सत्तारुढ दलहरुको गठबन्धन समस्या सुल्झाउन कि बल्झाउन ?

१ भाद्र २०६९, शुक्रबार १३:१५ मा प्रकाशित

काठमाडौं, १ भदौ । आफ्ना एजेण्डाहरु स्थापित गर्न जहिले जोसंग पायक पर्छ त्यसैसंग मोर्चाबन्दी गर्दैआएको एकीकृत माओवादीले सले चाहेजस्तो जातीय पहिचानसहितको संघीयताका लागि संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चा गठन गरेको विषय यतिबेला राजनीतिक क्षेत्रमा विशेष चर्चाको विषय बन्न पुगेको छ । मुख्य विपक्षी दलहरुको चर्को आलोचना गर्दै एमाओवादीको अगुवाईमा गरिएको मोर्चाबन्दीले यसअघिका एमाओवादीका राजनीतिक सहयात्रीहरुसंगको माओवादीको सम्बन्धलाई थप कमजोर तुल्याउने अनुमान सर्वत्र गरिएको छ । विपक्षीहरुले पछिल्लो मोर्चाबन्दीलाई सत्तारुढ दलहरुको सत्तामा रहिरहने एउटा चाल मात्र भएको आरोप लागाएका छन् ।
आफ्नो पार्टीभित्र गहिरो फुट व्यहोरेको तथा दिनदिनै अलोकप्रिय बन्दै गइरहेको सरकारका कारण रक्षात्मक बन्दै गइरहेका एमाओवादी अध्यक्ष प्रचण्डले संघीयताका लागि भन्दै मुख्यतः सत्तारढ दलहरुको नयां गठबन्धन घोषणा गरेका हुन् । संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन नाम दिइएको उक्त मोर्चाबन्दी घोषणा गर्दै प्रचण्डले भनेका थिए– ‘समान विचार भएका, मुख्यतः जातीय पहिचानका पक्षधर, राज्यको समग्र अग्रगामी पुनर्संरचनाका पक्षधर, संविधानसभाबाट नै संविधानको घोषणा हुनुपर्छ भन्ने कुराको पक्ष लिने राजनीतिक शक्तिहरु एक ठाउंमा जम्मा भएर मात्रै राजनीतिक समस्याको निकास सम्भव हुने देखियो ।’
गठबनधनमा सहभागी घटकहरु एमाओवादी, मधेसी मोर्चाका अलावा केही साना समूहहरु रहेका छन् । गठबन्धन घोषणाका अवसरमा प्रचण्डले मुख्य विपक्षीहरुलाई संविधान निर्माणका मुख्य वाधक भन्दै आलोचना गरेबाट कांग्रेस, एमालेजस्ता दलहरुलाई अलगथलग पारेर आफ्नो वर्चश्व बढाउनका लागि मात्रै गठबन्धनको रचना गरेको सहज अनुमान लगाउन सकिन्छ । यही बुझेका विपक्षीहरुले मोर्चा गठनलाई सत्तारुढ दलहरुको सत्ता लम्याउने चाल भन्दै आलोचना गरेका छन् । कांग्रेस नेता रामशरण महत भन्छन्– ‘गणतन्त्रको कुरा सबै दलले स्वीकार गरेको हो, संघीयताको कुरा पनि सबैले स्वीकार गरेको हो, यस्तोमा प्रचण्डजीहरुले संघीयता र गणतन्त्रका लागि भन्ने बहाना बनाएर मोर्चा बनाउनुपर्ने तर्कमा कुनै तुक देखिंदैन । यसले सहमतिको राजनीतिलाई ब्रेक गरेर भीडन्तको राजनीति उहांहरुले सुरु गराउन खोजेको मान्न सकिन्छ ।’
आफ्नै पार्टीभित्रबाट तिरस्कृत हुन थालेको र पारिवारिक लगायतका विभिन्न समस्याबाट ग्रस्त भएका भनिएका प्रचण्डले आफ्नो स्थिति मजवुत बनाएर सत्ताको आयु लम्याइराख्न नै अप्राकृतिक अनुभूति हुने गठबन्धन सिर्जना गरेको विश्लेषकहरुको ठहर छ । राजनीतिक समस्या निकासका लागि भनिए पनि समस्या झन् बल्झाउने काम नै गठबनधनले गर्ने पूर्वानुमान जो गरिएको छ, यसलाई अस्वाभाविक र अन्यथा मान्न सकिन्न ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर