नारी कसरी स्वतन्त्र छन् ?

२ असार २०७७, मंगलवार २०:४९ मा प्रकाशित

रमा शर्मा ढकाल –एम.ए/एम.एड्. (नेपाली)

लैगिक दृिष्टले हेर्दा मानव जाति स्त्री र पुरुष गरी दुई वर्गमा विभाजित छन् । तर शदियौ देखी नै समाजमा पुरुषको प्रभुत्व र महिलाका दासत्वको रुप स्थापित हुदै आईरहेको छ । पुरुषले नारीलाई भिनसको प्रतिमा सम्झी एकटङ्कार रुपमा प्रेमकी देवी बनाइ आफनो विचित्र शिकारको पासोमा पलपल फसाइरहेको छ । नारीका असीमित चाहनाहरुलाई कुल्चेर उसले आफ्ना अतृप्त इच्छालाई साकार तुल्याउन केवल वासनाको वस्तुका रुपमा मात्र नारीलाई सीमित गराउँदै आएको छ । सिङ्गो जीवन अवधिभर आज्ञाकारी छोरी, भोग्या पत्नी र एकनिष्ठ आमाको भुमिकामा अभिनय गर्न ब्यस्त नारीले आफ्नो बन्धकी जीवनलाई गद्धार गर्न नसकि आमा, पत्नी, भाउजु, बुहारी जस्ता मिठासपूर्ण दर्जागत सम्वन्धमा थिचिएर भएपनि इमान्दार सेवकका रुपमा आफुलाई स्थापित गराइरहेकी देखिन्छे ।

हाम्रा धार्मिक पुराणहरुमा उल्लेख भए अनुसार भगवान्ले जहिलदेखि मनु र सत्तरुपा जस्ता मानव पुर्खाको सृष्टि गरे सोही बेलादेखि नै लोग्ने र स्वास्नीको सम्बन्ध स्वामी र दासीकै रुपमा स्थापित हुदै आइरहेको देखिन्छ । यसरी धर्मशास्त्रदेखी लिएर कतिपय सामाजिक नीति–नियम परम्परा र संस्कृतिका कारणले समेत अधिकांश नारीहरु पुरुषका निषेधित नकार रुपमा रहन पुगेका देख्न सकिन्छ । पितृसत्ताको एकलौटी तागतले त्रसित बनाउँदै नारीलाई आफ्नै चारदिवारी भित्रको चुलोचौकोमा मात्र बन्धक बनाई राख्न खोज्ने राक्षसी र हिंस्रक मानसिकताहरुको शिकार भई प्रताडीत बनेका कैयौ नारीहरुले आत्मदाहसमेत गर्न पुगिरहेका घटनाहरु देख्न, सुन्न र दैनिक अखबारहरुमा पढ्न पाइन्छ ।

एक्काइसौं शताब्दीको आजको यो अवस्था भन्दा नारीका लागि आदिमकालीन जंगली पाषाण युग हिंसा मुक्त देखिन्थ्यो । सभामा बसाइको त्यस वेलामा आजको जस्तो धर्म, कानुन, राजा, राज्य जस्ता कुनै कुराको जन्म नभएकाले हुनसक्छ कुनै विभेद नारीले भोग्नु पर्दैनथ्यो । दुवै एकअर्काका पूरक देखिने त्यस समयमा आफू बाबु वन्न पाउने लालसामा पुरुष चाहिं महिलाको शरण पर्ने गरेकाले कुनै अत्याचार नारीजातिले भोग्नु नपरेको प्रष्ट हुन्छ । तर विस्तारै विस्तारै त्यस्तो साम्यवादी सामुहिक जीवनभित्र पुरुषहरुमा लोभ, लालच, घमण्ड, प्रभुत्व अनि हैकमवादी–हिटलरी प्रवृत्ति मौलाउंदै जानाले व्यक्तिगत निजी जीवनसंगै पितृसत्ताको उदय भयो र फलस्वरुप नारीहरुका वर्वादीका दिन सुरु भएका हुन् भन्न खुलेरै सकिन्छ । त्यसपछि क्रमशः नारीहरुलाइ अर्धाङ्गिनीबाट तल झार्दै दासका रुपमा स्थापित गराउँदै लगिएको हो ।

आजपनि नारीहरुलाई सभ्यताको नाममा धर्म र पाप अनि स्वर्ग र नर्क देखाई त्यसैको आडमा त्रसित बनाई पुरुषको दास बन्न बाध्य बनाइएको पाइन्छ । पति परमेश्वर हुन् र उनको सेवा गरे स्वर्गमा बास पाइन्छ भन्नेजस्ता भ्रामक प्रचार प्रसार गरी नव विवाहित नारीको मस्तिष्क भुटी ‘जसो जसो बाहुनबाजे उसै–उसैै स्वाहा’ भनेभैm आफ्नो कठपुतली बनाई सेवामा लिप्त राख्ने स्त्रीलम्पट पुरुषहरुका कारण धेरै नारीहरु स्वतन्त्रताको सास फेर्नबाट बञ्चित भइरहेका छन् ।

हाम्रा आदिकवि भानुभक्त आचार्यले समेत नारीहरुलाई पुरुषको मुठीको माखा बनाउन प्रेरित गर्दै ‘बधुशिक्षा’ मार्फत नारी जातिले खुलेर हाँस्न समेत नहुने भन्दै पितृसत्ताकै पक्षपोषण गर्न पुगेका छन् ।

जबसम्म नारीलाई कोठा भित्र बन्द गरेर जनैमा चावी बोकी सभा समारोहमा नारी स्वतन्त्रताको वकालत गर्ने हाम्रै समाजका झूट, पाखण्डी तथा ढोंगी ब्यक्तिहरुको ब्यवहारमा परिवर्तन आउदैन तबसम्म नारी स्वतन्त्रताको कुरा आदर्श मात्र हुन्छ भने आफ्ना चेलीलाई कलिलै उमेरमा दाइजोको लावालस्कर सहित परचक्रीको हातमा सुम्पिएपछि पूर्णरुपले जिम्मेवारी मुक्त भएको महशुश गर्ने मुर्ख मातापिताहरुको गलत र गैर जिम्मेवारपूर्ण कदमका कारण पनि कैयौ अबोध चेलीहरुले पढ्ने, सिक्ने र बुझ्ने अवसर नपाइ जवरजस्ती विवाह बन्धन्मा बाँधिनुपरिरहेको अवस्थाले गर्दा घरेलु हिंसाले ठाउँ पाइरहेको छ । देशले आज संघीय गणतन्त्रको न्यानो छहारी प्राप्त गरिसकेको अनुकूल अवस्थामा समेत नारीहरुलाई अवला र असक्षमको विल्ला भिराएर सम्पत्ति र सत्ताको पहुचबाट समेत बञ्चित गराउने बाक्लै प्रयासहरु भइरहेका छन् भने पढाउने बहानामा नारीलाई रुपमती र बधुशिक्षा घोकाएर पूर्ण पतिब्रता बनाई विद्रोही पखेटाहरु काट्ने दुष्प्रयास समेत भइरहेका कारण चौतर्फी दृष्टिकोंणबाट नारीहरु स्वतन्त्र बन्न सकेका छैनन् भन्न सकिन्छ । आफ्नै कानले सुनेको र आफैले भोगेको सत्यतथ्य मुखले उजागर गर्न नपाउने नेपाली नारीहरुको विडम्वनापूर्ण अवस्था एकातर्फ रहेको छ भने अर्कोतर्फ बाटो–घाटो, घर, चोक चौडा लगायत विद्यालयसमेत नारीमैत्री हुन नसक्नु एउटा प्रजातान्त्रिक मुलुकका लागि लज्जास्पद विषय बन्न पुगेको छ ।

हिजो आज दैनिक जसो कतै दाइजोको निहुमा, कतै बोक्सीको आरोपमा, कतै छोरी जन्माएको भन्दै त कतै राजीखुसी विवाह गरेकोमा जस्ता विभिन्न कारणबाट विभिन्न वर्ग,क्षेत्र र समुदायका नारीहरु हिंसामा परी प्रताडीत हुने क्रम बढिरहेको छ । सदन र सडकमा देखिएका एकमुठी स्वतन्त्र नारीहरुलाई दृष्टान्त दिदै सम्पूर्ण नारीहरु स्वतन्त्र छन् भन्दै कुर्लने आजका कथित पितृसत्ताका पूजारीहरुको परिवार भित्रै पनि नारीहरुको वास्तविक अवस्था डामाडोल नै पाइन्छ । समाजमा अघि बढ्न खोज्ने थोरै नारीहरुका समेत खुट्टा तान्ने स्वार्थी र गलत मानसिकता पक्षपोषकहरु नै देशको नीति नियम र कानुन निर्माणको तहमा पुग्ने गरेकाले नारी मुखी ऐन कानुनहरु निर्माण हुन सकिरहेका छैनन् र भएका पनि कार्यान्वयन हुन नसकेको कारण नारीहरुको अवस्था नाजुक र दयनीय नै रहीरहेको पाइन्छ ।

नारीले सानो छदा बाबुको अधिनमा रहनुपर्ने, वयस्कमा पतिको नियन्त्रणमा र बृद्घ अवस्थामा छोराको बन्धनभित्र बाँधिनु पर्छ भन्ने दमनकारी नीति र नियम बनाइ सार्वजनिक गर्ने नारी विरोधी कार्यहरुको न्यूनिकरण गरी राज्यले नारीहरुलाई स्वतन्त्रताको अवसर दिन सक्नुपर्दछ । कानुनीरुपमा नै नारीलाई हरतरहको बन्धनबाट मुक्ति दिलाउन सक्नु पर्दछ । नारीमुखी कोरा सिद्घान्तहरुलाई ब्यबहारमा कडाइका साथ लागू गरी सम्पूर्ण नारीहरुलाई निःशुल्क शिक्षा प्रदान गरी हिंसाको प्रतिरोध गर्न सक्ने गरी आत्मरक्षाको तालिम समेत दिइनुपर्दछ साथै राज्यका हरेक तह र तप्कामा पुरुषसरह नै उपस्थिति अनिवार्य गराइनुपर्दछ अनि मात्र नारी स्वतन्त्रताको केही हदसम्म कुरा गर्न सकिन्छ ।

अन्त्यमा सबै पुरुष सफल र सबै नारी असफल हुन्छन् भन्ने भ्रम त्यागी सीता, सावित्री, गार्गी र मैत्रेयी जस्ता विदुषी नारीहरुको योगदानलाई सम्झदै यो देशमा पुरुष सरह समान रुपमा आफ्नो वृत्तिविकास गर्न पाउने अवसरको निर्माण गरी नारीलाई पनि स्वतन्त्रता प्रदान गर्नुपर्ने अभिभारा आजको संघीय गणतान्त्रिक सरकारको मुख्य दायित्व बनेको छ । अन्यथा वर्तमान अवस्थालाई नियाल्दा नारीलाई धोवीको कुकुर घरको न घाटको जस्तो बनाउने धृष्टता भइरहेको छ भन्दा अत्युक्ति नहोला ।

प्रतिक्रिया
सम्बन्धित खवर

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका

जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडाकी मायाकुमारी विष्टको कक्षा ८ मा पढ्दा पढ्दै सामाजिक सञ्जाल फेसबुकमा एक युवकसँग चिनजान भयो ।

विगतमा घैयाको भाउमा जाने अदुवाले अहिले राम्रै मूल्य पाउन थालेपछि कर्णालीका अदुवा किसान मख्ख छन् । प्रतिकिलो रु पाँच–१० मा

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मृगेन्द्र शिखरबाट राजधानीको सभ्यताको स्रोत वाग्मती प्रकट भएको छ । यो स्थल अहिले गोकर्णेश्वर नगरपालिकाको भौगोलिक