‘अहिले साहित्यकारलाई दिईने पुरस्कार संस्कारप्रति म विश्वास गर्दिनँ’

७ जेष्ठ २०७७, बुधबार १३:०९ मा प्रकाशित

रामेछाप, ७ जेठ । पेशल आचार्य रूचिले लेखक र पेसाले शिक्षक/प्राध्यापक हुनुहुन्छ । वहाँले बाल साहित्यका ९ र प्रौढ साहित्यको १ गरी दस पुस्तकहरूको लेखन गर्नु भएको छ । निजी विद्यालयका कक्षा ५ र ६ मा आचार्यले लेखेका कथाहरू पाठ्यक्रममा राखिएका छन् । रामेछाप जिल्लामा करिब ३ दसकसम्म शिक्षण/प्राध्यापन र करिब ४ दसक अघिदेखि पत्रकारिता र लेखन क्षेत्रमा सक्रिय आचार्य यतिखेर राष्ट्रको निर्देशनलाई पूर्ण पालना गरेर आफ्नो निवास ललितपुरमा बन्दाबन्दीमा हुनुहुन्छ । लेखन, पठन र सम्पादनमा सक्रिय रहने आचार्यलाई हामीले इमेलमार्फत् जीवन्/जगत् र साहित्यका विभिन्न पेरिफेरिका लिखित प्रश्नहरू ग¥यौंं । प्रस्तुत छ–सोही वार्ताको सम्पादित अंश:

तपाईंको पूर्ण व्यक्तिगत विवरण (biodata) पाउन सक्छु ?

सक्नु हुन्छ । सुन्नुस् ल । म सामान्य नेपाली नागरिक । रगत, मासु, हाड र छालाले बनेको तथा सास भएको एउटा सजीव प्राणी । औशत उचाइ सरदर नेपालीको झैँ ५ फिट ३ इन्च । तौल ७८ केजी । उमेर अहिले यो वार्ता लिँदा (२०७६ चैत्र, २९ गते) ५३ मा हिँड्दै छु । माता शोभा आचार्य र पिता श्याम आचार्यको जेठो छोरो म । मेरो जन्म २०२४ भदौ २२ गते तीजको दिन बिराटनगर –४, मोरङमा भएको हो ।

अझ तपाईं मलाई ‘मानिस’ उपनामले सजिलो गरी पुकार्न सक्नु हुन्छ । यो ‘पेशल’ भन्ने शब्द पनि चाहिँदैन । जुन ३ अक्षरको ‘पेशल’ नाम छ नि यो त न्वारानमा पुरेतले दिएका हुन् । मेरो न्वारानको र लेख्ने नाम नै ‘पेशल’ हो । अहिलेसम्म मैले यो देशबाट पाएको भन्ने कुरा एउटा नागरिकताको प्रमाण–पत्र मात्रै छ । जुन प्रयोग गरी मैले जागिर खाएको छु र नेपाल टेलिकमको सिम किन्दा प्रयोग गरेको छु । अहिलेसम्म म विदेश गएको छैन भनेपछि पासपोर्ट समेत बनाएको छुइनँ । म अहिले रूचिले लेखक र पेसाले सामुदायिक विद्यालयको शिक्षक हूँ । पढाउने मेरो काम । पढ्ने र लेख्ने मेरो रूचि । अहिले त मानिसले केही सम्पादन र प्रुफका काम समेत दिन थालेका छन् । धेरैको सित्तैमा गर्छु । पैसा हुनेसँग आफ्नो पसिनाको मूल्य माग्छु । मेरा ३ सन्तान २ छोरी १ छोरा । छोरी हुर्किइसके । पढ्न भनेर विदेश गा’का छन् । तिनीहरू उतै बस्छन् कि देश आउँछन् अहिले म केही भन्न सक्तिनँ । आऊ भनेर कन्भिन्स चाहिँ गरेको छु । म चाहिँ सरकारी जागिरे भएकाले यहाँको सुविधा र हक छाडेर विदेश पलायन हुँदिनँ । लेख्ने विषयवस्तु खोज्नका लागि रिटायर्र्ड लाइफमा घुम्न जाने रहर चाहिँ छ – भविष्यमा । दुई छोरी पछिको छोरो हो – ऊ ९ कक्षा पढ्ने भएको छ । प्रविधिमा पोख्त हुँदै जाँदो छ त्यसैले उसलाई पनि उतै तान्छन् कि दिदीहरूले भन्ने लागेको छ । हामी बुढाबुढीको चाहिँ छोरो यतै बस्ने होओस् भन्ने सोच छ ।

औलोको बेला म मधेशमा जन्मिएँ । हामी तीन भाइ छोरै छोरा । बाआमाका छोरी भएनन् । जागिरे हुँदा हाम्रा बा हामीलाई देखाएर गाउँघरमा उसबेला ‘एक्का ट्रायल’ भन्नु हुन्थ्यो । मेरा दुई भाइहरू हुनुहुन्छ । मैले भाइहरूलाई वहाँ भन्नुको पनि कारण छ । पछि बताउँला । वहाँहरू देशमै केही गर्न सक्ने काबिल हुँदाहुँदै सपरिवार दुवैजना अमेरिका पलायन हुनुभयो । अहिले त्यहीँको नागरिक हुनुहुन्छ । शुरूमा त भाइहरूले ठिकै गरेजस्तो लाग्थ्यो –मलाई । तर यो कोरोनाको विश्वव्यापी महामारीमा हामीबीच भएका पारिवारिक सुखदुःखका अनेक वार्तालापले देश गरिब, सिष्टम बोझिल र नेताहरू खत्तमै भए पनि आफ्नै देश नै ठिक रहेछ भन्ने वहाँहरूलाई भएको छ भन्ने कुरा बुझेँ । म भन्दा धेरै जान्ने र सक्षम भएकैले मैले भाइहरूलाई ‘वहाँ’ भनेको हूँ । जहाँसम्म मेरो कुरा छ । म पढ्ने÷लेख्ने सामान्य मानिस हूँ । दुःख गरेर खान लाउन पुग्ने हैसियत मैले आप्mनो बनाएको छु । सामाजिक रूपमा साथीभाइ कमाएको छु । पढाउने पेसा भएकाले स्कुल, प्लस टु र क्याम्पसमा पढाएका हज्जारौंहज्जार विद्यार्थी मेरा कहिल्यै ननासिने सम्पत्ती भाका छन् । लेखनमा लागेर र आफूभन्दा पछिका धेरै लेखकहरूलाई सहयोग गरेकाले उनीहरूले पनि मान्छन् । यो हिसाबले पनि मैले आफूलाई स्वदेशमै केही गर्न सकिन्छ भनेर यहीँ संघर्ष गरेको हूँ । अबको ४ वर्षमा म पेन्सनमा स्वेच्छिक अवकाश लिएर पूर्ण रूपमा साहित्यमै लाग्छु ।

साहित्यिक लेखनमा लाग्नुका प्रसङ्गहरू बताइदिनुहुन्छ कि ?

६ कक्षा पढ्दा शिक्षकहरूका प्रेरणाले अतिरिक्त क्रियाकलापका हाजिरीजवाफ र वक्तृत्वकलामा भाग लिने बानी बस्यो । पछि यादव र रामु काकाहरूका संगतले पुस्तकहरू पढ्न थालियो । हितापदेश मित्रलाभ, बेताल पच्चीसी, नासो, गौरी, मुनामदन र बसाइँ जस्ता कृतिहरू घरमै पिताजीको सङ्ग्रहमा रहेछन् । ती पुस्तकहरू पढियो । मैले हाइस्कुल स्तरको शिक्षा तीनवटा विद्यालयबाट पूरा गरेको रहेछु । एस्एल्सी चाहिँ झापाको त्यस बेलाको नाम चलेको वीरेन्द्र मावि, चन्द्रगढीबाट २०३८ सालमा सेकेण्ड डिभिजनले गरेँ । हो, त्यहाँ पढ्दा पुस्तकालयमा गएर किताब पढ्ने बानी भयो । पछि २०४० सालमा मेची क्याम्पसमा आइए पढ्दा झन् साहित्यिक र कोर्स बाहिरका किताबहरू पढ्ने लत बस्यो । सिनेमा र किताबमा लत बसेपछि बिस्तारै आफू बाँचेको परिवेशलाई नियाल्दै समाजका राम्रा/नराम्रा कुराहरूलाई अभिव्यक्त गर्ने सिलसिलामा कविता लेखिए ।

खासगरी मेची क्याम्पसमा पढ्दा गुरुहरू डा.द्रोण पौड्याल र रामनाथ शर्माजस्ता गुरुहरूको प्रेरणाले लेख्न सिकायो । अनि हामी ‘फोरस्टार ग्रुप’ ‘प्रफरापे’ (प्रदीप, फणीन्द्र, राजेश र पेशल) क्याम्पसमा अब्बल विद्यार्थीमा गनिन्थ्यौं । खेलकुद, अतिरिक्त क्रियाकलाप र साहित्य ती तीनवटै फाँटमा हाम्रो पकड थियो । म साहित्यमा, राजेश र फणीन्द्र खेलमा र प्रदीप अतिरिक्त क्रियाकलापमा जमेका थियौं । पछि हामी (म) सुनसरी बसाइँ सर्यौं । यो २०४२ सालको कुरा हो । मेरो पढाइ सो बेला मोरङ कलेजमा भयो । त्यहाँ रहेको सुविधा सम्पन्न क्षेत्रीय पुस्तकालय र फेरि पढन्ता साथीहरूको संगतले साहित्यितिर लागियो । बालकृष्ण पोखरेल, भानुभक्त पोखरेल, नरेन्द्र चापागाईं, कविराज न्यौपाने र डा.वद्रीविशाल पोखरेल जस्ता गुरुहरूको निर्देशन र प्रशिक्षणले पढ्नु/लेख्नु नै जीवनको महान् काम हो भन्ने अमिट छाप किशोरावस्थाको मनमा पर्यो । अनि त साहित्यभन्दा बाहिर जानै सकिएन ।

प्रेरणा केवल सकारात्मक मात्र हुन्छ कि अरू पनि प्रकारका ?

 सकारात्मक नकारात्मक दुवै हुन्छन् । म ‘सडक कविता क्रान्ति’ को उत्पादन हूँ भन्छु आफूलाई । झापामा २०३६ सालमा भएको सडक कविता क्रान्ति देखेर मैले म भित्र भएको रचनात्मक विद्रोहलाई कवितात्मक वाणि दिएको रै’छु । जुठो बार्नु पर्नेगरी त मेरा कुनै गुरु छैनन् तर इमान्दारीपूर्वक भन्ने हो भने म कविता भन्ने शैलीमा भवानी घिमिरेको फ्यान थिएँ त्यसबेला । साथै हरिभक्त कटुवाल, नकुल काजी, डा.द्रोण पौडेल र कालीप्रसाद रिजालका कवितात्मक रचनाले मलाई कवि बन्न प्रेरणा दिएका हुन् ।

साहित्यकार हुँदाका सन्तुष्टिलाई शब्दमा कुन रूपमा व्यक्त गर्नुहुन्छ ?

सबै प्रकारका साथीभाइ र चेलाचेलीले गर्ने मनितो त छँदै छ साथै आफूले पनि केही कविता र निबन्धबाट नेपाली साहित्यमा थोरै भए पनि इँटा थप्न पाएको सुखानुभूति भित्र मनमा छ । एकपटक बाआमा भारतको हरिद्वार र ऋषिकेशको तीर्थाटनमा जाँदा हरिद्वारमा बास नपाएर रिक्सामा फन्फनी सहर घुमिरहेका बेला कुनै नेपाली धर्मशालामा खनार, सुनसरी स्थायी ठेगाना भएका एकजना नेपाल थरका त्यहाँका पण्डित÷प्राध्यापकले ‘नेपाल समाचारपत्र’ दैनिक पढ्ने गर्नु भएको र सो पत्रिकामा मेरो त्यसबेला नियमित रूपमा व्यङ्ग्य छापिने गर्दथ्यो । ती नेपाल पण्डितले मेरो नामथर उच्चारण गरेर बासँग मेरो बारेमा जानकारी लिन खोज्दा त्यो नामथर गरेको मानिस त ‘मेरै छोरो’ भनेपछि ती पण्डित÷प्राध्यापक खुसी भएर मेरा बाआमालाई सत्कारपूर्वक उनको धर्मशालामा बस्न दिएर फेरि अर्कोपटक रिक्सामा हरिद्वारको भ्रमण गराएको प्रसङ्ग जब बाले तीर्थ सकिएर घर आएपछि हामीलाई कथाझैँ सुनाउनु भयो अनि मलाई साहित्य लेखनको अप्रत्यक्ष महत्व र साहित्यकार हुनुका सन्तुष्टि बोध भयो । खासमा मेरा बाआमालाई म लेखक भएको बास्तविक रूपमा त्यतिखेर मात्र थाहा भयो । त्यसपछि मेरो परिवारले मलाई लेखनमा सकेको सहयोग गर्दै आएको छ ।

साहित्यकार नहुनुभएको भए तपाईं के हुनुहुन्थ्यो होला ? यस्तो परिकल्पना कहिल्यै गर्नुभएको छ ? गर्नुभएको भए कस्तो त्यसको उल्लेख गरिदिनुहुन्छ कि ?

साहित्यकार हुनुका पछाडि मेरो कुनै योजनाबद्ध योजना नै होइन । म जीवनलाई कविता, निबन्ध र कथामा प्रस्तुत गर्दागर्दै स्वतः लेखक बनेको हूँ । खासमा त अझै मलाई लेखक भएजस्तो नि लाग्दैन तर पनि १० वटा सानातिना कृति निस्किसके छन् । अँ ! त जीवन जिउने कुनै योजना हुन्छ जस्तो मलाई लाग्दैन । यो त भोग्दै गएपछि आपसेआप जिइन्छ । साहित्यकार नभएको भए म के हुन्थे भन्ने मैले कल्पना पनि आजसम्म गरेको छैन । मलाई साहित्यकार भएकोमा न त कुनै गर्व लाग्छ न अरू केही नभएकोमा दुःख नै । अँ ! सिनेमाको क्षेत्रचाहिँ मलाई मन पर्ने क्षेत्रमध्ये एक हो । त्यो तुस चाहिँ अझै मरेको छैन ।

आफ्ना रचनाहरूको प्रेरणास्रोत र पर्यावरणका बारेमा बताइदिनुहुन्छ कि ?

समसामयिक सामाजिक घटना उल्लेख गर्ने विविध जानकारी अथवा सञ्चार माध्यममा आउने समाचारबाट म धेरैजसो विषयवस्तु लिने गर्दछु । साथै महान् लेखकहरूका पुस्तक पढेर पनि प्रभावित हुँदा लेख्ने गरिएको छ । मलाई अभाव, गरिबी र विविध कारणहरूले पछाडि पारिएका मानिसहरूको बोली लेख्न बढी मन पर्छ । त्यस्ता कुरा लेख्न पाउँदा मलाई हलौं भएको अनुभूति हुन्छ । लेखन अघि एकप्रकारको पीडा हुन्छ र सोही पीडा समनका लागि म लेख्छु । धेरैजसो कुरा लेखिसकेपछि मलाई सन्तुष्टि हुन्छ । जहाँसम्म विधाको कुरा छ त्यो चाहिँ मैले मेरो दिमागमा क्लिक गरेको कुराले आफूलाई प्रष्ट पार्न के विधाको माग गर्छ त्यसको ख्यालचाहिँ म निकै दिनसम्म पनि मनमा गरिरहन्छु । विषय र थिमले विधा आफैँ स्पष्ट हुन्छ । किताबहरू पढ्दा वा कक्षामा पढाउँदा पनि यस्ता विषयवस्तुहरू बिजुली चम्केको गतिमा आउँदै जाँदै गर्छन् । कति टिप्न सकिन्छ कति सकिन्नँ । जहाँसम्म पर्यावरणका कुरा छन् मैले सहरी जीवनका निम्न र मध्यम वर्गीय मानिसलाई पात्र बनाएको छु । केही कथाहरू तराई नश्लका वासिन्दाहरूलाई पनि पात्र बनाएर लेखेको छु ।

तपाईं आफ्ना सिर्जनाहरूमध्ये तुलनात्मक रूपमा सबभन्दा बढी सन्तुष्ट कुन रचनासँग हुनुहुन्छ र किन ?

कवितामा यो नै भन्ने चाहिँ छैन । कविताहरू केही छन् पछिल्लो समयमा लेखिएका कलात्मक र विम्बात्मक शैलीका । निबन्ध भन्नुहुन्छ भने चाहिँ ‘ब्याक बेन्चर’ नामक आत्मपरक निबन्धसङ्ग्रह भित्र रहेका सम्भवामी युगेयुगे, भार्या चिन्तन, सम्पादकको मृत्यु, दुःख आफैँ दुख्ने गर्छ, स्वाभिमानको शोकगीत, ब्याक बेन्चर र व्यवहार विश्वविद्यालय जस्ता निबन्धबाट बढी सन्तुष्ट छु किनकि त्यहाँ मैले जीवन र जगत्का बारेमा सूक्ष्म चित्रण गरेको छु । यो निबन्ध कृति प्रकाशित भैसके पछि मलाई अब निबन्धको कृति निकाल्ने रहर पुगेको छ । गाली र ताली जे पाउने हो मैले सोही कृतिबाट पाउने हो । मैले त्यहाँ करिब दस वर्षको लगानी गरेको छु । अब एउटा कथासङ्ग्रह र एउटा उपन्यास पूरा गर्ने रहर छ । बीचमा केही कविताका किताब पनि नआउलान् भन्न सकिन्नँ ।

सर्जकको सिर्जनाको मूल्याङ्कन समालोचक र पाठकले गर्ने हो तैपनि तपाईं आफँैले आफ्ना सिर्जनाको स्वमूल्याङ्कन कुन रूपमा गर्नुहुन्छ ?

मैले मेरा जतिपनि रचनाहरू लेखेको छु तिनीहरूको लेखन मैले द्रूतत्तर गतिमा गरेको हूँ । मलाई लेखनको भूत चढिसकेपछि पढ्न छाड्छु । पहिलेपहिले कापी र कलम प्रयोग गरियो । साठीको दसकदेखि कम्प्युटरमा लेख्छु । मैले निम्न स्तरका रचनाहरू पनि लेखेको छैन र वाह ! भन्ने सारै उच्च स्तरका रचनाहरू पनि लेखेको छैन । मैले लेखेका रचना या कृतिहरू मध्यम स्तरकै हुन् । तर यो भनाइ मेरो सो ‘ब्याक बेन्चर’ मा लागू हुँदैन । त्यो कृतिमा भने निकै आशावादी छु । जसमा मैले मरो लेखन जीवनको एक दसक लगानी गरेको छु । अहिलेसम्म मेरा कृतिलाई पाठकले केकसरी लिनु भएको छ त्यो मैले सिरियसली थाहा पाएको छैन । हिजोको जमानामा चाहिँ समालोचकले समालोचना गरिसकेपछि मात्र थाहा पाइन्थ्यो । आज चाहिँ सामाजिक सञ्जालबाट तुरुन्तातुरुन्तै पाइन्छ । हिजोको लेखन अलि गम्भीरजस्तो लाग्थ्यो भने अहिले सतही हुँदै गएको हो कि जस्तो लाग्छ । आफ्ना पनि र अरूका पनि । हिजोआज म त्यति छिटो लेखिरहेको छैन । उमेर, जिम्मेवारी र रूचिका कारण पनि हुन सक्छ । आजकाल धेरैजसो समय अध्यापन, प्रशिक्षण, सम्पादन र अध्ययनमै बित्छ । त्यसबाट उब्रेको समयमा लेख्ने हो । थिम दिमागमा आएका बेला या विषयवस्तु क्लिक भएका बेला माथिका सबै काम थाति राखेरै भए पनि नलेखी सक्दिनँ ।

सारमा, मेरा रचनाले मानिसलाई आफू बाँचेको समयबारे चिन्न सहयोग गर्छन् । मैले आजसम्म आग्रही, विग्रही, पूर्वाग्रही र संग्रहीको भावले साहित्य लेखेको छैन र जीवनपर्यन्त लेख्दिनँ पनि । म मनको आदेशमा लेख्ने लेखक हूँ जो आफू बाँचेको समयलाई भावी पुस्ताका लागि अभिव्यक्ति दिन चाहन्छ । लेखक र लेखन निर्बन्ध हुनुपर्छ भन्ने मेरो मान्यता छ । म कुनै पनि वाद र विचारमा आजसम्म बाँधिएको छैन । कुनै दलको सदस्य मैले लिएको छैन र लिनु पर्छ भन्ने पनि ठान्दिनँ । एउटा जेनुइन लेखक सत्ताको स्थायी विरोधी हो भन्ने भनाइबाट प्रभावित छु । सत्ताबाहिर रहेका, सेवासुविधाविहीन, आवाजहीन, छेउलागेका र अदनाहरूको वारेस भएर जीवनको अन्त्यसम्म लेखिरहन मन छ । हिजो पनि मोरमोलाहिजा विना लेखेँ, आजपनि लोभानीपापानी नराखी लेखिरहेको छु र भोलि पनि कुनै आग्रह नराखी लेखिरहन्छु ।

लाई राष्ट्रले २०६६ सालमा अब्बल शिक्षण गरेको भनेर ‘राष्ट्रिय शिक्षा पुरस्कार’ दियो त्यो मेरो शिक्षण जीवनको ठूलो पुरस्कार हो भने अर्कोतर्फ, लेखनतर्फ कक्षा: ५ र ६ मा मैले लेखेका दुईवटा बालकथाहरू ‘डुसी बाछी र भाइटीका’ र ‘किस्ताको कम्प्युटर’ पढाइन्छन् त्यसलाई पनि मैले पुरस्कार कै रूपमा लिएको छु । मैले लेखेका ‘आधारभूत निबन्ध’ र ‘माध्यमिक निबन्ध’ लाई विद्यालय शिक्षामा सन्दर्भ सामग्रीका रूपमा अध्ययन गराइन्छ । यो नै मेरो लेखक जीवनको पुरस्कार हो । फुटकर कविताका हकमा मेरो कवितालाई समेत कोट गरेर डा.वामदेव पहाडीले २०५२ सालमा ‘आन्दोलनकालीन नेपाली कविता’ शीर्षकमा प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने ‘समकालीन साहित्य’ त्रैमासिकमा लामो समालोचना लेख्नु भएको थियो । एम्एमा त्रिविबाट मेरा बारेमा थेसिस लेखिने काम र एकादुई कृतिको कृति समीक्षा बाहेक एकल समालोचना अहिलेसम्म मेरा कृतिमा भएको छैन । अनलाइन साहित्यिक पत्रिकाहरूमा पाएको रेस्पोन्स अनुसार संसारभरिका युवा पाठकहरूले मेरा रचनाहरू राम्रै गरी पढ्नु भएको छ । त्यो देख्दा भने मैले समयप्रति न्याय गरेको भान मलाई हुन्छ ।

सर्जकको समग्र सिर्जनाको मूल्याङ्कन गणितीय अङ्कमा हुन सक्छ कि सक्दैन होला ? सकिन्छ भने कुनकुन आधारमा कतिकति पूर्णाङ्क दिन सकिन्छ होला ?

‘सुनारेको सय चोट लोहारेको एकै चोट’ भन्ने उखान मलाई लेखनमा पनि मन पर्दथ्यो तर आफ्नै कृतिहरू अब १० वटा भैसके । त्यसैले यो भनाइ मैले भनेको राम्रो नसुनिएला पनि । जहाँसम्म गोपालप्रसाद रिमाल, भैरव अर्याल, हरिभक्त कटुवाल, रुपनारायण सिँह र गुरुप्रसाद मैनालीले संख्यात्मक भन्दा गुणात्मकलाई ध्यान दिए । मलाई तिनीहरू मन पर्छन् । धेरै लेखेर ठूलो र थोरै लेखेर सानो लेखक होइन्छ भन्ने पनि होइन ।

भारतका गुलेरी प्रसादले एउटा कथा लेखेका छन् –‘उसने कहा था’ । यसलाई पनि सम्पादकले लामो भएकाले दुईटा बनाएर प्रकाशित गरिदिए । आज तिनी आधुनिक हिन्दी कथा जगत्का महान् हस्ती मानिन्छन् । हाम्रै कथाकार पुस्कर शमशेरका ६ वटा मात्र कथा भएकाले पहिले सङ्ग्रह आएको थिएन । पछि भूमिका थपथाप गरी शुभेच्छुकले सङ्ग्रह न निकाले । गुरुप्रसाद मैनालीको ‘नासो’ डा.तारानाथ शर्माले सम्पादन गरेर निकाली दिएका हुन् । सिर्जनात्मक कार्यको मूल्याङ्कन गणितीय अङ्कमा हुन सक्दैन भन्ने मान्यता छ ।

 तपाईंले निर्धारण गर्नुभएका आधारमा स्वमूल्याङ्कन गर्नुपर्दा आफैँलाई १०० पूर्णाङ्कमा कति अङ्क निर्धारण गर्नुहुन्छ ?

कृतिको संख्याका आधारमा भन्ने हो भने मैले जीवनमा एक दर्जन जति किताब लेख्छु भन्ने सपना सँगालेको थिए । अहिले १० वटाजति निस्किसकेपछि त्यो अब पूरा हुन लाग्यो जस्तो लाग्न थालेको छ । यस मानेमा मैले आफूलाई १०० मा ७५ दिन मिल्छ तर गुणवत्ताका हिसाबले मेरा निस्किनु पर्ने ५ वटा किताब आर्थिक अभाव भएर निस्किन सकेनन् र अहिले आएका किताबलाई हेर्दा गुणवत्ताका हिसाबले म ६५ अङ्क मात्र दिन सक्छु । आफ्नो मिहिनेतका आधारमा ६५ अङ्कमा पनि म सन्तुष्ट छु ।

समसामयिक साहित्यिक लेखन कस्तो हुनुपथ्र्यो होला ?

यसमा साँचो बोल्यो भने सबैले छुचो भन्छन् । नेपाली साहित्यमा समसामयिक लेखन चित्तबुझ्दो नै छैन तर छ्या भन्न लायक पनि देखिँदैन । मलाई केही साहित्यिक पत्रिकाको प्रकाशन देख्दा ती साहित्यिक पत्रिकाहरूले सम्पादन होइन संकलन मात्र गरेका छन् जस्तो लाग्छ । ‘गरिमा’ मा अविनाश श्रेष्ठको सम्पादन र अहिलेका कोसेली, अक्षर, झन् नयाँ, फुर्सदमा आएका रचनाहरू अब्बल हुन् तर ती जति आएका छन् सबैमा साहित्यिक चेत छन् भन्न म सक्तिनँ । किताबका हकमा केही प्रकाशनका किताब ठिक छन् । नेपाली साहित्यका किताबमा समग्रमा कागज र मसीको बर्बादी भएजस्तो लाग्छ । साझा र एकेडेमीबाट आएका किताबहरू पाँच पेज पनि पढ्नलायक नभएका थुप्रै छन् । यो मामलामा निजी प्रकाशन गृहले बरू राम्रो गरेका छन् ।

समसामयिक साहित्यिक लेखनलाई कुन रूपमा देखिरहनुभएको छ ?

अनलाइन, ब्लगपोष्ट र कथित मूलधारका भनिने केही दैनिक पत्रिकाहरूका परिशिष्टाङ्कमा धेरैजसो ‘चाचुचा’ र ‘धन्दा पत्रकारिता’ चलेको सुनिन्छ । प्रविधिले अहिले राजधानी र मोफसलको लक्ष्मण रेखा पनि तोडिदिइसक्यो । हिजो खाँटी लेखक गाउँमा छ भन्थ्यौं हामी, याने राजधानी काठमाडौँ बाहिर । अब त गाउँ गाउँ नै रहेन । नयाँ लेखकहरूले राम्रो लेखिरहेका छन् । समालोचना लेखन सबैभन्दा कमजोर छ । नाटक र निबन्धमा कम लेखकहरू भित्रिएका छन् । लेखेरै बाँच्न सक्ने स्थिति अझै बनेको छैन । लेखकलाई कुनै न कुनै पेसामा अल्झिनु पर्ने बाध्यता छ । फ्रि भएर लेखनमा मात्र रम्न सक्ने स्थिति न हिजो बन्यो, न आज छ । भोलि के हुने हो भन्न सकिन्नँ ।

नवलेखनलाई कुन रूपमा देखिरहनुभएको छ ?

नवलेखन भनेको कहाँबाट हो ? म त झुक्किएँ त । राम्रो सम्भावना देखिएको नयाँबाटै हो । पुरानाले त बरू पाठक झुक्याइरहेका छन् । कवितामा प्रविधि भित्र्याइयो । उदाहरण: नवराज पराजुली, सुदेश सत्याल, बलराम दहाल । पढिनेबाट अब सुनिने कविताहरू आए । कविता कन्सर्ट गर्न कविहरू विश्व भ्रमणमा निस्किए । लेखिने कविताहरू पनि राम्रै लेख्ने भाइपुस्ताहरू जो छन् । जसमा: विमला तुम्खेवा, रावत, विनोद विक्रम केसी र विश्व सिग्देलले कवितामा न्याय गरेका छन् । अरूहरू थुप्रै छन् नाम सम्झिन सकिनँ ।

नाटकको भविष्य सदाबहार देखियो । अशेष, विजय विस्फोट, घिमिरे युवराज, टंक चौलागाई लागिरहेकै छन् । निबन्धलाई नयाँ पुस्ताले लेखनमा त्यति रूचाएको देखिएन । आख्यानमा अहिले सबै हाम्फालेका छन् । विक्री पनि अहिले आख्यानकै छ । केही भल्गर बिकेका छन् । केही युद्ध साहित्य । केही निराशा बिक्दै छन् । गजललाई नेपाली गायकहरूले गायनमा पफर्मेन्स गर्न सक्नु पर्दथ्यो । त्यो देखिएन । अहिले पत्रिका र फेसबुकमा मात्र गजल देख्दा गजलको गाजल लत्पतिएको देख्छु । गीतमा नाम, दाम र काम तीनै चिज छन् । साहित्य भन्दा कला अघि बढेको हो जस्तो लाग्छ । कला भन्नाले अभिनय कला र सिनेमा निर्माण र निर्देशन ।

इतिहासदेखि आजसम्म आइपुग्दा शासक र सर्जकका बीचको सम्बन्धलाई कुन रूपमा देखिरहनुभएको छ ?

‘साहित्य झुप्रामा फुल्छ र महलमा गएर मर्छ ।’ यो भनाइले मलाई धेरै दसकसम्म हल्लाइरह्यो । शासकले आफूलाई सबै कुराको ज्ञाता ठान्छ जुन उसको गहिरो भ्रम हो । ज्ञाता हुने भए उसले सल्लाहकार नै राख्दैनथ्यो । एउटा कटु कुरा के भने शासकले नजान्न सक्छ तर जनताले भनेको नमान्न चाहिँँ सक्दैन । जनअभिमत नमान्ने शासकलाई जनताले पाँच वर्षपछि सत्ताबाट घिसारेर सडकमा ल्याउछन् । संसारमा देखिएको यस्तै छ । सर्वज्ञ त सर्जक पनि हुँदैन भने त्यो शासक भनेको राजनीतिको पुच्छर समातेर कुर्सीमा बसेको बुख्याँचाजस्तै हो । नाम त लिन्न अहिलेका एकजना संघीय मन्त्रीले उनकै पार्टीका एकजना प्राध्यापकलाई गीतिनाटक लेख्न लगाएर आफ्नो नाममा प्रकाशित गरी पार्टीको महाधिवेसनमा बेचेर ठूलो रकम उठाएको भनी यो लेखकसँग साहित्यिक लेखन प्रशिक्षणमा रहँदा गुनासो गरेका थिए । यो सामान्य परिघटनाले पनि के देखाउँछ भने शासक र सर्जकको सम्बन्ध ३६ को जस्तो हुन्छ । यदि शासकलाई मन पर्ने मात्र खालको लेखिदिने सर्जक छ भने त्यस्तालाई भाट लेखक भनिन्छ । त्यो भाट लेखक जनजनको हृदयमा बस्नै सक्दैन ।

सर्जक र सामाजिक सदस्यका बीचको सम्बन्धलाई कुन रूपमा देखिरहनुभएको छ ?

सर्जक पनि समाजको सक्रिय सदस्य हो । हामी जो आफूलाई सर्जक भन्छौं ती समाजका विचारलाई वाणि दिने वारेस मात्र हौं । हामीले कुनै महान् काम गरेका छैनौं । यदि छौं भन्छौं भने त्यो हाम्रो भूल हो । हामीले त समाजबाट लिएर समाजलाई नै दिने हो । मात्र हामी बाहक हौं –अभिव्यक्तिका । संसारका सबै मानिस कवि हुन् । मात्र के फरक छ भने कोही कथ्न जान्दछन् कोही जान्दैनन् । त्यसैले जान्नेले नजान्नेको काम गरेका हुन् । सघाएका हुन् । अनि किन त्यत्रो ठूलो अहम् । सर्जक र सामाजिक सदस्यका बीच नङमासुको सम्बन्ध हुन्छ । हुनुपर्छ ।

तपाईंलाई उत्कृष्ट लागेका विश्वस्तरीय सर्जक र सिर्जनाका बारेमा कारणसहित जान्न सकिन्छ ?

पूर्वमा वाल्मीकिको ‘रामायण’ र वेद व्यासको ‘महाभारत’ । पश्चिमका लियो तोल्सतोयको ‘युद्ध र शान्ति’, अल्वेयर कामुको ‘द प्लेग’, आन्तोन चेखभको ‘आमा’, जर्ज अरबेलको ‘एनिमल फार्म’, रवीन्द्रनाथ ठाकुरको ‘गीताञ्जली’ र आधुनिक भारतीय लेखिका अरुन्धती रोयको ‘द गड इज स्मल थिङ्’ भन्ने कृति मलाई गतिला जँच्छन् । तिनीहरूले आआफ्नो समयको क्रिटिकल कथाव्यथा बोलेका छन् ।

तपाईंलाई उत्कृष्ट लागेका डायस्पोरिक सर्जक र सिर्जनाका बारेमा कारणसहित जान्न सकिन्छ ?

नेपाली दाजुभाइ श्रम गर्न, अध्ययन गर्न, विजिनेस गर्न र कोही चाहिँ उतैको पिआर पाएर या ग्रीन कार्ड लिएर विदेशी भूमिमा बसेका बेला र तिनीहरूले आफ्नो ‘देश कल्पेर’ लेखिएका कृतिलाई अहिलेको फेसनेबल शब्दमा डायस्पोरिक (स्वदेश पीडा) कृति भन्ने गरिएको छ । डायस्पोरा (परिचय, प्रवृति र रचना) का बारेमा करिब ७ वर्षअघि कथाकार मनु ब्राजाकीले ‘कोसेली’ मा लेखेको त्यो उत्कष्ट लेखले डायस्पोरिक रचनाका बारे विस्तृतमा कहेको थियो । नेपालीहरू विदेशमा गएर बस्न थालेको पुस्तौंपुस्ता भएकै छैन । तिनेरूले त्यहाँ दुःख पाएकै छैनन् । सुख भोगेकै छैनन् । यस्तोमा दुईचार वर्ष घर देशबाट परदेश गएर देश कल्पेर लेखिएका १०/२० कृतिहरू होलान् तर वाह ! यो कृति चाहिँ मास्टर पिस भन्न लायक मैले देखेको छैन । अँ ! राजवको ‘क्यापिटल हिल’ र धरावासीको ‘गेस्टापो’ चाहिँ केही अपवाद हुन सक्छन् । छन् त मानिसले ‘तेल भिसा’ लागेर अमेरिका जाँदा ‘छोरी ज्वाइँ भेट्न अमेरिका’ जस्ता नामका किताब पनि लेखेका रहेछन् । म चाहिँ किताब निकालेपछि त्यसको केही न केही कृतिगत गुणवत्ता हुनुपर्छ भन्ठान्छु । नत्र कागज र मसीको सत्यानाश मात्रै हुन्छ । किताबमा रहर आउने हो कि विचार ? पाठकलाई नै छाडेँ यसको उत्तर मैले ।

तपाईंलाई उत्कृष्ट लागेका स्वदेशी सर्जक र सिर्जनाका बारेमा कारणसहित जान्न सकिन्छ ?

आधुनिक कालका देवकोटा, सम, लेखनाथ, रिमाल, पारिजात, वीपी, हरिभक्त, अशेष र डा.तारानाथ शर्माका क्रमशः शाकुन्तल, चिसो चुल्हो, ऋतुविचार, मसान, शीरिषको फूल, सुम्निामा, यो जिन्दगी खै के जिन्दगी, सडकदेखि सडकसम्म र बेलायततिर बरालिँदा नै हुन् । यी मध्ये कुनैको विषयवस्तु, कुनैको शैली र कुनैको सन्देश मन परेर नै हो । अहिलेका पनि छन् । थुप्रै । नाम लिँदा यो वार्ता तनननन हुन्छ ।

तपाईंलाई लाग्छ, अहिलेकै लेखन गतिले नेपाली साहित्यमा विश्वस्तरीय साहित्य सिर्जना हुन सक्छ ?

सक्दैन । देवकोटाले लेखेको महाकाव्य ‘प्रमिथस’ को त्यो ल्याकत थियो विगत्मा । बीचमा डायमण्ड शमशेरका ऐतिहासिक यथार्थवादी उपन्यासले त्यो रूप देखाउन खोजेका थिए । तर अहिले देख्दिनँ । अहिले संख्या धेरै तर स्तर कम भएका कृतिहरूको बाहुल्यता नेपाली साहित्यमा देखापरेको छ । अहिले फेरि भाडामा किताब लेखाउने संस्कृति (घोष्ट राइटिङ्) पनि चलेको छ । हुन् त सबैका कथा हुन्छन् संसारमा । लेखिनु पनि पर्छ । तर जेनुइन लेखकले लेखेका मास्टर पिस कृति र आम मानिसले लेखेका सामान्य बाजारी कृतिमा आकास जमिनको अन्तर हुन्छ । भलै त्यो बजारमा बढी बिक्ला रे ! यो भन्दा बढी अहिले नभनौं ।

नेपाली साहित्यको स्तरीकरण र विश्वव्यापीकरणका लागि ककसले केके गर्नुपर्छ होला ?

खुला बजारमा स्तरीकरण गर्न त केले सक्ला र ? कसलाई किताब नलेख भन्न सक्नु हुन्छ तपाईं । लेखिएका किताबलाई राम्रो नराम्रो छुट्याउने एङ्गल चाहिँ बनाउन सकिन्छ । जस्तै: विषयवस्तु, सन्देश, शैली, परिवेश र भाषा यी अङ्गका आधारमा स्तरीकरण गरेर अनुवाद गराउन सकिन्छ । अहिलेको एकेडेमीमा अनुवाद विभाग गठन गर्नु प¥यो । त्यसमा अङ्ग्रेजी, हिन्दी, फ्रान्सेली, जर्मनी, जापनिज र संसार प्रसिद्ध भाषामा नेपाली साहित्यका उत्कृष्ट कृतिहरू अनुवाद गराएर विश्व बजारमा पठाउन सक्यो भने हाम्रो कथा र विचार संसारले उसकै भाषामा पढ्छ अनि मूल्याङ्कन गर्दछ । नत्र आफू चाहिँ काम नगर्ने अनि यो भएन र त्यो भएन भनेर रोइलो गर्नेहरूसँग केही पनि उपाय नै छैन ।

तपाईंका लेखन र प्रकाशनसम्बन्धी भविष्यका योजनाहरूका बारेमा केही बताउन मिल्छ कि ?

एउटा कथा, एउटा उपन्यास र दुईटा कविताका किताब निकाल्ने रहर अझै मरेको छैन । हेरौं रहर रहरै रहने हुन् कि किताबमा अनुवाद पनि हुने हुन् ।

नेपाली साहित्यमा चलिरहेको सम्मान र पुरस्कारलाई यहाँले कुन रूपमा लिनुभएको छ ?

‘तँ दे अनि म तँलाई दिन्छु’ भन्ने शैलीमा पुरस्कार संस्कार डरलाग्दो रूपले अघि बढिरहेको छ । एकपटक एभेन्यूज टेलिभिजनले १५ हजारको साहित्यिक पुरस्कार लिन पाउने व्यक्तिले २० हजार खर्च गरेको भन्ने समाचार भाइरल बनेको थियो । पुरस्कार त योग्य पात्रलाई उसले गरेको योगदानको मूल्याङ्कनका आधारमा थाहा नपाइकन मिलोस् । आफूले पाएको पुरस्कार बिहान रेडियो या टिभीका समाचारमा सुन्न पाइयोस् न । अनि पो मजा आउँछ त । अहिलेको पुरस्कार संस्कारप्रति म विश्वास गर्दिनँ ।

 तपाईंलाई नेपाली साहित्यिक पत्रकारिता कस्तो भइदिए हुन्थ्यो भन्ने लागिरहेको छ ?

लेखकले लेखेका रचनाको थोरै भए पनि पारिश्रमिक मिलोस् । अहिले धेरै पत्रिकाले गरेजस्तो संकलन मात्र गरेर प्रकाशन नगरून । सम्पादन नै गरून । नवोदित लेखकलाई राष्ट्रिय स्तरका पत्रिकामा छापिनका लागि १/२ वर्षको मिहेनत नै लागोस् । अनि पो गुणस्तरीय रचना समाजमा आउँछन् त । यहाँ त फेसबुकमा ताइ न तुईका रचना ट्यास्स पोष्ट ग¥यो अनि आफ्नो ग्रुपमा गएर लाइक, कमेन्ट र सेयर गर्दैमा कवि हुने जमाना आयो । हामीले आफू नवोदित भएको समय सम्झ्यौ भने अहिले पनि तरक्क आँसु आउँछ । नेपाली पत्रकारिता र अझ साहित्यिक पत्रकारिता जिम्मेवारीपूर्वक अघि बढोस् । यही कामना छ ।

नेपाली पत्रकारिताको जनकका रूपमा रहेको साहित्यिक पत्रकारिताको वर्तमान अवस्थाका बारेमा यहाँलाई थाहा भएसम्मका कुराहरू बताइदिनुहुन्छ कि ?

केही पत्रिकालाई छाडेर प्रायः सबैमा कार्टेलिङ् छ । आफ्नो ग्रुप, झुण्ड, वाद, विचार, नश्ल र आग्रहका रचनाहरू मात्र छाप्ने अरू नछाप्ने भन्ने महारोग छ । त्यसको चाँडै अन्त्य हुनु पर्छ । राम्रो लेख्ने र अन्तर्वार्ता लिने लेखक र वार्ताकारलाई अग्रीम पारिश्रमिक दिनु पर्छ । अब नेपाली साहित्यको बजार नेपालभित्र मात्र सीमित छैन । यसले विश्वव्यापीकरणको लहर समातिसकेको छ । त्यसैले लेख्ने लेखकले, छाप्ने सम्पादकले र बेच्ने विक्रेताले हामीले विश्वकै मानिसका लागि यो काम गरिरहेका छौं भन्ने सोचेर जति काम गरिन्छ त्यो स्तरीय रूपमा गर्नु पर्छ । नत्र परिणाम सोचेजस्तो आउँदैन । यो पक्का हो ।

यहाँ सोध्न छुट हुन गएका र तपाईंलाई सोधिदिए हुन्थ्यो भन्ने लागिरहेको कुनै प्रश्न बाँकी भए कृपया ‘तपाईंको प्रश्न तपाईंकै उत्तर’ मा क्रमशः प्रश्नउत्तर लेखिदिनुहोला ।

तपाईंको प्रश्न तपाईंकै उत्तर:

जीवनमा प्रेम गर्नु भयो कि भएन ?

गरियो । विविध कारणले गर्दा असफल भयो ।

साहित्यको व्यवस्थित बजारीकरणका लागि देशभित्र के व्यवस्था गर्न सकिन्छ ?

देशभित्र रहेका सबै ७५३ वटै स्थानीय तहमा गतिला पुस्तकालय खडा गरेर देशभित्रबाट प्रकाशित भएका पुस्तकलाई प्रभावकारिता र गुणस्तरीयताका आधारमा ५/१० प्रति किनेर राख्ने व्यवस्था हुनुपर्छ । त्यस्तै सबै स्थानीय तहले सर्जकहरूलाई सहयोग गर्ने नीति बनाएर सहयोग गर्नुपर्छ । वार्षिक रूपमा साहित्य, कला र संस्कृति शीर्षकमा बजेट छुट्याएर देखिने गरी नै कार्यक्रमहरू गर्नुपर्छ ।

सबै लेखकहरूलाई राज्यले कसरी सम्मान गर्न सक्छ ?

लेखकहरूको रेकर्ड राख्नुपर्छ । परिचयपत्रको व्यवस्था गर्नुपर्छ । राज्यले लेखकलाई रिटायर्ड लाइफमा ‘लेखक पेन्सन’ उपलब्ध गराउनु पर्छ । केही देशमा यस्तो अभ्यास गरिएको छ । सरकारी पेन्सन खाने खालको लेखक छ या जेष्ठ नागरिकको भत्ता खाने खालको छ भने पनि यसैमा लेखक भन्ने व्यहोरा थपेर केही इन्सेन्टिभ दिन सकिन्छ । यसो भयो भने लेखकको जीवन पनि सानदार हुन्छ । म निर्णय गर्ने ठाउँ या सत्तामा भए यस्तो व्यवस्था तुरून्तै गर्दथेँ ।

नोटः यो अन्तरवार्ताको प्रस्तोता प्रकाश परिष्कार हुनुहन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो

जिन्दगीको परीक्षार्थीलाई मूल ग्रन्थ बेच्दैन सन्दर्भ पुस्तक पनि बेच्दैन केवल गेसपेपर बेच्छ आजको बजार । विद्रोह चेत बोकेर कविता लेख्ने