मृगतृष्णा -बिनोद खड्का

२ भाद्र २०६९, शनिबार १९:०३ मा प्रकाशित

खेतीबारीमा काम गर्ने जाँगर थिएन । जागिर पाउनु सजिलो थिएन । टोलमा ठिटा, बुढा, शिक्षक, जागिरे सबै जग्गाकै काममा लागेका थिए। उसले पनि जग्गाकै काममा लाग्ने बिचार गर्यो र ग्राहकको खोजीमा बाटो ढुक्न थाल्यो । सौभाग्यवस जग्गा खोज्दै आएको एउटा ग्राहकसँग उसको भेट भयो । ग्राहकलाई उसले एउटा जग्गा दलाललाई भेटाइदियो र आफू पनि उनीहरूकै पछि लाग्यो । जग्गा दलाल गफको पहाड बनाउन खप्पिस थियो ।

ग्राहकलाई फसिहाल्यो । जग्गा देखाउनेदेखि मालपोत र नापीसम्मका सबै काममा पछिपछि लाग्दै पूरा प्रकृया अवलोकन गर्यो । को-कोसँग कस्तो-कस्तो कुरागर्ने, कसलाई कस्तो दाना हाल्ने सबै बुझ्यो ।

काम सम्पन्न भा’को दिनमा जग्गा दलालले मासु चिउरा खुवायो र दश हजारको बिटो उसको हातमा हालिदियो । जिन्दगीमा पहिलो पटक यति ठूलो रकम उसको हातमा परेको थियो । उसको हर्षको सीमा नै रहेन । पिंढीमा बसेर पैसा गन्न थाल्यो- एक पटक, दुई पटक, तीन पटक, अनि पटक-पटक ।
उसले पैसा कसैलाई दिएन र पैसा कहाँबाट आयो भन्ने पनि बताएन । घरका सबै अलमल्ल परे । बाबुलाई झोँक चल्यो र भने, “ए गधा यत्रो पैसा कहाँवाट लेराइस् ? कसले दियो तँलाई यत्रो पैसा ? काम त गर्ने मान्छे होईनस् तँ !” त्यत्रो पैसा हातमा परेकाले उसको तुजुकै बेग्लै भएको थियो । उसलाई लाग्यो, पैसा कमाउन गार्हो रहेनछ । सोच्यो, भान्छाको रुखोसुखो खानाका लागि बुढा बाउसँग किन गल्नु । मुखभरीको जवाफ फर्काइदियो बाबुलाई । बाबु चुप भए ।

कामको क्रम चलिरह्यो । एउटा दुइटा गर्दै उसका ग्राहकहरू बढ्न थाले र साथमा कमिसन रकम पनि । उसको हौसला अझै बढ्यो । अब किन अरुका पछि लाग्ने भन्ने सोच उसको मनमा आयो। दलालीमात्र हैन आफैँ जग्गा खरीदबिक्री गर्नुपर्छ भन्ने उसलाई लाग्यो । दोबाटोमा एउटा अफिस पनि खोल्यो र भएका पैसाले जग्गा किन्न थाल्यो । एकातर्फ उसको नाफाको पहाड झन्-झन् अग्लिन थाल्यो भने अर्कोतर्फ परिवारजनसँगको उसको सम्बन्ध झीण हुँदै गयो। केही समयपछि अौपचारिकरूपमै ऊ छुट्टै बस्न थालिसकेको थियो । मूल सडकको छेवैमा छुट्टै घर बनायो र पुरानो सान्त्रो बेचेर नयाँ पाजेरो किन्यो । बाउ पेन्सनवाला थिए । उनी त्यो घरमा जाँदैनथे । आमा भने सुरुसुरुमा जान खोज्थिन् । तर उसले एकदिन ‘बाउको बुद्धि छैन’ भनेर के भनेथ्यो आमाका पाइला पनि त्यस घरतर्फ बढ्न छाडे ।

अब उसले आफ्नो पैसा मात्रै होईन बैंकबाट रिन लिएर आम्दानीको शिखर चढ्ने सोच बनायो । च्याउ झैँ उम्रेका बैँकमध्ये केहीले उसको चाहनालाई साथ दिए । हरेक साँझ उसको घरमा विदेशी रक्सी सहितको जमघट जम्न थाल्यो । बैंक कर्मचारी र केही सरकारी कर्मचारीहरुले उसलाई साथ दिन थाले । देशमा आयश्रोत खुलाउन नपर्ने कानुन व्यवस्थाले सबैलाई राम्रै साथ दिएको थियो । आधा रातमा पनि उसको आफ्नै कोठाभित्र सबै सरकारी काम सम्पन्न हुन्थ्यो । सबैका कमिसन कोठाभित्रै बाँडफाँड हुन्थे ।

सबै कुरा एक डेढ बर्ष राम्रैसँग चल्यो । तर बिस्तारै जग्गादलालीको उब्जाउखेतीमा मन्दी आउन थाल्यो । उसँग प्रशस्त जग्गा थियो र कैयौँ जग्गा बैंकमा धितोमा थिए । बैंकले श्रृण भुक्तानीका लागि ताकेता लाउन थाल्यो । जग्गाहरू एकपछि अर्को गर्दै लिलामीको सूचनामा आउन थाले । जग्गा किन्ने ग्राहकहरू पनि भेटिन छाडे । नगद रकम त सून्य झैँ हुँन थाल्यो । साँझमा हुने जमघट पनि खर्चको अभावले पातलिन थाले । पहिले साथ दिने चम्चाहरू एकाएक गायब भए ।

एक साँझ ऊ टोलाउँदै झ्यालबाट सडकको परसम्म हेरिरहेको थियो । सधैँ झैँ आज पनि परबाट एउटा बुढो मान्छे हातमा सानो झोला हल्लाउँदै आईरहेका थिए । ती बुढामान्छे सडकमा भेटिएका हरेक मान्छेसँग हाँस्दैबोल्दै अगाडि बढिरहेका थिए । उनको हिँडाइ बोलाइ पहिरन या भनौँ सबै कुरा उही थिए । ती बुढा मान्छेले उसको घर नगिच पुग्दा अर्कैतिर नजर मोडे । त्यसो त आज उसलाई ती बुढामान्छेले उसको घरतिर एकपटक हेरिदिउन् भन्ने पहिले देखिको चाहना पनि राखेको थिएन । हेर्दा हेर्दै बुढा मान्छे ओझेल परे । उसलाई लाग्यो ती बुढामान्छेको सरल जीवनशैली कति आनन्ददायी छ । आज उसलाई ती बुढामान्छेको जीवनसैलीप्रति ईर्ष्या लाग्यो । आँखाहरू रसाइरहेका थिए ।

हातमा विदेशी रक्सीको गिलास र प्लेटमा सेकुवा बोकेर अगाडि उभिरहेकी उसकी स्वास्नीले सोधी, “बाहिर सडकमा के हेरिरहेको?”
उसले जवाफ दियो, “आफ्नै बाउलाई !”

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो

जिन्दगीको परीक्षार्थीलाई मूल ग्रन्थ बेच्दैन सन्दर्भ पुस्तक पनि बेच्दैन केवल गेसपेपर बेच्छ आजको बजार । विद्रोह चेत बोकेर कविता लेख्ने