतिव्यक्ति तीनहजार विभागमा तीन हजार विमानस्थलमा र जनही एकहजार प्राइभेट एयरलाइन्सहरुलाई बुझाउनुपर्ने वाध्यता रहेको छ । सरकारले प्रतिवन्ध लगाएका पेशामा महिला कामदार र विभागले तोकेको कागजात नपुगेका व्यक्तिहरु फाइलबाट अन्तिम श्रमस्वीकृति निकाले वैदेशिक रोजगारीकोलागि जाने गर्दछन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको अध्यागमनका कर्मचारीहरुले जनही तीनहजारका दरले अवैध रकम असुलेर वैदेशिक रोजगारीमा जानेहरुलाई अध्यागमन पार गराउने गरेका छन् भने अवैध धन्दा गरेवापतको रकम लिन एयरपोर्ट छेउछाउ रहेका सेकुवा र रेष्टुरेण्टमा जाने गर्दछन । कतिपय त एजेन्टकै अफिस गएर रकम असुल्ने गरेका छन् ।
अर्कोतर्फ वैदेशिक रोजगारीमा जाने व्यक्तिहरु स्वयं उपस्थित हुनुपर्ने विभागको निर्देशन विपरित कर्मचारी,एजेन्ट र वैंकको मिलेमतोमा भाडाका मानिस उभ्याएर राजस्व काट्न थालिएको छ । यसरी राजस्व काट्दा प्रतिव्यक्ति पाँचसयसम्म बढी रकम लिने गरिन्छ । जम्मा लाग्ने राजस्व खर्च भने एक हजार मात्र हो । वैंकका कर्मचारीले असुलेको अवैध रकम विभागका कर्मचारीकै मिलेमतोमा भागवण्डा हुने हुँदा थाहापाए पनि थाहै नपाए जस्तो गरी महानिर्देशक भट्टराइ सेलाएर बसेका छन् ।
एकपटक विदेश गएर आएपछि फेरि वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई नविकरण भनिन्छ । तर कम्पनी र देश फरक प¥यो भने त्यसलाई नयाँ श्रम स्वीकृति भन्ने चलन विभागको रहेको छ । नविकरणको नाममा विभागका कर्मचारीहरुले लुट मच्चाएका छन् । एजेन्टहरुले विहानै झोलाभरी पासपोर्ट लगेर कर्मचारीलाई दिने गर्दछन भने मध्यदिन ढलेपछि श्रमस्वीकृति लिएर एजेन्टहरुले लैजाने गरेका छन् । लाइनमा बस्नेहरु अधिकांस भाडाका व्यक्तिहरु भएको थाहा हुन आएको छ । भाडामा लाइनमा बसेकाहरुको पनि एजे्रन्ट चिनेपछि श्रमस्वीकृति दिइन्छ । त्यसैगरी नविकरणको नाममा विभागले तोकेको नयाँ मापदण्ड विपरित प्रतिव्यक्ति दसहजार माथि अवैध रकम लिएर श्रमस्वीकृति दिने गरेको विभाग श्रोतले उल्लेख गरेको छ ।
नक्कली कागजातका आधारमा श्रमस्वीकृति निकालेर वैदेशिक रोजगारीमा गएर अलपत्र परेका या फर्केका व्यक्तिहरुले विभागको उजुरी शाखामा उजुरी हाल्दा उजुरी शाखामा कार्यरत केहि कर्मचारीहरु म्यानपावर व्यवसायीहरुसँग मिलेर पिडितलाई झनै पिडित बनाउन थालेको वर्षौ भैसक्दा पनि सुधार हुन सकेको छैन । वैदेशिक रोजगार ऐन २०६४ लाई धोती लगाएर स्वेच्छाले निर्णय गर्ने परम्पराले पिडितहरु दिनदिनै पिडित बन्दै गएका छन भने व्यवसायीहरुसँग अवैध रकम लिएर कर्मचारीले व्यवसायी बचाउ अभियानमा लागेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता