गजलकार ऋषभ अधिकारीका उत्कृष्ट ५ गजलहरु

६ असार २०७७, शनिबार १०:१३ मा प्रकाशित

(१)
मनभन्दा धनै ठुलो हुन्छ भन्थे सहरमा,
रुने हाँस्छ कि त हाँस्ने रुन्छ भन्थे सहरमा

सुनेको थेँ कुरा आज बन्दै छ है साँचो,
महङ्गीले चन्द्रमा नै छुन्छ भन्थे सहरमा

ऋणको भारी बोकी छोरा पठाएसी सहर,
कुलतको जालो छोरो बुन्छ भन्थे सहरमा

पैसाले नै न्याय किन्ने डर हुने अनि,
गरिबलाई चैँ प्रशासनले थुन्छ भन्थे सहरमा

(२)

धेरै कुरा आज यहाँ नजरबाट पोखिन्छ,
असल र खराब ती रहरबाट पोखिन्छ

जमाना नै यस्तै हो कि दोषि केही अर्कै,
एउटैलाई माया पुरै सहरबाट पोखिन्छ

एक्लै हुँदा हुन्नन् व्यक्त केहिकेहि कुरा,
हात समाई हिडेको त्यो सफरबाट पोखिन्छ

अघि बढ्ला माया कि त सक्कीने हो अब,
तिम्रो मेरो भावनाको लहरबाट पोखिन्छ

(३)

जसरी सस्तोमा खोलाको पानी बेचिन्छ,
त्यसैगरी सहरमा जवानी बेचिन्छ

रोक्न पनि आँट आओस् र हौ कसलाई ?
मान्छेबाटै मान्छे छानीछानी बेचिन्छ

विपन्नको आवाज दब्छ थाहा नै छ सबलाई ,
सम्पन्नको हुन्छ सँधै मनमानी, बेचिन्छ

कुदृष्टि लाग्छ जब चरित्रमा तब,
संस्कारको सबै त्यहाँ कहानी बेचिन्छ

(४)
तिम्रो मनलाई जित्ने सानो पहल गर्न मन लाग्यो,
छातिभित्र बास बसि सलबल गर्न मन लाग्यो

सम्बन्धको पवित्रता नभुल्नु है कहिल्यै,
चोखो माया अब तिम्लाई हरपल गर्न मन लाग्यो

शङ्काले नै जल्छ लङ्का था छ तिम्लाई पनि,
षड्यन्त्र सब बिछोडको बिफल गर्न मन लाग्यो

नाता अब अजम्बरी बनाउनु नै पर्छ,
भेट्न आउनु चौतारीमा छलफल गर्न मन लाग्यो

(५)

तिम्रोलागि खेलौना यो मन भएपछि,
बेकारको आवाज यो धड्कन भएपछि

थाहा हुन्छ तिम्लाई पनि माया के हो भनि,
एक्लोपनमा पिरोल्ने यै तड्पन भएपछि

हिराजस्तो मुटु पनि मैलो हुनेरैछ,
मनभन्दा ठूलो तिम्लाई धन भएपछि

नजिक हुनु खासै निको लाग्न छाड्यो जब,
मेरो जमिन तिम्रो औकात गगन भएपछि

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो