अपराधको शिकार -डीबी जिरेल

३१ श्रावण २०६९, बुधबार १८:३५ मा प्रकाशित

नेप्लुमाया विहान सबेरै उठिन Ι विहान सबेरै उठ्नु र बेलुका अवेर सुत्नु उनको दिनाचार्य नै हो । आफ्नो आदात अनुसार बाहिर बसेर आएपछि हातमुख धोइन् । अगेनाको वरीपरी लगाइएको ओछ्यानहरुमा आमा, दाईभाउजुहरु सुतेको कारण उनलाई अगेनामा आगो सल्काउन गाह्रो भै रहेको थियो । करिव २ मिटर चौडा र ४ मिटर जति लम्वाई भएको त्यो घर साँगुरो त त्यसै थियो सात जनाको परिवार, भण्डारण र बाख्रा कुखरा समेत भित्रै भए पछि झन कल्पना नै गर्न नसकिने साँघुरो थियो ।

“खै आमा उठ । दाइ भाउज्यु के भा’को यतिखेर सम्म ।”
उनको आवाजसँगै लहरे खोकीले समातेको आमा अन्त्यहिन खोकी खोक्दै अगेनातिर फर्किन । झुम्रैझुम्रोले खापेर बनाएको सिरोकबाट गौंथलीले टाउको निकाले झैं शिर निकालेर नेप्लुलाई हेरिन ।
“यति राती के खान उठेकी जाडोको बेला ?” मंगलमायाले खोकी सम्भाल्दै भनिनΙ
सुतोस पनि कसरी ? एकातिर फर्केपछि अर्कोतिर कोल्टे फेर्न नहुने गरेर आमासँग भित्तापट्टि घुस्रनु पर्थ्यो । कोल्टे पनि फेर्न नहुने गरेर आमासँग सुतेको रात मुस्किलले उनलाई निन्द्रा लाग्थ्यो । भाउज्यु उठेर बाहिर निक्ले पछि अगेनामा आगो बालेर पानी बसालिन् ।
“आमा, छ्यांग त पिँदमै पुगेछ । आफु घर बस्दा एक दुइ चोटी भन्दा कहिल्यै खाको होइन । आफुलाई एक कचौरा छैन भने कस्तो हुन्छ !” नेप्लुले घँइटोबाट छपनीमा छ्यांग निकाल्दै भनिन् ।
“बेलुका दाइहरु कामबाट थाकेर आउँछन् । उनीहरुले एकदुई मुख खाको त हो नि Ι” मंगलमायाले सुर्तीको ठुटा अगेनामा झोस्दै भनिन् । चालिसको उमेरमै बाउ बितेपछि मंगलमायाले पांच जना छोराछोरीलाई बनिबुतो गरेर हुर्काएकी थिइन । वौदिक रुपमा सुस्त झैं विधुवी आमाको कुरा पनि कसले खाओस । अरुको गोठमा गोठाला बस्दा बस्दा आधावैँश भै सकेको जेठो दाइ हदै सोझो मान्छे । बहिनीलाई अनुशाशन गर्ने उनलाई सुझ नै थिएन ।
दुइ डबका जाँड घुट्काएपछि नेप्लुले भाउज्युलाई खाना पकाउन अराइन् र यता आफ्नो श्रीगांरपटारमा लागिन् । पेटमा टमक्क पटुका बाँधिन् । टिमिक्क परेको रुबियाको ब्लाउज र लुँगी लगाएर काँधमा खास्टो सपक्क पट्टाएर राखिन् ।
” म कस्ती देखिन्छु आमा ?” नेप्लुले सोधिन् ।
” तैँ जान्द्छेस् ।” आमाको इशारा उनको पेटतिर थियो ।
करिव ८ बजेको समय सिमभन्ज्याङका विद्यार्थीहरुको बाटोभरी लर्को थियो । ति सबै २-३ घन्टाको बाटो हिंडेर गैरीटारको जनाज्योती विद्ध्यपिठमा पढ्न जान्थे ।
“ए नेप्लु, ढिलो भएन ? छिटो लुगा लगा । हामी एक घन्टाको बाटो हिंडेर यहाँ पुग्दा नि के भाको ?” कक्षा ७ मा संगै पढ्ने साथी डोमाले भनिन् Ι
“म त चेरदुङ जात्रा भर्न जान ठिक्क परेकी Ι” नेप्लुले सानुमायातिर हेर्दै भनिन् ।
ल ल तैंले कुन जात्रा छुट्याएकी छ्यौ र ? हाम्रो त बाउ आमाले छिरिक्क गर्न दिने होइन ?”डोमाले भानिन् ।
मनुमाया काकी अरु चार जना आधा वैंसे आइमाईहरु सहित अँगानमा पुगिन । ३० वर्ष कै उमेरमा लोग्ने भीरबाट खसेर अस्पतालमा उपचार गर्दागर्दै वितेपछि एक्लो छोरो पालेर जसो तसो जिबिका चलाएर बसेकी मनुलाई घर खर्च धान्न त्यति गाह्रो थिएन । तर समाजको एक्लो र निरिह विधुवा आइमाईलाई हेर्ने नजर र व्यवाहारबाट शिकार हुन बाट उनी पनि अछुतो रहेकी थियिनन । मनुको लोग्ने मर्दको उमेर लाउँलाउँ खाउँखाउँको उमेर थियो । शरीरको आवश्यकताले उनलाई नैतिकताको घेराबाट उछिट्याएर परपुरुषगामी बनाएको थाहा सायद उनले अहिलेसम्म चाल पाएकी थिइनन् या चाल पाएर पनि उनले पचाईसकेकी थिइन ।
नेप्लुमाया तयार भएर अँगानमा निक्लिन् । बेलुका ३ वजेतिर जसरी पनि मेलामा पुग्नु पर्छ भन्दै तिनीहरु उकालो लागे । उकालो बाटो त्यही माथि हिंडाइको गति अआफ्नै भएकोले नेप्लु र मनु अलि पछि थिए ।
“मैले त्यतिनै बेला भनेको हो क्यारे ।” मनुमायाले नेप्लुलाई हेर्दै भनिन् ।
“खै काकी त्यतिखेर छ्याँगले मातेको बेला केही हुन्न भनेर छ्येच्युको रातभरी सतायो । केही भएछ भने पनि त्यसैले सकारला भनेर ढुक्क भइयो ।” हिंड्न सहज गर्न लुँगीलाई अलि माथि तान्दै भनिन् ।
“अनि त्यो मगर केटा अहिले कता छन् ?” मनुमायाले प्रश्न राखिन् ।
“खै काकी जाने बेला गुहाटीमा बडालाई भेटेर चाँडै आउँछु भनेर गा’को हो । अत्तोपत्तो नै छैन ।” नेप्लुले अलि मुख बिगार्दै भनिन् ।
“कामीरामसँग पनि तेरो राम्रै सम्बन्ध छ क्यारे ।” मनुमायाले थपिन् ।
“उ सँग त अस्ति तिन महिना अघि माहिला दाइ कहाँ काठमांडू जाँदा एक हप्ता भेटेको त हो नि ।” अनुहारमा झरेको कपाललाई चिम्टीले च्याप्दै भनिन् ।
“घुन्साको साइँला तमाङसँग पनि कुरा चलेको थियो क्यारे ।” मनुमायाले सोधिन् ।
“उसको पनि पर्सि यार्साको जमानेको छोरीसँग पन्चे वाजा ठोकेर विहे छ रे । विहे गरौँ भनेर मरिहत्ते गर्दै थियो । न पढेको न जागिर मैले नै हुन्न भनेर टारेको ।” नेप्लुले भनिन् ।
“ हेर नेप्लु, महेश खरदार भने पछि कति केटीहरु हुरुक्क हुन्छन । तेरो कर्म नै फुटे पछि के लाग्यो र ?” मनुमायाले भनिन् । आर्थिक रुपमा असमानता भए पनि टेकवीर र कालुमान अति मिल्ने साथी थिए । कालुमान जिउँदो हुँदा नै आफ्नो छोराको विहे उसको छोरी नेप्लु सँग गर्ने वाचाबंधन ठोकेकाले टेकबीरले महेशलाई करकापमा पारेका थिए । पुरोहितले जुराए अनुसार तिनीहरुको लगन असोज २ गते थियो ।
“आ…छाड्नु काकी । अरु कुरा गर्नु ।” नेप्लुले भनिन् ।
करिव ५ बजेतिर तिनीहरु चेर्दुङ मुनिको फराकिलो चौरमा पुगे । चेर्दुङेश्वोर महादेवको पुजा आराधना हुने त्यो मेलामा मानिसहरुको बाक्लो उपस्थिति थियो Ι अलि पर २ ओटा चौँरीगोठहरु थिए Ι जाडो छेल्न चौँरी तल तल झरेकोले गोठहरु खाली देखिन्थे ΙΙ अलि माथि तेम्बाछिरी साहुको भट्टी पसल, मन्दिर सम्म जाने बाटोको नजिकै भीमप्रसादको चिया नास्ता पसल र रामकृष्ण नेवारको पुजा सामग्री पसल त्यहाँको यस वर्षको थप सुविधाहरु थिए Ι हजारौं मेला भर्न आएका मानिसहरु मध्ये किशोरकिशोरीहरू नगन्य थिए Ι पाका मानिसहरुको उपस्थिति उल्लेख्य भए पनि युवायुवतीहरुको संख्या बढी देखिन्थ्यो Ι केही शेर्पिनी दिदीहरु जर्किनबाट रक्सी बेच्दै गरेका ठाउँ ठाउँमा देखिन्थे Ι नजिकै अस्थाई प्रहरीबीट, प्रहरी बिटसँगै अस्थाई स्वास्थ्य चौकी समेतको व्यवस्था भएकोले चेर्दुङ धार्मिक स्थल व्यवस्थापन समितिले गएको ३ वर्षमा राम्रो सुधार ल्याएको प्रस्ट देखिन्थ्यो Ι महादेवको दर्शन गर्न करिव आधा घन्टाको उकालो चढेर चुचुरामा पुग्नु पर्ने भएकोले र बाटो समेत कठिन भएकोले उज्यालो हुँदै पुजाकर्म सिध्याउन दर्शनार्थीको बाटोभरी भिडभाड बाक्लो देखिन्थ्यो Ι
वातावरण चिसो भए पनि रात छिपिंदै जाँदा जात्राको गर्मी उकालो चडदै थियो Ι मादल, डम्फु, बच्छेबाजा र टुंगनाको धुनमा नाच्ने युवायुवतीको ३० भन्दा बढी समुहहरु शेलो, लोक र शेर्पा गीत गाएर नाच्न व्यस्त थिए Ι केही बुढाबुढी र आधावैँशे पुरुष तथा महिलाहरु भजन गाएर महादेवको आराधनामा डुबेका भए पनि धेरै युवायुवतीलाई आफ्नो लागि जोडी मिलाउने चटारो थियो Ι जात्रामा जोडी जुर्यो भने पुस्तापुस्तासम्म सन्तानको भलो हुने जनविस्वाश भएकोले युवायुवतीलाई एक आपसमा परिचय गर्न र सँगै नाचगान गर्न त्यहाँ त्यति बर्जित थिएन र पनि अति धार्मिक तिर्थालुहरुको लागि केही युवायुवतीको स्वछन्द गतिविधि पची रहेको थिएन Ι
“पापको त मान्छेहरुलाई डर नै रहेन Ι पर पिशाब फेर्न गा’को थिएँ के के देखेर आँखा छोपेर आएँ Ι देउताको दर्शन गर्न आएर यसो त गर्न नहुने Ι” नोर्गेले ढुंगेको आफ्नै दौँतरी हरीगोपाललाई सेतै फुलेको जुँगा मुसार्दै भन्यो Ι “ उ हेर त दुइ जना…लाज पचेर ….ति नै त हुन् Ι”
“के गर्नु हो नोर्गे दाइ ? कली आउँछ भन्थे यही होला Ι ए है दाइ, कालुमानको छोरी नेप्लु होइन है तिनी ?” हरीगोपालले अलि राम्रारी हेर्दै भन्यो Ι
“ ठिकै चिन्नु भो Ι उमेरले त दशले नै कान्छो हो नि तपाईं Ι” नोर्गेले चौथाबाट एक मुख मुख रक्सी सुरुप्प पार्दै भन्यो Ι
”बाउ बितेको उहिले हो Ι सोझी आमालाई हेपेर छाडा पल्टे पछि के लाग्थ्यो ? मेरो चेलीबेटी त्यस्ता भए जिउँदै दोबाटोमा गाडी दिन्थेँ Ι” हरिगोपालले माथि सरेको टोपी अलि तल तान्दै भन्यो Ι
विहान ६ बजि सकेको थियो Ι चौंरीगोठ भित्र सुतेको मनुमायाको जत्थाले उठेर नजिकैको खोलामा मुख धोए Ι रक्सीले मातेर ढलेका ४ जना ठिटाहरु अझै निन्द्रामै थिए Ι नेप्लुले मुख पुछ्दै कराएर उनीहरुलाई उठ्न लगाए Ι मेलामा मान्छेहरु पातालो भै सकेको थियो Ι तिनीहरु बिस्तारै ओरालो लागे Ι दिउँसो लाग्ने हलेसी जात्रा अझै भर्न बाँकी नै थियो Ι
अघिल्लो दिनको उकालो बाटोको हिंडाइ, त्यहि माथि निसाको धङधङी Ι उनीहरु दिउँसो २ बजे तिर हलेसी जात्रा पुगे Ι उनीहरु त्यहाँ पुग्दा केही मान्छेहरु जुहारी हाल्दै थिए Ι विजुलीको ब्यबस्था भएकोले टेपरिकरडर र सीडीबाट ठाउँ ठाउँमा गीत घन्की रहेको थियो साथै नाच चली रहेको थियो Ι
“के मुख मारेर बसेको ? आउ नाच Ι” मनुमायाले तान्दै भनिन् Ι
हैन काकी बरु, तपाईं यता आउनु न Ι” नेप्लुको अनुहार मरेको थियो Ι
“के भो ?” मनुमायाले सोधिन Ι
“पेटमा अलि सन्चो छैन Ι पाँच पनि बज्न आँट्यो Ι बरु जौं क्यारे घर Ι” नेप्लुले मुख बिगार्दै भनिन् Ι
“राती तेरो बाउको साँढेसँग नजा भनेको होइन मैले ?” मनुमायाले रिसाउँदै भनिन् Ι
अलि तल मिजारको घरमा सुनुवार विजुवाको ढल हेर्न जेठोको बुढाबुढी र साना दुइजना भाइहरु बेलैमा गइ सकेका थिए Ι अगेना छेउमा बसेर महेश मंगलमायासँग गफ गरिरहेको थियो Ι मंगलमाया हुनेवाला ज्वाईंलाई खाना पकाउँदै थिइन् Ι बाउले आउजाउ गर्दा केटीको चलन चाँजो बुझ्न सजिलो हुन्छ भनेर बेलाबेलामा जाउ भने पछि बाउको मन राख्न महेश आउने जाने गर्थ्यो Ι नदेखेसम्म को हो को हो देखे पछि माया मोह भने झैं बेलाबखतको भेटघाटले महेशको नेप्लु प्रतिको झुकाव पनि राम्रै बडदै थियो Ι
बेलुका सात बजेतिर नेप्लुमायालाई लिएर मनुमाया घर पुगिन् Ι नेप्लु गएर मझेरीको गुन्द्रीमा पल्टिन Ι केही समय कुराकानी गरेर मनुमाया गइन् Ι महेश र नेप्लुमाया विचको सामान्य सन्चो बिसन्चोको औपचारिक कुराकानी मात्र के भएको थियो नेप्लु छटपटाउन थालिन् Ι घरी घोप्टो घरी उत्तानो गर्न थाले पछि मंगलमायाले छोरीलाई समाइन् Ι
“खाने कुरामा कतै बिगार प-यो कि के हो?” उनले भनिन् Ι
आमाको हातलाई पन्छाएर उनी हतार हतार ढोका तिर बढिन् Ι संघार कट्न अघि नै मझेरीमै अचानक लोटा बाट पानी पोखे झैं छ्वाङ्ग पानी खस्यो Ι मंगलमाया हतार हतार उठेर पछि लागिन् Ι करिव १० मिनेट पछि महेश बाहिर निक्ल्यो Ι दाउराको कटेरो भन्दा अलि पर नेप्लु ऐया ऐया भनेर रुँदै थिइन् Ι मंगलमाया टमक्क हातले पछाडीबाट समाएर नेप्लुलाई सम्झाउँदै थिइन् Ι महेश नजिकै गयो Ι
“नेप्लु धेरै दुखेको छ ? अस्पताल जानु पर्ने हो कि ?” टिठ लाग्दो आँखाले नेप्लुलाई हेर्दै महेशले सोध्यो Ι
“नानी भित्रै बस्नुहोस Ι यिनलाई केही हुन्न Ι बेलाबेला यस्तै गर्छे Ι” मंगलमायाले भनिन् Ι
महेश गएर गुन्द्रीमा पल्ट्यो Ι करिव एक घण्टा जति आगो तापेर बस्यो Ι पाँच छ खिली चुरोट खाइ सक्दा बल्ल आमाछोरी भित्र आए Ι नेप्लु गएर आमाको ओछ्यानमा घुसरिन् Ι
“नेप्लु अहिले कस्तो छ ?” महेशले सोध्यो Ι
“अहिले अलि सन्चो भा’को छ Ι” नेप्लुले भित्तातिर मुख फर्काएरै भनिन् Ι
खाना खाए पछि केहि वेर घरको बारेमा कुराकानी गर्दागर्दै मंगलमाया निदाइन् Ι त्यो रात महेशलाई पटक्कै निन्द्रा लागेन Ι उसले नेप्लुको अवस्था ठिक छैन भन्ने अड्कल काटी सकेको थियो Ι
“बाउ म त्यो केटीसँग विहे गर्दिन Ι” महेशले भन्यो Ι
“ सबै चाँजो भएर विहेको मिति मुखमा पुगे पछि यसो भन्न पाइन्छ ? दुनियाको अघि मेरो इज्यत फल्ने कुरा गर्छस ? उता मावली भोली आउँदैछन घरमा राम्रो व्यवस्था गर्नु Ι” टेकबीरले भन्यो Ι
दिन कट्न समय लागेन Ι असोज २ गते सामाजिक रिवाज अनुसार महेश र नेप्लुको विहे भयो Ι समय आफ्नै गतिमा बित्दै थियो Ι दुलाही भित्राए देखि यता टेकबीर दङ्ग थिए Ι दुई जना नन्दाहरु र सासुको माया पाएकोले नेप्लुलाई त्यस्तो असहज केही थिएन Ι टेकबीरले नेप्लुलाई एसएलसी सम्म पढाई दिने समेत वाचा गरेका थिए Ι
“ नेप्लु, तिमीलाई एउटा कुरा सोध्न मन लाग्यो Ι” विहे भएको करिव १२ दिनपछि महेशले भन्यो Ι
“के हजुर ?” नेप्लुले प्रतिप्रश्न ग-यो Ι
“चोली नै भिज्ने गरेर यो दुधको फोहोरा…?” महेशले सोध्यो Ι
“खै…? बेला बेलामा पहिले देखि नै येस्तो हुन्छ Ι अस्पतालमा सोध्दा कोही कोहीलाई यस्तो हुन्छ भने Ι” नेप्लुले महेशलाई हेर्दै भानिन् Ι
महेशको दिमागमा अनेक शंकाको पहाडहरु उभिन थाले Ι मन भित्र असन्तुष्टिको फिलिङ्गो पसेकोले दिनदिनै ज्वाला बढ्दो थियो Ι यसैको कारण महेश र नेप्लुको सम्बन्धमा चिसो बढ्दै थियो Ι महेश बाउलाई यो कुरो भन्न चाहन्थ्यो Ι तर भन्न सकिरहेको थिएन Ι उसलाई लाग्थ्यो कि उसले कुनै घोर अपराधीलाई आश्रय दिइ रहेको छ Ι हुरीबतासले छाना उडाएको घर जस्तो उदांगो अवस्था, ग्रहण लागेको घाम जस्तो कालो चित्त अनि डढेलोले चाटेको वन जस्तो निर्जिव मनको घेरा बाट बाहिर आउन चाहान्थ्यो Ι तर उसले कुनै उपाय पाइरहेको थिएन Ι
“तेरो बाटो तँ लाग मेरो बाटो मा हिंड्छु Ι तँ वेश्याको अनुहार देख्यो कि कुसाइत पर्छ Ι” एक दिन बेलुका महेश मातेर घर पुग्यो Ι
”तँ जा निस्केर यो घर बाट Ι बाउ बित्यो भन्दैमा तैँले मनपरि गर्न पाइन्छ ? मेरा नाता नातिना छोडेर मेरो बुहारी कहाँ जान्छे ? सन्तान दरसन्तानले नासुँघेकोको कुकुरको मुत धोकेर आएर गधा साशन जमाउछस् ?” आमाले जंगिएर हकारिन् Ι
“ए वेश्या…अब यति कुरा खुलासा भए पछि लाज पचाएर तँ के ताकेर बस्छेस् ?” महेशले भन्यो Ι
“थुइया गधा…! आफ्नो दुधको कचौरामा आफै धुलो हाल्ने तँ बुद्दीहारा Ι” देउतीले नेप्लु र नानीहरुलाई तानेर भान्छा कोठा तिर लागिन् Ι
“ देवी सरि छे नि तपाईंको बुहारी अनि पुल्पुलाएर पाल्नु भा’को छ Ι” महेशले भित्तामा हातले समाएर आफुलाई अड्याउने कोशिस गर्दै भन्यो Ι
गएको १२ वर्षमा नेप्लु पुरै परिवर्तन भै सकेकि थिइन् Ι सिङ्गो गाउँमा सबैले पतिव्रत महिला भनेर प्रसंशा गर्थे Ι हरेक पुजापाठ, धार्मिक तथा सामाजिक कार्यहरुमा सक्रिय भूमिकामा देखा पर्ने भएकीले उनको चर्चा नजिकको गाउँहरुमा पनि हुने गर्थ्यो Ι यी सबको पछि देउतीको हात थियो Ι नेप्लुको यसरी परिवर्तन हुनको पछि उनको आफ्नै इच्छा पनि थियो Ι उनि विहे नगर्दाको जस्तो जुनी जिएर मुस्किलले भाग्यमा परेको ठुलो घर गुमाउन चाहान्न थिइन् Ι तर महेशको दिनदिनैको पछिल्लो कटु व्यवहारले उनमा केही नराम्रो गुणहरु उदय हुन् थालेको थियो Ι सानोतिनो भनाभनमा पनि प्याच्चै नराम्रारी मुख फर्काइ हाल्ने, धेरै जसो समय अँध्यारो मुख पारेर बस्ने, नियमित घरधन्दामा पनि अलि चासो नदेखाउने र केटाकेटीसँग पनि झर्केर बोल्ने जस्ता उनको बानी महेशको थप वितृष्णाको कारण बने Ι
“जहिले पनि त्यसको आमाको रगत खाएर आयो अनि जे मन लाग्यो त्यहि Ι” नेप्लुले मलको भारी घोप्टाउँदै भनिन् Ι
“ए माग्नेको सन्तान….के भनिस रे ? मेरी आमाले तेरो बाउको के खाइदेको छ ? तेरो छुचुन्द्रको जस्तो ओठ च्याती माग्लास् Ι” महेशले थुन्से टक्टकाउँदै भन्यो Ι
“हेरौँला मेरो मुख च्यातेको Ι तँलाई ठाउँसम्म पुराएर ठिक लाउन नसके त नेप्लु होइन म Ι भोलीपर्सी नेल लिएर पुलिस लिन आउँदा चाल पाउँलास् Ι” नेप्लुले आँशु पुछ्दै भनिन् Ι
करिव ११ बजेको थियो Ι महेश कवुलियती वनको कागजपत्र मिलाउन आएका गाउँलेहरुसँग कुराकानी गर्दै थिए Ι पियनले बाहिर कोही भेट्न आएको संकेत गरेपछि महेश बाहिर निक्ल्यो Ι गेटमा पर्खेर बसेको मानिसलाई उसले भित्र आउँन आग्रह ग-यो Ι
“सर म प्रहरी कार्यालय बाट आएको हुँ Ι मैले बुझे अनुसार तपाईंलाई तपाईंको श्रीमतीले घरेलु हिँसाको अभियोगमा डीएसपी कार्यालयमा उजुरी हालेकी छिन Ι पक्रेर हाजिर गराउने माथि बाट आदेश छ Ι भोली विहान कार्यालयमा ७ बजे आउनु भन्ने हाकिमको मर्जी छ Ι” प्रहरीले भन्यो Ι
“ठिकै छ भाइ Ι भोली ५:३० को बस चढेर आफै डीएसपी कार्यालय पुग्छु नि, हुन्न ?” महेशले भन्यो Ι
“होइन सर, तपाईं हामी सँगै जानु पर्छ Ι भोली कार्यालयमा हाजिर हुनुहोला Ι” यति भनेर प्रहरी गयो Ι
बेलुका महेश घर आउँदा नेप्लु घरमा थिइनन् Ι उसले आमालाई सोध्यो Ι त्यसपछि नानीहरुलाए सोध्यो Ι कसैले केही थाहा नभएको बताए Ι महेशले नेप्लुलाई फोन लगायो Ι पहिलो चोटी फोन उठाएर पनि उनले केही बोलिनन् Ι त्यसपछि उनले फोन बन्द गरेकोले उसको सम्पर्क हुन सकेन Ι त्यो रात उसलाई निन्द्राले छुएन Ι बिहान सबेरै उठेर तयारी भएर चिया खायो Ι आमालाई सदरमुकाम पुगेर आउँछु भनेर झोला टिपेर प्रहरी कार्यलय पुग्यो Ι धेरै चोटीको प्रयास पछि बस चढ्ने बेला फोन गयो Ι
“नेप्लु, तैँले कति लछारपाटो लाउँछेस… हेरौँला Ι” महेशले भन्यो Ι
“ मेरो पवार कति रहेछ ठाउँमा देख्लास Ι” नेप्लुले फोन काटिन् Ι
कच्ची सडक पार गर्दै बस करिब १२ बजे सदरमुकाम आएर रोकियो Ι खानपिनपछि डीएसपी कार्यालय पुगे Ι कार्यालय परिसरमा धेरै मानिसहरु देखिन्थे Ι महेशलाई बाहिर प्रतिक्षालय राखिएको थियो Ι मानिसहरुले आफुलाई हेर्दा महेशलाई राम्रो लागिरहेको थिएन Ι हतकडी लगाइएको हातले अनुहारको पसिना पुछ्यो Ι
“हेर्दा भलाद्मी देखिन्छ Ι वुद्दी बिग्रेपछि के लाग्यो Ι ” एक जना पुरुषले भन्यो Ι
“हेर्दै मान्छे मारेर ल्याए जस्तो छ Ι कि ठुलै चोर हुनु पर्छ Ι” अर्कोले भन्यो Ι
“विचराको चिनेजानेको ठुलो नेता थिएन होला Ι नत्र के एकलै हुन्थ्यो ?” उसलाई हेर्ने हरेक मानिसको फरक फरक प्रतिकृया हुन्थ्यो Ι
अर्को दिन नेप्लु माइतीहरुको ठुलो समुह सहित डीएसपी कार्यालयमा पुगी सकेकी थिइन् Ι उनको साथमा जिल्लाका महिला अधिकारवादी नेताहरु, महिला सम्वद्द एनजीओका प्रतिनिधीहरु तथा एकल महिलाहरु पनि थिए Ι डीएसपीले अपराधको प्रकृति जाँच गरी कारबाही गर्नु भनेर एक जना सहायक ईन्सपेक्टरलाई खटाएको थियो Ι सहायक ईन्सपेक्टरले दुवै पक्षलाई चौरमा बसायो Ι
“महेश जी, तपाईंको श्रीमतीले तपाईंलाई घरेलु हिंशा अन्तर्गत रक्सी खाएर दिनै कुटपिट गरेको, लालन पालन राम्रो नगरेको, वालवच्चाको समेत वेवास्था गरेको भनेर नालिस दिएकी छिन Ι यसो गर्दा तपाईंलाई हदै सम्मको सजाय हुन् सक्छ Ι कुरा क हो पहिले हामी तपाईंको श्रीमतीको मुखबाट सुन्छौं Ι नेप्लु भन्ने तपाईं हो ?” प्रहरीले भन्यो Ι
“ हजुर सर Ι” उनले छोटो उत्तर दिइन् Ι
“ ल तपाईंको कुरा प्रष्ट गर्नुस Ι” प्रहरीले भन्यो Ι
“ सबै कुरा निवेदनमा खुलाएको छ Ι पीडितले अब के गर्दा ठिक हुन्छ भन्छ त्यता तिर कारवाही गर्दा ठिक होला सई साब Ι” महिला अधिकारकर्मीको जिल्ला अध्यक्षले भनिन Ι
“ के चाहानुहुन्छ त तपाईं ?” साईले नेप्लुलाई सोध्यो Ι
“म उसँग बस्न सक्तिन Ι नानीहरु लिएर बरु छुट्टै बस्छु Ι तर मैले पाउने अंश छुटाई देओस Ι” नेप्लुले भनिन् Ι
”उहाँको तलव र जायजेथाबाट उनले पाउने के कति हुन्छ उनको अधिकार दिलाए समस्याको हाल भै हाल्छ Ι” एकल महिलाका नेताले भनिन् Ι
“त्यसो होइन परिवार टुक्राउने कुरा कसैले नगरौं Ι बरु तपाइंहरु दुइ जना सहमति गरेर आउनुस Ι ” प्रहरीले महेश र नेप्लुलाई भन्यो Ι
महेश र नेप्लु अलि पर गए Ι महेशको निम्ति खोक्रो परिवार टुक्रोस या जोडियोस कुनै अर्थ थिएन Ι नेप्लुलाई आफ्नो श्रीमान सच्चिने आशा थियो Ι दुवै चौरमा बसे Ι
“ तैंले मसँग जुनी बित्दैन भनेर बल्ल चाल पाइस् हैन ? सम्बन्धविच्छेद गरेर तँ तेरो बाटो लाग् Ι मेरा नानीहरु म पाल्छु Ι” महेशले भन्यो Ι
“तेरो क्रिया नगरी त्यो घर छोडेर एक जान्न दुइ जान्न Ι”
“ए, राँड…..! तेरी आमा छोरी मिलेर गाडेको तेरो नावो कसरी मारिस् ? जिउँदो मान्छेलाई कुन हातले कसरी माटोमा पुरिस् ” महेशले सोध्यो Ι
महेश च्यिच्याएर दुनियालाई भन्न चाहन्थ्यो कि उनको श्रीमती नाजायज बच्चाको आमा हो Ι बच्चालाई जिउँदै गाड्ने हत्यारा हो Ι उ यसो गर्न सक्तैनथ्यो किनकी उसलाई छोरीहरुको भविष्यको चिन्ता थियो Ι अदालतमा उजुर गर्न चाहन्थ्यो अनि अपराधको सजाय दिलाउन चाहन्थ्यो तर यसो गर्न सक्तैनथ्यो किन कि उसंग आफु बाहेक देखी जान्ने सुनी जान्ने कुनै प्रमाण थिएन Ι
नेप्लुमाया उठिन र फर्केर आइन Ι महेश पछिपछि आयो Ι नेप्लुको आँखामा आँशु थियो Ι महेश क्रोधित मुद्रमा देखिन्थ्यो Ι मिलापत्र नहुने भएपछि मुद्दा अदालतमा पठाउने निर्णय गरेर भेला टुंगियो Ι
अदालतले फैसला सुनायो Ι जायजेथाको भाग लाग्यो Ι तलवको भाग लाग्यो Ι घरमा चुल्हो छुट्यो Ι तर महेशको जीवनमा कुनै परिवर्तन आएन Ι पेन्सन को मुखमा पुगेको जागिर छोड्यो Ι आफ्नो भागको जग्गाबारी बेच्यो र एक दिन कसैलाई थाहा नदिइ गाउँ छाडेर हिंड्यो Ι गाउँमा महेश हराएको हल्ला चल्यो Ι कसैकसैले तामाकोशीमा हाम फालेर मरेछ रे भने Ι कसैकसैले गाइघाटमा कुटीमा बस्छ रे भने Ι कसैकसैले दोस्रो विहे गरेर धनगडीमा घरजम गरेर बसेको छ रे भने Ι तर हल्ला जे भए पनि बेलामा उपचार गर्न नसकेको अरुको अपराधको शिकार भएर महेश कहाँ गयो कसैलाई थाहा छैन Ι

 

प्रतिक्रिया
सम्बन्धित खवर

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो

जिन्दगीको परीक्षार्थीलाई मूल ग्रन्थ बेच्दैन सन्दर्भ पुस्तक पनि बेच्दैन केवल गेसपेपर बेच्छ आजको बजार । विद्रोह चेत बोकेर कविता लेख्ने

काठमाडौं । विशिष्ट व्यक्तिका मुहारलाई क्यान्भासमा सजाउने दोस्रो संस्करणको पहिलो अवसर गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेलाई जु¥यो ।